राष्ट्रका प्रधान शत्रु
सभ्यता र समृद्धि पृथक् कुरा हुन् । आर्थिक समृद्धिले मात्र व्यक्ति, समाज र राष्ट्र पूर्ण हुँदैन । इतिहासको सम्मान गर्दै परम्परा, धर्म, संस्कृति एवं सम्पूर्ण मूल्यमान्यता (फ्याक्ट्स् एन्ड भ्यालुज) बचाउँछ, सभ्यताको रक्षा गर्ने संचेतनाले । तर नेपालका टाठाबाठालाई 'तिमीहरूको विगत अन्धकारयुग थियो' भनेर अरूले नै सिकाइदिएका छन् ।
त्यसैले आज विदेशीका मानसपुत्रहरू वीरपूजालाई व्यक्तिपूजा (पर्सनालिटी कल्ट) भन्ने अपव्याख्या गरिरहेका छन् । पृथ्वीनारायण शाहजस्ता राष्ट्रनिर्मातालाई समेत अपशब्द प्रयोग गर्ने केही प्रायोजित पात्रहरूले राष्ट्र विखण्डनको दुष्प्रयास गरिरहेको देखिन्छ । त्यसैले युवा पुस्ताले सत्यको अन्वेषण गर्नुपर्ने खाँचो देखिएको छ ।
शिक्षित, चेतनशील र परिपक्व भनिने वयस्क समूहले युवावर्गलाई सही मार्ग देखाउन नसक्दा उनीहरू अन्योलमा छन् । उनीहरूलाई मार्गदर्शन गर्न र राष्ट्रिय एकताको बाटोमा हिँडाउन दलीय, जातीय, क्षेत्रीय र साम्प्रदायिक सोचबाट माथि उठेर राष्ट्रिय दृष्टिकोण विकसित गराउनुपर्ने खाँचो देखिएको छ ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीले त्यहाँको रेलमार्गलाई 'राष्ट्रिय एकताको आधार' भनेका छन् । भावनाले होइन, भारत फलामै फलामले मात्र जोडिएको छ । झन्डै तीन सय वर्ष शासन गर्दा अंग्रेजले भारतका पाँच सय ६५ राज्यलाई 'ब्रिटिस इन्डिया' नामको छाता ओढाएर राख्यो । जवाहरलाल नेहरू प्रधानमन्त्री भएका बेला गृहमन्त्री बल्लभभाइ पटेलले ती सबै राज्यलाई भारतको नयाँ संविधानअनुसार जबर्जस्ती भारतीय संघीयतामा गाभे । नरेन्द्र मोदीजस्ता पटेलवादीहरू बल्लभभाइलाई राष्ट्रिय एकताको नायक मान्छन् । भारतीय एकताको सूत्रधार फलाम हो कि पटेल ? यसमा पनि विवाद छ ।
अंग्रेजहरूले भारतमा शासन गर्दा आफ्नो स्वाद, स्वार्थ र सुविधाअनुसार काम गरे । कवि रवीन्द्रनाथ ठाकुरलाई 'टेगोर' भन्न थाले, उनी ठाकुरबाट टेगोर भए । मराठी भाषाको मुम्बईलाई अंग्रेजले 'बम्बे' भने । बंगालका कट्टर बाहुनहरू 'मुख्योपाध्याय' उच्चारण गर्न नसक्दा अंग्रेजले 'मुखर्जी' बनाइदिए । बंगोपाध्याय बनर्जी भयो ।
चट्गाउँतिरका चट्टोपाध्यायहरू चटर्जी भए । मान्छेका थरदेखि सहरहरूका नाम पनि फेरिदिए ब्रिटिसले । झन्डै नौ सय वर्ष विदेशीका दास बनेका भारतीयले आफ्ना हाइवेलाई आज राजमार्ग नै भन्छन् । नेपालमा आफ्ना नोकरलाई 'लोकमार्ग' भन्न सिकाएका छन् । राजबहादुर, राजकुमार सबै लोकबहादुर लोककुमार होलान् त ? यस्ता हास्यास्पद कुरामा नेपालीलाई अल्मल्याएर हरेक क्षेत्रमा सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) गर्न खोजेको देखिन्छ ।
घरघरमा विखण्डन ल्याउन नेपालमा सक्रिय छन् विदेशीहरू । विखण्डनवादीहरू विभिन्न तह र तप्कामा क्रियाशील छन् ।आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण राष्ट्रिय एकताका नायक र सूत्रधार हुन् । विदेशी शक्तिका नोकरहरूले पुस २७ गते राष्ट्रिय एकता दिवस खारेज गरे पनि नेपालीको हृदयमा पृथ्वीनारायणप्रति जुन असीम श्रद्धा र सम्मान छ, त्यो कदापि मेटिँदैन ।
