अमूर्त संस्कृतिको संरक्षणमा-नेपाल
साधारणतया जीवनयापन गर्ने पद्धतिलाई संस्कृति भनिन्छ । संस्कार, परिस्कार वा विशुद्ध सम्यक कृति वा चेतना भन्ने अर्थमा संस्कृतिको परिभाषालाई अथ्र्याइएको पाइन्छ । समाजशास्त्रीय, मानवशस्त्रीय अध्ययनमा संस्कृतिलाई अभिन्न अंगको रूपमा लिइन्छ ।
मानवशास्त्री र संस्कृतिकर्मीहरूले संस्कृतिलाई विभिन्न तरिकाले परिभाषित गरेका छन् । तर संस्कृतिसम्बन्धी सर्वमान्य परिभाषा गर्न सकिएको छैन । यद्यपि ईबी टेलरको संस्कृतिसम्बन्धी परिभाषालाई (मानवशास्त्रीय) मानविकी संकायहरूमा विशेष सन्दर्भ र स्रोतको रूपामा लिएको छ ।
मानिसको समग्र जीवनशैली समुदायबाट वैयक्तिकरूपमा आर्जन गर्ने सामाजिक तथा सांस्कृतिक विराशत, सोचाइ र अनुभूतिहरू र विश्वास गर्ने पद्धति, सामूहिकतामा र वास्तविकतामा व्यवहार गर्ने शैली, समुचित सिकाइको संग्रह, तत्कालीन समस्याहरूको विशेषीकृत रूप, अभिमुखीकरण, सिकिएका व्यवहारहरूको निर्देशनात्मक कार्यान्वयनका लागि अपनाइने संयन्त्र, बाह्य वातावरण र अन्य अनुकूलताको लागि अपनाइने पद्धति, इतिहासको वेग, गति र त्यसबाट उब्जिएका आशा र निराशा, उपमा वा मूल आसयको रूपमा आएका प्रतीक वा व्यवहारहरूको समग्र व्याख्यालाई संस्कृतिको परिभाषाभित्र समाविष्ट भएको पाइन्छ (क्लाइड क्लकहन) ।
नेपाल सरकारको राष्ट्रिय संस्कृति नीतिअनुसार समग्ररूपमा विवेकशील मानव जातिले आफ्नो ज्ञानसीप र क्षमताको उपयोग गरी निर्माण गरेका यावत् सिर्जना अनुरूपको जीवनशैली नै संस्कृति हो । संस्कृतिको भौतिक स्वरूपलाई सम्पदा भनिन्छ । भौतिक संस्कृति र सम्पदाको प्रमाणिकता र आधिकारिकताको संरक्षणको लागि सम्बद्ध निकायहरूबाट विशेष जोड दिएको पाइन्छ ।
तर सम्पदासँग जोडिएको अर्को महत्वपूर्ण पक्ष भनेको अमूर्त संस्कृति र त्यसको आयामहरूको अध्ययन हो तर यस पक्षको अध्ययनको लागि कम चासो दिएको पाइन्छ । सारतत्व यो हो कि भौतिक सम्पदाहरूको दिगो संरक्षणको लागि अमूर्त संस्कृतिको संरक्षण र त्यसको पुस्तागत हस्तान्तरण हुनै पर्छ । अमूर्त संस्कृतिको यसै महत्वलाई बुझेर त्यसको सिर्जनात्मक निरन्तरताको सुनिश्चितता गर्नै पर्छ ।
अमूर्त संस्कृति र सम्पदा हाम्रा अमूल्य निधि हुन् । तर बढ्दो सहरीकरण, परसंस्कृतिग्रहण, मानिसको व्यस्ततता, बसाइँसराइ र स्थानन्तरण, पश्चिमी संस्कृतिको प्रभाव र स्वसंस्कृतिप्रतिको उदासीनताको कारण हाम्रा अमूर्त भाषा र संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् ।
संस्कृतिको स्वरूपा अमूर्त नै हुन्छ । मानिसले मन मस्तिष्कमा दमित हर्ष, हाँसो, आँसु, कुण्ठा र विस्मात आदि भावाविव्यक्त गर्नको लागि अपनाउने क्रियाकलाप नै अमूर्त संस्कृति हुन् । आदिम मानवले आफ्नो इतिहासको अनेकौं गाथाहरूको कल्पना गरेको हुन्छ ।
त्यस ठाउँमा उसको आगमनको इतिहास र पुर्खाको वंशावलीलाई व्यख्या गर्ने क्रममा कल्पेका लोककथा, लोक आख्यान्न, श्रुति वा मौखिक परम्परामा आधारित काव्य-महाकाव्य, गीतिकथा, लोकनाटक, अभिनय र प्रतीकात्मक रूपमा प्रस्फुटित संगीत, नृत्य, गायन, परम्परागत उपचार पद्धति, उसको लौकिक र दार्शनिक दृष्टिकोण र चिन्तन, पर्व परम्परा र प्रहसन, संस्कार, जन्मेदेखि मृत्युपर्यन्तसम्मका धार्मिक, ऐतिहासिक तथा स्थानीय घटना र स्मरणहरूसमेत अमूर्त संस्कृतिका द्योतक हुन् ।
