द्वन्द्वले बाजुराबाट काठमाडौँ पुर्याएकी कस्तुरी
नेपालमा भएको दसवर्षे द्वन्द्वको सिकार धेरै बालबालिका भएका कुरा त भाइबहिनीलाई थाहै होला । त्यतिबेला उनीहरू अञ्जानमै द्वन्द्वको चपेटामा परे । कतिपय अंगभंग भए । धेरैले आप्mना अभिभावक गुमाए । कस्तुरी मिजारको जीवनमा पनि द्वन्द्वले ठूलो चोट लगायो ।
१४ वर्षीया कस्तुरीले पनि द्वन्द्वको समयमा आफ्नो मायालु बाबा गुमाइन् । स्थायी घर बाजुरा भएकी कस्तुरीको बुवा त्यतिबेला माओवादी लडाकुका लागि भान्छे रहेको कुरा उनलाई हल्का सम्झना छ । आफ्नो विगतलाई सम्झँदै कस्तुरीले भनिन्, ‘म पाँच वर्ष जतिको थिएँ होला, त्यतिबेला ड्याडी माओवादीको लागि खाना पकाउनुहुन्थ्यो ।
माओवादीका कार्यक्रमहरू भइरहन्थे ।’ एकदिन उनको बाबुले आत्महत्या गरेको भन्ने हल्ला फैलियो । तर आफ्ना बाबुलाई कसैले मारेको हो या उनले साँच्चै आत्महत्या गरेका हुन् भन्ने उनले पत्तो पाउन सकिनन् । मृत्युको खबर सुने पनि बाबुको लास हेर्न नपाउँदाको मर्म सुनाउँदै उनले भनिन्, ‘मरेको भने तर हामीलाई ड्याडीको लास हेर्न दिएनन् । ड्याडी बितेपछि हाम्रो बिजोग भयो। ममी खै कता हुनुहुन्छ थाहा छैन ।’ परिवारमा उनका दाजुभाइ त थिए । तैपनि घरमुलीको मृत्युले उनको घरमा साह्रै दुःख छायो ।
नेपाल आर्मीको सहयोगमा काठमाडौं आएपछि नयाँ जीवन पाएकी कस्तुरी यतिबेला पुरानो सिनामंगलस्थित एक अनाथ आ श्रममा बस्दै आएकी छिन् । त्यहाँ उनले बाबाको रूपमा सुमन ढुंगाना र ममीको रूपमा कान्ति कुँवरलाई मात्रै नभई अन्य दाजुभाइ दिदीबहिनी पनि पाएकी छिन् । कस्तुरी पढाइमा निकै अब्बल छिन् । नर्सरीदेखि नै कक्षामा पहिलो हुँदै आएकी कस्तुरी आफू पढ्ने विद्यालयमा समेत उत्कृष्ट भइसकेकी छिन् ।
उनी पुरानो सिनामंगलस्थित गोल्डेन बर्ड स्कुलमा कक्षा ९ की ‘फस्र्ट गर्ल’ हुन् । विगत लामो समयदेखि उनी विद्यालयकी क्याप्टेन पनि भएकी छिन् । आफूले पाएको जिम्मेवारीमा उत्साहित हुँदै उनले भनिन्, ‘क्याप्टेनको रूपमा धेरै उत्तरदायित्व निर्वाह गर्नुपर्छ । साथीहरूलाई अनुशासनमा बस्न, पढ्न, लेख्न सहयोग गर्नुपर्छ र स्कुलमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउनुपर्छ । विद्यालयका कार्यक्रम पनि उनी आफैंले सञ्चालन गर्ने गरेकी छिन् । पत्रकारिता विषयमा रुचि राख्ने कस्तुरीको भविष्यमा यही पेसामा लाग्ने रहर छ ।
कस्तुरीको स्वभाव अरूको भन्दा अलि फरक छ । उनलाई कसैले गाली गरेको मन पर्दैन । आपूmले गल्ती गरेको छु भन्ने महसुस नगरुन्जेल उनी कसैसँग माफी पनि माग्दिनन् । गल्ती नगरी दोषी देखाउन खोजेको उनलाई पटक्कै मन पर्दैन । अलि छुच्चो स्वभाव भएकोले खासै कोहीसँग मिल्न नसकेको स्वीकार्दै कस्तुरीले भनिन्, ‘मलाई सरहरूले राम्रो विद्यार्थी हो तर अलि घमण्डी छ भन्नुहुन्छ।’
आफूलाई जन्मदिने बाबुआमा नभए पनि कर्म दिने बाबुआमाको साथमा आफू निकै खुसी भएको कस्तुरीले बताइन् । तर आफैंलाई कर्म दिने बाबुको आँखा जलबिन्दु लागेर नदेख्ने भएपछि आँखाको डाक्टर बन्ने लक्ष्य उनले बनाइसकेकी छिन् । उनले भनिन्, ‘जबदेखि मैले बाबाको आँखाको समस्याको बारेमा बुझेँ त्यतिबेलादेखि आँखाको डाक्टर बन्ने सोचेको हुँ । बाबुको समस्या साँच्चै दुःखलाग्दो छ ।’
उनका बाबु उनलाई पढ्नको लागि सधैं प्रोत्साहन गर्छन् । बाबाको त्यो बानी उनलाई एकदमै मनपर्छ । ‘म उहाँलाई बुझ्छु र उहाँसँग निकै निकट छु’ उनले भनिन्, ‘तर अरू छोरीहरू ममीसँग नजिक छन् । ममी पनि उत्तिकै साथ दिनुहुन्छ ।’
विभिन्न समस्यामा परेका आफूजस्तै बालबालिकाको साथमा रमाइरहेकी कस्तुरीलाई द्वन्द्व के हो भन्ने खासै थाह नभए पनि आफन्त गुमाउनुपर्दा साह्रै दुःख लागेको छ । यद्यपि पुराना कुरा बिर्सेर आफ्नो लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न उनले सबैलाई सल्लाह दिइन् ।