खाजा भनेकै मम

खाजा भनेकै मम

काठमाडौंः  ०४३ सालमा १५/१६ वर्षको उमेरमा लेखक अभय श्रेष्ठले पहिलोपटक मम चाखेका थिए । पहिलो स्वादमै ममले मन हरेपछि मासु नखाने भए पनि मम चाहिँ खान थाले । त्यसपछि स्वादिलो मम खान काठमाडौं, भक्तपुर र पाटनका गल्लीगल्ली चहारिहिँड्न थाले ।

सम्झन्छन्, ‘त्यति बेला प्रायः दुई रुपैयाँ प्लेट थियो । हाफ/हाफ प्लेट खाँदै हिँडिन्थ्यो ।' अभिनेत्री करिश्मा मानन्धर पनि ममकी अर्की पारखी हुन् । डाइटिङका लागि अरू जुनसुकै खाना छोडे पनि मम भने अपवादमा पर्छ । ममचाको बढी पारखी हुन् उनी । अमिलो अचारले ममचाको स्वादलाई विशिष्ट बनाउने उनको तर्क छ ।

लेखक अभय र करिश्मामात्र होइन, नेपालीको प्रिय परिकार बनिसकेको छ मम । यो खाजामात्र नभई सहरी जीवनशैली अनि नेपाली खाद्यसंस्कृतिको अंग अंग बनिसकेको छ ।


मम संस्कृति


हरेक सहरले संस्कृति बनाउँछ । काठमाडौं सहरले निर्माण गरेको खाद्य संस्कृति हो- मम । यसै भन्छन् मानवशास्त्री प्राध्यापक लय उप्रेती । भन्छन्, ‘पहिले काठमाडौंकै केही स्थानमा मात्र पाइने मम अहिले काठमाडौंका तीनै सहरका लगभग हरेक चोक र गल्लीमा पाइन्छ भने काठमाडौंबाहिर पनि उत्तिकै लोकप्रिय भइसकेको छ ।' उनका अनुसार खान सजिलो, सस्तो र स्वास्थ्यवद्र्धक भएकाले ममले स्थान ग्रहण गरेको हो । अचेल स्कुलको चमेनागृहदेखि सपिङ मलका रेस्टुरेन्टसम्म मम लोकप्रिय छ ।

यतिमात्र नभई ममले उपत्यका नाघेर देशका कुनाकाप्चासम्म पुगिसकेको छ । तराईका भित्री गाउँमा लाग्ने हाटहरूमा ठेलादेखि पहाडका होटलहरूमा समेत ममले आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाइसकेको छ । प्रशस्त समय लिएर हेरे पनि अन्त्यमा मम नै अर्डर गर्ने नेपाली स्वभाव परिहासको विषय नभई ममको शक्ति हो ।

काठमान्डुटिज् विम्ब

लेखक सौरभका अनुसार काठमाडौंमा मम पहिलेदेखि नै लोकप्रिय थियो । विशेषगरी नेवारी समुदायमा ममचा नामले चर्चित थियो । पछि यसले व्यावसायिक व्यापकता पायो । ममको लोकप्रियता यति बढेर गयो, कुपन लिएर मात्रै मम पाइने स्थिति बन्यो ।

सौरभका अनुसार ०३८/०३९ सालतिर मम लोकप्रिय भइसकेको थियो । अत्यन्त भीड भएपछि सबभन्दा पहिलोपटक इन्द्रचोकदेखि भित्रपट्टि केलटोलमा रहेको मम पसलले कुपन लिएर खाने प्रणाली सुरु गर्‍यो । यो मासं गल्ली हुँदै कमलादीमा पुग्यो । कमलादीको मम पसल कुपन प्रणालीको तेस्रो पसल थियो ।

अहिले यो उद्यमको राम्रो विकल्प बनेको छ । त्यतिमात्र होइन, काठमान्डुटिज् हुनुको पहिलो विम्ब हो मम खानु । मानवशास्त्री उप्रेतीका अनुसार काठमान्डुवासी हुनुको पहिलो सुरुआत मम नै हुन्छ । काठमान्डु आएपछि मम नखाने कोही हुँदैन । लेखक कुमार नगरकोटी त अझ अगाडि बढेर भन्छन्, ‘मम भनेको काठमान्डुकै हो, बफ नै हो ।'

सबैका लागि

लेखक नगरकोटीले भनेजस्तै मम आफैंमा सीमित रहेन । अहिले मम ननभेजको मात्र होइन भेजको पनि उत्तिकै प्रिय खाजा हो । सौरभका अनुसार कुनै बेला झोछेँको एक गल्लीमा मात्र खसीको मम पाइन्थ्यो । अहिले जहाँसुकै पनि ममका विभिन्न भेराइटी पाइन्छन् ।

ममका पारखीले रोजीरोजी आफूलाई मन पर्ने मम खान सक्छन् । अभिनेत्री करिश्मा चिकन मम बढी मन पराउँछिन् । उनी अमेरिकामा हुँदा टर्की र पोर्क मम खान्थिन् रे । पत्रकार भूमिश्वर पौडेलको पनि रोचक अनुभव छ । मम भन्नासाथ मासु बुझ्थे कुनै बेला । उनी अहिले पनि मासु खाँदैनन् तर भेज मम छोड्दैनन् ।

