छोरी, नयाँ युग जन्माउनु

छोरी, नयाँ युग जन्माउनु

प्रिय छोरी स्मारिका !
अन्तस्करणदेखिको स्नेह ।
शब्दमा तिमीप्रतिको प्रेम र अक्षरमा तिमीप्रतिको स्नेह अटाउने जमर्को धृष्टता मात्रै हुनेछ । किनकि एकाबिहानै म बाहिरिँदा ‘बाई' भन्दै हल्लिने तिम्रा निर्र्दोष हत्केला र अबेर म घर फर्किंदा झ्यालमा पर्खिबसेका तिम्रा निश्चल आँखाहरूको सागरमा तैरिरहेको आंकाक्षाको बयान यी शब्दहरूमा अटाउने कोसिस हत्केलाले सूर्य छेक्नुसरह मात्रै हुनेछ । तिमी आज मेरी छोरीमात्रै हौ ।

‘भोलि' उचाइसँगै तिम्रो परिचय र जिम्मेवारी पनि अग्लिँदै जानेछ । तिमी छोरीमात्रै रहने छैनौं । तिमी त सिर्जनाको अर्को नाम हौ । जननी हौ तिमी तिमीलाई पृथ्वी भनिनेछ । त्यसैले भोलि तिमी पनि आफ्नी आमा जस्तै कसैकी श्रीमती हुनेछौ, कसैकी आमा र समयक्रममा हजुरआमा पनि बन्नेछौ । आज तिम्रो नाममा थोरै लेखौं या धेरै, यसको महत्व आज नै तिमीलाई नहुन सक्छ । आजको तिम्रो सानो कदले त्यसको अर्थबोध नगर्न पनि सक्छ ।

Shivaraj-yogi

प्रिय स्मारिका ! हरेक पल, क्षण र दिनले तिमीलाई जीवनको अर्थपूर्ण परिवेशमा समाहित गराउँदै जानेछ । जीवनको तत्वबोध गराउनेछ । समयले तिमीलाई हरेक उकाली र ओरालीको अनुभूति गराउन कन्जुस्याइँ गरेको हुने छैन । आज तिमीले पढ्ने अक्षर ‘क' लाई सहारा ‘ (आक्का) दिएर तिमी जसरी ‘का' बनाउँछ्यौ । (यो कति सुन्दर तरिका छ, आहा ! ) तिमीले क, ख, वा अ, आलाई आधार दिए झैं तिम्रो हरेक सोच, सपना, पाइला र प्रगतिलाई आधार दिइरहन पाउँ भन्ने मेरो जीजिविषा पूरा नहुन पनि सक्छ । आखिर म पनि समयपथको एक यात्री न हँ । यो यात्रा कुन मोडमा गएर टुंगिन्छ ?

त्यो समयकै पोल्टोमा होला । समयले सधैंभरि मलाई तिम्रो सहारा बन्न नदेला । मेरो पिँठ्युले थाम्ने भारीभन्दा गह्रुँगो भारी सायद समयले तिमीलाई सुम्पेला । म नहुँदा तिमीले कसैको आधार खोज्ने अवस्था नआओस् । अटल आत्मविश्वासको लौरो समातेर अनवरत यात्रारत रहनु तिमी । बस् यत्ति चाहना छ मेरो । छोरी समय नै रहेछ सबैभन्दा बलवान् । सबैभन्दा गतिवान् । समयको सुईसँगै जीवनको दुरी नापिरहने प्राणी रहेछौं हामी । यही समयले मलाई बुवा र तिमीलाई छोरी बनायो । आह ! कसरी बताउँ तिमीलाई म बा बन्दाको अनुभूति ?

