एउटा अर्को काबुल

एउटा अर्को काबुल

राजा भूपति शाहीले नुवाकोटको भैरवस्थान मन्दिर बनाए । १६५१ सालमा त्यहाँ दरबारको छेउमा कोतघर बनाए राजा वि श्राम शाहीले । असनको तिलंगाघर (सैनिक भवन) आज जीर्ण अवस्थामा छ । त्यसको संरक्षणमा कसैले चासो लिएको पाइँदैन ।

ऐतिहासिक महत्त्वको सो घरमा केही पसल राखिएका छन् । तर इतिहास र पुरातत्वका ज्ञाताहरू त्यसबारे मौन देखिन्छन् । काजी अभिमानसिंह बस्न्यातले बनाएको तिलंगाघर इतिहासको साक्षी हो । कोशीदेखि टिस्टासम्म र हिमाल पर्वतदेखि बिहार सीतामढीसम्म फैलिएको चौदण्डी होस् वा अमीर पालले बनाएको मुस्ताङ राज्य, ती सबैको प्राचीन इतिहास बडो रोचक छ । दुर्भाग्य, इतिहास उपेक्षित छ ।

खप्तडबाट फैलिएका खप्तडी बस्नेत, सिंजाको विष्टवाडाबाट फैलिएका विष्टहरू, ५७ पुस्ता (मिथिदेखि नीतिसम्म) जनकहरू (राजा) द्वारा शासित मिथिला प्रदेश, कत्युरी सभ्यताको भूभाग (एक हजार ६ सय गाउँमा विस्तीर्ण क्षेत्र), डोटी क्षेत्र, जुम्लाको इतिहास आदि अध्ययन गर्दा पुर्खाप्रति गर्व गर्नैपर्छ । किन हो, युवा पुस्तालाई इतिहास सिकाइएन । त्यही कारण आज विदेशी संस्कृति र इतिहासको मात्र चर्चा हुने गर्छ । नेपाली इतिहास ओझेलमा पर्दै गएको छ ।

इतिहासका ज्ञाता तथा साहित्यकार आत्माराम ओझा (बमराडा, बैतडी) ले भनेका थिए -'सुदूरपश्चिमको इतिहासबारे काठमाडौंमा बसेका इतिहासकारहरूले त्यति रूची देखाएनन् । तर सम्राट नागराज जावेश्वरले सिंजा राज्यलाई नुवाकोट, चितवन, कश्मिर, तिब्बत र हालको बिहारसम्म फैलाएको पाइन्छ ।' ओझाले जावेश्वरका बारेमा उपन्यास लेखेका छन् । पच्चीसवटा पुस्तक प्रकाशित गरिसकेका स्वर्गीय ओझा भन्थे -'विक्रम संवत् ११०० को हाराहारीमा नै प्रसिद्धि पाइसकेको कर्णाली प्रदेशलाई आजका राजनीतिज्ञ, लेखक र पत्रकारले रोग, भोक र शोकको घर ठान्छन् । त्यो गलत हो । कर्णाली क्षेत्र इतिहास, सभ्यता, धर्म र संस्कृतिको जीवित विश्वविद्यालय हो ।'

पृथ्वीनारायण शाहले बाइसे-चौबीसे राज्यलाई एकीकृत गर्ने क्रममा पुरोहित, शिक्षक, सैनिक, कर्मचारी, ज्योतिषी, वैद्य, सहयोगी आदिका रूपमा जुम्ला, रुकुम, कास्की, गोर्खा, लमजुङ, नुवाकोटलगायतका क्षेत्रबाट बाहुन- क्षेत्रीहरूलाई पूर्वतिर लगे । अन्य जातजातिका मानिसलाई शिक्षादीक्षा दिएर चेतनशील बनाए । किरात क्षेत्र मानिएका प्रायः सबै भूभागमा २००७ सालअघि नै शिक्षाको उज्यालो फैलिँदै गएको पाइन्छ । भोजपुरको दिङ्लामा पं. षडानन्द अधिकारीले सय वर्षभन्दा पहिले नै विद्यालय खोलेका थिए भने पं. छविलाल पोखरेल (धरान), दशरथ गौतम (इलाम) आदिको विद्वताबारे आज पनि धेरैले प्रशंसा गर्छन् ।

