‘रोनाल्डोमात्रै होइन, कहिलेकाहिँ मपनि नराम्रै खेल्थें’
काठमाडौंः लगातार ४० खेलमा अपराजित रहँदै ला लिगामा नयाँ कीर्तिमानी बनाउने टोली हो रियल मड्रिड। तर, ४० खेलमा बनाएको अपराजित यात्रामा पूर्णविराम भने सेभिल्लाले आफ्नो घरेलु मैदानमा भएको खेलमा लगाइदियो। त्यत्तिमात्रै होइन पछिल्ला दुई खेलमा रियल लगातार पराजित भयो।
सेभिल्लासँग पराजित भएको दुई दिनपछि भएको कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सेल्टाभिगोले रियल मडिडलाई सान्टियागो बर्नबाउमै २–१ ले पराजित गर्यो। त्यसपछि क्रिष्टियानो रोनाल्डोको पछिल्लो प्रदर्शनलाई लिएर आलोचना सुरु भएको छ। तर, त्यसको बचाउ रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गरेका छन्।
शनिबार रियल मड्रिडले ला लिगा फुटबलमा मालागाको सामना गर्दैछ। त्यसअघि भएको प्रि-म्याच कन्फेरेन्समा प्रशिक्षक जिदानले रोनाल्डोको प्रदर्शनबाट आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताएका छन्। उनले भनेका छन्,‘कहिलेकाहिँ मैले पनि नराम्रो खेल्थें। रोनाल्डोले मात्रै होइन।’ जब रोनाल्डोले राम्रो खेल्दैनन् तब आलोचना सधै सुरु हुन्छ,’जिदानले भने,‘उसको उपस्थितिले टिमलाई निकै फरक पार्छ। तर, कहिलेकाहिँ ऊ राम्रो खेल्दैन। फरक भूमिकामा रहेर खेल्न सक्ने खेलाडी हो।’ उनले डानी कार्भाजलको अनुपस्थितिमा डानिलोलाई मैदान उतार्ने बताए। उनले डानिल्लो निकै मेहेनती र उत्कृष्ट खेलाडी भएको समेत बताएका छन्।