जब तिमी ६/७ आठ महिनाकी थियौ, कनिकुथी कोल्टे फेथ्र्यौ म तिमी कहिले तातातैयाँ गरौली, कहिले छुनुमुनु पैताला सारालि र पिता हुनुको अगाध खुसी बटुलेर तिम्रो हात डोराउँदै हिँडुला भन्ने रहर हुन्थ्यो ।

आज ती रहरहरूको आकार पनि तिमीजस्तै बढ्दै गएको देख्छु । सपनाहरूको उचाइ आकाशजस्तै फराकिलो बन्दै गएको पाउँछु । जसरी तिम्रा चाहना, रहर, इच्छा र माग दिनैपिच्छे बढ्दै छन् । हिजो लुपुलुपु लिटोमा रमाउने तिमी चकलेट, आइसक्रिम हुँदै पिज्जा, बर्गर र खै के केकी पारखी हुन उद्धत छौ । त्यतिमात्रै होइन छोरी ! दुई वर्षकी हुँदा तिमी मैले रिपोर्टिङ गरेर रित्याएको नोटबुकमा केरकार गर्दैमा रमाउँथ्यौ । पाँच वर्षकी हुँदा नहुँदै तिम्रो पढाइको चाहना चुलिएको छ ।

एटलसदेखि स्केचबुक र चित्र डिक्स्नरीमा तिम्रा रहर उक्लिसकेका छन् । तिमीलाई योग्य नागरिक बनाउन संसारकै सबैभन्दा उत्कृष्ट पाठशाला पठाउने चाहना त मसँग पनि छ । तर मानिसले गर्ने कोसिसमात्र रहेछ । हरेक मानिस सीमाहरूले बाँधिएको प्राणी रहेछ । जति नाचे पनि, जति उफ्रे पनि, जति कुदे पनि आखिर आफ्नै क्षमताको आँगनमा रहेछ । मानिसको सीमा केले निर्धारण गर्छ ? मानिसको क्षमता र कमजोरी केले बनाउँछ ? कुनै दिन तिमीले पत्ता लगाउनु र बताउनु मलाई ।

कामना गर्छु, तिम्रा अक्षरमा आफ्नो समयको नयाँ समाचार हुनेछन् । मेरो समयको बासी इतिहास बोकेर तिम्रो पिँढी हिँड्नुपर्ने छैन । तिम्रो पिँढीले आफ्नो समयको स्पष्ट चित्र कोर्नेछ । हाम्रो वर्तमानजस्तो अलमल र अन्योल त्यहाँ हुने छैन ।

प्रिय छोरी ! कति दिन तिमीले मेरो नयाँ डायरी नै आफ्ना अक्षर खेल्ने खुला मैदान बनाइदिन्छौ । त्यो मैदानमा तिम्रा नसुध्रिसकेका अक्षरहरूले कवाज खेल्दा नयाँ युग सुरु भएको ठानेर मैले चित्त बुझाएको हुन्छु । आखिर मैले पोत्ने अक्षरले बुन्ने त्यही पारम्परिक र उस्तै चरित्र बोकेका समाचार न हो । डेढ दर्जन वर्षदेखि मैले त्यस्तै सयौं डायरी सकेँ, हजारौ अक्षर कोरेँ । अहँ, न ‘शान्ति'को सिंगो आकार बन्यो, न ‘विकास'को स्पष्ट तस्बिर कोरियो । हरेक समाचार उस्तै लाग्छ ।

हरेक परिवर्तन पुरानै लाग्छ । र त तिम्रा नयाँ अक्षरहरूमा रमाउँछु म । कामना गर्छु, ती अक्षरमा तिम्रो समयको नयाँ समाचार हुनेछन् । मेरो समयको बासी इतिहास बोकेर तिम्रो पिँढी हिँड्नुपर्नेछैन । तिम्रो पिँढीले आफ्नो समयको स्पष्ट चित्र कोर्नेछ । हाम्रो वर्तमानजस्तो अलमल र अन्योल त्यहाँ हुनेछैन । यो पुरानो युगले नयाँ युगसँग गरेको कामना हो छोरी । तिमीजस्तै अनगिन्ती छोरीका अव्यक्त प्रतिनिधि कथा समेटेको त्यो डायरीबाट न त तिम्रो सुनिश्चित भविष्यको आधार खडा भयो ।

