एउटा कविताको जन्मकथा

एउटा कविताको जन्मकथा

क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘इन्सेप्सन’को पात्र कबजस्तो ‘सपना चोर’ होइन म, जो मानिसका सपनाहरू चोर्न र सपनामा प्रवेश गरेर उनीहरूलाई बदल्न सक्षम होओस् । लियोनार्डो डी क्याप्रियोले कबको रूपमा जीवन्त बनाएको पात्र आजको दुनियाँमा भेटिएला भन्ने विश्वास पनि लाग्दैन, भोलि भेटिनेमा अविश्वास पनि लाग्दैन । ज्ञान विज्ञानले मानिसका अविश्वासका इलाकाहरू ध्वस्त पार्दै हिँडिरहेछ ।

अरूको सपना चोर्नु त धेरै टाढाको कुरा, प्रायः आफ्नै सपना सम्झिन पनि सक्दिनँ । सत्य हो, कहिलेकाहीँ सपनामा सर्वाधिक सुन्दरीसँग अनपेक्षित भेट भइदिन्छ । हो, ठ्याक्कै त्यही सर्वाधिक सुन्दरीसँग ! ऊसँगको सिनेम्याटिक भेटले धेरै दिनसम्म मनमा गहिरो आनन्दको प्रवाह महसुस गर्छु । एक कविको लागि को होला सर्वाधिक सुन्दरी ? तपाईंहरूले पनि अनुमान गर्नु भयो– ती सुन्दरीको नाम हो, ‘कविता’ ।

मानिसलाई प्रायः सपनाले गुल्जार पार्छ, बिपनाले बन्जर बनाउँछ । बिपनाको त्यही बन्जर भूमिमा उभिएर सोच्छु, मैले जीवनमा भेट्न चाहेको सर्वोत्कृष्ट कविता–सुन्दरी सपनामा भेटिएकी कविता नै हुनुपर्छ । हतपती सपनामा नभेटिने कवितासँग केहीपटक भेट भएको छ मेरो पनि । एक प्रेमीको लागि मनको अवचेतन पत्रमा कविता सुन्दरीको प्रवेश हुनु चानचुने खुसी कहाँ हो र ?

त्यही कविताको मोहनीमय सुन्दरतालाई विपनामा लेख्न खोज्दा एक पंक्ति पनि बनाउन नसकेर हजार पंक्ति हैरान भएको छु । कहिलेकाहीँ मुस्किलले सम्झिएका दुईचार पंक्तिलाई पनि कविता बनाउन अल्छी गरेको छु ।

विश्वविख्यात फुटबल लिजेन्ड म्याराडोनालाई पत्रकारले सोधेको एक प्रश्न र त्यसको जवाफ घरीघरी याद आउँछ । सनकी (तर महान्) म्याराडोनालाई पत्रकार सोध्छन्, ‘तपाईंको जीवनको सर्वाधिक सुन्दर गोल कुन हो ? ’

म्याराडोना जवाफ दिन्छन्, ‘अब हान्ने गोल !’
मैले पनि मेरो कविता– गोलको सम्बन्धमा यस्तै प्रश्नको सामना गरेको छु, दुईचार पटक । र मौखिक रूपमा म्याराडोनाको उत्तर अलिकति परिमार्जनसहित बोलिदिएको छु, ‘अब लेखिने कविता ।’

सपनामा कविता भेटिएको भोलिपल्ट लाग्छ, सायद त्यही नै थियो, मेरो सर्वाधिक सुन्दर कविता । मेरो अब्बल कविता । ला ! त्यो त छुटिगयो, आकाशमा मिलिक्क चम्किएको बिजुली क्यामेराको बटन दबाउँदा दबाउँदै छुटेझैं । त्यही बिजुलीझैं जसको एकमात्र आक्रामक चम्काइमा पनि सयौं गाउँलाई उज्यालो पार्ने ताकत हुन्छ ।

मनमस्तिष्कको वायुमण्डलमा कविताको बिजुली चम्चमाएर बिलुप्त भएकोमा केहीपटक उदास पनि भएको छु ।खुसीको कुरा, बिरलै भए पनि सपनामा कविताको बिजुली चम्किन छोडेको छैन । ‘अफ् सिजन’मा भेटिएको पर्यटक देखेर पर्यटकीय सहरको कुनै व्यवसायी खुसी भएझैं सपनामा कविता नानीलाई देखेर म खुसी हुने क्रम जारी छ ।


