सैद्धान्तिक अस्पष्टताको दलदलमा कांग्रेस
स्थापनाकालदेखि नै कांग्रेसभित्रको एउटा समूहको भारतका समाजवादीहरूसँग राम्रो सम्बन्ध थियो । त्यसैको प्रभावले कांग्रेसका नेताहरूमा नेपालमा लोकतान्त्रिक समाजवादका आधारमा सामाजिक, आर्थिक र राजनीतिक विकास गर्नुपर्छ भन्ने दृष्टिकोण विकसित भएको थियो ।००७ सालको क्रान्तिको सफलतापछि कांग्रेसभित्र समाजवादी दल खोल्नुपर्छ भन्ने आवाज उठ्यो । त्यस्तो आवाज टंकप्रसाद आचार्यले उठाएका थिए । आचार्य राष्ट्रिय कांग्रेसका पहिलो अध्यक्ष थिए । गणेशमान सिंहले आचार्यलाई कांग्रेसभित्रै समाजवादी दल खोल्न दिनुपर्ने माग राखे तर कालान्तरमा त्यो सम्भव भएन र आचार्यले अर्कै दल खोले ।
त्यसपछि कांग्रेसभित्र समाजवादको वकालत बीपी कोइरालाले गर्नुभयो । मातृकाप्रसाद कोइराला र सुवर्ण शमशेरलगायत कांग्रेसका अरू नेता त्यो धारमा हुनुहुन्नथ्यो । त्यसैले कांग्रेसभित्र वैचारिक द्वन्द्वको सुरुवात भयो । मातृकाजीहरू राजतन्त्रलाई सर्वोपरि राखेर कट्टरपन्थीका रूपमा बढ्न थाल्नुभयो । भारतमा समाजवादी धारमा विभाजन भइसकेको थियो । नेहरू एकातिर लागेका थिए भने जयप्रकाश नारायण र राममनोहर लोहिया अर्कोतिर । त्यसको असर नेपालमा पनि देखियो ।
नेपालभित्रको राजनीतिमा नेहरूको नजिक भएका मातृका र राजा अलि बढी सशक्त भए । बीपीहरू जयप्रकाश र राममनोहर लोहियाको दृष्टिकोणसँग नजिक थिए । भारतमा भएको विभाजनले नेपालको समाजवादी आन्दोलनमा पनि पर्यो । बीपीहरू कमजोर बन्दै गए । जनताको बलमा जनताका लागि काम गर्नुपर्छ भन्ने समूह कमजोर भएको फाइदा राजाले उठाए ।
त्यसबेला जनताको संविधान जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले नै लेख्न पाउनुपर्छ भनेर संविधानसभाको माग उठेको थियो । संविधानसभाको चुनाव हुन नदिइए पनि कालान्तरमा संसद्को चुनाव गराउन राजा बाध्य भए र त्यो चुनावमा कांग्रेसले अत्यधिक बहुमत प्राप्त गर्यो । कांग्रेस सत्तामा आयो तर उसलाई चाहेजसरी सत्ता सञ्चालन हुने परिस्थिति निर्माण हुन दिइएन । अत्यधिक बहुमत प्राप्त गरे पनि १७ महिना मात्र कांग्रेसले देशको शासनसत्ता सम्हाल्न पायो । त्यो १७ महिनामा कांगे्रसले जे–जति कामहरू गर्यो, ती सबै समाजवादी दृष्टिकोणमा आधारित थिए भन्न सकिन्छ ।
समाजवाद
कांग्रेसले ०१४ सालको वीरगन्ज महाधिवेशनबाट यसका नीतिहरू समाजवादी हुनेछन् भनेर घोषणा गरिसकेको थियो । ०१५ सालमा सत्तामा आएपछि कांग्रेसको सरकारले विपक्षीलाई विश्वासमा लिएर र सबै पक्षलाई स्वीकारेर विभिन्न किसिमका नीति बनाउने उद्देश्य राखेको थियो । कांग्र्रेस नेतृत्वको सरकारले बनाएका विकास नीति र कानुनका धारा संसद्मा ल्याउने तयारी गरिरहेको थियो । भूमिसुधार, बिर्ता उन्मुलन, वनलाई राष्ट्रियकरण गर्नेलगायत विधेयक र बाटाघाटा, पुल–पुलेसा र शिक्षामा विस्तार र सुधार कानुन कांग्रेसको सरकारले ल्याउँदै थियो ।