न मेरो सपनाको पुलिन्दा कसैलाई सम्झाउन सकेँ । एउटा असफल पिंढीको पात्र बन्नुपरेको पीडाले नराम्ररी डस्छ मलाई । प्रिय छोरी ! समयको सुई थाक्ने गरी दौडिए पनि उस्तै छ समय । उस्तै छ सोच र संस्कार । तिम्रो हजुरआमाले आधा दर्जन फुपूहरू पाइदिँदा पनि हजुरबुवामा रहिरहेको तिम्रो बाबा पाउने इच्छारूपी बपौती अझै पनि मेरो पुस्ता बोकेर हिँडिरहेछ ।

आज पनि तिम्रा लागि एक ‘बहिनी' साथीको ठाउँमा ‘भाइ' साथी पाउन पाए राम्रो हुने मानसिकता तिम्रो बाबामम्मीको पुस्तामा जीवितै छ । मैले फाल्ने खोज्ने बपौती त्यो सोच मेरो परिवेश र समाजले बारम्बार मलाई थोपरिरहन्छ ।

व्यवस्था परिवर्तन भएकोमा दंग परेर के गर्नु ? अवस्था उस्तै छ । २०४६ सालमा मुलुकभर प्रजातन्त्रको बिगुल फुकिएका बेला अँगालोभरि किताब च्यापेर म स्कुले जीवन गुजारिरहेको थिएँ । ‘हामी जनताको छोराका दिन आउँछन्, बाबु !' भनेर प्रकाश बोगटी दाइले भनेको आजै बिहान जस्तो लाग्छ । प्रजातन्त्र प्राप्त भएपछि कैलाली बहुमुखी क्याम्पसमा स्ववियु सभापतिसम्म भएका ती दाइको इमानदारी आज मुम्बईको गल्लीमा चौकीदारी गरिरहेको छ ।

एसएलसी दिँदा नदिँदै २०५२ तिर सुरु भएको ‘जनयुद्ध'मा होमिएका एउटै ब्याचका दौतरी जगत चौधरीहरू, जेपी जोशीहरू अनि खुसीरामहरू आज संसारमा छैनन् । जीवित ऋषि बिनाडीहरू भैंसी स्याहारेर पेरिसडाँडातिर धारे हात लगाउँछन् । त्यागीलाई त्यागेर लोभीपापीलाई हुलेको राजनीतिबाट विरक्त ती आफ्नो जवानी र जोससँग खेल्ने पार्टीलाई सरापेर आँसु पुच्छन् । २०६२÷६३ मा आफैं सडकमा उत्रिएर आएको गणतन्त्रले मुलुकलाई कुन गोरेटो हिँडाउने हो आफैंलाई थाहा छैन ।

व्यवस्था फेरिए पनि अवस्था नफेरिएको जिउँदो सत्य तिम्री हजुरआमाको अनुहारमा भेट्टाउने छौ । आधा दर्जन व्यवस्था भोगिसकेकी तिमी हजुरआमाले ४० वर्षअघि र आज पनि गाउँबाट देख्न अस्पतालको अनुहार उस्तै छ । डोकाको ठाउँमा एम्बुलेन्स आएर मात्र नहुँदो रहेछ । हिजो डोको चढ्ने हैसियत नभएकालाई एम्बुलेन्सको आगमनले परिवर्तनको प्रत्याभूति नदिँदोरहेछ ।

छोरी स्मारिका ! यो समाजमा अवस्थामात्रै होइन सोच र संस्कारको आकारमा पनि रत्तिभर बदलाव आएको छैन । आज पनि बर्दियाकी शिवा हास्मीहरू जिउँदै पेट्रोल खन्याएर जलाइन्छन् । बारातिर बिन्दु ठाकुरको जलेको लास फेलापर्छ । बोक्सीको आरोपमा मलमूत्र खुवाउने समाजभित्रै तिमी छौ ।

विदेशमा खुन पसिना बगाएर त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालय आइपुगेकी तिमीजस्तै छोरी लुटिने र बलात्कृत हुने राक्षसी प्रवृत्तिमा परिवर्तन आएको छैन । तिमी छोरी हौ, छोरीको संवेदनशीलता तिमीलेभन्दा छोराले बुझन् गाह्रो हुन्छ भन्ने मेरो विश्वास छ । तर यो बुझ्न तिमी बुझ्ने उमेरमा पुगेको हुनुपर्ने छ । त्यो समझ र सोच तिमीमा विकास भएको हुनुपर्नेछ ।

