किन खिइन्छ हड्डी
मेरा एकजना इन्जिनियर मित्रका छोरा बिरामी थिए । उनले घरमै बोलाए । उनको घरमा पुग्दा अन्दाजी ३० वर्षीय उनका छोरा सोमनाथ (नाम परिवर्तन) को दाहिने तिघ्रामा असहनीय पीडा भइरहेको देखेँ । शारीरिक परीक्षण गर्दा सबै कुरा ठीकै थियो । शरीरमा कतै कुनै प्रकारको घाउ, चोट थिएन ।
न त कुनै पुरानो घाउको दाग थियो तर पनि उनको दाहिने तिघ्रा दुखिरहेको भन्दै पीडाबोध गरिरहेका थिए । कारण सोध्दा उनले ‘बाइकमा घर फर्किंदा बाटोमा धेरै जर्किङ भएर यस्तो भएको' भने । एक्सरे, ब्लड टेस्ट गराएँ । उनको तिघ्राको हड्डी चर्किएको रहेछ । मलाई पनि आश्चर्य लाग्यो ।
यस उमेरमा अस्टियो पोरोसिस अर्थात् हड्डी खिइने रोग कसरी सुरु भयो ? जब कि यो रोग प्रायः उमेर पुगेका बूढापाकामा मात्र बढी देखिन्छ । हड्डी कमजोर हुने (खिइने ) यस रोगलाई बुढेसकालमा लाग्ने रोग भनेर भन्ने गरिन्छ । अहिले आएर यो रोग २० देखि ३० वर्षकै युवायुवतीमा पनि देखिन थालेको छ ।
के हो आस्टियो पोरोसिस
अति व्यस्त र तनावपूर्ण जीवनशैलीले स्वास्थ्य समस्यालाई जन्म दिइरहेको हुन्छ । त्यसमध्ये आस्टियो पोरोसिस पनि एक हो । अस्टियो पोरोसिसको शाब्दिक अर्थ ‘छिद्रयुक्त हड्डी' हुन्छ । समयक्रमसँगै सबै कुराको विकास हुन्छ भने शरीरका हड्डीहरू भने उमेर थपिँदै (बुढेसकाल) जाँदा खिइँदै जान्छ ।
शरीरका हड्डीमा पाइने तत्वहरू क्याल्सियम, फस्फोरस तथा अन्य खनिज पदार्थको कमी भई हड्डी खोक्रो हुन थाल्छन् । शरीरको यस अवस्थालाई अस्टियोपोरोसिस अर्थात् ‘हड्डी खिइए'को भनिन्छ । हड्डी खिइएपछि शारीरिक श्रम गर्दा चर्किने वा भाँचिने सम्भावना अधिक हुन्छ ।
कारण
दिनभरि घरमा बसेर टीभी हेर्ने, फोन, मोबाइलमा घन्टौं कुरा गर्ने या गेम खेल्ने, कम्प्युटरमा बसिरहने, कुर्सीमा लामो समय बसेर काम गर्ने कारणहरूले शरीरका हाडजोर्नीको गतिशीलतामा कमी आउँछ । फलस्वरूप दुई हड्डीको बीचमा रहेको चिल्लो पदार्थ कम हुँदै जान्छ । यस्तो अवस्थामा हड्डीका टिस्युजहरू आपसमा घर्षण हुँदा कमजोर हुन्छन् ।
हड्डीको स्वाभाविक बनावटमा असामान्य अवस्था आउन थाल्छ । जसले गर्दा हल्का चोटपटक लाग्दा पनि तिघ्राको, खुट्टाको, घुँडा, ढाडको, हातको हड्डी चर्किने वा भाँचिने सम्भावना हुन्छ । यस्तो हुनुको मुख्य कारण युवायुवतीको शरीरमा पनि क्याल्सियम र भिटामिन ‘डी' को कमी हुनु हो ।