राष्ट्रिय प्रतिनिधि

चीनबाट भित्रिए पनि ममलाई अहिले नेपाली समाजले आफ्नो बनाइसकेको छ । यो गुन्द्रुक र सिन्कीजस्तै नेपाली खानाका रूपमा विश्वभर परिचित हुने क्रममा छ । अमेरिकाको ज्याक्सन हाइटदेखि मलेसिया, कतार र दुबईसम्म जहाँजहाँ नेपाली छन्, मम पनि त्यहीँत्यहीँ पुगेको छ । विदेशी पर्यटकका लागि बनाइएका गाइड बुकहरूमा पनि ममको चर्चा गर्न थालिएको छ ।

बन्देज विरोधी

लेखक अभय श्रेष्ठले ममकै कारण मासु खान सुरु गरेजस्तै ममकै कारण बफ खान सुरु गर्ने धेरै छन् । प्राध्यापक उप्रेती भन्छन्, ‘सबभन्दा ठूलो ट्याबु खानामा हुन्छ, तर ममले त्यो ट्याबु तोडिदिएको छ ।' मासु नखाने खाने भएका छन् । कुखुरा र खसी खानेहरू मम मात्रै भए पनि बफ खाने भएका छन् । ममले खानाका निषेधहरू तोडिदिएको छ । यसरी ममले भोक मार्नेदेखि सामाजिक परिवर्तनसम्मको भूमिका निर्वाह गरिरहेछ ।



खाद्यसंस्कृति परिवर्तनको वाहक


प्रा. लय उप्रेती
प्रमुख, मानवशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालय
मम काठमाडौंको खाद्य संस्कृति बनिसकेको छ । यो लोकप्रिय हुनुका मुख्य चार कारण छन् । पहिलो, यो फास्ट फुड हो । व्यस्त जीवनमा फास्ट फुडको महत्व हुन्छ । तपाईंले मम पसलअगाडि बाइकहरू रोकिराखेको देख्न सक्नुहुन्छ । अर्थात् व्यस्त मानिसहरूको सजिलो खाजा हो यो । दोस्रो, मम पोषणयुक्त हुन्छ । यसमा कार्बोहाइड्रेट र प्रोटिन दुवै पाइन्छ । यसले गर्दा पेट पनि भरिन्छ । आडिलो पनि हुन्छ । तेस्रो, स्वास्थ्यवद्र्धक । काठमाडौंजस्तो प्रदूषित सहरमा मम एक स्वास्थ्यवद्र्धक खाना हो ।

पाक्दापाक्दै हात पर्ने भएकाले यो स्वास्थ्यवद्र्धक हुन्छ । चौथो, यो सुपथ हुन्छ । सुपथ मूल्यमै सबै विशेषतायुक्त पाइने भएकाले यो लोकप्रिय भएको हो ।

ममका यी विशेषताले गर्दा यो फैलिसकेको छ । मूलतः तिब्बती परिकार भए पनि यो अहिले सबै जातजाति र भूगोलमा पुगिसकेको छ । पहिले काठमाडौंकै केही स्थानमा मात्र पाइने मम अहिले काठमाडौंका तीनै सहरका लगभग हरेक चोक र गल्लीमा पाइन्छ भने काठमाडौंबाहिर पनि उत्तिकै लोकप्रिय भइसकेको छ ।

साथसाथै यसले सामाजिक बन्देजहरूको बार नाघिसकेको छ । हिजो मम नखाने मानिस पनि मम खाने भएको छ । कुनै दलितले थापेको मम पसलमा कथित उच्च जाति गएर खाने भएको छ । ममले खाद्य संस्कृतिमा बेग्लै परिवर्तन ल्याइदिएको छ ।

ममको काठमाडौं कथा


सौरभ
मम पहिले ममचा भनेर चिनिन्थ्यो । त्यो मम नै हो तर अलि सानो हुन्थ्यो नेवार समुदायमा परिचित थियो । पछि मम भनेर लोकप्रिय हुन थाल्यो । ०३८/०३९ सालतिर मम निकै लोकप्रिय भइसकेको थियो ।

अत्यन्त भीड भएपछि सबैभन्दा पहिलोपटक इन्द्रचोकदेखि भित्रपट्टि केलटोलमा रहेको मम पसलले कुपन लिएर खाने प्रणाली सुरु गर्‍यो । यो मासं गल्ली हुँदै कमलादीमा पुग्यो । कमलादीको मम पसल कुपन प्रणालीको तेस्रो पसल थियो ।

त्यति बेला मम भन्नासाथ बफ नै बुझिन्थ्यो । झोछेँमा रहेको ‘झरना' रेस्टुरेन्टमा मात्रै खसीको मम पाइन्थ्यो । त्यो अलि सानै हुन्थ्यो, गुच्चाजत्रो । तिब्बती मम भने बौद्धका रेस्टुरेन्टहरूले भित्र्याएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.