आर्मी क्लब सेमिफाइनलमा
काठमाडाैः पन्ध्रौं आहा-रारा गोल्ड कप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले रमपम झापा-११ लाई २-० गोलले हराएको छ । जितसँगै आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा आर्मी क्लबका लागि नवयुग श्रेष्ठ र भरत खवासले एकएक गोल गरे । आर्मी क्लबले सेमिफाइनलमा आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि आर्मी क्लबले दुवै गोल दोस्रो हाफमा गर्यो । छोटो पासमा आक्रामक खेल खेलेको आर्मी क्लबले दोस्र्रो हाफको पहिलो मिनेटमै गोल गरेको थियो । सन्तोष तामाङको पासलाई नवयुगले गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । आर्मी क्लबका कप्तान भरत खवासले खेलको ७०औं मिनेटमा डिएरिया बाहिरबाट एक्लै बल लगेर अर्को गोल थपे ।
झापाका डिफेन्डर विदेशी खेलाडी पिटर सेगुन घाइते भएर मैदान बाहिरिँदाको मौका आर्मी क्लबले सदुपयोग गर्यो । झापाको मिडफिल्ड पनि कमजोर रह्यो । पहिलो हाफमै आर्मी क्लबले गोल गर्ने केही अवसर चुकायो । खेलको नवौं मिनेटमा सुमन अर्यालको क्रसलाई नवयुग श्रेष्ठले गोलमा परिणत गर्न सकेनन् । सन्तोष तामाङले खेलको १३औं मिनेटमा डिबक्सभित्रबाटै गरेको प्रहार क्रसबारमा ठोक्किएर फर्कियो । उक्त रिबाउन्ड बललाई टेकबहादुर बुढाथोकीले पुनः प्रहार गर्दा झापाका गोलरक्षक किशोर गिरीले क्लियर गरे ।
विदेशी टोली एएनए यूएसएलाई पहिलो चरणमा पराजित गर्दा ह्याट्रिक गरेका कर्ण लिम्बूको आर्मी क्लबसँगको खेलमा भने जोर चलेन । खेलको ५६औं मिनेटमा झापाका रञ्जित श्रेष्ठको कर्नर बल देवेन्द्र तामाङले हेड गर्दा आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । ८३औं मिनेटमा पाएको कर्नरलाई पनि कर्णले गोल गर्न सकेनन् । खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
झापाका प्रशिक्षक सञ्जय राईले टिमको फिनिसिङमा चित्त नबुझेको बताए । उनले भने, ‘मिडफिल्डमा धेरै मिस पास भयो, डिफेन्स पनि राम्रो भएन ।’ आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले पहिलो गोल नै टिमका लागि ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।
आक्रामक खेल्दाखेल्दै पनि पहिलो हाफमा धेरै अवसर गुमाएको उनले स्वीकारे । तीनपटकसम्म प्रतियोगिताको फाइनलमा पुगे पनि विभागीय टिम आर्मीले उपाधि जित्न सकेको छैन ।
मंगलबारको सेमिफाइनल खेल संकटा क्लब र फरासगनी स्पोर्टिङ क्लब बंगलादेशबीच हुनेछ ।