अंकुर कथा: रमिलाको प्रतिज्ञा
एकाबिहानै रमिला अंग्रेजी विषयको गृहकार्य गर्दै थिइन् । अघिल्लो दिन नभ्याएकाले निकै हतार भएको थियो उनलाई । छेवैमा भएको चिया चिसो भइसकेको थियो । उनले पिउन पनि भ्याएकी थिइनन् ।
त्यहीबेला परबाट हाँस्दैहाँस्दै रमिलाका बाबा आउनुभयो र गोजीबाट एउटा कागजको टुक्रा झिक्नु भयो । के रहेछ भन्दै रमिलाले हेरिरहिन् । उहाँले छोरीको छेवैमा आएर भन्नुभयो, ‘तिमी गाउँ जाने भन्थ्यौ नि ! हेर त, मैले गाउँ जाने टिकट ल्याएँ ।’ हँसिलो मुख पार्दै रमिलाले सोधिन्, ‘बाबा हामी गाउँ कहिले जाने ? ’ ‘तिम्रो विद्यालय पर्सिदेखि बिदा हुन्छ । त्यसको अर्को दिन जाऔंला ।’ बाबाको कुरा सुनेपछि रमिलालाई अलि जाँगर पलायो । उनी छिटो छिटो कलम चलाउन थालिन् ।
रमिला सहरी वातावरणमै जन्मे हुर्केकी थिइन् । उनले आफ्ना बाबाआमाको मुखबाट गाउँको बारेमा सुनेकी मात्र थिइन् । गाउँ कस्तो होला भनेर उनलाई निकै खुल्दुली लागिरहेको थियो । घरीघरी उनी आमाको छेवैमा आएर गाउँकै बारेमा के के कुरा सोधिरहन्थिन् ।
बुबाले टिकट ल्याउनुभएको पर्सिपल्टदेखि विद्यालयमा जाडो बिदा भयो । त्यसको भोलिपल्टै रमिला काठमाडौंबाट गाउँको घरतर्फ लागिन् । उनका साथमा बाआमा र भाइ थिए । बाटामा उनले धेरै डाँडाहरू देखिन् । त्यो देखेर उनी छक्क परिन् । कति ठाउँमा त उनले फोटो पनि खिचिन् । छोरी रमाएको देखेर उनका बाआमा पनि खुसी हुनुभयो ।
काठमाडौंबाट हिँडेको भोलिपल्टै रमिला पाँचथर पुगिन् । आफ्नो गाउँको घरतिरको वातावरण रमिलालाई अनौठो लाग्यो । उनले आफूले फोनमा बोल्ने सबै आफन्तहरूलाई त्यहाँ भेट्टाइन् । पहिलो पल्ट रमिलाले हजुरबा, हजुरआमा, काकाकाकी सबैलाई त्यहीँ प्रत्यक्ष भेट्न पाइन् । उनी खुसीले फुरुङ्गै भइन् । उनलाई भेट्नेहरू पनि सबै रमाए ।
गाउँमा पुगेकै दिनदेखि रमिला त हजुरआमाको पछिपछि लाग्न थालिहालिन् । नतिनीले यसरी पछ्याएको देखेर रमिलाकी हजुरआमा पनि खुसी हुनुभयो । रमिलालाई गाउँघरका प्रत्येक फलफूलले लोभ्याए । उनी कहिले अम्बाको रूखको फेदमा जान्थिन् त कहिले सुन्तलाको फेदमा पुग्थिन् अनि कहिले चाहिँ ओखर र अमला खोज्नमै व्यस्त हुन्थिन् ।
हरेक दिन रमिलाकी हजुरआमा जुरुक्क उठेर घर बाहिर जानुहुन्थ्यो । उहाँका साथमा एउटा सानो गाग्री पनि हुन्थ्यो । उहाँ निकै समयपछि मात्र आपूmले बोकेको गाग्रीमा पानी बोकेर घर आउनुहुन्थ्यो ।
रमिलालाई हजुरआमा यसरी जहिल्यै कहाँ जानु हुन्छ भन्ने कुराको खुल्दुली भयो । एक दिन बिहान उनले हजुरआमासगँ यस कुराबारे जान्न खोजिन् । उनले हजुरआमासँग मधुर स्वरमा भनिन्, ‘हजुरआमा तपाईं सधैं कहाँ जानुहुन्छ ? आज त म नि तपाईंसँगै जान्छु ।’ नातिनीको कुरा सुनेर गम्भीर बन्दै हजुरआमाले सम्झाउनुभयो, ‘रमिला, म पानी लिन धारामा गएकी हुँ । त्यो धारा निकै तल पीपले चौतारीमा छ । फेरि तिमी जान पनि सक्दिनौ । निकै चिसो पनि त बढ्यो नि !’