उल्लेखित आधारमा पर्थाजनित नृत्य, वाद्ययन्त्र वा काव्यात्मक गायनमार्फत अभ्यास र अभिव्यक्त भइरहने लोकव्यवहार, अभिव्यक्ति, ज्ञान, सीप र साधनाहरूको समष्टिगत अर्थमा अमूर्त संस्कृतिलाई बुझिन्छ । आफ्नो इतिहास, भाषा, जातीय र जनजातीय इतिहासको खोजी र हक अधिकारको प्राप्तिको लागि व्यापक छलफल भइरहेको यस परिप्रेक्षमा अमूर्त संस्कृतिको अध्ययन र अन्वेषणले विशेष योगदान पुर्याउने देखिन्छ । इतिहासको सम्झना र संग्रहण गर्ने मानव मस्तिष्क र सांस्कृतिक क्रियाकलापहरू नै यसका अवयवहरू हुन् ।
पहिलो र दोस्रो विश्वयुद्धपश्चात् सामाजिक सोच, चिन्तन र बौद्धिक जगत्मा व्यापक परिवर्तन आयो । कयौं स-साना राज्यहरू शक्तिशाली राज्यहरूको दासत्वबाट मुक्त हँदै स्वतन्त्र राज्यको रूपमा स्थापित हुन पुगे । स्वतन्त्र राष्ट्रको प्राप्तिको लागि अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र मानवतावादी दर्शनले मात्र होइन भाषा, साहित्य, पर्व, परम्परा तथा आदिवासी र जात जनजातीय चेतनाले समेत प्रभावकारी भूमिका खेल्यो ।
विश्व बन्धुत्वको भावना, आपसी भाइचारा, सहअस्तित्वको सिद्धान्त र मानवतावादी भावनालाई अन्तर्राष्ट्रिय जगत्मा फैल्याउँदै अमन, चयन र शान्ति कायम राख्नको लागि संयुक्त राष्ट्रसंघ र युनेस्कोलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले प्रभावकारी भूमिका खेले ।
युद्धबाट प्रताडित विश्वमा अमनचयन र दीर्घकालीन शान्ति स्थापना गर्न र नवसृजित राष्ट्रहरूमा स्थायित्व प्रदान गर्न विभिन्न सन्धि र महासन्धिहरूलाई कार्यान्वयनमा ल्याइयो । विश्वयुद्धबाट क्षतिग्रस्त ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्नको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय संघ र संस्थाहरू स्थापना भए । यस कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन, बडापत्र, सन्धि र महासन्धिसमेत पारित भए ।
युनेस्कोले सन् २००३ मा अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धिलाई अंगीकार गर्यो । यस महासन्धिले अमूर्त संस्कृतिको परिभाषा दिँदै लोक आख्यान्न, कथा, मिथक र त्यसका प्रतिनिधिहरू, सांस्कृतिक संवाहकको रूपमा रहेका भाषा, साहित्यसहितका मौखिक, अलिखित अभिनय र अभिव्यक्तिहरू, सामाजिक अभ्यास एवम् अनुष्ठान र प्रकृति एवं ब्रम्हाण्डसँग सम्बन्धित दार्शनिक दृष्टिकोणले समग्र समुच्चयलाई अमूर्त संस्कृतिको रूपमा स्वीकार गरेको छ ।
यस महासन्धिको प्रमुख उद्देश्य भनेको विश्वभरि छरिएर रहेका भाषा, साहित्य र अलिखित परम्पराको अभिलेखीकरण, अन्वेषण, अनुसन्धान र संवद्र्धन गरी भावी पुस्तालाई बचाएर राख्नु रहेको छ ।
नेपालमा वर्तमान समयमा अमूर्त संस्कृतिको संरक्षणको धारणा व्यापकरूपमा देखिएको छ ता पनि यससम्बन्धी सचेतना लिच्छविकालदेखि नै देखा परेको हो ।
लिच्छविकालका अभिलेखहरूमा राजा महाराजाहरूले मन्दिर मूर्तिको स्थापना गरी त्यससँग सम्बन्धित पूजाआजा, जात्रा, पर्व र परम्पराहरू मनाउनको लागि प्रशस्त मात्रामा जग्गादान गरेको देखिन्छ । अभिलेख्य प्रमाणअनुसार अर्चा गोष्ठी, वादित्र गोष्ठी, मल्लयुद्ध गोष्ठी र पाञ्चालीहरूले अमूर्त संस्कृति र सम्पदालाई जोगाउन अभिप्रेरित रहेको देखिन्छ ।