दिनभरि घरमा बसेर टीभी हेर्ने, फोन, मोबाइलमा घन्टौं कुरा गर्ने या गेम खेल्ने, कम्प्युटरमा बसिरहने, कुर्सीमा लामो समय बसेर काम गर्ने कारणहरूले शरीरका हाडजोर्नीको गतिशीलतामा कमी आउँछ । फलस्वरूप दुई हड्डीको बीचमा रहेको चिल्लो पदार्थ कम हुँदै जान्छ ।
त्यसो भएमा हड्डीहरूको घनत्व तीव्र गतिले कम हुन थाल्छ । जुन पछि गएर यो रोगको कारण बन्ने गर्छ । हालै अर्थराइटिस फाउन्डेसन आफ इन्डियाले गरेको सर्वेक्षणअनुसार भारतमा लगभग ४० लाख मानिस हड्डी खिइने समस्याबाट पीडित छन् । त्यसमध्ये युवाको संख्या द्रुत गतिले बढिरहेको छ । पहिले यो समस्या ६० वर्ष उमेर काटेपछि आउँथ्यो । अचेल २० देखि ३० वर्षका युवा उमेरमै यस खालका लक्षण देखिन थालेका छन् ।
उमेरसँगको सम्बन्ध
पहिले हड्डी खिइनु भनेको पाको उमेरकी महिलाको मात्रै समस्याको रूपमा मानिन्थ्यो । उनीहरूको उमेरसँग यस रोगको सिधा सम्बन्ध हुन्थ्यो । महिनावारी सुकेपछि महिलामा प्रोजेस्ट्रान र एस्ट्रोजेन (हार्मोन्स) हरूको स्तर कम हुन्छ ।
जसले गर्दा खास उमेरपछि महिलामा आस्टियो पोरोसिसको समस्या सुरु हुन्छ । तर तनावपूर्ण र अति व्यस्त जीवनशैलीका कारण महिलामा ३५ वर्षको उमेरमा नै मेनोपोजको लक्षण देखिन थाल्छ । मानसिक कारणलाई हेर्ने हो भने महिलामा आफूलाई सुरक्षित महसुस नगर्नु या जीवनमा कुनै दरो सहारा नभएको आभास हुनु, आफ्नो कोही नभएको ठान्नु, जीवनप्रति असन्तोष हुनु, उदास हुनु आदि जस्ता कारणलाई पनि लिन सकिन्छ ।
जीवनशैली
सहरतिर बस्ने कामकाजी युवायुवतीमा अति व्यस्तता, लापरबाहीले मर्निङवाकका लागि समय ननिकाल्नु र सानो फ्ल्याटमा आधुनिक घरेलु उपकरणले शारीरिक श्रम गर्ने बानी छुट्दै जानु, बिहान चाँडै घरबाट निस्किने र राति अबेर घर फर्किने युवावर्गको दिनचर्या भइसकेको छ ।
बिहानको कलिलो घामबाट पाइने भिटामिन ‘डी' बाट सहरिया जीवन प्रायः वञ्चित रहन्छन् । यस्तो स्थितिमा मिल्क प्रोडक्ट जति खाए पनि भिटामिन ‘डी' को अभावमा हड्डीहरूले क्याल्सियमको अवशोषण गर्न पाउँदैन । यही कारण युवावर्गमा पनि यो समस्या बढिरहेको छ ।
साइडइफेक्टको परिणाम
पछिल्लो समय धेरैजसोलाई सानै उमेरमा थाइराइड तथा पाचन प्रणालीसम्बन्धी गडबडी देखिन थालेको छ । यससम्बन्धी रोगको उपचारका क्रममा औषधिको लामो प्रयोगले गर्दा हुने दुष्प्रभाव (साइडइफेक्ट) का कारण पनि शरीरमा क्याल्सियम र भिटामिनको मात्रामा कमी आउन थाल्छ ।
जो पछि गएर हाडजोर्नी दुख्ने कारण बन्छ । रक्सी, चुरोट, युवाहरूको जीवनशैलीको एक हिस्साजस्तै भइसकेको छ । यी सबैको असर पाचनप्रक्रियामा परिरहेको हुन्छ । अल्कोहलले पाचनतन्त्र ट्रेकमा क्याल्सियमको अवशोषण क्षमतालाई कम गरिदिन्छ ।
