पलायन हुँंदै पोखरेली मोडेल

पलायन हुँंदै पोखरेली मोडेल

बहुआयामिक छ पोखराको परिचय । हिमाल र तालबाहेक कुनैबेला पोखरा चिनिने माध्यम थियो नाटक । ०५० को दशकमा पप गीत पोखराको ब्रान्ड बन्यो । लगत्तै पोखरा चिनिने दरिलो माध्यम बन्यो मोडलिङ । फेसनेबल सहरको रूपमा देशभरि नै पोखराको चर्चा चल्यो । गुरुङ जातिको बाहुल्यता भएको यो सहरलाई सुन्दरीहरूको सहर पनि भनियो । सुन्दर युवतीहरूको सहर यतिबेला भने मोडेलकै अभाव बेहोर्दैछ ।र्‍याम्पमा हिँड्ने उत्कृष्ट मोडेल भेट्नै गाह्रो छ अहिले । पेपर मोडलिङमा उपस्थिति नै छैन । फाट्टफुट्ट भिजुअल मोडलिङमा केही अनुहार देखिए पनि निरन्तरता छैन । पोखराका मोडेलहरू धेरै पलायन भइसकेका छन् ।

पोखरामा सन् १९९८ देखि व्यावसायिक मोडलिङ गतिविधि अगाडि बढेको सम्झिन्छन् कोरियोग्राफर आशिष श्रेष्ठ । ‘त्यतिबेला फेसन सो एकदमै कम हुन्थ्यो,’ उनी भन्छन्, ‘ ड्रेस डिजाइनर पाउनै गाह्रो थियो ।’ डिजाइनर र ड्रेस अभावले गार्मेन्टका कपडा प्रयोग गर्नुपरेको अनुभव उनी सुनाउँछन् । त्यसभन्दा अगाडि कन्या क्याम्पसले ‘फेन्सी ड्रेस सो’ आयोजना गथ्र्यो । भाष्कर राजकर्णिकारले एभरेस्ट फेस्टिवल भनेर पोखरामा मेला गर्थे । उक्त मेलामा फेसन सो पनि हुन्थ्यो । पोखराका पप गीतले चर्चा पाएपछि म्युजिक भिडियो पनि बन्न थाले ।

यहाँका गीतमा यहीँका मोडेल प्रयोग हुन थाले । ब्रो–सिस ब्यान्डको ‘बस सुन्दरी, ठण्डी महिना जाडो छ’ बोलको गीतमा सिम्मी पुनले अभिनय गरिन् । यही गीतले सिम्मीलाई मोडलिङमा स्थापित गरायो । अहिले भने उनी मोडलिङ छोडेर बेलायत पलायन भएकी छन् ।सन् १९९५ मा पोखरा जेसिजले पहिलोपटक ‘मिस पोखरा’ गर्‍याे । हरेक वर्ष हुने यो प्रतियोगिताले मोडलिङप्रति युवतीहरूको आकर्षण बढाउन भूमिका निर्वाह गर्‍याे । पूर्व मिस नेपाल निलिमा गुरुङ मिस पोखराको विजेता हुन् ।

पोखराको मोडलिङलाई अगाडि बढाउन प्रमुख भूमिका यहाँका ग्ल्यामर साइटले निर्वाह गरेका छन् । मोडेल उत्पादनमा पोखरा सिटी डटकम, लभ्ली पोखरा डटकम, ठिकठाक डट कमलगायत वेबसाइटको देन छ । पछिल्लो समयमा जक्सन डटकमले पनि फोटोसुट गर्छ । कुनै समय पोखराका ग्ल्यामर साइट हेरेर राजधानीका ठूला व्यावसायिक घराना, चलचित्र, म्युजिक भिडियो निर्माताले कामका लागि प्रस्ताव राख्थे ।

बबिना शर्मा, अपेक्षा केसी, मनिता गुरुङ पोखरामा त्यसबेलाका स्थापित नाम हुन् । पछि रेखा पुरी, सिपोरा गुरुङ, रिश्मा गुरुङ चर्चामा रहे । भलिबल खेलाडी सिपोरा गुरुङ मिस नेपालमा सहभागी भइन् । गुरुङ संस्कृतिमा आधारित चलचित्रहरू ‘घलेक’ र ‘याम्फावती’मा उनले अभिनय गरिन् ।सिपोराले मूलधारको चलचित्रमा खेल्ने तयारी गरेकी छन् । कबड्डी र कबड्डी–कबड्डी नायिका रिश्मा गुरुङको पहिलो फोटोसुट लभ्ली पोखरा डटकमले गरेको हो ।