०००
डिजिटल विश्वविद्यालय गुगल आविष्कारको चेतना सपनामै भेटेका थिए लारी पेजले । अब्राहम लिंकनलाई आफ्नो हत्याको बोध सपनामा नै प्राप्त भएको थियो । आफ्ना चित्रहरूलाई ‘हातले पेन्ट गरेका सपनाका तस्बिरहरू’ मान्ने सर्रियल चित्रकार साल्भाडोर डालीको ‘पर्सिस्टेन्स अफ् मेमोरी’ सपनाकै उत्पादन मानिन्छ ।

कला क्षेत्रकै एक महŒवपूर्ण प्राप्ति ती पग्लिएका घडीहरूको रचनाले कला पारखीहरूलाई अचम्भित पार्छ । मनोवैज्ञानिक जुङको कृति ‘द रेड बुक’ उनले एक वर्षमा देखेका सपनाहरूको संग्रह हो । विख्यात बिटल्स गायकद्वय जोन लेनन र पल म्याकार्टनीले आफ्ना केही प्रसिद्ध गीतका धुनहरू सपनामा सुनेर बिपनामा बुनेका थिए ।

तर यो दुःखी आत्मा सपनामा कविता देख्दै बिर्संदै थियो । यो घोर पीडाको विषय थियो । एकपटक बरू सपनाको कविता बिपनामा उतार्न नसकेको गहिरो छटपटीलाई लिएर कविता नै लेखेँ–
‘जीवन
सम्झन खोज्दा बिर्सें बिर्सें झैं लाग्ने
र बिर्सन खोज्दा सम्झेँ सम्झेँ झैं लाग्ने
सपनामा लेखेको कविता रहेछ ।’
म यस्तो वैचारिक मनोदसाले धेरै दिन थिचिएको थिएँ । अझै थिचिन्छु ।
०००
(सपनामा कवितासँग भेट हुनु बढो प्रिय कुरा । त्यसलाई सम्झेर बिपनामा लेख्नु झन् प्रिय कुरा ।
सर्जकका लागि यो एक असामान्य अनुभव हो । आफूले लेखेका कविताको जन्मकथा भन्न सकिन्छ, जन्मकुण्डली भन्न सकिन्न । खासमा भन्ने हो भने मलाई कविताको जन्मकुण्डलीमा उति विश्वास पनि छैन । कविताको जन्मकुण्डली बनाउने र व्याख्या गर्ने काम समीक्षक र पाठकहरूको । व्याख्या पनि समीक्षक र पाठकहरू अनुसार फरकफरक हुन्छन् । यहाँ म केवल आफ्नै एक कविताको जन्मकथा लेख्ने इच्छाले बसिभूत भएर अनुभूति बाँड्नमात्र खोजिरहेको छु ।
यो कविताको जन्म सपनामा भएको थियो ।)
०००
एक भव्य मध्यरात मैले फेरि सपनामा कवितावाचन गरिरहेको पाएँ आफूलाई, अज्ञात श्रोताहरूमाझ । पढिरहेको कविता देब्रे हातबारे थियो । ब्युँझदा त्यस कविताका केही पंक्तिहरू कुनै मूर्त चित्रझैं याद थिए, तसर्थ बत्ती बाल्न पनि समय खर्च नगरी हतारहतार तिनलाई सिरानी नजिक रहेको मोबाइलको नोटमा टिपेँ ।

टिप्दै जाँदा लाग्यो, कविताको क्यानभास ठूलो छ । दाहिने हातले निर्माण गरेको ‘ग्रान्ड न्यारेटिभ’मा देब्रे हात र देब्रे हर अन्यकृत भएको बिम्ब सजीव भएर आयो । त्यही बिम्बलाई मानिसले युगौंदेखि गरिआएका तमाम् खराब अभ्यासहरूसँग दाजेर हेरेँ र पाएँ, एकल संरचनाको वञ्चना र हेपाइमा परेका विश्वभरिका अर्बौं दुःखीजनको पीडा बोक्ने सामथ्र्य कवितासँग थियो । कति समर्थ कविता लेखेँ ? यो मलाई थाहा छैन । भनिसकेँ, मलाई कविताको जन्मकथा लेख्न आउँछ, जन्मकुण्डली भन्न आउँदैन ।

अन्तरविमर्श गरेँ, म आफ्नैले पनि देब्रे हातलाई सधैं वञ्चनामा राखेँ । लेख्दा, खेल्दा, हात मिलाउँदा सधैं दाहिने हात मात्रै चलाएँ । युवावस्थाभरि भलिबल वा अन्य खेल खेलेका उत्तेजनात्मक क्षणहरू स्मरणमा आए । सोधेँ आफैंलाई, दाहिने हातको स्पाइकमा बल किन विपक्षीको टाउकोमै बज्रिन्थ्यो तर देब्रे हातको स्पाइक सधैं किन फिस्स हुन्थ्यो ?