‘म पनि सानो गाग्रीमा पानी ल्याउँछु नि ! कस्तो छ पीपले चौतारी ? मलाई नि हेर्न मन लाग्यो । म पनि आज जान्छु है !’ रमिलाले जिद्दी गरिन् । ‘लाइन बस्नुपर्छ नानी । निकै अबेर पो हुन्छ । केटाकेटी नगए नि राम्रो ।’ हजुरआमाले गम्भीर बन्दै भन्नुभयो । रमिला लाडिँदै हजुरआमाको छेउमा गइन् । ‘नाइँ । म पनि जान्छु’ उनले हजुरआमाको सारीको सप्को समाइन् । उनको जिद्दीसामु हजुरआमाको केही सीप लागेन । नभन्दै रमिला हजुरआमाको हात समाउँदै धारातिर लागिन् । करिब १५ मिनेट हिँडेपछि सुन्दर धारो देखियो । त्यो धारो एउटा ठूलो पीपलको बोटको फेदमा थियो । त्यहाँ एउटा चौतारी पनि थियो । धारामा गाउँका थुप्रै महिला थिए । उनीहरू सबै हतारहतार गर्दै पालैपालो गाग्रीमा पानी भर्दै थिए ।
‘ए, छिटो गर न ! परबाट त्यो आई । मेरो पालो पनि यै बेला आयो । यो गाग्रो उता राख, त्यता नराख’ महिला यसै भन्दै हल्लाखल्ला गर्दै थिए । रमिलाले ती सबै कुरा त बुझिनन् तर यस्तो भीडभाड देखेर भने उनी रमाइन् ।
हजुरआमा धाराबाट अलि पर उभिनुभयो । चुलबुले स्वभावकी रमिला भने दौडँदै धारैमा गइन् । उनले हातमा पानी लिँदै भनिन्, ‘हजुरआमा क्या चिसो पानी रहेछ ! सहरमा त यस्तो पानी नै पाइँदैन । फेरि कति ठूलो धारो रहेछ यो । सफा पनि रहेछ । तपाईं पनि आउनु न ! पानी थाप्ने अब त हाम्रो पालो।’
धारामा आफ्नो पालोमा पानी थाप्दै गरेकी महिलाले कड्केको स्वरमा भनिन्, ‘यत्तिका बेर लगाएर भरेको गाग्राको पानी नास भयो । हत्तेरीका ! यस कामीकी छाउरीले त गर्नु नै पो गरी दिई । तैंले यो पानी नै छुन किन आइपुग्नु ? हे भगवान् के गर्ने ? ’ एकाएक राताराता आँखा पार्दै त्यो आइमाईले रिसाएर हजुरआमालाई पनि हेरिन् । रमिलाले छोए जति गाग्रीमा भएकोे पानी सबै महिलाले पोखे ।
ती महिलाको यस्तो व्यवहार देखेर रमिला छक्क परिन् । उनले केही बुझिनन् र नरम स्वरमा सोधिन्, ‘आन्टी पानीमा के फोहोर पस्यो ? कि किन पोख्नु भएको नि ? सबै पानी खेर गयो नि !’