गुरुङ जातिको बाहुल्यता भएको सुन्दरीहरूको सहर पोखरा यतिबेला मोडेलहरूको अभाव बेहोर्दैछ।

फेसन फोटोग्राफर तथा लभ्ली पोखरा डटकम सञ्चालक ओम लामाले रिश्माको फोटोसुट गरेका थिए । लभ्ली पोखरा डटकम बन्द भएकै एक वर्ष पुग्यो । फोटोसुट गर्ने युवतीको कमी भएकैले वेबसाइट बन्द गर्नुपरेको लामा बताउँछन् । ‘पोखराको मोडलिङ पहिले फस्टाएकै हो,’ उनी भन्छन्, ‘धेरैलाई आफ्नो फोटो वेबसाइट र पत्रपत्रिकामा आओस् भन्ने हुन्थ्यो ।’ त्यस्तो चाहना अहिलेको पुस्तामा स्वात्तै घटेकाले फोटोसुटमा कमी भएको लामाको अनुभव छ । 

फेसन फोटोग्राफर राम गुरुङ युवती मोडेलप्रति समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले रुचि घटेको बताउँछन् । ‘समाजले अहिलेसम्म बुझ्न सकेको छैन,’ उनी भन्छन् । कोरियोग्राफर आशिष श्रेष्ठ भने मोडेलहरूमै व्यावसायिकताको कमी भएको तर्क गर्छन् । उनी भन्छन्, ‘अहिले आफैं पैसा हालेर मोडेल बन्ने प्रवृत्ति बढेको छ, जसले व्यावसायिक मोडेलहरू विस्थापित हुनुपरेको छ ।’ पोखरामा रारा चाउचाउ, चोकोफनजस्ता चर्चित उत्पादन छन् । तर, ती उत्पादनको कुनै पनि पेपर वा भिजुअल विज्ञापनमा पोखरेली अनुहार देख्न पाइँदैन । व्यावसायिकताकै कमीलाई कोरियोग्राफर श्रेष्ठ कारक मान्छन् ।

pokhara modeling 0

मोडेल अरुण गिरी अहिले पोखरामा मोडलिङको अवस्थालाई सकारात्मक र नकारात्मक दुवै दृष्टिबाट हेर्नुपर्ने तर्क गर्छन् । मोडलिङमा आउन चाहने युवाको संख्यामा वृद्धि हुनुलाई उनी सकारात्मक मान्छन् । व्यावसायिक रूपमा कुनै कम्पनी वा उत्पादनले पोखरेली मोडेल लिन सक्ने अवस्था सिर्जना हुन नसक्नु दुःखद् रहेको उनको धारणा छ । ‘अलि अगाडि म्युजिक भिडियोमा खेलेको र सो गरेको पनि पैसा पाइन्थ्यो,’ उनी भन्छन्, ‘तर, अहिले आफैं पैसा तिरेर मोडेल हुने, सस्तो नाम र लोकप्रियताका लागि पैसा खर्च गर्ने प्रवृत्ति बढेको छ ।’ अहिले सिपोरा गुरुङ, मुस्कान घताने सुनार, श्रीतिका गुरुङ, अरुण गिरी, विशाल गुरुङ, सागरबाबु गिरीलगायत मोडलिङमा सक्रिय छन् । यहाँ खुलेको आईएफसी फेसन कलेजले फेसन डिजाइनर उत्पादन गर्छ ।

प्रतियोगिताले बढायो विकृति
पोखरामा बर्सेनि ३० भन्दा बढी सुन्दरी प्रतियोगिता हुन्छन् । पोखरा सभागृह, उद्योेग वाणिज्य संघको हल, विभिन्न पार्टी प्यालेस र होटेलमा सुन्दरी प्रतियोगिता आयोजना गरिन्छ । अगाडि ‘मिस’ राखेर गरिने यस्ता प्रतियोगिताले अवसरभन्दा बढी विकृति जन्माएको छ । ब्रेभ इन्टरटेन्मेन्ट, ट्रेनर नेपाल, एसटी क्रिएसन, सेभेन हर्ट इन्टरटेन्मेन्ट, द नेक्स्ट, ग्ल्याम हन्ट इन्टरटेन्मेन्ट, मिरर मोडल म्यानेजमेन्ट, गोस्पेल मल्टिमिडिया प्रालि, जित हाम्रो, द लुक्स फेसन होम, एसपीजेएस प्रोडक्सन, पीएटीएचए, ब्लुरे प्रोडक्सन, इभेन्ट फर यू, रिबर्थ म्यानेजमेन्ट, ओम इभेन्ट, ओएसीसलगायत संस्थाले सुन्दरी प्रतियोगिता गर्दै आएका छन्, जो आफैंमा अवैध हुन् ।