अन्तस्रावी ग्रन्थीले कोलेजननामक आवश्यक प्रोटिनको निर्माण उचित ढंगले गर्न सक्दैन । जसले हाम्रो हड्डी र छालालाई पोषण गर्ने काम गर्दछ । यसरी नै कफी, कोल्डड्रिङ्क तथा एनर्जी ड्रिङ्कको अधिक सेवनले युवा पुस्ताको हड्डी कमजोर बन्दै गएको छ ।
उपचार
प्रायःगरी यस समस्याको निदानका लागि एक्स-रे, एमआरआई, बोनडेन्सिटी (हड्डीको घनत्व) आदिजस्ता परीक्षण गराइन्छ । जसबाट हड्डीको बनावट र अवस्थाबारे जानकारी हुन्छ । यसबाहेक हड्डीलाई बलियो बनाउनेमा क्याल्सियम र फस्फोरसजस्ता तत्वहरूको महत्वपूर्ण भूमिका हुन्छ । त्यसको मात्रा शरीरमा कति छ भन्ने पत्ता लगाउन ब्लड टेस्ट गर्नु जरुरी हुन्छ ।
शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा कम पाइयो भने यो खतराको संकेत हो । त्यस्तो अवस्थामा रगतमा क्याल्सियम र फस्फोरसको आपूर्ति गर्न हड्डीहरूबाट यी दुवै तत्वहरूको ‘रिसाव'हुन थाल्छ । त्यसले शरीरका हड्डीहरू कमजोर हुन थाल्छन् र जोर्नीको दुखाइ बढ्न थाल्छ । यस्तो भएका सम्बन्धित चिकित्सकद्वारा सिफारिस गरिएका आवश्यक औषधिको नियमित सेवन गर्नुका साथै खानपानमा क्याल्सियमयुक्त खाद्यपदार्थ लिनु पर्छ ।
खानपान
दूध तथा दूधबाट बनेका परिकारहरू, सोयाबिन, हरियो सागपात, केरा, अन्डा, नरिवलजस्ता क्याल्सियमयुक्त खानेकुराको नियमित सेवन गर्नुपर्छ । भिटामिन ‘डी' का लागि प्रत्येक दिन बिहानको कलिलो घाममा २० र ३० मिनेट बस्नुपर्छ । दैनिक खानामा चिनी र नुनको प्रयोग सकेसम्म कम गर्नुपर्छ । किनकि शरीरमा यी दुवै चिज अधिक हुनु आस्टियो पोरोसिस अर्थात् हड्डी खिइने रोगको कारण बन्दछ ।
होमियोप्याथिक औषधि
हड्डी खिइने रोगमा बिरामीको शारीरिक एवं मानसिक लक्षणको आधारमा प्रयोग गर्ने केही औषधि छन् । जसको प्रयोग कुनै योग्य तथा अनुभवी चिकित्सकको परामर्श गर्न सकिन्छ । कल्केरियाफाँस, सिम्फाइटम, कल्केरियाकार्व, साइलिसिया, रुट्टा आदि ।
सुझाव
पीडित व्यक्तिले के बुझ्नुपर्छ भने हड्डी खिइने समस्या व्यक्तिको उमेर, जीवनशैली, खानपिन, आचरण र व्यवहारमा भरपर्छ । यसलाई पूर्णरूपले हटाउन सकिँदैन । तर स्वस्थ्यकर जीवनशैली अपनाएर यसबाट हुने नकारात्मक असरलाई केही हदसम्म कम गर्न सकिन्छ । हड्डीलाई बलियो बनाउन नियमित व्यायाम, योगासन गर्नु जरुरी छ । स्वस्थ खानपान तथा सकारात्मक सोच अपनाउने, वर्षको एकपल्ट स्वास्थ्य जाँच गराउनु उत्तम हुन्छ ।