त्यसैले हरेक वर्ष पुस २७ गते नेपालीहरू पृथ्वीनारायणप्रति श्रद्धापूर्वक कृतज्ञता ज्ञापन गर्छन् । नेपाल सबै जातजाति र भाषाभाषीको फूलबारी हो भन्ने पृथ्वीनारायण कुनै समूह, जात, गुट वा क्षेत्रका नायक नभएर राष्ट्रनिर्माता र राष्ट्रनायक भए । उनलाई त्यही कारणले सम्मान गरिएको हो ।
ओदा नोबुनागा जापानका प्रथम एकीकरणकर्ता हुन् । त्यस्तै उनका सेवक तोदोमोती हिदेयसीलाई पनि जापानीहरू त्यति नै श्रद्धा गर्छन् । लिबियाका जनतालाई ब्रिटेनको उपनिवेशबाट सन् १९५१ मा मुक्त गराउने राजा इद्रिस अल सान्सुईलाई सम्मानपूर्वक सम्झिन्छन्, त्यहाँका जनता । सन् १८७४ मा अफगानिस्तानलाई ससाना राज्यबाट बलियो राष्ट्र बनाउने अफगान राजा अहमद शाह दुरानी हुन् वा सन् १९४५ मा हल्यान्डबाट राष्ट्रलाई स्वाधीन बनाउने इन्डोनेसियाका राष्ट्रनायक सुकार्नो इतिहासमा अमर छन् ।
इरानका जनता राष्ट्रनिर्माता साइरस द ग्रेटप्रति आभारी छन् भने अटो फन बिस्मार्कलाई जर्मनीका जनता महान् एकीकरणकर्ता भनेर सम्मान र श्रद्धा गर्छन् । इजरायली जनताले राजा डेभिडलाई राष्ट्रनायक र राष्ट्रिय एकताका सूत्रधार मानेका छन् । जोसे रिजाल (रिसाल) लाई फिलिपिनो जनताले, महमद अली जिन्नालाई पाकिस्तानीले, ली क्वान युलाई सिंगापुरका जनताले, जर्ज वासिंटनलाई अमेरिकीले, क्याभोर, मेजिनी र ग्यारिबाल्डीलाई इटलीका जनताले र राजा फेयरहेअरलाई नर्वेका जनताले राष्ट्रपिता मान्छन् ।
युगोस्लाभिया तबसम्म बलियो थियो, जबसम्म मार्सल ब्रज टिटो जीवित थिए । आज त्यो राष्ट्र टुक्राटुक्रा भएको छ । युद्धले गर्दा बोस्निया-हर्जगोभिना, क्रोएसिया, मोन्टेनिग्रो जस्ता ससाना राज्य जात, धर्ममा विभक्त छन् । बोलिभियालाई स्वाधीन गराउने सिमोन बोलिभर हुन् वा केन्या नामको राष्ट्रलाई विश्वमा चिनाउने जोमो केन्याका जनताले बिर्सेका छैनन् ।
धेरै राष्ट्रले त सालिक, पाठ्यपुस्तक, ठूलाठूला प्रतिष्ठानका नाममा मात्र होइन, चलनचल्तीका नोटमा समेत राष्ट्र निर्माताका तस्बिर अंकित गरेका छन् । पंक्तिकारले भुटानकी एकजना राजनीतिज्ञलाई भुटान कसले स्थापना गरेको हो भन्ने प्रश्न गर्दा उनले साब्द्रुङ नामग्यालको नाम लिइन् । सन् १९०७ मा विधिपूर्वक राजतन्त्र स्थापना हुँदा प्रथम राजाका रूपमा सर टासी नामग्याल वाङचुकले शुभराज्याभिषेक गरेका थिए । संस्कृतको 'भू उत्थान' 'भूत्थान' हुँदै भुटान शब्द बन्यो । राजा राम शाहकै पालादेखि गोरखालगायतका क्षेत्रका नेपाली हिमालपारिको मार्गबाट त्यहाँ पुगे ।
राष्ट्रको सुरक्षा नीति मात्र बलियो भएर पुग्दैन, राष्ट्रलाई बलियो बनाउन आर्थिक स्वावलम्बन, धर्म-संस्कृतिको संरक्षण, जनताको आत्मविश्वास, भरपर्दो न्यायप्रणाली, सन्तुलित कूटनीति र कठोर अनुशासन आवश्यक पर्छ भन्ने कुरा पृथ्वीनारायणले राम्ररी बुझेका थिए । यो कुरा उनको दिव्योपदेशमा सविस्तार उल्लेख गरिएको छ । पृथ्वीनारायण र उनका जेठा छोरा प्रताप सिंहको निधनपछि रक्षा र परराष्ट्र विभाग सम्हालेका बहादुर शाहले नेपाललाई अरू सुदृढ बनाए । तर उनी गम्भीर षड्यन्त्रको सिकार बन्न पुगे ।
