अमेरिकी राजनीतिमा रूस
गत मंगलबार यसै स्थानमा प्रकाशित लेखमा वर्तमान विश्वका अत्यन्त प्रतिष्ठित राजनेता र कूटनीतिज्ञको छवि बनाएका पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई उद्धृत गर्दै लेखिएको थियो- राष्ट्रपति ओबामाले आफूलाई अमेरिकी राजनीतिक प्रक्रियाको अंग नै मानेनन्, आफूलाई असाधारण क्षमताका व्यक्तिको रूपमा बुझे र त्यसैलाई पुष्टि गर्ने क्रममा अल्पकालीन महत्वका राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालहरूका लागि उनले अमेरिका र विश्वका स्थायी र दीर्घकालीन हितहरूको बलि चढाइदिए ।
उनको कार्यकालमा संसारका विभिन्न भागमा अमेरिका आफ्ना मूलभूत मूल्य र मान्यताबाट पछि हट्यो र त्यसैबाट निर्मित गतिहीनताले वर्तमान विश्व व्यवस्था ढल्ने अवस्थामा आइपुगेको हो ।
किसिन्जरले जे भने, त्यसलाई पुनः पुष्टि गर्दै गत बिहीबार आफ्नो कार्यकालको अन्तिम तीन साता मात्रै बाँकी रहँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ रूसी कूटनीतिज्ञहरूलाई ७२ घन्टाभित्र अमेरिका छोड्ने आदेश दिए । ह्याकिङमा आरोपित तीनवटा रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाइयो ।
संसारको दोस्रो ठूलो सैनिक शक्ति र युरोप र पूर्वीएसियाको सुरक्षाको लागिसमेत निर्णायक महत्वको राष्ट्रसँगको सम्बन्धलाई आन्तरिक राजनीतिको भुंग्रोमा उनले झोसिदिए ।
दी न्युयोर्क टाइम्सका डेभिड ए संगरका अनुसार ओबामाले यो कदम रूस र पुटिनप्रति सुरुदेखि नै नरम दृष्टिकोण राख्दै आएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नीतिको रणनीतिक बन्दी बनाउने उद्देश्यले उठाएका हुन् ।
गार्जियनका अनुसार ओबामाले लगाएको प्रतिबन्ध उल्ट्टााएमा त्यसको मूल्य अमेरिकी राजनीतिमा ट्रम्पले चुक्ता गर्नुपर्ने र ती प्रतिबन्धलाई कायम राखेमा रूससँगको सम्बन्धमा त्यसको असर पर्नेछ ।
दुवै अवस्थामा नयाँ राष्ट्रपतिलाई असफल बनाउन ओबामाले यसो गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्विकारेका छन् । अन्तिम समयमा आएर इजरायल सवालमा पनि ओबामाले त्यसै गरेका छन् ।
ऊता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने ओबामाको तुलनामा परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गरे । स्थापित अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासअनुसार रूसमा कार्यरत अमेरिकी कूटनीतिज्ञहरूको त्यत्ति नै संख्यालाई निष्कासन गर्न र उनीहरूले उपयोग गरिरहेका भौतिक संरचनाहरू उपयोग गर्नबाट प्रतिबन्ध लगाउन विदेशमन्त्री सेर्गेई लाभरोभको सिफारिसलाई अस्वीकार गर्दै अमेरिकी राजनीतिको संक्रमणकालमा त्यस किसिमको अनुत्तरदायी कूटनीतिको स्तरमा रूस झर्न नसक्ने उनले बताए । अमेरिकाका नयाँ राष्ट्रपतिको रूस नीतिलाई आफूले प्रतीक्षा गर्ने पुटिनको भनाइ रह्यो ।
हर्षोल्लासका साथ नयाँ वर्ष मनाउने तयारीमा रहेका रूसी कूटनीतिज्ञहरू एकाएक निष्कासनमा परे । परिवारसहित स्वदेश फर्किन हवाई टिकटहरू उपलब्ध नभएकोले उनीहरू ठूलो मनोवैज्ञानिक दबाबमा थिए । पुटिनले उनीहरूका लागि एउटा विशेष विमान मात्रै पठाएनन्, रूसमा रहेका अमेरिकी कूटनीतिज्ञका बालबालिकालाई आफूसँगै नयाँ वर्ष मनाउन आमन्त्रण पनि गरे ।
