प्रशासनको पत्रसहित राण समूह एनओसीमा
काठमाडौंः जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षाको प्रत्याभूतिसहित ६ वर्षअघि सर्वाेच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को वैधानिकताको सम्बन्धमा गरेको फैसला कार्यान्वयन गर्ने पत्र दिएपछि रुक्मशमशेर राणा नेतृत्वको राष्ट्रिय मान्यताप्राप्त एनओसीका पदाधिकारी सातदोबाटोस्थित एनओसी कार्यालय पुगेका छन् ।
राणा नेतृत्वको टोली सोमबार एनओसी कार्यालय प्रवेश गरेको हो । उपाध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा पुगेको टोली सोमबार कार्यालयमा तालाबन्दी गरी फर्किएको छ । टोलीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कार्यभार सुरु गर्ने जण्नाएको छ । राणा नेतृत्वको टोली भित्रिएसँगै एनओसीको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । पछिल्लो ६ वर्षयता नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा दुई एनओसी अस्वित्वमा छन् ।
निर्वाचनको वैधानिकता सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले २०६७ असोज १८ गते राणाको नेतृत्वमा रहेको पुरानो समितिलाई वैधानिकता दिएको थियो । तर, त्यसबेला तत्कालीन महासचिव ध्रुवबहादुर प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको थियो । त्यसयता राणा नेतृत्वको समितिलाई राष्ट्रिय मान्यता प्राप्त रह्यो भने प्रधान नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय मान्यता रह्यो । प्रधान नेतृत्वको समितिमा हाल जीवनराम श्रेष्ठ अध्यक्ष र लामा टेन्डी शेर्पा महासचिव छन् ।
राष्ट्रिय मान्यता प्राप्त भए पनि पछिल्लो ६ वर्षमा राणा नेतृत्वको टोली एनओसी कार्यालय प्रवेश गरेको यो पहिलोपटक हो । यो अवधिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीसँगै काम गर्दै आइरहेका छन् । सर्वाेच्च अदालतको निर्णय कार्यान्वयन महाशाखाको ताकेता र गृह मन्त्रालयको चासोपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले राणा नेतृत्वको टोलीलाई एनओसीमा फर्काउने प्रक्रिया अघि बढाएको हो ।
ललितपुर जिल्ला प्रशासनले सोमबार बिहानै राणा पक्षलाई बोलाएर सुरक्षाको प्रत्याभूतिसहित पद बहाली गर्न सुझाव दिएको थियो । उपाध्यक्ष सिंहको नेतृत्वमा पुगेको टोलीलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले आफैले पत्र हस्तान्तरण गरेका थिए । ‘जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानै हामीलाई बोलाएको थियो । आधिकारिक व्यक्तिलाई आउन भनिएको थियो’, अध्यक्ष राणाले अन्नपूर्णसँग भने, ‘उपाध्यक्ष किशोरजी लगायतको टोली गएर पत्र बुझ्नुभएको हो । उहाँहरूले पद बहाली गर्न सुझावसहित त्यसका लागि आवश्यक सुरक्षाव्यवस्था गरिदिने आश्वासन पनि दिनुभएको थियो ।’
जिल्ला प्रशासन कार्यालयले सोमबार मध्याह्नबाटै एनओसी कार्यालयमा सादा पोसाकका सहित सुरक्षाकर्मी तैनाथ गरेको थियो । राणा नेतृत्वको टोली भने अपराह्न ३ बजेमात्रै पुगेको थियो । सोमबार एनओसी कार्यालय पुग्नेमध्ये पुरानो समितिका सिंहमात्रै थिए । उनीसँग हालै सदस्य मनोनीत गरिएकाहरू नारायणदेव राणा, पूर्णसिंह बोहोरा, बृजेन्द्र हमाललगायत तीन दर्जनभन्दा बढी खेलाडी त्यहाँ पुगेका थिए ।
उनीहरू एनओसी कार्यालय पुग्दा अर्को समितिका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र सदस्य रमेश श्रेष्ठ कार्यालयभित्रै थिए । सुरक्षाकर्मीसहित राणा नेतृत्वका पदाधिकारीले कार्यालय छाड्न आग्रह गरेपछि लाखे र श्रेष्ठले अटेर गरेका थिए । ४ बजेपछि उनीहरू कार्यालयबाट निस्किएपछि मात्रै उनीहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले तालाबन्दी गर्दै गर्दा अन्तर्राष्ट्रिय मान्यतप्राप्त समितिकी उपाध्यक्ष ज्योति राणा आइपुगेकी थिइन् ।