रेलगाडीदेखि मेट्रो ट्रेनसम्म
धोबिघाट निवासी ९५ वर्षिय नीलगन्ज थापाले विसं १९९० को दशकमा काठमाडौंमै रेल चढेका थिए । मातातीर्थदेखि लैनचौरसम्म चल्ने मालवाहक रेलको सबैभन्दा पछाडिको डिब्बामा साथीहरूसहित झुन्डिएर आउने जाने गरेको थापाले स्मरण गरे । ‘सातवटा डिब्बा भएको रेल थियो', थापाले भने, ‘मालसामान बोक्ने रेलमा केटाकेटी झुन्डिन्थ्यौं ।' जीरा, मरीचलगायतका सामान बोकेको रेलबाट केटाकेटीले सामान चोरेर गाउँतिर लगेर बेच्ने गरेकोसमेत उनलाई सम्झना रहेछ ।
भारतबाट रेलमार्ग, रेपवे हुँदै आएको सामान थानकोटबाट टेकु भन्सारसम्म मालवाहक रेलमा ल्याइने गरिन्थ्यो । हेटौंडाबाट धोरसिङ हुँदै रोपवेबाट थानकोट र त्यहाँबाट टेकु भन्सारसम्म रेलमा सामान ल्याउने गरिएको बूढापाकाहरूको स्मृतिमा अझै छ । तर त्यो अहिलेको जस्तो आधुनिक रेलमार्ग भने होइन । विसं २००४ सालमा सरकारी सेवामा प्रवेश गरी झन्डै चार दशक काम गरेका थापा स्मरण गर्छन, ‘रेलमार्गको लिक तीन फुटको थियो होला ।'
काठमाडौंमा बस्ने अहिलेको पुस्तालाई यो सन्दर्थ कथाजस्तो लाग्छ । काठमाडौंमा रेल चलेको थियो भन्दा उनीहरू कसैगरी पनि पत्याउँदैनन् । नेपालमा रेलमार्गको सम्भावना र चुनौती बारे एकजना पूर्वाधार विज्ञसँग कुरा गर्दा पंक्तिकारले उनलाई काठमाडौंमा रेल गुडेको इतिहासबारे बताएको थियो तर उनले पनि पत्याएनन् । ठट्टा गर्दै उनले भने, ‘त्यही भृकुटीमण्डपको रेल होला !' तर यो यथार्थ जान्न अहिले पनि काठमाडौंमा रेलका अवशेषहरू हेरे पुग्छ । सडकमार्ग निर्माण हुनुअघि विसं २०१४ सालसम्म काठमाडौंमा मालवाहक रेलसेवा सञ्चालन भएको थियो ।
रेलमार्गको चर्चा
नेपालको इतिहासमा रेलमार्गको चर्चा रक्सौल'अमलेखगन्ज रेलमार्ग र जनकपुर'जयनगर'बिजुलपुरा रेलमार्गको मात्र हुने गरेको छ । भारतमा तत्कालीन इस्ट इन्डिया कम्पनीले शासन गर्दा नेपालको तराईको वनबाट काठ ढुवानी गर्नका लागि रेलको लिक भारतको रक्सौलदेखि बाराको अमलेखगन्जसम्म जोडिएको थियो । मानिसहरू भारतीय बाटो हुँदै रक्सौल आएर त्यहाँबाट रेलमा अमलेखगन्ज आइपुग्थे ।
पूर्वपश्चिम रेलमार्गको मापदण्ड तत्काल सच्याउन विज्ञले गरेको आग्रह सरकारले मानिरहेको छैन । यो नसच्याउने हो भने नेपाललाई दीर्घकालमा ठूलो नोक्सानी हुनेछ । पछुताउनु पर्नेछ । निर्माण भइरहेको रेलमार्ग भारतीय मापदण्डको छ । भारतीय रेलमार्गको मापदण्ड ब्रोडगेजमा हुन्छ । ब्रोडगेज भनेको दुईवटा लिकबीचको दूरी १.६७६ मिटर हो । तर अहिले विश्वमा प्रचलित रेलमार्ग भने स्टान्डर गेजको हुन्छ ।
त्यहाँबाट बसमा भीमफेदी र त्यसपछि पैदल काठमाडौं आउँथे । विसं १९८४ सालमा बनेको रक्सौल'अमलेखगन्ज ४७ किमि रेलमार्ग विसं २०२७ मा बन्द भएको थियो । कारण त्यसपश्चात् नयाँ रेलको लिक बनाउन नेपालबाट थप काठको दोहन गर्नु परेन । विसं १९९४ मा सुरु भएको जनकपुर'जयनगर'बिजुलपुरा ५१ किमि रेलमार्गअन्तर्गतको बिगी पुल विसं २०५८ मा बाढीले बगाएपछि जनकपुर'जयनगर २९ किमिमा सीमित थियो । स्तरोन्नति गर्न विसं २०७० मा बन्द गरियो । अहिले त नेपालमा कतै पनि रेलसेवा सञ्चालनमा छैन । रेलसेवा सञ्चालन नरहे पनि रेलसेवा निर्माण गर्ने योजनाहरू भने पर्याप्त छन् । अहिले रेलमार्ग निर्माणको काम पनि धमाधम भइरहेको छ ।