रूसमा अमेरिकी कूटनीतिज्ञहरू र उनका परिवारले उपयोग गर्ने गरेका मनोरञ्जन स्थलहरूमा गएर आनन्दपूर्वक नयाँ वर्ष मनाउन पनि पुटिनले आग्रह गरे, जब कि ओबामाले न्युयोर्क र मेरिल्यान्डमा रहेका त्यस्ता रूसी उपयोगका केन्द्रहरूलाई प्रतिबन्धित गरिदिएका थिए ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको निर्णयको मुक्तकण्ठले प्रशंसा गरे । मुलुक र जनताको हितमा ठूला-ठूला निर्णयहरू लिने समयमा ओबामाले यस्ता विषयमा मुलुकको ध्यान खिच्ने प्रयत्न गरेकोमा असन्तुष्टि पोख्दै ह्याकिङ विषयमा आफूले छिट्टै जानकारी लिने बताए ।
जाँदाजाँदै ओबामाले अमेरिकी राजनीति र यहाँका दुवै प्रमुख दलहरूलाई रूस सवालमा स्पष्टसँग दुई भागमा विभक्त मात्रै गरिदिएन, पुटिनको तुलनामा फितलो कूटनीतिक क्षमता पनि देखाए ।
रूस-अमेरिकी विवादको अन्तर्य
सीआईएलगायतका सुरक्षा एजेन्सीहरूका अध्ययनलाई आधार मानी वासिङ्टन पोस्टले भन्यो- रूसी अधिकारीहरूले डेमोक्रेटिक दलको राष्ट्रिय समिति र हिलारी क्लिन्टनको निर्वाचन अभियान प्रमुख जोन पोडेस्टाको इमेलहरू ह्याक गरेर बिकिलिक्सलाई ती इमेलहरू उपलब्ध गराए । बिकिलिक्सले तिनलाई सार्वजनिक गरेर हिलारीको पराजय र डोनाल्ड ट्रम्पको विजयलाई सुनिश्चित गराइदियो ।
त्यसरी ह्याक गरिएका इमेलमा डेमोक्रेटिक दलको निर्वाचनसम्बन्धी सामग्री मात्र नभएर हिलारी क्लिन्टन विदेशमन्त्रीको कार्यकालका संवेदनशील महत्वका हजारौं सरकारी कागजात र इमेलहरू पनि थिए । त्यस्ता सरकारी कागजात निजी इमेल अकाउन्टहरूमा राखिएको हुँदा सजिलै ह्याकरहरूको पहुँचमा पुगेका थिए ।
सरकारी इमेल र कागजातहरूका साथै डेमोक्रेटिक दलका चुनाव अभियानमा हिलारीका प्रतिद्वन्द्वीविरुद्धका चुनावी रणनीति र हिलारीका सहयोगीहरूले हिलारीका विपक्षमा गरिएका हलुका र अपमानजनक टिप्पणी समावेश इमेलहरू बिकिलिक्समार्फत प्रमुख अमेरिकी सञ्चारमाध्यममा दिनहौंजसो प्रकाशित भइरहँदा त्यसले हिलारी क्लिन्टन र डेमोक्रेटिक दलका चुनाव अभियानका अधिकारीहरूको सार्वजनिक प्रतिष्ठामा क्षति पुगेको थियो । उनीहरू नैतिक संकट र ठूलो राजनीतिक असमन्जसको अवस्थामा थिए ।
स्वाभाविक रूपमा रिपब्लिकन दलले त्यसलाई क्लिन्टनविरुद्ध राजनीतिक हतियारको रूपमा उपयोग गर्यो । एफबीआई जस्ता सरकारी एजेन्सीहरूले त्यसलाई आफ्नो जाँचको दायरामा ल्याउँदा पनि स्वाभाविक रूपमा क्लिन्टनलाई राजनीतिक असर पुग्न गयो ।
बिकिलिक्सले सार्वजनिक गरेका इमेलहरूमा पुटिन वा रूसी अधिकारीहरूको संलग्नता थियो, थिएन, त्यो अर्कै विषय होला तर अमेरिकालगायतका विश्वका विभिन्न सुरक्षा एजेन्सीहरूले अन्य मुलुकका आन्तरिक राजनीतिमा यस्ता हस्तक्षेपकारी क्रियाकलाप सञ्चालन नगर्ने गरेको भने छैन । अमेरिकी सुरक्षा एजेन्सीहरूले रूस सरकारविरुद्ध लगाएको आरोपको विश्वसनीयता कति हो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छँदैछ ।
