पुसः पृथ्वीनारायण, बीपी र केपी

पुसः पृथ्वीनारायण, बीपी र केपी

पुस महिनालाई कसैले गन्दैन । भनाइ नै छ, पुस फासफुस ! भनिन्छ, पुसको १५ घिउखट्टे खाएपछि पुस सकिन्छ । साँझ-बिहान आगो र घुर तापेपछि र राति सिरक/कम्बलमा घुस्रिएपछि तराई, पहाड र हिमाली जाडो पनि जान्छ । तर अलिकति खोतलेर हेर्ने हो भने यो त एकदमै होइन रहेछ । नेपालको इतिहासमा पुसजतिको तानाबाना बुनिएको गरमागरम र गाँजेमाजे महिना अरू भेटिएन ।

उसो त पुस दिन छोटा र रात लामा भएको महिना पनि हो । घुरदेखि आगो ताप्दा र सिरकमा गुटमुटिएपछि त्यहीं अनेक तानाबाना बुन्ने संस्कृति रहेछ । त्यसैले पुसजतिको चलायमान तथा क्रिया र प्रतिक्रियाका गतिविधि चरमचुलीमा पुग्ने महिना अरू छैन भन्दा फरक पर्ने देखिएन ।

पुस महिनामै आफ्ना तानाबाना बुन्न र प्रभाव देखाउन कसले पुस महिनाको उपयोग गरेन ? गरिरहेको छैन ? हरेक बादीहरू अहिले पनि अनेक क्रिया र प्रतिक्रियावादी कसै न कसैलाई बोकेर हिँडिरहेका देखिन्छन् । अंग्रेजी नयाँ वर्ष र क्रिसमस यही महिनामा पर्ने । विदेशी नियोगका पश्चिमाहरूको पैसा पनि यही बेला सललल बग्ने । एनजीओ/आईएनजीओको साल तमामी पनि यही बेला हुने । पाँचतारे होटेलमा न हल पाइने, न रुम नै । टिप्स मनग्गे झर्ने !

राजा महेन्द्रले सत्र सालमा पहिलो निर्वाचित सरकारलाई सत्ताच्युत गर्न पुसलाई नै रोजे । राजनीतिक दलहरूलाई प्रतिबन्ध पुसमै लगाए । प्रधानमन्त्री बीपी कोइराला, मन्त्री गणेशमान, सभामुख कृष्णप्रसाद भट्टराईदेखि प्रतिपक्षी नेता मनमोहन अधिकारीसम्मलाई थुने ।

बीपी-गणेशमानले पनि लामो निर्वासनबाट फर्कने दिन पुसलाई नै पारे । यही दिनको सम्झनामा कांग्रेसीहरू मेलमिलाप दिवस मनाउँछन् तर बीपी आमजनका प्रतिनिधि हुन् भन्ने बिर्सन्छन् अनि बीपीको देवत्वकरण गरेर उनलाई महामानव गराउन खोज्छन् । अर्काथरी आफूलाई राष्ट्रिय एकताका पक्षधर बताउनेहरू पञ्चायतकालमा झैं पुस २७ लाई पृथ्वी जयन्ती भनेर बोक्न खोजिरहेका छन् । माक्र्सवादीहरू कार्लमाक्र्सको जन्म दिन भनेर पनि पुसको गएको साता जुर्मुराए । कृष्णप्रसाद भट्टराईको जन्म दिन पनि पुसमै मनाइयो ।

०७२ साल असोज ३ गते बनेको संविधानलाई संशोधन गर्न सत्तापक्षीय कांग्रेस/माओवादी पनि यही पुसमा जुर्मुराएका छन् । त्यसको विरोधमा प्रमुख प्रतिपक्षी एमाले पाँचौं प्रदेशलाई तराई र पहाडको रूपमा छुट्ट्याउने होइन, स्थानीयलगायत चुनाव गरेर संविधानअनुरूप ७ माघ ०७४ अगाडि नै नयाँ माहोल बनाउन खबरदारी गरिरहेका छन् । कांग्रेस/माओवादीका स्थानीय नेता/कार्यकर्ता समेटेर पाँच नम्बर प्रदेशमा जनपरिचालनको नेतृत्व प्रमुख प्रतिपक्षले गरिरहेको छ ।