धनकुटाको गोकुण्डेश्वर हाइस्कुलदेखि लिएर पूर्वी पहाडका अधिकांश पुराना स्कुल, कलेज खोल्नका लागि त्यतिबेलाका टाठाबाठा, धनाढ्य र परोपकारीहरूले ठूलो योगदान गरेको पाइन्छ । तेह्रथुमको वीरेन्द्र इन्टर कलेजलाई देवीप्रसाद उप्रेतीले एकहजार तीन सय रोपनी निजी जग्गा दान गरे भने झापामा घैलाडुब्बा, भद्रपुरलगायतका विद्यालयलाई सयौं विगाह जमिन दिए । अर्घाखाँचीका हरिहर शास्त्री गौतमले लुम्बिनीदेखि भेरी अञ्चलको बर्दियासम्मका सयौं विगाह जमिन स्कुल कलेजलाई दान गरे । पहाड र मधेस भन्दै भेदभाव गरेनन् ।

झन्डै पचास हजार गैरसरकारी संस्था खोलेर विदेशीसँग भीम माग्नेहरूले पुर्खाको इतिहास मात्र अध्ययन गरे पुग्छ । हाम्रा पूर्वज भिखारी थिएनन्, स्वाभिमानी थिए । कहिले पनि पराधीन नभएको नेपाललाई हजारौं वर्षसम्म उनीहरूले ऐक्यबद्ध बनाएर राखे । जात, धर्म, क्षेत्रको लडाईं हुन दिएनन् । किनभने त्यसबेला सबैमा 'म नेपाली हुँ' भन्ने भावना थियो । त्यही चिन्तनले राष्ट्र सुरक्षित थियो । राष्ट्रिय भावना कमजोर भयो भने फिरङ्गीहरूले हामीलाई कमजोर बनाउँछन् भन्ने बुझेर नै पृथ्वीनारायणले धर्मसंस्कृति बिथोल्ने विधर्मीहरूलाई लखेटेका थिए ।

अंग्रेजका पालामा देहरादूनस्थित सर्भे अफ इन्डिया अफिस नामक कार्यालयले प्रकाशित गरेको पुरानो नक्सामा नेपालको सर्वोच्च हिमशिखरलाई 'माउन्ट एभेस्ट' लेखेको र त्यसको तिब्बती नाम 'चोमोलोङ्मा' देखेपछि पीडा भएर इतिहासकार बाबुराम आचार्यले 'सगरमाथा' नाम राखे । (नेपालको संक्षिप्त वृत्तान्त), राष्ट्रको अपमान हुँदा सचेत नागरिकलाई पीडा हुन्छ । दुर्भाग्य नै भन्नुपर्छ, आजका टाठाबाठा, धनाढ' र शिक्षितहरू आफ्ना सन्तानलाई अष्ट्रेलिया, युरोप, अमेरिकातिरै बस्नू भन्ने आशीर्वाद दिन्छन् । फर्किए पनि ती वृद्धावस्थामा मात्र फर्किन्छन् ।

आफ्नो राष्ट्र बलियो र सम्पन्न बनाउने होइन, धनी राष्ट्रका कमैया बनाउन हामी सन्तानलाई प्रेरणा दिइरहेका छौं । दक्षिण एसियाकै अवस्था हेर्दा नेपालभन्दा भुटान समृद्ध बनेको पाइन्छ । मौलिक धर्म, संस्कृति, परम्परा र आत्मसम्मान जोगाउनुपर्छ भन्ने चेतना विकसित हुँदै गएको छ त्यहाँ । नेपाली राजनीति विदेशी हस्तक्षेपले ग्रस्त छ । यहाँका राजनीतिज्ञहरू शक्ति आर्जन गर्न विदेशीलाई स्वामी मानेर बहुपतिप्रथा (पोलियान्ड्री) स्वीकार गरिरहेका छन् । चीन, भारत, युरोप र अमेरिकीसँगको सहवासमा नेतागण आनन्द मानिरहेका छन् । दिल्लीमा भएको बाह्रबुँदेपछि नेपाल आज चन्द्रशमशेरले दासहरूलाई पुनर्वास गराएको अमलेखगञ्ज जस्तो बनेको छ ।