रिपब्लिकन दलका नेताहरूले सीआईएलगायतका जासुसी संस्थाहरूको त्यस्तो दाबीलाई ठाडै अस्वीकार गरे र चुनाव भएको महिनाभन्दा बढी समयपछि राष्ट्रपति निर्वाचनको इतिहासकै ठूलोमध्ये मानिने निर्वाचकमण्डलको निर्वाचन सम्बन्धमा यस्तो टिप्पणीलाई वाहियात बताउँदै सीआईएका सुरक्षा अधिकारीहरूको खिसीट्युरीसमेत गरे ।
सीआईएले इराकमा सद्दाम हुसेनको शासनकालमा इराकसँग आम विनाशका हतियार भएको झूटो विवरण तयार गरेर अमेरिकी सरकारलाई फसाएको आरोप पनि उनीहरूले लगाएका छन् ।
स्मरणीय छ, त्यसैकारण राष्ट्रपति जर्ज बुस र अमेरिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसमक्ष ठूलो नैतिक संकटको सामना गर्नुपरेको बारे स्वयम् बुसले आफ्नो आत्मकथामा स्विकारेका छन् ।
ऊता, पुटिनसमक्ष आफूले सक्दा हिलारीलाई रिस फेर्ने कारण नभएको भने होइन । डिसेम्बर २०११ मा रूसमा संसदीय निर्वाचन भएलगत्तै मस्को र अन्य केही सहरहरूमा पुटिनविरोधी प्रदर्शन भएका थिए । उक्त प्रदर्शन मूलतः तीन महिनापछि मार्चमा हुने राष्ट्रपतीय निर्वाचनमा पुटिनको उम्मेदवारीविरुद्ध लक्षित थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रतिवेदन पनि सार्वजनिक नहुँदै तत्कालीन अमेरिकी विदेशमन्त्रीको हैसियतमा हिलारी क्लिन्टनले उक्त निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाएर प्रदर्शनकारीहरूलाई उकासेको पनि तत्कालीन प्रधानमन्त्री पुटिनको दाबी थियो । त्यसको लागि विदेशीहरूले करोडौं डलर लगानी गरेको भन्ने उनको आरोपबारे डेभिड हेस्जेन्हर्न र एल्लन बर्रीले त्यतिखेरै न्युयोर्क टाइम्समा लेखेका थिए ।
रूसमा सन् १९९० मा सोभियत संघको पतनताकाको जस्तै अस्थिरता र अराजकताको स्थिति निर्माण गर्ने र लिबियामा कर्णेल गद्दाफीलाई हटाइए जसरी पुटिनलाई हटाउने उद्देश्यले ती प्रदर्शनहरू गराइएको रूसी अधिकारीहरूको मत रहेको बारे एल्लेन बर्रीले त्यतिखेरै न्युयोर्क टाइम्समा लेखेकी थिइन् ।
यो सन्दर्भको एउटा अत्यन्त गम्भीर र संवेदनशील विषय के हो भने संसारको सर्वाधिक शक्तिशाली देशको सबैभन्दा शक्तिशाली पदको निर्वाचनमा स्वयम् त्यो पदमा आसीन व्यक्तिको दलको निर्वाचनसम्बन्धी इमेलहरू महिनौंदेखि दिनहुँ सार्वजनिक भइरहेका हुन्छन् ।
संसारकै सबैभन्दा शक्तिशाली र साधनस्रोत सम्पन्न जासुसी संगठन र उक्त मुलुकको राज्य संरचना लाचारीका साथ केवल रूस र पुटिनलाई त्यसको दोष लगाएर बस्दछ र त्यसैकारण हिलारीको पराजय भएको स्वीकार गर्दछ ।
त्यसमाथि उक्त मुलुकका सर्वोच्च अधिकारीले त्यसको लागि अर्को मुलुकविरुद्ध कारबाहीसमेत गरेर त्यस्तो सर्वशक्तिमान मुलुकको सर्वोच्च पदको विजय वा पराजय मूलतः यहाँ वा त्यहाँका केही ह्याकर्सहरूको कार्यबाट प्रभावित हुने कुरालाई प्रमाणित गरेका छन् ।
आन्तरिक राजनीतिक प्रयोजन वा अन्य जुनसुकै उद्देश्यले त्यस्तो आरोप लगाइएको भए पनि अमेरिकाजस्तो मुलुकले आफ्नो सबैभन्दा उच्च पदको निर्वाचनको स्वच्छता, मर्यादा र विश्वसनीयताको रक्षाको दायित्व कसको थियो, अमेरिकाले बताएन । मुलुकको सर्वोच्च कार्यकारीको हैसियतमा त्यसको जिम्मेवारी स्वयम् राष्ट्रपति ओबामाको हुन्छ-हुँदैन, त्यसबारे पनि केही भनेन ।