धमाधम बन्दैछ रेलमार्ग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहेको रेल विभागले रेलमार्ग निर्माणसँग सम्बन्धित कामहरू गरिरहेको छ । विभागले विभिन्न रेलमार्ग आयोजनाको निर्माण, सम्भाव्यता अध्ययन, विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य गरिरहेको छ । अहिले रेलमार्ग निर्माणको योजनामा रहेका आयोजनाहरूमा मेची महाकाली विद्युतीय रेलमार्ग, नेपाल भारत सीमा क्षेत्रमा पाँचवटा रेलमार्ग निर्माण, काठमाडौं पोखरा लुम्बिनी विद्युतीय रेलमार्ग, रसुवागढी काठमाडौं रेलमार्ग आयोजना, काठमाडौं वीरगन्ज विद्युतीय रेलमार्ग र काठमाडौं उपत्यका मेट्रो रेल आयोजना हुन् ।
तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला २०६५ सालमा नेपाल भारतका सीमावर्ती सहरहरू जोड्ने पाँच नाकामा भारतीय आर्थिक सहयोगमा रेलसेवा विस्तार गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअन्तर्गत नेपाल भारतका सीमावर्ती सहर जोड्ने कटहरी बथनाहा रेलमार्ग (१८.८ किमि) भारतीय पक्षबाट ट्र्याक बनाउने, पुल निर्माण र कल्भर्टहरूको निर्माणकार्य अन्तिम चरणमा पुगेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।
स्टेसन गृह, कर्मचारी आवास गृहको निर्माण पनि भइरहेको छ । यस्तै नेपाल भारतका सीमावर्ती सहर जोड्ने जयनगर बर्दिबास रेलमार्गअन्तर्गत जयनगर जनकपुर खण्डमा पुल तथा कल्भर्ट निर्माण कार्य जारी छ । स्टेसन तथा कर्मचारी आवासगृहको कार्य भइरहेको महानिर्देशक आचार्यले बताए ।
नेपालगन्जमा १५ किलोमिटर, भैरहवामा १२ किलोमिटर, जनकपुरमा ६९ किलोमिटर, विराटनगरमा १३ किलोमिटर र काँकडभित्तामा भारतीय सहयोगमा रेलमार्ग निर्माण हुन लागेको हो । यस्तै मुलुकका अन्य विभिन्न स्थानमा निर्माण हुने रेलमार्गको सम्भाव्यता अध्ययन पनि गरिएको छ ।
मेची'महाकाली ९४५ किमि, काठमाडौं'पोखरा १८७ किमि, मेची'महाकाली रेलमार्गको आँबुखैरेनी लिंक ७२ किमि, मेची महाकाली रेलमार्गको उत्तर दक्षिण लिंक ११३ किमि गरी जम्मा १३१७ किमि रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । गत वर्षमात्रै निजगढ'हेटौंडा'भरतपुर १३५ किमि सम्भाव्यता अध्ययन भएको छ ।
साथै विभिन्न स्थानमा निर्माण हुने रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन पूरा भएको छ । विसं २०६८ सालमा बर्दिबास'सिमरा'वीरगन्ज लिंक १३६ किमि, २०७१ सालमा सिमरा'ताम्सरिया १२७ किमि, ताम्सरिया'बुटवल तथा बुटवल'लुम्बिनी लिंक १०९ किमि २०७१ सालमा गरी जम्मा ३७२ किमि विस्तृत आयोजना प्रतिवेदन बनाइएको छ । कतिपय रेलमार्ग निर्माणको काम जारी छ । नेपाल सरकारको स्रोतबाट बर्दिबास'सिमरा खण्डको बर्दिबास'लालबन्दी उपखण्ड ३० किमिमा निर्माणकार्य जारी छ ।
रेल विभागका योजना
रेल विभागले यस वर्ष गर्ने विभिन्न योजना बनाएको छ । यही वर्ष बर्दिबास'काँकडभिट्टा (२६२ किमि) रेलमार्गको डीपीआरको कार्य सुरु भएको छ । वीरगन्ज'काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने योजना सरकारले बनाएको छ । रसुवागढी'काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन कार्य गरिने र काठमाडौं मेट्रो रेलको डीपीआर तयारीको पक्रिया अघि बढाइने आचार्यले बताएका छन् । काठमाडौंको मेट्रो रेलसम्बन्धी अध्ययन प्रतिवेदन बनिसकेको छ ।
२०६८ सालमा कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले काठमाडौं उपत्यकाका तीन जिल्लामा मेट्रो सञ्चालको सम्भाव्यता अध्ययन गरेको थियो । उपत्यकामा ७७ किमि रेलमार्ग बनाउन मिल्ने सुझाव प्रतिवेदनमा छ । त्यसमा २५ किमि भूमिगत र ५२ किमि आकाशे हुनेछ । तीन भाग आकाशे र दुई भाग भूमिगत बनाउन सिफारिस गरिएको छ ।