राजा जहिर शाहलाई स्वदेश परित्याग गर्न वाध्य बनाइएपछि अफगानिस्तानमा कहिले पनि शान्ति भएन । लाखौं जनता मारिए । लाखौं शरणार्थी भए । इतिहासले निर्माण गरेको धरातल, राष्ट्रिय एकताका सूत्रहरू, सार्वभौमसत्ताका आधार, राष्ट्रिय एकताको भूमि र जनताबीचको सद्भाव समाप्त पार्दै 'नयाँ नेपाल' बनाउँछु भन्नेहरू काठमाडौंलाई अर्को काबुल बनाउने प्रयत्न गरिरहेका छन् । प्रायः सबै दलमा महमद दाउद, बाब्राक कार्माल, नजिबुल्लाह जस्ता पात्रहरू छन् । घरघरमा क्विजलिङ, जयचन्द, मीर जाफर जस्ता राष्ट्रघातीहरू हुर्काइएको छ । जसले राष्ट्र अखण्ड, सुदृढ, शान्त र स्वतन्त्र रहोस् भन्छ, ऊ 'अपराधी' ठहरिन्छ । क्षमता भएपनि त्यस्ता मानिसलाई राज्यका हर्ताकर्ताहरू मन पराउँदैनन् ।

वि.सं. १७०७ मा देशभक्त भारदार काजी भीम मल्ललाई बेकसुर हुँदाहुँदै पनि काटियो । नरदेव मयासिङ र महादेव ओझा नामका फटाहाले राजा प्रताप मल्ललाई चुक्ली लगाएछन्, 'सरकार, भीम मल्ल साह्रै शक्तिशाली भयो । तिब्बतका शासक र सेनापतिलाई त तह लगाएँ, अब यहाँका राजालाई पनि ठेगान लगाउँछु भन्छ रे ।'

तिब्बतबाट फर्किएपछि भीम मल्लको हत्या भयो । सतीप्रथा कायमै रहेको त्यो युगमा पतिसँग चितामा ज्यूँदै जल्नुअघि उनकी पत्नीले श्राप दिइछन् -'देशका लागि हृदयदेखि असल काम गर्दा मेरा पति मारिए । यो देशको भलो चिताउने सबैको यस्तै हालत भइरहोस् ।' सतीकै श्राप परेर होला, मन, वचन र कर्मले राष्ट्रको उत्थान चाहने धेरैजना आज दुःखी, पीडित र कमजोर छन् । जुनसुकै राजनीतिक परिवर्तन भए पनि राष्ट्रघातीको खटनपटन चलिरहेको छ । इमान्दार, असल देशभक्तहरू उपेक्षित भइरहनुपर्ने अवस्था छ । जनता पनि असल र खराब छुट्याउने होइन, आफ्नै पार्टीका अपराधीको जयजयकार गर्छन् । मानौ, ती सधैंका दास र कृतदास हुन् ।

हालको भारतको जम्मु र पाकिस्तानको लाहोरछेउसम्म पुगेको थियो नेपाल । पूर्वमा टिष्टा र दक्षिणमा गोन्डा, गोरखपुरलगायतका क्षेत्रसम्म विस्तीर्ण थियो । सन् १८१६ को सुगौली सन्धिपछि ठूलो भूभाग गुमाउनुपर्‍यो । ठ्याक्कै दुई सय वर्षसम्म मेची महाकालीबीचको माटो जोगाइदिए पुर्खाले । तसर्थ उनीहरूप्रति हामी कृतज्ञ हुनैपर्छ ।

आज नेपालमा मनोवैज्ञानिक रूपमा हिमाल, पहाड, तराई, चुच्चे, थेप्चे, पहाडे, मधिसे भन्ने लडाईं गराउन खोजिँदैछ । तराईलाई नेपालबाट अलग गराउन कपुतहरूलाई प्रयोग गरिएको छ । कोही लेखक र विश्लेषकको भेषमा त कोही नेताको भेषमा । केही सञ्चारमाध्यमहरूले बडो महत्त्व दिएका छन् पृथकतावादीहरूलाई । द्वन्द्व चर्काएर नेपाल टुक्राटुक्रा हुँदा केही व्यक्ति त धनी होलान् तर बाँकी जनताको हालत के हुन्छ ? गृहयुद्ध सुरु भयो भने जनता कहाँ जान्छन् ?

ठूला नेतालाई विदेशी राजदूतहरूले बाँदरले बच्चा च्यापेझैं कतै लैजालान्, हामी जनता कहाँ जाने ? यही कारणले पृथ्वीनारायणको विचार आज पनि सान्दर्भिक र सामयिक देखिएको छ । राष्ट्रिय एकता नै समाप्त पार्ने विवाद र विषयलाई संग्रहालयमा राखेर राष्ट्रिय एकताका आधारहरू खोज्नुपर्छ भन्दै कतिपय राष्ट्रवादीहरू लेख, विश्लेषण, अन्तर्वार्ता र छलफलमार्फत चेतना फैलाइरहेका छन् । विभिन्न दलका नायक र उनीहरूका भजन गायकहरू भन्छन् 'राष्ट्रवादको कुरा गर्ने महामूर्ख हुन् ।'