नेपाली सेनाले पनि भारतीयहरूले नेपाली शान्ति सेनालाई भारतीय कमान्डमा सञ्चालन गर्न खोजेको प्रयत्नलाई उदांगो पार्न यही पुसमा सफल भएको छ र नेताहरूलाई त्यसो नगर्न खबरदारी गरिरहेको छ । क्याबात् सेना प्रमुख ! प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो च्यानलमार्फत कूटनीतिक चातुर्य र कौशल देखाउन सके र भारतीय राजदूत हामीले त्यसो भनेकै होइनौं भनेर विषयलाई गोलमटोल भाषामा पन्छिए । उनी बीबीआईएनको प्रसंग जोड्दै उम्किए । नेपाली स्वाभिमानमा कसैको धावा हुन पाएन ।

बुद्धिजीवीहरू भने मौलिक विचार दृष्टि होइन, डाढ/ईश्र्यामा बाँडिएर विभाजित बनिरहेका छन् । समाजको विकास, उन्नति, प्रगति र अग्रगति होइन, कुन कुरा बोक्दा आफूले लाभ प्राप्त गर्न सकिन्छ भन्नेमै लिप्त रहिरहेका छन् । ठूला ठानिएका विद्वान्हरूको चरित्र, आदर्श र रोलमोडल बिक्ने/भासिने दलदलको चंगुलमा परिरहेको देखिँदै छ । उनीहरूमा यति धेरै द्विविधा देखिएको छ कि सर्वसाधारण जनता अगाडि बढ्ने पक्षमा लाग्यो भने आफू लुप्त हुइन्छ र अस्तित्व सकिन्छ भन्ठानेर अवसरकै चंगुलमा परिरहेका छन् ।

अनि गुट, उपगुट र पार्टीका कित्तामा लागेर पूर्वपञ्च, कांग्रेस, कम्युनिस्टको दौराको फेर समातेर विभाजित र दलबदलु गरिरहेछन्, स्वनामधन्य बुद्धिजीवीहरू ।

जुन कुरा सामान्यजन स्विकार्दैन, त्यही कुरा घाटघाटका पण्डा झैं विभाजित थरीथरीका बुद्धिजीवी बोकेर हिँडिरहेछन् । न जनता पारस शाहको उद्दण्डता न त ज्ञानेन्द्र शाहको निरंकुश प्रणालीको पक्षमा छन् । न विभिन्न पार्टीहरूका गुट-उपगुटका टाटेपांग्रे बुद्धिजीवीहरूकै विचारमा सर्वसाधारण विश्वास गर्छन् ।

यसप्रकार अवसरवादी बुद्धिजीवीहरू समाजको प्रगति र उन्नतिको वाहक होइन, वाधकको रूपमा रहेर देशलाई जटिलतातर्फ लगिरहेका देखिन्छन् । मुस्लिम र अफ्रिकाका कविला प्रमुखहरूका सयवटा स्वास्नी पुर्‍याउने प्रतिस्पर्धामा त्यहाँका बुद्धिजीवीहरू मतियार बनेजस्तो यहाँका बुद्धिजीवीहरूको चर्तिकला पनि नेपाली आम जनतालाई स्वीकार्य छैन भन्ने जगजाहेर छ तर पनि बुद्धिजीवी भनाउँदाहरूको नकचरो प्रवृत्ति जारी छ ।

पुस महिनाको तीन भागको दुई भाग आज २० गते सकिन लागिसक्दा पनि पत्रपत्रिकादेखि रेडियो, टीभी अनि सामाजिक सञ्जालसम्म हुने गरेका वाद, विवाद र संवाद पुसको फासफुसमै भइरहेको छ । टिवटे र फेसबुकेहरूको स्ट्याटस र तिनमा हुने गरेका सहभागिताले 'लुकिङ लन्डन, टकिङ टोकियो' दोहोरिइरहेको छ ।