दाहिने हातले कोरेका अक्षरहरू किन सुन्दर तर देब्रे हातले लेख्दा तिनै अक्षरहरू किन कुखुराले माटो खोस्रेका जस्ता ? देब्रे हातको आत्मविश्वास कमजोर बनाएर के मैले आफ्नै क्षमतालाई खुम्च्याएको छैन ? देब्रे हातले पनि दाहिने हातले झैं स्पाइक गर्न सिकेको भए के थाहा, म पनि भलिबलको राष्ट्रिय टिमको सदस्य छानिन्थे कि ? जुन मेरो एक समयको प्रिय सपना थियो ।

फ्रेन्च वैज्ञानिक लामार्कले विकासक्रमको एक महत्वपूर्ण सिद्धान्त ‘प्रयोग र अप्रयोगको नियम’मा भन्छन्, ‘प्राणीको जुन अंगको बढी प्रयोग हुन्छ त्यो अंग विकसित बन्छ, प्रयोग नहुने अंग अविकसित ।’ पछि चाल्र्स डार्विनले यस सिद्धान्तको थप व्याख्या गरे । यता शरीरक्रिया विज्ञान भन्छ, ‘मानिसको देब्रे हरको सम्बन्ध दाहिने मस्तिष्कसँग र दाहिने हरको सम्बन्ध देब्रे मस्तिष्कसँग हुन्छ ।’ यसलाई सत्य मान्ने हो भने किन अधिकांश मानिसले आफ्नो दाहिने मस्तिष्कलाई बायाँ मस्तिष्कझैं विकसित नबनाउने भयानक गल्ती गरिरहेछौं ? के हामीले ‘डोमिनेट’ हात र खुट्टाको क्रियाशीलतालाई बढाएर आफूलाई थप विकसित गराउन सक्दैनौँ ?

यसो गमेँ, दाहिने मस्तिष्कलाई सक्रिय बनाउने देब्रे हात कम चलाएर मैले मेरो जीवनमाथि नै अन्याय गरेको छु । धेरै मानिसहरू यही गरिरहेछन् । कल्पना गरेँ, भविष्यमा बच्चाहरूलाई दुवै हातखुट्टा चलाउने तालिम नै दिइनेछ । यो जरुरी भइसक्यो । यसो भए उनीहरूको मस्तिष्क अहिलेका मानिसको भन्दा बढी विकसित हुनेछ ।

हल्का विचलित पार्ने सत्य, शरीरको सत्ताको चिन्तनमा डुब्दा मैले आफैंलाई बिल्कुल एकपक्षीय सत्ताधारी पाएँ– राज्यसत्ता चलाउने अधिकांश नेताहरूझैं ।
०००
चिन्तनको भेलबाढीमा गोता लगाउँदा झ्वाट्ट मैले मानिसका हजारौं सपना, न्याय र आवश्यकता पूर्ति गर्ने भनिएको राज्यसत्ता सम्झिन पुगेँ ।

(सपनाले राज्यसत्तासम्म डोरायो मलाई, जुन प्रायः कुरूप छ ।)
प्राथमिक आवश्यकताहरू समेत पूरा नभएर संघर्ष गरिरहेका अर्बौं मानिसको संख्याले विश्वको कति प्रतिशत भूभाग ओगटेको होला र कति प्रतिशत मानिसहरू अतिरिक्त आवश्यकताको पिरामिडमा उक्लिन सफल भए होलान् भनी काँचो अनुमान गरेँ । के देश दुनियाँको राजनैतिक सत्ताले देब्रे हातलाई दाहिने हातलाई झैं सम्मान गरेको छ ? मैले यसको उत्तर पनि बढो निराशाजनक नै पाएँ ।

शरीरले झैं सत्ताले पनि देब्रे हातलाई बेवास्ता गरिरहेको यथार्थ हिउँदको खोलामा देखिने ढुंगाहरूझैं छर्लंगै छ । देब्रे हात यानी पिँध वा कुनामा धकेलिएको वर्ग । देब्रे हातकै नियति त भोगिरहेछन् दलितहरूले, मजदुरहरूले, किसानहरूले, महिलाहरूले र सर्वहाराहरूले । धार्मिक, राजनैतिक, जातीय र रंगभेदको दलनमा परेका विश्वका तमाम् मानिसहरू पनि त ‘देब्रे हात’ हुन् । लक्षणामा बुझ्दा विश्व पनि सधैं ‘देब्रे हात’को विपक्षमा रहेछ ।
०००