विदेशी शक्तिको चरणस्पर्श नगर्ने र राष्ट्रघातको मतियार वा हतियार बन्न नचाहनेहरू अझै पनि संगठित, सुदृढ, एकीकृत र सक्रिय नहुने हो भने राष्ट्रको अस्तित्व छिट्टै समाप्त हुने अवस्था देखिएको छ । त्यो दिन टाढा छैन ।
नेपालका लाखौं ऊर्जाशील युवकयुवती परिवार पाल्न विदेशिएका छन् । ठूला दलहरूले 'राष्ट्रिय सहमति' गर्दै लाखौं भारतीयलाई 'स्वदेशी' बनाएका छन् । भारतका गृहमन्त्री राजनाथ सिंहले गत वर्ष सार्वजनिक रूपमै बोले 'नेपालमा एक करोड भारतीय छन् ।'

पाँच सात वर्षभित्रैमा नेपाली जनता अल्पमतमा पर्ने खतरा देखिएको छ । तर काठमाडौंका कैयन् धनाढ्याहरू आज पनि नेपालीलाई होइन, घर भाडामा दिँदा विदेशीलाई महत्त्व दिन्छन् । आफू मात्र धनी बन्न खोज्दा छोरीबुहारी मात्र होइन, एकदिन राष्ट्र लुटिने कुरा उनीहरूले बुझ्न बाँकी नै छ ।

राष्ट्रले आज बलियो नायक खोजिरहेको छ । योग्य, सक्षम, त्यागी, इमानदार, राष्ट्रवादी नेतृत्व खोजिरहेको छ । २०४७ सालपछिका पच्चीस वर्षमा सिंहदरबारमा पच्चीस जनाको तस्बिर झुन्ड्याइयो । ती सबैमा 'प्रधानमन्त्री' लेखिए पनि भारतका असक्षम 'मुख्यमन्त्री' जस्तै देखिए । ऐनमौकामा सही निर्णय गर्न सकेनन् । सबै राष्ट्रवादीलाई समेट्ने साहस र उदारता पनि देखाएनन् । लोभीपापीको क्लबजस्तो भयो सरकार ।

स्वदेशी साधनस्रोत र विदेशीले दिएको अबौं रुपैयाँले नेपालको मुहार फेर्न सकिन्थ्यो तर आफू र केही कार्यकर्ताको मात्र संरक्षण गरे नेताहरूले । सरकार सदैव धर्मरमा हुँदा राष्ट्र जर्जर बन्दै गयो । तर सत्ताको वरिपरि बसेर फाइदा लिइरहेका कार्यकर्ता खुसी भए पनि जनता निरास छन् । यो कटु यथार्थ सबैले स्वीकार गर्नैपर्छ ।

नेपाल धर्म, संस्कृति र इतिहासको अवमूल्यन गर्ने मूर्खहरूले बनाएका होइनन् तर आधुनिक युगमा मूर्ख शासकहरूले क्षतविक्षत पार्न खोजिरहेको देखिन्छ । 'धर्म मान्दिन' भन्ने शासक मूर्ख कि बुद्धिमान ? प्राचीन धर्म संस्कृति मान्ने बहुसंख्यक जनताको भावनाविरुद्ध 'नेपाल धर्मनिरपेक्ष हो' भन्नेहरू विवेकी हुन् कि अज्ञानी ? विदेशीलाई रिझाउन जनताको भावना कुल्चिँदै अघि बढ्न खोज्नेहरू नेपालका शासक हुन् कि विदेशीका प्रशासक ? जनताले यस्ता प्रश्नको उत्तर खोज्नैपर्छ ।

इतिहास भन्छ, एकपल्ट राष्ट्रियता गुम्यो भने त्यो फर्काउन सकिँदैन । 'फोनिक्स' चराको मिथकझैं धेरै दल एकपल्ट खरानी भए पनि बौरिएका छन् । प्रश्न राजनीतिक दल वा पद्धतिको होइन, राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमिकताको हो । राष्ट्रिय एकताको हो । त्यसैले, राष्ट्र बचाउन हामी नेपाली दल, जात र क्षेत्रको पिंजरा फुटाएर वास्तविकताको धरातलमा आउनुपर्छ । राष्ट्र भनेको घर हो र दलहरू कोठा मात्र हुन् । घर नै ढल्यो भने कुन कोठा सुरक्षित रहला ? प्रश्न अनुत्तरित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.