देशको ध्यान र कार्य मूल विषयबाट अन्यत्र मोड्न अक्षर लेख्न र भाषण गर्न जान्ने नक्कली बुद्धिजीवीहरूबाट ठूलो कसरत भइरहेको छ । सविधान कार्यान्वयन र निर्वाचनको महायज्ञमा लाग्ने र लगाउने अहम् कार्यमा घनीभूत रूपमा लाग्नबाट स्वनामधन्य बुद्धिजीवीहरू विमुख बनेकाले समस्या थप जटिल बनिरहेको छ । राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, जो भारतमै पढे र हुर्के उनले गएको हप्ता आफ्नो स्तम्भमार्फत भारतले गराइरहेको संविधान संशोधन प्रस्तावको म्याच फिक्सिङलाई उजागर गरिदिएका छन् ।

गौतम शेरबहादुर देउवा निर्वाचित प्रधानमन्त्री बन्दा उनका राजनीतिक सल्लाहकार पनि रहेका थिए । उनी संविधानसभाबाट बनेको संविधान कार्यान्वयन र तीन तहको निर्वाचन गरेर ०७४ माघ ७ गतेभित्र नयाँ संसद्लाई कार्यभार सुम्पनुपर्ने संवैधानिक व्यवस्था रहेकोबारे जिम्मेवारहरूलाई घच्घच्याउँदै संक्रमणकालीन संसद्लाई प्रदेश सिमांकनजस्तो संवेदनशील र प्रदेश सभाले गर्नुपर्ने काममा प्रचण्डमार्फत भारतको संस्थापनले म्याच फिक्सिङ गराएको खुलासा गराएर देशका बुद्धिजीवी, नेता, पत्रकार र देशभक्तहरूलाई तिमीहरू कुन चंगुलमा परेका छौ भनेर देश जोगाउन लल्कारेका छन् ।

पुस फासफुस होइन, यो महिनामा नेपालमा धेरै अघिदेखि निर्णायक र घमासान युद्ध चलिरहेको छ । बौद्धिक, पार्टी नेता, ब्युरोक्रेसी, विज्ञ, एनजीओ/आईएनजीओ परिचालित भइरहेका छन् । यो युद्धमा अस्त्रशस्त्र, द्वन्द्व र अन्योल अस्थिरताको काउसोलाई निर्मूल गर्न जरुरी छ ।

तर देशलाई बाटो देखाउने बुद्धिजीवीहरू आउँदो साता पुस २७ गते पृथ्वी दिवस मनाउन सरकारी बिदा दिनुपर्छ भन्ने विवादमा छलफल बहस चलाउँदैछन् र यो क्रम सुरु पनि भइसकेको छ । आफूलाई महान् कम्युनिस्ट र कांग्रेस ठान्नेहरूले त्यो दिनको धुवाँधार कार्यक्रममा सरिक हुने छनक पनि दिइसकेका छन् ।

पहिलो बिम्बः

नेपालको पहिलो बिम्ब पृथ्वीनारायण शाह हुन् ।राष्ट्रिय एकता दिवस मनाउने कुरामा विवाद छैन, नेपाल एकीकरणमा पृथ्वीनारायणको योगदान छ । उनैले नेपाल एकीकरणको खाका रचेका हुन् । त्यो प्रशंसनीय र ऐतिहासिक काम पनि हो ।

बुद्धिजीवीहरूलाई प्रश्न के मात्र हो भने गणतन्त्र नेपाल घोषणा र संविधानसभाबाट संविधान जारी भइसकेको सन्दर्भमा उनको पनि स्मरण गर्दै त्यसै दिनलाई राष्ट्रिय एकताको दिवस संस्थागत गरेर मनाउन सुरु गर्‍यो भने सबैले राष्ट्रिय एकतालाई बलियो बनाउन गरेको योगदानको कदर हुनेछ, पृथ्वीनारायणको समेत । शाहवंशीय परम्परा जोड्दै अतिवादी पश्चगमनकारी शक्तिलाई प्रोत्साहन गर्न पुस २७ गते बिदा गर्नु हुँदैन । बिदालाई बहसमा ल्याउनुको कुनै तुक छैन ।