तर राष्ट्रपति ओबामाले मुलुकका सुरक्षा एजेन्सीहरूलाई निर्वाचन अवधिमा भएको यस्तो सम्पूर्ण क्रियाकलापको समीक्षा गरी भविष्यको लागि ग्रहण गरिनुपर्ने शिक्षाको विवरण अमेरिकी कांग्रेससहित सम्बन्धित सबै पक्षलाई उपलब्ध गराउन निर्देशन दिएको भने रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिकी राजनीतिमा रूस हिजो पनि थियो ।
डिसेम्बर १९९१ मा सोभियत संघको विघटनपछि रूसी संघका राष्ट्रपति बोरिस येल्तसिनले सोभियत कालका गोपनीय कागजपत्र सार्वजनिक गराइदिए । त्यसरी सार्वजनिक भएका कागजातमध्ये सोभियत संघको अत्यन्त शक्तिशाली जासुसी संगठन केजीबीका प्रमुख भिक्टर चेब्रिकोभले तत्कालीन सोभियत राष्ट्रपति युरी आन्द्रोपोभलाई सन् १९८३ मा लेखिएको एउटा स्मरण पत्र थियो ।
लन्डन टाइम्सका संवाददाता टिम सेबास्टियनले उक्त पत्र प्राप्त गरे र प्रकाशित गराए । लन्डन टाइम्समा प्रकाशित उक्त पत्र र सोसम्बन्धी सामग्रीलाई पछि फ्री रिपब्लिक, दी फेडर्यालिस्ट, फोब्र्सलगायतका अमेरिकी पत्रिकाहरूले प्रकाशन गरेका थिए ।
सो पत्रअनुसार मे ९ र १० मा पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका कान्छा भाइ तथा अमेरिकाका अत्यन्त प्रभावशाली सिनेटर एडवार्ड केनेडीको सोभियत राष्ट्रपति तथा कम्युनिस्ट पार्टी महासचिव युरी आन्द्रोपोभको लागि एउटा महत्वपूर्ण सन्देश लिएर केनेडीका अति विश्वस्त मित्र तथा पूर्व सिनेटर जोन टुन्नी मस्को गएका थिए ।
त्यसैको आधारमा केजीबी प्रमुख चेब्रिकोभले आन्द्रोपोभको लागि उक्त स्मरण पत्र तयार पारेका थिए । सोअनुसार सिनेटर केनेडी राष्ट्रपतिको निर्वाचन लड्न चाहन्थे, तर राष्ट्रपति रेगन अत्यन्त लोकप्रिय थिए । रेगनको पुनर्निर्वाचनको सम्भावनालाई समाप्त पार्ने यौटै आधार भनेको रेगन प्रशासनको सोभियत संघसँगको सम्बन्धमा तनाव बढाएर अमेरिकी जनतामाझ युद्धको सम्भावना देखाउनु र उनीहरूमा तीव्र मनोवैज्ञानिक दबाब निर्माण हो भन्ने केनेडीको ठहर थियो ।
रेगनको पहिलो कार्यकालमा आणविक हतियार नियन्त्रण गर्ने सम्बन्धमा भएका प्रगतिले रेगनलाई बल प्रदान गर्ने भएकाले तत्कालको लागि त्यस्तो निशस्त्रीकरणको प्रयास स्थगन गर्न केनेडीको आग्रह रहेको बेहोरा उक्त स्मरण पत्रमा लेखिएको थियो ।
जाँदाजाँदै ओबामाले अमेरिकी राजनीति र यहाँका दुवै प्रमुख दलहरूलाई रूस सवालमा स्पष्टसँग दुई भागमा विभक्त मात्रै गरिदिएन, पुटिनको तुलनामा फितलो कूटनीतिक क्षमता पनि देखाए ।
रेगनका निशस्त्रीकरणसम्बन्धी नीति र दृष्टिकोणहरूलाई सस्तो राजनीतिक प्रचारबाजीको रूपमा प्रस्तुत गरेर दुई मुलुकबीच तनावको वातावरण निर्माण गर्ने र त्यसले आउने निर्वाचनमा आफ्नो दलको सम्भावना सुनिश्चित गर्न सकिने केनेडीको धारणा थियो ।
