नेदरल्यान्ड्सका पूर्व प्रशिक्षक भान गालले लिए सन्यास
लन्डनः नेदरल्यान्ड्सका पूर्व प्रशिक्षक लुइस भान गालले प्रशिक्षण पेशाबाट सन्यास लिएका छन्। भान गालले २६ वर्षयता प्रशिक्षण गरिरहेका थिए। यसबीचमा उनले बार्सिलोना, बायर्न म्युनिख, आयाक्स र म्यानचेस्टर युनाइटेडजस्ता ठूला क्लबको प्रशिक्षण सम्हालेका थिए।
पछिल्लो पटक म्यान युनाइटेड सम्हालेका ६५ वर्षीय भान गाल गत मेमा बर्खास्तीमा परेका थिए। ‘मलाई लाग्छ, अब म फुटबल प्रशिक्षणमा फर्कने छैन’, डच पत्रिका डे टेलिग्राफलाई दिएको अन्तर्वार्तामा भान गालले भनेका छन्। नेदरल्यान्ड्स सरकारले सोमबारमात्रै गाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो।
फुटबलमा गरेको योगदानको कदर गर्दै भानलाई सरकारले उक्त अवार्डबाट सम्मान गरेको हो। उनले लगत्तै सन्यासको घोषणा गरेका हुन्। उनले बार्सिलोनाका लागि दुई पटक, आयाक्सका लागि तीन पटक तथा एजेड अल्कामर र बायर्न म्युनिखका लागि एक–एक पटक घरेलु लिगको उपाधि जितेका थिए।
यसैगरी आयाक्सका लागि युरोपियन च्याम्पियन्स लिग र यूईएफए कप तथा म्यान युनाइटेडका लागि एफए कपको उपाधि जितेका थिए। भान गालले सन्यासको पछाडि पारिवारिक कारण रहेको बताएका छन्।
सन् १९७२ देखि १५ वर्ष विभिन्न क्लबबाट मिडफिल्डरको रुपमा खेलेका भान गाल त्यसपछि एजेडको सहायक प्रशिक्षकका रुपमा प्रशिक्षण करियर सुरु गरेका थिए।