विभिन्न जातीय समाजले पनि सुन्दरी प्रतियोगिता आयोजना गर्छन् । मोडेल शब्दले नमूना भन्ने जनाउँछ । सुन्दरी प्रतियोगिताका विजेताले समाजमा नमूना बनेर देखाएको उदाहरण नदेखिएको कोरियोग्राफर श्रेष्ठ बताउँछन् । ‘कति विजेताले सामाजिक क्षेत्रमा नमूना काम गरे ?’ उनी प्रश्न गर्छन्, ‘उनीहरूले प्राप्त गरेको उपाधिले व्यक्तिगत जीवनमा के कस्तो सकारात्मक परिवर्तन ल्यायो ? त्यसको लेखाजोखा कसैले गरेको छैन ।’ आफन्त, परिवार र आयोजक बसेर गरिने सुन्दरी प्रतियोगिताले क्षमता वृद्धि गर्न नसक्ने उनी बताउँछन् । फोटोग्राफर गुरुङ भन्छन्, ‘टिकट बेचेको आधारमा उपाधि जित्ने प्रतियोगिताकै कारण मोडलिङले बदनामी कमाइरहेको छ  ।’

पछिल्लो समय उमेर, जाति भूगोल, पर्व आदिलाई आधार बनाएर सुन्दरी प्रतियोगिता आयोजना हुन्छन् । तर, पोखराका ब्युटी कन्टेस्टबाट उदाएर व्यावसायिक रूपमा चर्चित मोडेल कोही छैनन्, जसको नाम लिन सकियोस् । अधिकांश प्रतियोगिताका प्रतिस्पर्धी त परै जाओस्, विजेताको समेत कतै चर्चा हुँदैन । न त उनीहरूले सामाजिक उत्तरदायित्व नै बहन गरेको भेटिन्छ । सहभागीको व्यक्तित्व विकास गर्ने, क्षमता वृद्धि गर्ने, सुन्दरतामा निखार ल्याउने र व्यावसायिक रूपमा स्थापित गराउनेभन्दा पनि पैसा कमाउने ध्याउन्नले सुन्दरी प्रतियोगिताले बदनामी कमाइरहेको छ ।

‘मोडेलले समाजको प्रतिनिधित्व गर्नुपर्छ’

pokhara modeling 1

मोडलिङमा हुनुपर्ने गुण नभएकाहरू सस्तो लोकप्रियताकै लागि पैसा खर्च गरेर मोडेल बन्ने प्रवृत्ति विकास भइरहेको छ । यसले व्यावसायिक बन्न खोज्नेहरू अप्ठेरोमा छन् । मोडेलको पनि एउटा क्राइटेरिया हुन्छ । निश्चित क्षमता हुनुपर्छ । क्राइटेरियामै नपर्नेहरू पनि मोडेल भइरहेका छन् । समाजमा मोडेलप्रति हेर्ने दृष्टिकोण सकारात्मक छैन ।

हामी एक्काइसौं शताब्दी भन्छौं तर सोचाइ बदल्न सकेका छैनौं । मोडलिङ र कलाकारितामा आउन चाहने थुपै्र छन् । तर, समाज र परिवारले नै रोकिराखेको छ । मोडलिङ भन्नेबित्तिकै नांगिनुपर्ने सोच राख्नेहरू थुप्रै छन् । संख्यात्मक हिसाबले पहिलेभन्दा बढेको होला तर फराकिलो भएको छैन । मान्छे छानेर फोटोसुट गर्ने चलन छैन । हामीले पहिले छानेर मात्रै फोटोसुट गथ्र्याै ।

अहिले कन्टेस्ट च्याउसरी हुन्छन् । तर, ती नाम मात्रका भए । ब्युटी कन्टेस्ट पनि मोडलिङ नै हो । तर, यसले मोडेल जन्माउन सकेको छैन । प्रतियोगितामा ताज जित्ने र आयोजकले पैसा कमाए पुग्छ । १५ प्रतियोगी हुन्छन्, मोडेल हुन लायक मुस्किलले एक जना मात्र । कन्टेस्टहरू भएको राम्रो हो । पछिल्लो समयमा पोखराका कुनै मोडेल चर्चित भएको मैले सुनेको छैन । मोडेल भनेको आइडल हो । समाजको प्रतिनिधित्व गर्नुपर्छ । सेलिब्रिटी बन्नुपर्छ । मोडेलले भनेको समाजले अनुसरण गर्ने किसिमको हुनुपर्छ ।
(ओम लामासँगको कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.