युभेन्ट्सलाई फियोरेन्टिनाको झट्का
मिलानः इटालियन सिरिए फुटबल तालिकाको शीर्ष स्थानमा आसीन युभेन्ट्सलाई मध्य क्रममा रहेको फियोरेन्टिनाले हारको स्वाद चखाएको छ । आइतबार राति भएको खेलमा फियोरेन्टिनाले युभेन्ट्सलाई २-१ गोलले हरायो । फियोरेन्टिनाको जितमा निकोला कालिनिचले ३७औं मिनेटमा खाता खोलेका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको फियोरेन्टिनाले दोस्रो हाफको सुरुमै अर्को गोल थपेको थियो ।
फियोरेन्टिनाका लागि ५४औं मिनेटमा मिलान बाडेल्जले गोल गरे । फियोरेन्टिनाको गोलपछि आक्रामक देखिएको युभेन्ट्सले ५८औं मिनेटमा एक गोल फर्काएको थियो । युभेन्ट्सका लागि गोन्जालो हिग्वेनले गोल गरेका थिए ।
खेलको अन्तिमसम्म थप गोल फर्काउने युभेन्ट्सको प्रयास सफल हुन सकेन । हारे पनि लिगमा १९ खेल सकेको युभेन्ट्स ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । जितसँगै ३० अंक बनाएको फियोरेन्टिना तालिकाको आठौं स्थानमा छ ।
यसैगरी लिगकै अर्को खेलमा एएस रोमाले उडिनेसलाई १-० गोलले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रोमाको जितमा राडजा नियाङ्गोलनले १२औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
खेलको १८औं मिनेटमा रोमाले पेनाल्टीको अवसर खेर फालेको थियो । रोमाका इडेन डेकोको पेनाल्टीमा चुकेका थिए । जितसँगै लिगमा २० खेल सकेको रोमाले ४५ अंक बनाएको छ । २५ अंकसहित उडिनेस तालिकाको ११औं स्थनमा छ ।
अर्को खेलमा नापोलीले पेस्कारालाई ३-१ गोलले हराउँदै तेस्रो स्थान बनायो । नापोलीका लागि लोरेन्जो टोनेल्लीले ४७औं मिनेटमा खाता खोलेका थिए । दोस्रो गोल ५०औं मिनेटमा मारेक हामसिकले गरे । ८६औं मिनेटमा ड्रायस मार्टेन्सले तेस्रो गोल थपेका थिए ।
खेलभर नापोलीको दबाब झेलेको पेस्काराले ९०औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएको थियो । पेस्काराका लागि जियानलुका काप्रारीले गोल गरेका थिए । २० खेल सकेको नापोलीले ४१ अंक बनाएको छ । नौ अंकमा सीमित पेस्कारा तालिकाको अन्तिममा छ ।
अर्को खेलमा लाजियोले एटलान्टालाई २-१ गोलले हराउँदै चौथो स्थानमा उक्लियो । जितसँगै लाजियोले २० खेलबाट ४० अंक बनाएको छ । ३५ अंकसहित एटलान्टा तालिकाको सातौं स्थामना छ ।