काजी सर्वजित राना काटिएपछि महारानी राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकेर कैद गरियो । श्रीहर्ष पन्त जस्ता पृथ्वीनारायणका परम सहयोगीहरू जीवितै भएकाले राष्ट्रको सुरक्षाप्रति उनीहरू संवेदनशील थिए । पुराना भारदारको तर्क थियो- राजकाजमा राष्ट्रको सुरक्षा पहिलो कुरा हुन्छ । त्यसमा कसैसँग सम्झौता हुँदैन । राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा कमजोर हुन नदिन बहादुर शाहलाई राष्ट्रवादी भारदारहरूले पुनः जिम्मेवारी सुम्पिए ।
उनलाई राजकाजको राम्रो ज्ञान थियो, तर ठूलो दबाबपछि कैदमुक्त भएकी महारानी राजेन्द्रलक्ष्मीले देवर बहादुर शाहलाई लखेटिन् । नेपाल एकीकरण अभियान त्यसपछि कमजोर भयो । राष्ट्रिय सुरक्षा शिथिल बन्न पुग्यो ।
राष्ट्रका प्रधान शत्रु को हुन् भन्नेबारेमा प्राचीन धर्मशास्त्र, नीतिशास्त्र र न्यायशास्त्रदेखि आधुनिक राजनीतिशास्त्रमा स्पष्ट लेखिएको पाइन्छ । तसर्थ, राष्ट्रवाद र राष्ट्रघात वा राष्ट्रवादी र राष्ट्रघाती भन्ने शब्दमा विवाद गर्नै पर्दैन ।
उदाहरणको लागि, महाकाली सन्धि राष्ट्रघात नै थियो । त्यसोभन्दा धेरैलाई चित्त दुख्ला, तर आफ्नै बाबुले राष्ट्रघात गरे पनि घरभित्र ती 'पिताजी' र आँगनमा पुगेपछि ती घोर राष्ट्रघाती ठहरिन्छन् । गण्डक सम्झौता, कोशी सम्झौता, लाखौं विदेशीलाई नेपाली नागरिकता दिने काम राष्ट्रघात नै हो । ठूला दलले त्यही काम गरे । विदेशीसँग मिलेर सुगौली सन्धि गर्ने गराउने राष्ट्रघाती हुन् । राष्ट्रघाती पनि आत्मज्ञान भएपछि सुध्रिन पाउँछ ।
त्यसैले संघीयताले राष्ट्रलाई ठूलो आघात पुर्याउँछ भनेर केही नेताले अहिले आत्मालोचना गरेको सुनिन्छ । पार्टीका बैठकमा विधिवत् प्रस्ताव पारित गरेर आजको मितिबाट संघीयता परित्याग गर्ने निर्णय गरियो भन्ने हिम्मत गरे भने जनताले त्यसबखत पूर्णरूपले विश्वास गर्लान् तर सडक प्रदर्शन, भाषण, लेख वा प्रवचनमा विरोध गरे पनि विदेशीको दबाब थेग्न नसकेर जस्केलाबाट मान्यता दिइरहने हो भने त्यो झन् ठूलो धोका ठहरिनेछ । तसर्थ राष्ट्रवादी परीक्षामा उत्तीर्ण हुन दलहरूका लागि ठूलो परीक्षा बाँकी नै छ ।
संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्ता एजेन्डा नेपाललाई क्षत्विक्षत् गर्न ल्याएको कुरा नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेदेखि एमाले-कांग्रेसका धेरै नेताले स्विकारेका छन् । दिल्लीमा गराइएको बाह्रबुँदे सम्झौतामा अभक्ष र मन्दविष खाएपछि हस्ताक्षरकर्तामध्येका केही दलहरू विस्तारै स्लो-प्वाइजनको दुष्प्रभावबाट मुक्त हुने लक्षण देखाइरहेका छन् । पुस २२ गते एमालेसहितका दलहरूले राजधानीमा गरेको प्रदर्शनले त्यही पुष्टि गर्छ ।