त्यस्तो रणनीतिमा आन्द्रोपोभ सहमत भए केनेडी मस्को भ्रमणमा जाने, निकट भविष्यमा हुन गइरहेको सोभियत अमेरिकाबीचको निशस्त्रीकरण वार्तामा सोभियत वार्ताकारहरूलाई अमेरिकीहरूको तुलनामा बढी विश्वसनीय र प्रभावकारी रूपमा प्रस्तुत हुन केनेडीले सहयोग गर्ने थियो । साथै सो सन्देशमा केनेडीले निकट भविष्यमा बेलायतका प्रधानमन्त्री मार्गरेट थ्याचर र फ्रेन्च राष्ट्रपति फ्रास्वाँ मितेराँलाई भेटेर रेगनबारे समान धारणा बनाउन प्रयास गर्नेसमेत समावेश थियो ।
उपरोक्त प्रस्ताव स्वीकार्य भए केनेडीले आन्द्रोपोभसँगको अन्तर्वार्ता लिन ठूला अमेरिकी टेलिभिजन कम्पनीहरूका विख्यात स्तम्भकार र विश्लेषकहरूलाई सोभियत संघमा पठाइने कुरा थियो । सोभियत नेताले सोझै अमेरिकी जनतालाई सम्बोधन गरेर आफ्ना कुरा राख्दा त्यसले अमेरिकी जनता र जनमत निर्मातामा अनुकूल प्रभाव पर्ने केनेडीको विचारसमेत सो पत्रमा उल्लिखित थियो ।
त्यस्ता टेलिभिजन कार्यक्रममार्फत अन्य सोभियत अधिकारीहरूलाई पनि सोभियत संघको शान्तिपूर्ण नीति तथा दृष्टिकोणहरूलाई आक्रामक ढंगमा अमेरिकी जनतासमक्ष प्रस्तुत गर्न लगाउने र अमेरिकी राष्ट्रपतिका नीतिहरूका कारण युद्धको स्थिति निर्माण हुँदै गएकाले दुवै देशका नेता र जनताबीच शान्तिपूर्ण सम्बन्ध विस्तारका सम्भावना विस्तार गर्न अन्य कुनै उम्मेदवारको तुलनामा केनेडीले मात्र रेगनलाई हराउन सक्ने भएकाले उनलाई डेमोक्रेटिक दलले उम्मेदवार बनाउने र उनको निर्वाचित हुने सम्भावना पनि बढ्ने केनेडीको विचारबारे उल्लेख थियो । तर चेब्रिकोभले रेगन पुनर्निर्वाचित हुने सम्भावना निकै प्रबल भएको पनि उल्लेख गरेका थिए ।
केनेडी प्रस्तावबारे सोभियत राष्ट्रपति आन्द्रोपोभको प्रतिक्रिया थाहा भएन र डेमोक्रेटिक दलले पनि केनेडीलाई नभएर वाल्टर मोन्डेललाई आफ्नो उम्मेदवार बनायो । उता सन् १९८४ को निर्वाचनपूर्व नै आन्द्रोपोभको निधन भयो ।
लामो समयसम्म शक्तिशाली केजीबीको प्रमुखसमेत रहेका आन्द्रोपोभ अमेरिकाको लागि विकट प्रतिपक्षी हुने अमेरिकी मूल्यांकन थियो । त्यसैले उनी सोभियत नेतृत्वमा आउनेबित्तिकै अमेरिकाको लागि सोभियत राजदूत एनेतोली दोब्रिनिनलाई ह्वाइट हाउसमा आमन्त्रण गरेर रेगनले सामान्य कूटनीतिक तहभन्दा माथि सोझै सोभियत र अमेरिकी नेतृत्वको सर्वोच्च तहमा संवाद प्रक्रिया अवलम्बन गर्न प्रस्ताव राखेका थिए ।
रेगनका जीवनी लेखक एच डब्लू ब्रान्डका अनुसार रेगनले सो सम्बन्धमा आन्द्रोपोभलाई एउटा हस्तलिखित पत्र पनि पठाएका थिए, जसमा उनले आफू र आन्द्रोपोभ दुवैसमक्ष विश्व व्यवस्थाको स्थिरताको अत्यन्त गहन जिम्मेवारी रहेकाले सो सम्बन्धमा त्यस्ता प्रत्यक्ष सम्पर्कले योगदान पुर्याउने र विगतमा दुवै देशका नेताहरूले त्यसलाई सावित गरेको समेत उल्लेख थियो ।
सोभियत राजदूत दोब्रिनिन र राष्ट्रपति आन्द्रोपोभ रेगनको प्रत्यक्ष संवाद शैलीबाट प्रभावित थिए र उनीहरूबीच विश्वास र हार्दिकताको एउटा वातावरण बनिसकेको थियो ।
रेगनको कूटनीतिक शैलीलाई रूस र चीनजस्ता मुलुकहरूसँगको सम्बन्धमा डोनाल्ड ट्रम्पले अवलम्बन गर्नेछन् र विश्व व्यवस्थाको स्थिरताको लागि उत्तिकै प्रतिबद्ध रहनेछन् भनेर विश्वास गर्नु नपर्ने कारण भने छैन ।
(भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।