सुत्न खोजेँ, निद्रा पटक्कै लागेन । कतै पढेको थिएँ, देब्रे हातलाई बाइबल र अन्य धर्मग्रन्थहरूले अशुभ मान्छन् । गुगल सर्च गर्दा अनौठो तथ्य फेला प¥र्यो, १३ अगस्टलाई बायाँहातेहरूको दिवसको रूपमा मनाइँदो रहेछ । उनीहरूले त्यो दिनलाई दायाँहातेहरूको लागि डिजाइन गरिएको विश्वमा उनीहरूमाथिको विभेदविरुद्ध जनचेतना जगाउने दिनको रूपमा मनाउने रहेछन् ।

देब्रे हात दुखिरहेको थियो, सुताइको पोजिसन नमिलेर । सपनामा सायद यही कारण देब्रे हातकै कविता कुनै अपरिचित श्रोताहरूलाई सुनाइरहेको थिएँ । आखिर सपना यथार्थको प्रतिबिम्बन नै त हो । मिर्मिरे बिहानसम्ममा मैले यो कविता लेखिसकेको थिएँ । यो कवितामा अटाएका सबै कुराहरू भने सपनामा आएका होइनन् । सपनामा भेटेको काव्यिक झिल्कालाई बिपनाको चिन्तनले अलिक विस्तारित र परिस्कृत गरेको हुँ । हुबहु सपना सम्झिनु कठिन पनि छ । त्यसैले त सपना बढो रहस्यमय र सुन्दर पनि छ ।
यो कविता विभेदमा परेका र अन्यकृत गरिएका तमाम् ‘देब्रे हात’हरूमा समर्पित छ ।देब्रे हातढुंगाको हरमुनि च्यापिएको
घाँसको पहेँलो पातजस्तो
शरीरको कोखामुनि च्यापिएको छ
श्रापित देब्रे हात ।
मानौं यो हात
कुनै कामको लागि योग्य थिएन
कुनै सफलताको हकदार थिएन ।पोसिलो खाना लिएर
मुखसम्म पुग्ने काम केवल दाहिने हातको
खेलहरूमा विजेता हुन
भर केवल दाहिने हातको
कविता लेख्न, हस्ताक्षर गर्न
विश्वास केवल दाहिने हातको ।कहीँ विजेता बनेर
उत्सवहरूमा उठाएँ दाहिने हात ।
राष्ट्रिय गीत बज्दा कतै
मुटुमाथि गर्वले राखेँ दाहिने हात
कसैलाई सलामी दिँदा
निधारमा जोडेँ दाहिने हात ।
मैले आफ्नो देब्रे हात
दाहिने हातले पाएको सफलतामा
ताली बजाउन मात्र प्रयोग गरेँ
कि त
आची पुछ्न मात्र
कि त
फोहोर टिप्न मात्र ।देब्रे हात
डिप्रेसनको रोगी बनिरह्यो ।
सुनिरहेँ उसका प्रलापहरू–
‘के तिम्रो संसार दायाँ हातको मात्र देन हो ? किन तिम्रो धर्मसमेत मेरो मजाक उडाउँछ ? मलाई किन अपराधी, कमजोर र बेइमानीको बिम्ब मान्छौं ? ए मानिस, मलाई पनि चलाऊ । मलाई पनि गतिशील बनाऊ ।’
चलाउँदै नचलाएको त होइन है मैले
यो देब्रे हात
तर दाहिने हातलाई सधैं शिरमाथि चढाएँ
र यो देब्रे हातलाई
जुत्ताको फोहोर मात्र पुछ्न लगाएँ ।देब्रे हातको रोग निको पार्न
त्यसलाई एउटा महँगो घडी उपहार दिएँ
सुनका औंठीहरू पनि लगाइदिएँ औंलाहरूमा
र शरीरको सम्पूर्ण सत्ता
सुम्पिदिएँ केवल दाहिने हातलाई ।तर एकदिन अचानक
पक्षघातले ढलेँ म
बेकाम भयो मेरो दाहिने हर ।
त्यही दिनदेखि थर्थराउँदै हिँड्न थालेको छु
देब्रे हातले लठ्टी टेकेर ।यो भयानक दुःखको कुरा हो
कि पृथ्वीकै शरीरको एउटा कुनामा
सधैं श्रापित छ देब्रे हात
र दाहिने हर नचल्ले निश्चित छ ।
ओहो, कुन हातले लट्ठी समाउला पृथ्वीले
जब पक्षघातले यसको दायाँ पाटो हान्नेछ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.