कांग्रेसको नेतृत्व तहले आफ्ना विचारलाई परिवर्तन गर्न सक्नुपर्छ। भारत, चीन या कुनै विदेशी शक्ति काँध चढेर सत्ताामा आउने सोच त्याग्नुपर्छ।
सरकारका यस्ता जनमुखी क्रियाकलापका कारण राजाको प्रभाव घट्ने देखेर राजावादी आत्तिए र राजा स्वयं पनि सरकारका विरुद्धमा उत्रिन थाले । विभिन्न विधेयकलाई संशोधन गर्न पठाउने, फिर्ता पठाउने, दरबारमै रोक्ने गरेर कांग्रेसको समाजवादी दृष्टिकोणबाट देशलाई बढाउने प्रयत्न असफल बनाउनतिर दरबार लाग्यो ।
यस्ता विधेयकबाट राजा चिन्तित हुनुको अर्को कारण पनि थियो । नेपालको वनजंगल र भूमिमा सबैभन्दा धेरै आधिपत्य राजा र राजपरिवारको थियो । त्यस किसिमका विधेयक पारित भएका भए जग्गा जसले कमाएको हो, उसको हातमा आउँथ्यो र जंगल राजपरिवारको हातबाट जनताको हातमा आउँथ्यो । यसरी राजा र प्रधानमन्त्रीका बीचमा मतभिन्नता देखिन थाले । बीपी कोइरालाको ‘यो देश कृषकको देश हो’ भन्ने स्पष्ट दृष्टिकोण थियो । उनीहरूको आर्थिक अवस्थामा सुधार आउनुपर्छ भन्ने उनको दृष्टिकोण थियो । योजना आयोगमा हलो जोतेको किसानको तस्बिर हुनुपर्छ भन्ने उनको भनाइ यसैको द्योतक हो ।
तर, १ पुस ०१७ को घटनाका कारण बीपी आफूले चाहेझैं बढ्न पाएनन् तर त्यसपछिको पञ्चायती सरकारले पनि कांग्रेसले नै निर्माण गरेका विकास नीति र आयोजनालाई अगाडि बढायो । राजाको ३० वर्षे शासनकालमा जति विकासका काम भए, त्यसको परिकल्पना ०१५ को कांग्रेस सरकारले गरेको थियो । भूमिसुधार, वनलाई राष्ट्रियकरण गर्ने नीति, विद्यालयहरू स्थापना गर्ने, पुल–पुलेसा बनाउने यी सबै बीपीका योजनालाई राजाको शासनकालमा निरन्तरता दिइयो । यसबाट के देखिन्छ भने कांग्रेस सरकारले ठूला विकास योजना बढाएपछि आफ्नो प्रभाव कम हुन्छ भन्ने डर राजालाई थियो । कांग्रेसले विकास गरेर लोकप्रियता नकमाओस्, कांग्रेस जनतामा लोकप्रिय नहोस्, उसको समाजवादी नीति असफल होस् भन्ने दृष्टिकोणबाट दरबारले भूमिका खेलेको देखिन्छ ।
२०४६ पछि
विगत र वर्तमानको कांग्रेसमा धेरै फरक छ । विगतको कांग्रेसमा विचार भएका र कार्य पद्धतिलाई परिणाममा बदल्न सक्ने खुबी भएका नेताहरू थिए । तर, अहिले कांग्रेसमा त्यस्ता नेताको अभाव छ । ०१५ सालमा कांग्रेस सत्तामा आउँदा त्यो सोचका परिकल्पनाकार बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायत थिए । उनीहरूमा विचारका आधारमा राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने दृष्टिकोण थियो, जनतालाई सुविधा दिनुपर्छ भन्ने सोच थियो । आफैं विचार र नीतिहरू निर्माण गर्नसक्ने खुबी थियो ।