पाँच स्थानमा ‘मेट्रो रेल'को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर'मा हुनेछ । चौथो र पाँचौं लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ । सातदोबाटो'पुल्चोक' त्रिपुरेश्वर'रत्नपार्क'नारायणहिटी'महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म पहिलो लाइनको रुट हुनेछ । दोस्रो लाइनमा कलंकी'कालीमाटी'माइतीघर'तीनकुने हुँदै एअरपोर्टसम्म हुनेछ । चक्रपथवरिपरि तेस्रो लिक निर्माण हुनेछ ।
चौथो लिकमा चल्ने रेलको लिक स्वयम्भू'छाउनी'बागबजार'डिल्लीबजार'पुरानो बानेश्वर'गौशाला'चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिनेछ भने पाँचौं लिक धोबीघाट'पुल्चोक'पाटन दरबार' नयाँ बानेश्वर'माइतीघर'सिंहदरबार'सहिदगेट'डिल्लीबजार'टंगाल'नारायणहिटी'नयाँ बजार हुँदै गोँगबुसम्मको हुनेछ ।
सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको काम अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न एक उच्चस्तरीय समिति हालै गठन गरेको छ ।
काठमाडौं उपत्यकामा पछिल्ला वर्षमा यातायात व्यवस्थापन असहज हुँदै गएको छ । सवारीसाधनको वृद्धिसँगै यात्रा असहज हुँदै गएकाले मेट्रो रेलको सम्भावना खोज्न थालिएको हो । देशमा रेलमार्ग निर्माण भए पनि सरकारसँग भने रेल छैन । अहिले एउटा रेलको मूल्य ७० करोड रुपैयाँभन्दा बढी पर्छ । अहिलेसम्म सरकारले रेल किन्ने तयारीसमेत गरेको छैन ।
रेलको सान्दर्भिकता
रेल यातायातको पुरानो साधन हो । एक शताब्दीअघि विश्वमा रेलको राम्रो बजार थियो । यातायातमा प्रभुत्व थियो । लामो दूरीमा रेलको एकाधिकार नै थियो । तर अहिले हवाई मार्गको तीव्र विकास भएको छ । सडक मार्गको विकाससँगै एक्सप्रेस गाडीहरू चलेका छन् । सडक र हवाईले विश्वमा रेललाई प्रतिस्थापन गरिरहेको छ ।
अमेरिका विश्वको सबैभन्दा ठूलो रेलमार्ग भएको मुलुक हो तर १९५० पछि त्यहाँ मानिसहरू रेलमा यात्रा गर्दैनन् । हवाई र सडकमार्ग नै प्रयोग गर्छन् । अहिले त्यहाँ रेलमार्ग केवल सामान ढुवानीका लागि हुने गर्छ । भारतमा पनि रेलमार्ग महँगो छ ।
त्यहाँ सरकारले रेलमा धेरै लगानी गरेको छ । तर नेपालको भौगोलिक विकटता तथा पर्याप्त विद्युतीय ऊर्जाको उपलब्धताका कारण रेलमार्गको विकल्प छैन । हाम्रा राजमार्गहरू विश्वासिला छैनन् । यातायातमा उच्च गति र स्तरीयताका लागि नेपालमा रेलमार्ग उपयुक्त विकल्प हो ।
गुणस्तरीय यातायातका लागि रेलमार्गको विकासमा ध्यान दिनुपर्छ तर परम्परागत रेलमार्ग भने होइन । जस्तै निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको मापदण्ड तत्काल सच्याउन विज्ञहरूले गरेको आग्रह सरकारले मानिरहेको छैन । यो नसच्याउने हो भने नेपाललाई दीर्घकालमा ठूलो नोक्सानी हुनेछ । पछुताउनु पर्नेछ । अहिले निर्माण भइरहेको रेलमार्ग भारतीय मापदण्डको छ ।
भारतीय रेलमार्गको मापदण्ड ब्रोडगेजमा हुन्छ । ब्रोडगेज भनेको रेलमार्गमा हुने दुईवटा लिकबीचको दूरी १.६७६ मिटर हो । तर अहिले विश्वमा प्रचलित रेलमार्ग भने स्टान्डर गेजको हुन्छ । यसमा रेलमार्गमा हुने दुईवटा लिकबीचको दूरी १.४३५ मिटर हुन्छ । भारतीय मापदण्डको रेलमार्ग निर्माण हुँदा नेपालको रेलमार्गको पहुँच संकुचित हुन्छ । भारत निर्भर हुन्छ ।
वर्षौं पुरानो प्रविधि रहेको भारतीय रेलमात्रै नेपाल आउँछन् । नेपालीले अत्याधुनिक रेल चढ्न पाउँदैनन् । रेलमार्ग निर्माण गर्दा बुलेट रेलमार्गमा स्तरोन्नति गर्न सकिने खालको हुनुपर्छ । प्रतिघन्टा ४०'५० किमि गुड्ने खालको रेलमार्ग प्रतिस्पर्धी हुन सक्दैन । सम्बद्ध पक्षले यस्ता कुरामा बेलैमा ध्यान दिऊन् ।
(वाग्ले एपीवान टेलिभिजनसँग आबद्ध छन् ।)