बुझ्नु आफैंमा लामो र जटिल प्रक्रिया हो छोरी । आँखा र मस्तिष्क खुल्ला पारेर हेर्ने दृष्टिकोण अनि हिम्मतका साथ छाती फुकाएर सत्य चुन्ने साहस नहुँदासम्म उमेर बढेर मात्र बुझ्न सकिँदैन यथार्थको हरेक पाटो । विडम्बना नारी संवेदनालाई पनि यहाँ स्वार्थको सोकेसमा बिक्ने ‘माल' बनाइएको छ । पुरुष र नारी एकअर्काका परिपूरक हुन भन्ने सत्यलाई बेवास्ता गरिएको पाइन्छ ।

म तिम्रो बाबा पुरुष हुँ र तिम्री आमा नारी । तिमी हामी दुईको मिलनको प्रतिरूप हौ । आमामात्रै भएर वा बाबामात्र भएर तिम्रो अस्तित्व सम्भव छैन । तर यहाँ हिंसालाई पनि लिंगभेदी बनाएर थप विभाजनको कारण बनाइएको छ । अपराधीले अपराध मानिस हेरेर गर्दैन ।

प्रिय छोरी ! मैले माथि नै भने तिमी सिर्जना हौ, जननी हौ, तिमी पृथ्वी हौ अनि समानतावादी युगमा पनि तिमी सहनशीलताकी देवी हौ, भनेर । हो सत्य यही हो । तिम्री जननी अर्थात तिम्री आमा पनि आधुनिक युगकी नारी हुन् । उनीमा पनि परिवर्तनको फिलिंगो देख्छु तर उनले धर्तीमा पाइला राख्दाको आँगन फेरिएको छ । तिम्रा र मेरा रहर आकाक्षामा उनी रमाउन जानेकी छन् । वा करले पृथ्वीजस्तै त्यो सबै आफैंमा अटाएको देख्छु । उनी सहनशीलतालाई आत्मसात् गरेर जननी बनेकी छन् ।

छोरी ! तिमी त्यस्तैमा केही फरक बन्न सक्नु । दर्जनौं व्यवस्था फेरिँदा पनि हजुरआमाको अवस्था नफेरिनुको कारण खोज्ने गरी फरक हुनु । आमाले आफूमा गुम्स्याएको परिवर्तनको फिलिंगोलाई सकारात्मक रूपले सल्काउने ज्योति बन्ने साहस लिएर उभिनु । हिंसाको कुनै रूप र आकार हुँदैन, हिंसा हिंसा नै हो भन्ने सत्य गराउने अभियन्ता बन्नु ।

ताकि तिम्रो अभियानलाई तिम्रा पुरुष मित्रले संस्कार स्थापनाको अभियानका रूपमा लिन सकुन् । तिमी जन्मेको र म बाँचिरहेको परिवेश यही हो । जहाँ आज पनि सम्साँझमा तिम्री आमाहरू घरबाट निस्कन हुँदैन तर तिम्रा बाबाहरू मध्यरातमा मातेर घरिन मिल्छ । दुईजना पुरुषमित्रको बीचमा बसेर तिम्री आमाले गफिँदा अशोभनीय मानिन्छ अनि तिम्रा बाबाहरूका दर्जनौ ‘महिला साथी' भएको बहादुरी ठानिन्छ । शिक्षालयमा घूसको कारोबार हुन्छ ।

ममतामा पनि मिसावट भेटिन्छ । राजनीतिलाई गर्वसाथ पेसा बनाइन्छ । व्यापारलाई समाजसेवाका रूपमा स्थापित गर्न खोजिन्छ । हो, तिमी जननी हौं । म तिम्रो कोखबाट केवल एक सन्तान, एक शिशु वा एक नयाँ वंश होइन एउटा नयाँ युगको जन्म चाहन्छु ।
तिम्रो बाबा ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.