लोकमान प्रकरणको पाठ

लोकमान प्रकरणको पाठ

सर्वोच्च अदालतले लामो समयदेखि लट्किएको लोकमानसिंह कार्की प्रकरणमा आँटिलो कदम चालेर तार्किक निरूपण गरिदिएको छ । कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर राजनीतिक नेतृत्व द्विविधाग्रस्त भइरहँदा सर्वोच्चले संसद्लाई उछिन्दै उनीविरुद्धको मुद्दाको अन्तिम किनारा लगाइदिएको हो । २४ पुसमा सर्वोच्च अदालतका न्यायाधीशत्रय अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अयोग्य ठहर गर्दै अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त गर्ने फैसला सुनाएपछि कार्की प्रकरणलाई लिएर उठेका आशंका र अन्योलसमेत हटेका छन् ।

अख्तियारजस्तो जिम्मेवार र संवेदनशील निकायमा नियुक्ति दिन नहुने चौतर्फी विरोध र दबाबका बीच विगतमै शीर्ष राजनीतिक नेतृत्वले गम्भीर त्रुटि गर्दै कार्कीलाई प्रमुख आयुक्त नियुक्त गरेको थियो । अहिले सर्वोच्चले त्यो ‘ब्लन्डर’ सच्याएर सकारात्मक नजिर बसाएको छ ।कार्की प्रमुख आयुक्त भएदेखि नै जुन उन्मादमा थिए, ढिलोचाँडो उनले यस्तै नियति बेहोर्थे भन्नेमा शंका छैन । पाएको महत्वपूर्ण अवसरलाई जिम्मेवारीबोधसहित निर्वाह गर्न सकेको भए सायद उनले विगतको विवादास्पद छवि सुधार्न पनि सक्थे ।

झण्डै तीन वर्ष त्यो महत्वपूर्ण पदमा बस्दा उनले त्यस्तो चाहेको देखिएन । लोकमान जानै थियो, गए । अब गइसकेका लोकमानमाथि नानाभा“ती टीका–टिप्पणी गरेर आत्मसन्तुष्टि लिनुको कुनै तुक छैन । बरु यस प्रकरणलाई राजनीतिक नेतृत्वले पाठका रूपमा लिन सके आगामी दिनमा यसखाले ‘महागल्ती’ गर्नबाट जोगिन सक्छ । यो प्रकरणले शीर्ष राजनीतिक नेतृत्वको नैतिकता र योग्यतामा पनि गम्भीर प्रश्न उठाएको छ । लोकमान अयोग्य सावित भइरहँदा जुन राजनीतिक नेतृत्वले उनलाई नियुक्त गर्‍यो, त्यो कसरी ‘योग्य’ हुन सक्छ भनेर प्रश्नहरू उठेका छन् । नेताहरूले जसलाई नजरअन्दाज गर्न मिल्दैन ।

जसले लोकमान प्रवृत्ति जन्मायो, ऊ सुध्रिने कि नसुध्रिने ? राजनीतिक नेतृत्वले प्रायश्चित गरेको खोई ? नेपाली राजनीति दिनानुदिन मूल्य, पारदर्शीता, जवाफदेहिताका सवालमा स्खलित हुँदै गएको छ । अझ, राजनीतिमा माफिया र अपराधीकरण हाबी हुँदै गएको छ । लोकमान प्रवृत्ति त्यही चरित्रको सह–उत्पादन मात्रै हो । एउटा व्यक्तिलाई अयोग्य सावित गर्दैमा विकृत हुँदै गएको राजनीति सङ्लिदैन । समाज, राजनीतिलाई सही दिशामा लैजान नेतृत्वको इमानदारिता र अठोट चाहिन्छ । त्यस्तो इमानदारिता र अठोटको नेपाली राजनीतिमा सर्वथा अभाव छ । राजनीतिक नेतृत्वले आत्मसमीक्षा गरोस् ।

लोकमान प्रकरणले अख्तियारको साख र विश्वसनीयतमा प्रश्न उठ्यो । नेपाली समाजलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन स्थापना गरिएको बलियो संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुमेको साख फर्काउने यतिबेलाको मुख्य चुनौती हो । नियुक्तिका आधार के हुने ? के फेरि पनि दलीय भागबन्डामै यस्तो महत्वपूर्ण पदमा नियुक्ति गर्ने ? उच्च नैतिक आचारण र क्षमता हेरेर नियुक्ति गरिने ठाउँ कुनै राजनीतिक नेता वा दलको आग्रहमा गर्ने ? यसको अधिकार क्षेत्र के हुने ? अनुसन्धान र अभियोजनको सबै अधिकार यसैलाई दिने कि नदिने ? के धेरै अधिकारले यसलाई निरंकुश बनाउने जोखिम छ ? कतिपयले अभियोजनको अधिकार महान्यायाधिवक्ताको कार्यालयलाई दिइनुपर्ने तर्क गरिरहेका छन् । यसमा थप विमर्श आवश्यक छ ।

अख्तियार स्वतन्त्र र बलियो संवैधानिक निकाय हो । यस्तो निकायलाई राजनीतिक नेता वा दलको निगाहमा राख्नु हुँदैन । राजनीतिक नेतृत्व वा दलको आग्रहमा वा भागबन्डामा नियुक्ति दिँदा त्यसमा स्वतन्त्र, निष्पक्ष अनि प्रभावकारी काम कसरी गर्न सक्छ ? एउटा गलत नजिर बस्दा त्यसले सिंगो संस्थाकै प्रतिष्ठा र छवि धूमिल बनाएको छ । अब पनि फेरि राजनीतिक नेतृत्वले दलीय आग्रहमै नियुक्ति गर्ने सोच बनाउनु पुनः त्रुटि दोहोर्‍याउनु हुनेछ । अबको नियुक्ति क्षमता, छवि, प्रतिष्ठा, पृष्ठभूमिका आधारमा हुनुपर्छ । नैतिक आचारण उच्च भएको व्यक्ति अख्तियार नेतृत्वमा पुग्नुपर्छ । आउने नेतृत्वले पनि अब गिरेको अख्तियारको साख फर्काउने सोचसहित काम गर्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.