त्यसैले कांग्रेस त्यसबेला लोकप्रिय पनि भयो । ३० वर्ष पञ्चायतले शासन चलाउँदा कांग्रेसको धारको अन्त भएन र राजनीति कांग्रेसकै वरिपरि घुमिरह्यो । पञ्चायतकालको अप्ठ्यारो परिस्थितिले पनि कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध नेताहरूलाई बिगार्न सकेन । परिणामस्वरूप ०४६ सालको आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको थियो । किनकि, त्यसबेलासम्म पनि उक्त पार्टी विचारले चलेको थियो । गणेशमानले विभिन्न समूहमा विभाजित वामपन्थीलाई एउटा मोर्चा बनाउन लगाएर र उनीहरूसँगै मिलेर आन्दोलन गरेका थिए ।
त्यसभन्दा अगाडि त्यस्तो आन्दोलन गर्ने प्रस्ताव कसैले स्वीकारेका थिएनन् । कालान्तरमा आएर त्यस किसिमको आन्दोलनको जरुरत छ भनेर गणेशमानले महशुस गरेर वाममोर्चासँग मिलेर आन्दोलन सफल पनि भयो । त्यसपछि संयुक्त सरकार भए पनि त्यसको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरेका थिए । भट्टराईमा स्पष्ट सोच, विचार र दृष्टिकोण थियो । उनमा सत्तामा जाने लोभ थिएन ।
पञ्चायतकालको अप्ठ्यारो परिस्थितिले पनि कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध नेताहरूलाई बिगार्न सकेको थिएन। परिणामस्वरूप ०४६ सालको आन्दोलनको नेतृत्व कांग्रेसले नै गरेको थियो।
जे गर्नु छ, देशको लागि गर्नु छ भन्ने धारणा थियो । यही प्रतिवद्धताका कारण एक वर्ष जतिको समयमा संविधान जारी गर्न र चुनाव गर्न उनी सफल भए । त्यसबेला पनि विभिन्न समस्या देखिए । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि त्यसलाई असफल बनाउन विभिन्न प्रयास भए । प्रहरी विद्रोह, पूर्वपञ्चहरूको जुलुस र आतंक, काठमाडौं, कास्कीलगायत ठाउँमा विभिन्न घटना गराइएका थिए । तर, भट्टराईले बडो संयमताका साथ ती संक्रमणकालीन परिस्थितिबाट देशलाई पार लगाए ।
विचारहीन हुँदै
भट्टराईपछि क्रमिक रूपमा कांग्रेसमा विखण्डन बढ्दै गयो र कांग्रेसको राजनीतिमा विचार प्रधानता कम हुन थाल्यो । भट्टराईपछि नेतृत्व लिने गिरिजाप्रसाद कोइरालामा बीपी, सुवर्णशमशेर, महेन्द्रनारायण निधि, गणेशमान र कृष्णप्रसादको जस्तो सोच थिएन । कोइराला नेतृत्वमा आएपछि विखण्डन र षडयन्त्रको राजनीति सुरु भयो । विकासको नारा दिए पनि सत्ताको खेल र व्यक्तिगत स्वार्थमा राजनीतिलाई केन्द्रित गरियो । त्याग, बलिदान गरेकालाई पन्छाउँदै पञ्चायतबाट प्रवेश गरेकाको आडमा कोइरालाले सरकार र पार्र्टी सञ्चालन गर्न खोजे ।
कांग्रेसभित्र नवप्रवेशीहरूको दबदबा हुन थाल्यो । पञ्चायतकालमा त्याग गरेकाहरू अपहेलित हुन थाले । समाजवादी विधिद्वारा देशको विकास गर्ने कांग्रेसको विचार हराउँदै र कमजोर हुँदै जान थाल्यो । अहिले कांग्रेसको विचारका आधारमा नीति बनाउन सक्ने नेताहरू छैनन् । परिस्थिति यस्तो भयो कि ००७, ०४६ साललगायत अरू आन्दोलनको नेतृत्व गरेको कांग्रेस अहिले यति कमजोर अवस्थामा छ कि माओवादीले सारेको नीति, कार्यक्रम र अवधारणालाई स्वीकार्न बाध्य भएको छ ।