दोस्रो बिम्बः

बीपी नेपालका दोस्रो बिम्ब हुन् । पृथ्वीनारायणपछि नेपाललाई प्याराडमसिफ्ट गराउने अर्का व्यक्तित्व हुन्, बीपी कोइराला । उनी कांग्रेसका संस्थापकमध्ये एक हुन् । यिनी नै राणा-शाहको खोपीमा रहेको शासकीय कार्यकारी अधिकार प्रजातान्त्रिक पद्धतिअनुकुल जनतामा ल्याउन जीवनभर निरन्तर लागिरहे ।

हुन त जनतामा निहित सार्वभौमसत्ता जनतामा आइपुग्न वर्षौं लाग्यो । बीपीले यो अभियानको लागि जेल, निर्वासन गरिरहे । स्वदेश फर्किएर पनि अन्तिम सास फेर्दासम्म छोडेनन् । त्यसैको निरन्तरता हो लोकतान्त्रिक गणतन्त्र ।
बीपीको योगदान सम्झनलायक छ । सम्मान गर्न योग्य पनि छ किनभने जनता सार्वभौम नभएसम्म विकास र अग्रगमन सम्भव छैन । बीपीले यही कुरा भनिरहे र जीवनभर लागिरहे ।

छोटो समय प्रधानमन्त्री भए पनि राष्ट्रियताको संवद्र्धन लोकतन्त्रबाट हुन्छ भनेर बीपीले अन्तर्राष्ट्रिय फोरमहरूमा नेपाललाई प्रस्तुत गर्ने प्रयत्न गरिरहे । एक सटले फुटबल खेलाडीले गोल गरे झैं बीपीले प्रजातन्त्र भनेर नेपालको पहिचान, अस्तित्वलाई अन्तर्राष्ट्रिय रूपमा जोडे । यो काम उनले सर्वसाधारणको तर्फबाट गरेका हुन्, राजारजौटा भएर गरेका होइनन् । जनप्रतिनिधिको रूपमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बीपीले आफ्ना विचार कार्यक्रम प्रस्तुत गरेका हुन्, जो बिम्बको रूपमा रहेको छ ।

त्यसैले उनको सानो एक्सन पनि त्यसरी नै ठूलो भएको हो, जसरी फुटबल खेलाडीले म्याचमा गरेको एउटै गोलले पूरै देशलाई विजेता बनाउँछ । जनताबाट छानिएर गएको प्रतिनिधिको रूपमा बीपीले गरेको त्यही हो र उनी नेपालको प्रजान्तान्त्रिक आन्दोलनका आइकोन हुन् ।

तेस्रो बिम्बः

पहिलो र दोस्रो बिम्ब अहिले जीवित छैनन् । तर जीवित रहेरै नेपालको तेस्रो बिम्ब बनिरहेका छन्, केपी शर्मा ओली ।

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि ओली देशको प्रधानमन्त्री बने । नेपाली जनताले संविधान बनाएर जारी गरेको सहन नसकेर भारतले नाकाबन्दी पनि लगायो । जो यति क्रूर र निर्मम थियो कि त्यसबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरोधीको कलंक नै बोक्नुपर्‍यो । त्यस्तो बेलामा देशको प्रमुख बनेर ओलीले नेपाली जनजनमा जुन आशा र विश्वास जगाएर ढाढस दिने काम गरे । नेपाली स्वाभिमान जोगाए । त्यसैले ओलीलाई तेस्रो बिम्ब बनाएको हो । ओली भारतसँग रौंजति पनि झुकेनन् ।