यति सुन्नासाथ रातो सारी र रातै टीका लगाएकी एउटी आइमाईले कुटौंला झैं गर्दै भनिन्, ‘तँलाई आफू कामीकी छोरी हुँ भन्ने पनि थाहा छैन ? तँजस्ता तल्ला जातका मान्छेले छोएको पानी चल्दैन । हामी त माथिल्लो जातका मानिस हौं । अब बुझिस् । तँ सहरबाट आए भन्दै बढी फुर्ती नदेखा छाउरी ।’
त्यहाँका सबै रिसाएपछि रमिला कालो मुख लगाउँदै अलि पछि हटिन् । उनी अक्क न बक्क भइन् । सहरमा त उनले यस्तो कुरा सुनेकै थिइनन् । उनले एकपल्ट हजुरआमाको मुखमा पुलुक्क हेरिन् । उहाँ त लुग्लुगी काप्दै हुनुहुँदोरहेछ । उहाँका आँखाबाट बरबरी आँसु झर्दै थिए । यस्तो देख्नासाथ रमिलाले भनिन्, ‘हजुरआमा तपाईं दुःख नमान्नुहोस् । आजको जमनामा नि जात पातको कुरा चल्छ र ? हाम्रो स्कुलमा त हेडसरले यस्तो गर्ने मानिसलाई कानुन लाग्छ र सजायसमेत हुन्छ भन्नुहुन्थ्यो । मानिस त सबै एउटै हुन् रे ! यसरी जातका नाममा भेदभाव गर्नु त अपराध हो रे ! धत् ! हाम्रो गाउँमा त यस्तो चलन पो रहेछ !’
त्यही समयमा त्यसै गाउँकी उर्मिला मिस गाग्री लिएर आइपुग्नु भयो । उहाँले परैबाट धारामा चलेको हल्लाखल्ला सुन्नुभएको रहेछ । त्यहाँको सबै कुरा बुझेपछि उहाँले भन्नुभयो, ‘छुवाछूत सामाजिक अपराध हो । यसलाई पालना गर्नु हुँदैन । मानिस कर्मले मात्र ठूलो बन्न सक्छ । जातले होइन । हाम्रो संविधानमा पनि यसको व्यवस्था छ । तपाईंहरूले नि पढ्न तथा बुझ्न सक्नु हुनेछ । अबदेखि रमिलाकी हजुरआमाले पनि हामीसँगै लाइनमा बसेर पानी थाप्न पाउनुुहुनेछ । बिचरा ! उहाँ यस्तो चिसोमा सधैं एक घन्टा कुर्नुहुन्छ । अब उहाँले पानी थाप्दा कसैले कराउन पाउनु हुन्न नि !’ उहाँले फेरि रमिलातिर फर्केर उनलाई मुसार्दै भन्नुभयो, ‘नानी कति कक्षामा पढ्छ्यौ ? कस्ती बाठी रहेछौ । तिम्रो कुरा सुन्दा मलाई खुसी लाग्यो ।’
मिसको यस्तो कुरा सुन्दा सबै महिला चुप भए । एकअर्कालाई हेरेका हेर्यै भए । नातिनीको व्यवहार देखेर हजुरआमा भने दंग परिन् ।
आज रमिला फेरि सहर आइपुगेकी छन् । उनी गाउँमा चेतनाको कमी भएका कारण त्यस्तो भेदभाव भएको हो भन्ने कुराको पनि झन बढी ज्ञान हासिल गर्दै छिन् । उनी सोच्दै छिन्, ‘म फेरि गाउँ जान्छु र ती सबै आमाहरूलाई उर्मिला मिसको साथ लिएर राम्ररी सम्झाउँछु । कस्ता कस्ता मूर्खले त कुरा बुझ्दछन् भने के उहाँहरूले नबुझ्नुहोला र ? ’