कांग्रेसको नीति र कार्यक्रम लोकतान्त्रिक समाजवादमा आधारित नहुने क्रम पनि गिरिजाप्रसादको नेतृत्वपछि नै सुरु भएको हो । राजनीति विखण्डित हुँदै गयो, समाजमा विकृति बढ्दै गयो र आर्थिक अवस्था कमजोर हुँदै गयो । अहिले कांग्रेसको नेतृत्वमा सोच्ने, निर्णय गर्न सक्ने, नयाँ र समय सान्दर्भिक नीतिहरू निर्माण गर्ने खुबी छैन । ०४६ सालपछि कांग्रेस, अरू दल र समग्र देशको राजनीतिमा पनि बाहिरी शक्तिको हस्तक्षेप बढेर गयो । जब नेतृत्वको योग्यता कम हुन्छ र उसले अडान लिन सक्दैन र खुबी हुँदैन, बाहिरी हस्तक्षेप स्वाभाविक हुन जान्छ ।
भारतको प्रभाव नेपालको राजनीतिमा क्रमिक रूपमा बढ्दै गएको छ । भारतले नेपाललाई र कांग्रेसलाई आफ्नो प्रभावमा पार्न खोजेको त धेरै पहिलादेखि हो । तर, बीपी, कृष्णप्रसादजस्ता नेताका कारण भारतले त्यस्तो गर्न सकेको थिएन । उनीहरूले धेरै कुरामा भारतसँग अडान राखेका थिए । ०४८ पछि मनमोहन अधिकारीबाहेकका नेताले त्यस्तो अडान राख्न सकेनन् ।
कांग्रेसका गिरिजाप्रसाद, शेरबहादुर कसैले पनि यस किसिमको अडान लिन सकेनन् । अहिले कांग्रेसलगायत अरू शक्तिको पनि ध्यान सत्ताको खेलमा मात्रै छ । संविधानसभाको निर्वाचनपछि संविधान बनाउनेभन्दा पनि सत्तामा जाने कुरालाई बढी प्राथमिकता दिएको देखियो । त्यसैको कारणले संविधानसभाबाट संविधान बन्न पनि करिब ८/१० वर्ष लाग्यो । त्यसरी प्राप्त भएको संविधानलाई आज सही रूपमा कार्यान्वयन गर्न सकिएको छैन । त्यही संविधान लागु गर्ने क्रममा विभिन्न किसिमका बाधा देखापरेका छन् । कांग्रेस मात्र होइन, अरू दलमा पनि विचार भएका र नीति बनाउन सक्ने नेताको कमी छ । प्रशासनिक र विदेश मामिला सञ्चालनको दृष्टिकोणबाट मुलुक असफल हुँदै गइरहेको छ ।
देशको महत्वपूर्ण राजनीतिक दल भएर पनि ६२/६३ पछि कांग्रेसले देशका सामाजिक र राजनीतिक बहसहरूको एजेन्डा तय गर्नेभन्दा पनि माओवादीले तय गरेका एजेन्डामा आफूलाई समाहित गरायो । समयानुकूल दलहरूले आफूलाई परिवर्तन गर्दै लैजानु स्वाभाविक हो तर व्यक्तिगत फाइदाका लागि दललाई धरापमा पार्नु र पार्टीको विचार विपरीत जानु राम्रो होइन ।
गिरिजाप्रसाद कोइरालाले व्यक्तिगत फाइदाका लागि पार्टीको विचार विपरीत गएर माओवादीका एजेन्डामा समाहित गराएपछि कांग्रेसको विखण्डन र अधोगति सुरु भयो । संविधानसभा कांग्रेसको एजेन्डा भए पनि संघीयता, राजतन्त्रको उन्मुलन र धर्मनिरपेक्षताका कुराहरू कांग्रेसका एजेन्डा थिएनन् । त्यसैले यी विषयमा कांग्रेसले स्पष्ट विचार राख्न नसकेको हो । यी विषयमा कांग्रेसका नेतापिच्छे भिन्न विचार आएको पनि यसै कारण हो । आफ्नो विचार परित्याग गरेर अरूको विचार अपनाउनुअघि धेरै सोचविचार र छलफल हुनुपथ्र्यो । त्यस्तो नभएकाले कांग्रेसलाई ठूलो क्षति भएको छ ।