मल्लकालमा भौतिक सम्पदासँग अमूर्त पर्व र परम्पराहरू निकटतम् रूपमा जोडिएर सञ्चालित भएको पाइन्छ । पारम्परिक धार्मिक अनुष्ठान र जात्रापर्वको लागि राजा र राज्यहरूबीच अघोषित रूपमा प्रतिस्पर्धा चल्दथ्यो । शाहकालमा आएर पनि यस धारणामा कमी आएको पाइँदैन ।
सामान्यतया कुनै पनि विजित राष्ट्रमा विजय गर्ने राज्यले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई जबर्जस्ती लादेको पाइन्छ । नेपालको इतिहासममा भने यस्तो परम्परा रहेको पाइँदैन । नेपालमा बसाइँ सरी आउने अनेकौं जाति प्रजाति हुन् वा यहाँ विजय प्राप्त गरी शासन गर्ने शासकहरू हुन्, ती यहीँको संस्कृतिमा घुलमिल भई नवीन सांस्कृतिक धारा अर्थात् नेपाली संस्कृतिको विकासमा योगदान दिएको देखिन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं खाल्डोमा विजय गरेपछि पनि यहीँका जात्रा, पर्व र परम्परालाई यथारूपमा सञ्चालन गर्न आदेश दिएको तथ्य उनकै दिव्योपदेशबाट प्रष्टिन्छ । राणाशासनकाल राजनीतिक परिदृश्य जति कठोर भए पनि धर्म र संस्कृति र सांस्कृतिक धरोहरहरूलाई संरक्षण गर्नुपर्नेमा जोड दिएको पाइन्छ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक बहुजातीय र भौगोलिक विविधतापूर्ण देश हो । धर्म र संस्कृतिले यहाँ फल्ने र फुल्ने अवसर पाएकै छ । पर्यावरणीय विविधता अनुरूप नै यहाँको संस्कृतिले निश्चित आकार लिन पुगेको देखिन्छ । बहुलतामा आधारित यहाँको मूर्त, अमूर्त संस्कृतिले राष्ट्रिय एकताको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
बहुलतामा आधारित यहाँको जाति, जनजाति र तिनका भाषा संस्कृति र मूर्त, अमूर्त परम्पराले एकैसाथ फल्ने र फुल्ने अवसर पाएकै छ । नेपालको संविधान २०७२ ले संस्कृतिसम्बन्धी हकलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । यस हकले अमूर्त संस्कृतिको संरक्षणलाई परोक्षरूपले समेटद्छ ।
मूर्त सम्पदाहरूको संरक्षणको लागि प्राचीन स्मारक संरक्षण ऐन-२०१३ ले प्रभावकारी भूमिका खेलेको छ । यद्यपि यो ऐन अमूर्त संस्कृतिको संरक्षणमा मौन देखिन्छ । नेपालको राष्ट्रिय संस्कृति नीति–२०६७ मा अमूर्त संस्कृतिको संरक्षणसम्बन्धी व्यवस्था गरेको छ । नेपाल सरकारले अमूर्त संस्कृतिको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा पक्ष राष्ट्रको रूपमा हस्तान्तरण गरेर यस क्षेत्रमा आफूलाई अन्तर्राष्ट्रिय जगत्मा उभ्याएको छ ।
निष्कर्ष
अमूर्त संस्कृति र सम्पदा हाम्रा अमूल्य निधि हुन् । तर बढ्दो सहरीकरण, परसंस्कृतिग्रहण, मानिसको व्यस्ततता, बसाइँसराइ र स्थानन्तरण, पश्चिमी संस्कृतिको प्रभाव र स्वसंस्कृतिप्रतिको उदासीनताको कारण हाम्रा अमूर्त भाषा र संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् । यसको संरक्षणको लागि सम्बद्ध संस्कृतिका संवाहक, युवापुस्ता जुझारु रूपमा लाग्नुपर्ने अवस्था छ ।
सांस्कृतिक पहिचान र राजनैतिक अधिकार प्राप्तिको लागि महत्वपूर्ण आधार र पहिचानको रूपमा रहेको अमूर्त संस्कृति सम्पूर्ण नेपालीहरूको साझा सम्पत्ति हो । भूकम्पले क्षतिग्रस्त भौतिक सम्पदाहरूको संरक्षणको लागि सबैको ध्यान आकृष्ट भइरहेको अवस्थामा अमूर्त संस्कृति र सम्पदाको संरक्षणको लागि पनि हामी सबैका विशेष ध्यान जानै पर्ने आजको आवश्यकता हो ।