आँगनमा दुर्गन्ध छ भने फोहोर फ्याँक्ने होइन, नाक थुन्न रुमाल किन्न जान्छन्, नेपालका राजनीतिज्ञहरू । यसपालिदेखि जनताले नै फोहोर फ्याँक्ने जाँगर देखाए, बुटवलदेखि काठमाडौंसम्म । राष्ट्रिय सुरक्षाका मठाधीशहरू मौन बसे पनि संघीयताले देश टुक्रिने सम्भावना टरेको छैन । कथित जनयुद्धका बेला विदेशीका लागि छद्मयुद्ध गरेका भाडाका सिपाहीहरूले पृथ्वीनारायणका सालिकहरू ढाले ।
संसद् कर्तव्यचुत, सुस्त, गतिहीन र मतिहीन भएकाले यसलाई तत्काल भंग गरेर नयाँ संसदीय निर्वाचन गराउनु आवश्यक देखिन्छ । विशेषज्ञ र संविधानविद्हरूले बनाएको राष्ट्रवादी संविधान आवश्यक छ । नेपालीहरूले नै सम्पूर्ण छिनोफानो गर्ने राजनीतिक प्रणाली, प्रशासनयन्त्र एवं राज्यसंयन्त्र निर्माण गर्ने साहस गर्नुपर्छ ।
राष्ट्रिय एकता टुक्राटुक्रा पार्न आएका ती मर्सिनरी सैनिकको हेडक्वार्टर पेरिसडाँडामा छँदैछ । प्रधानमन्त्री भए पनि आफ्नो छापामार नाममा ठूलो मोह छ भन्छन्, पुष्पकमल दाहाल । 'दाहाल' भन्दा उनलाई दाताले चिन्दैनन्, प्रचण्ड नै भन्नुपर्छ । यो उनको बाध्यता हो । मालिकको खातामा त्यही नाम दर्ता छ । नाम मिलेन भने चेक रद्द हुन्छ । त्यसैले विदेशीले दिएको नियुक्ति पत्रमा जे छ, त्यही नाम चल्नुपर्छ भन्ने दाहालको तर्क हुनुपर्छ । पत्रकारलाई उनी थर्काउँछन्, मलाई पुकदा होइन, प्रचण्ड भन्नुहोस् ।
प्रधानमन्त्रीको आधिकारिक बेभसाइट सीएम प्रचण्ड डटकममा उनका गतिविधिहरू अद्यावधिक (अपटेड) गरिएको भानुभक्त आचार्यले लेखेका छन् । (अन्नपूर्ण पोस्ट् पुस २३ गते, २०७३) । यो कुराले गुरिल्ला प्रचण्डले पुष्पकमललाई घोडा चढेको बुझिन्छ ।
तराईलाई दुई राज्यको लालपुर्जा दिने, तराई- पहाड काट्नैपर्ने, जातीय पहिचान (? ) भन्दै राष्ट्रिय एकता कमजोर बनाउने, राष्ट्र टुक्र्याउन अन्य राष्ट्रमा प्रयोग गरिएका धर्म निरपेक्षता एवं संघीयता जस्ता विस्फोटक पदार्थद्वारा नेपाल र नेपाली दुवैलाई भावनात्मक, भौगोलिक र सांस्कृतिक रूपमै सदाका लागि विभाजित गराउने खेलहरू भइरहेका छन् । यो नेपाललाई गृहयुद्धमा धकेल्ने तयारी हो भन्ने सहजै बुझ्न सकिन्छ ।
सत्ता पाए संविधानलाई उत्कृष्ट भन्ने र सत्ताच्युत भएपछि मात्र राष्ट्र खतरामा देख्ने बहुरूपीहरू धेरै छन् संसद्मा । संसद्लाई राष्ट्रघातीहरूको संग्रहालय बनाउन खोजिएको छ । घोडचडी सेनाजस्तो विदेशीले नेपालका नेताका काँधमा चढेर उनीहरूलाई दौडाएका छन् । सांसदहरू विदेशीको इशारामा हिँड्ने चौपाया होइनन् भने गलत नेताको विरोध गर्न सक्नुपर्छ । सत्य बोल्नुपर्छ ।
तर वर्तमान संसद् कर्तव्यचुत, सुस्त, गतिहीन र मतिहीन भएकाले यसलाई तत्काल भंग गरेर नयाँ संसदीय निर्वाचन गराउनु आवश्यक देखिन्छ । विशेषज्ञ र संविधानविद्हरूले बनाएको राष्ट्रवादी संविधान आवश्यक छ । नेपालीहरूले नै सम्पूर्ण छिनोफानो गर्ने राजनीतिक प्रणाली, प्रशासनयन्त्र एवं राज्य संयन्त्र निर्माण गर्ने साहस गर्नुपर्छ । हामीले भन्न सक्नुपर्छ, 'विदेशी सबै मित्र, बाहिरै बस नपस भित्र ।'