कांग्रेस मात्र होइन, अरू दलमा पनि विचार भएका र नीति बनाउन सक्ने नेताहरूको कमी छ। प्रशासनिक र विदेश मामिला सञ्चालनको दृष्टिकोणबाट मुलुक असफल हुँदै गइरहेको छ।
उदाहरणका लागि, कांग्रेस राजाको विरुद्धमा धेरै पटक बोलेको थियो तर राजतन्त्रको विरुद्धमा बोलेको थिएन । बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई सबैले राजाको विरुद्धमा बोलेका थिए । राजा ज्ञानेन्द्रले लोकतन्त्रलाई कमजोर बनाउन खोजेका थिए होलान् तर यो देशबाट राजतन्त्रलाई विदाइ गर्ने बेला भइसकेको थिएन कि ? धेरै जातजाति, धर्म, वर्ग भाषा र सम्प्रदायलाई एक ठाउँमा बाँध्ने काम राजतन्त्रले गरेको थियो ।
राजतन्त्रलाई त्यसका लागि स्वीकारेर कानुनी रूपमा बाँधेर राख्नुपथ्र्यो । बीपी, कृष्णप्रसादलगायतले त्यस्तो प्रयास गरेका थिए । तर, गिरिजाप्रसादले वैधानिक प्रक्रिया बाहिरबाट राजतन्त्रलाई उन्मुलन गरे । यसबारे कांग्रेसमा व्यापक बहस हुनु आवश्यक थियो । अब कांग्रेसको नेतृत्व तहले पार्टीलाई गतिशील, विचार र नीतिमा आधारित बनाउन सक्छ भन्ने कुरामा आशा कम छ । कांग्रेसभित्र केही युवा छन्, जो दललाई गतिशील पार्टी बनाउन लागिपरेका छन् । तर, त्यस्ताहरूको खुट्टा तान्ने, तिनीहरूलाई सफल हुन नदिने पनि प्रशस्त छन् । तसर्थ, कांग्रेसमा भएका युवा नेताहरूले पनि विचारविहीनताको अवस्थाबाट पार लगाउनसक्ने अवस्था कमै देखिन्छ ।
कांग्रेस नेपालको लोकतान्त्रिक पद्धतिको महत्वपूर्ण पार्टी भएकाले यस दलप्रति वैचारिक सामीप्यता र सहानुभूति राख्ने बुद्धिजीवी धेरै छन् । उनीहरू कांग्रेसले चाहेमा यसको वैचारिक पुनर्जागरणमा सहभागी हुन असाध्यै खुशी हुन्छन् । कांग्रेसलाई वैचारिक रूपमा सघाउनु भनेको यो देशको प्रजातन्त्रलाई पनि सघाउनु हो । कांग्रेसलाई सघाउन चाहने र त्यसो गर्न पाउँदा खुशी हुने ठूलो समूह छ । तर, त्यसका लागि त दलले त्यस्ता मानिसलाई कांग्रेस र अरू दलहरूले पनि चिन्न सक्नुपर्छ । किनकि, सच्चा बुद्धिजीवी कसैको चाकडी गर्न जान सक्दैन, उसको मनले मान्दैन ।
कांग्रेसको नेतृत्व तहले आफ्ना विचारलाई परिवर्तन गर्नसक्नु पर्छ । भारत, चीन या कुनै विदेशी शक्तिको काँध चढेर सत्तामा आउने सोच त्याग्नुपर्छ । यसो गर्दा कांग्रेस मात्र होइन, देश पनि कमजोर हुन्छ । यही परिस्थिति रहिरहने हो भने यो देशको भविष्य राम्रो देखिँदैन । कांग्रेसले आफ्ना विचार र नीतिमा स्पष्ट हुनसक्ने हो भने र तदनुरूप व्यवहार गर्न सक्ने हो भने यो समाजको प्रतिनिधित्व गर्नका लागि यो दल सबैभन्दा राम्रो शक्ति हुनसक्छ । अबको पुस्तालाई कांग्रेसले आफ्नो विचार र नीतिले प्रभाव पार्न सक्नुपर्छ । यस्तो भयो भने मात्र कांग्रेस नेपाली समाजको बलियो राजनीतिक शक्ति बनेर रहिरहन सक्छ ।
(कुराकानीमा आधारित)