बाहिरियो दाबेदार पुलिस
पोखराः क्याराभान गोल्ड कपसहित पाँचपटक उपाधि जितेको विभागीय टोली नेपाल पुलिस क्लब १५औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सीएमजी क्लब संकटासँग २-१ गोलअन्तरले पराजित हुदै पुलिस प्रतियोगिताको पहिलो खेलबाटै बाहिरीएको हो । जितसँगै संकटा भने प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेको छ ।
सहारा क्लबको आयोजनामा भएको क्याराभान गोल्ड कपमा उपाधि उचालेर आहा रारामा आठपटकसम्म फाइनलमा पुगेको पुलिसको प्रदर्शन यसपटक दाबेदारीपूर्ण रहन सकेन । संकटाको जितमा विश्व अधिकारी र अनिल गुरुङले १-१ गोल गरे । पुलिसका रवि पासवानले एक गोल फर्काए । खेलको पहिलो हाफमा गोल गरेर अग्रता लिएको पुलिसले दोस्रो हाफमा लय गुमायो ।
पुलिसका रवि पासवानले मैदानको मध्यभागबाट विपक्षी डिफेन्डरलाई छक्याउदै खेलको ३५औं मिनटमा टोलीलाई १-० ले अघि बढाएका थिए । खेलको पहिलो हाफमा कमजोर देखिएको संकटा भने दोस्रो हाफमा लयमा देखियो । पुलिसका डिफेन्डर विक्रम धिमालले संकटाका अमित तामाङसँग ट्याकल गर्दा फल गरेपछि संकटाले खेलको ६४औं मिनेटमा फ्रिकिक अवसर पार्यो ।
विश्व अधिकारीले सो फ्रिकिकको सदुपयोग गर्दै टोलीलाई १-१ गोलको बराबरिमा फर्काए । त्यसपछि खेलको ८७औं मिनटमा अनिलले रिबाउन्ड बललाई जाली चुमाउदै टोलीको जित २-१ ले पक्का बनाए । अनिल खेलको ६१औं मिनेटमा सुशील केसीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
जुमानु राईको कप्तानीमा उत्रिएको पुलिस पहिलो हाफमै थुप्रै गोल गर्ने अवसर चुकेको थियो । संकटाका प्रशिक्षक सल्यान खड्गीले पहिलो हाफमा खेलाडीबीच समन्वय नहुँदा खेल कमजोर भएको बताए । उनले दोस्रो हाफमा योजना परिवर्तन गर्दा खेल आफ्नो पक्षमा आएको दाबी गरे । संकटाले माघ ११ गते बंगलादेशको फरास्गनी स्पोर्टिङ क्लबसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
पहिलो चरणबाटै बाहिरिनु परेपछि पुलिसका प्रशिक्षक कुमार कटुवालले भने हारको दोष खेलाडीमाथि थोपरे । ‘व्यक्तिगत रूपमा खेलाडीले राम्रो खेल्न सकेनन्', पोस्ट म्याच कन्फेरेन्समा उनले भने, ‘धेरै नयाँ खेलाडी भएकाले पुलिस पहिलेजस्तो भएन ।' कटुवालले पहिलो हाफको स्पिरिट दोस्रोमा कायम गर्न नसक्नु खेलाडीको कमजोरी भएको बताए ।