त्यत्ति नै समयमा हो, ओलीले तीनतिरबाट भारतवेष्ठित नेपाल र नेपालीलाई उत्तरी छिमेकी चीनसँग सम्झौता गरेर प्रशान्त महासागरसम्म पुग्ने बाटो खोले । प्रत्येक नेपालीलाई हामी नेपाली स्वतन्त्र, सार्वभौम बनेर अखण्ड र स्वाभिमानपूर्वक बाँच्न सक्छौं भन्ने विश्वास जगाइदिए । कोमामा पुगेका नेपालीलाई बौराए । ओलीले गरेको काम हेर्दा र सुन्दा सामान्य नै लाग्ला, तर यसले नेपाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नवीन मान्यता र मौलिक दर्शनको रूपमा विश्वसामु स्थापित गरिदिएको छ ।

कतिलाई लाग्ला, ओली एमालेमा गुटमा रहेका थिए । गुटमार्फत विभाजित थिए । तर ओलीबारे कसले के भन्छ र आरोप लगायो भनेर उनलाई हेरिएको होइन । उनले गरेका असाधारण कामले नै उनी त्यो उच्चाइमा पुगेका हुन् । उनलाई बिम्ब मानिएको हो । राजधानीका हलमा चलिरहेको भारतीय कलाकार अमीर खानको फिल्म दंगलमा अमीरकी छोरीले अस्ट्रेलियन कुस्ती च्याम्पियनलाई कुस्ती प्रतिस्पर्धामा अन्तिम चरणमा जसरी जितिन्, त्यस्तैगरी नेपाली राष्ट्रियताले भारतीय मिचाइ जितेको हो ।

जसरी फिल्ममा भारतीय कोचले म्याच फिक्सिङ गर्दा पनि उनको बाबुको प्रेरणाले अमीरकी छोरीले कुस्त जितिन्, त्यसैगरी प्रचण्डको म्याच फिक्सिङलाई नेपाली स्वाभिमानले पराजित गर्ने आशा नेपाली दर्शकले सिनेमा हलबाट निस्कँदा गरिरहेको सुनियो ।

अन्तर्राष्ट्रिय मामिला र कूटनीतिमा यो बिम्बलाई ओली डक्ट्रिन भनेर डिस्कोर्स चलाउनुपर्ने उपयुक्त बेला हो, पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेका सल्लाहकार अश्विन पुडासैनीले भने । उनी यो डक्ट्रिन परराष्ट्रनीति, विदेश मामिला, साना देशहरूको छिमेक नीति र कूटनीतिमा एक नवीन विचारधाराको रूपमा स्थापित भइसकेको बताउँछन् । यो डिस्कोर्सलाई अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता र प्राज्ञिक जगत्ले लिपिबद्ध गर्दै मुलुकको समृद्धि, आर्थिक उन्नति र समग्र विकासमा एक औजारको रूपमा प्रयोग गर्नु वाञ्छनीय हुन्छ ।

यसबाहेक श्रीकृष्णले भनेजस्तै भारतीय एजेन्डालाई नेपालको संसद्मा प्रवेश गराएर पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने इसुलाई ओलीले निस्तेज पार्ने जुन प्रयत्न गरेका छन्, त्यसलाई पाँच नम्बर प्रदेशका जनताले अनुमोदन पनि गरिसकेका छन् । ओलीको परिपक्वतालाई समयले अझ सही सावित गरेको छ । यसैले ओलीलाई राजनेताको रूपमा स्थापित गरिरहेको छ । एमाले पार्टीपंक्तिलाई आफ्नो पार्टीमा राजनेता रहेको महसुस गराइरहेको छ ।

यसरी पुस फासफुस होइन, यो महिनामा नेपालमा धेरै अघिदेखि निर्णायक र घमासान युद्ध चलिरहेको छ । बौद्धिक, पार्टी नेता, ब्युरोक्रेसी, विज्ञ, एनजीओ/आईएनजीओ परिचालित भइरहेका छन् । यो युद्धमा अस्त्रशस्त्र, द्वन्द्व र अन्योल अस्थिरताको काउसोलाई निर्मूल गर्न जरुरी छ । पृथ्वी, बीपी र केपीलाई बिम्बको रूपमा सम्झनुको एउटै अर्थ यही हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.