क्यान्सर : उपचार सम्भव छ

 क्यान्सर : उपचार सम्भव छ

पाटन अस्पतालकी स्थायी स्टाफ नर्स हुन् शकुनी श्रेष्ठ । विभिन्न रोग विशेषज्ञकाबीच रहेर हरदम बिरामीको सेवामा अहोरात्र खट्थिन उनी । तर, कहिल्यै सोचेकी थिइनन्, आफैँ क्यान्सरको शिकार हुनुपर्ला भनेर । आमाशय र पाठेघरको क्यान्सरबाट पीडित छिन् उनी । नर्स श्रेष्ठमा केही वर्षदेखि एसिडिटीको क्रोनिक समस्या थियो । रोग निदान गर्न उनले आफ्नै अस्पतालका विज्ञहरूसँग पटक–पटक सल्लाह पनि मागिन ।

उपचारका लागि उनले नेपाल र भारतका धेरै अस्पताल धाइन । अहिले चौथो चरणमा पुगेको क्यान्सरको पहिचान र एउटा शल्यक्रिया गर्दा उनको उपचारमा १७ लाख खर्च भइसकेको छ । उनको काखमा तीन वर्षे छोरो छ । भन्छिन्, ‘मैले पटक–पटक सल्लाह माग्दा चिकित्सकहरूले सामान्य डाइजिन सिफारिस गरे । बेलैमा ग्यास्ट्रिकको उपचार गर्न पाएको भए आज यस्तो हुँदैन थियो होला ।

अब छोराको लागि जतिसक्दो जीवन लम्ब्याउने उपायको खोजीमा छु ।’ एउटी स्टाफ नर्सको त समयमा रोगको पहिचान नहुँदा यस्तो हालत हुन्छ भने अस्पतालसम्म पहुँचै नबनेका सामान्य नागरिकको अवस्था के होला ? पहिलो र दोस्रो चरणमै रोगको पहिचान भए उपचार सम्भव हुन्छ । तर, धेरै मानिस क्यान्सर तेस्रो वा अन्तिम चरणमा पुगेपछि मात्र अस्पताल आउँछन् ।

जसले गर्दा क्यान्सरबाट मर्नेको संख्या बढ्दै गएको छ । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशराज न्यौपानेका अनुसार नेपालमा वार्षिक ५० हजारको हाराहारी नयाँ क्यान्सर रोगी बढेको तथ्यांकहरूले देखाउँछ । लापरवाहा जीवनशैली, प्रदूषण, बढ्दो औषत आयु यसका मुख्य कारण हुन् । केही हदसम्म वंशाणुगत कारणले पनि क्यान्सर हुन्छ ।

शरीरका जुनसुकै अंगमा लाग्न सक्छ । यद्यपि, फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर हुनेको संख्या विश्वमा ज्यादा छ । पछिल्लो समय नेपालमा धुम्रपान गर्नेको संख्या बढेसँगै फोक्सोको क्यान्सरका रोगी बढेका छन् । डा. न्यौपानेका अनुसार फोक्सो क्यान्सरका रोगीमध्ये ८० प्रतिशत धुम्रपानकै कारण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा स्तन क्यान्सर पहिलो र पाठेघरको क्यान्सर दोस्रो स्थानमा छ । ‘अर्वुद रोग निवारण संस्था’का अनुसार, नेपालमा पाठेघरको क्यान्सर पीडितको संख्या बढी रहेको छ । पछिल्लो समय हामीकहाँ पनि धुम्रपानका अम्मली बढेका छन् । स्कूल पढ्ने उमेर युवामा चुरोट तान्ने लत बसिसकेको हुन्छ । त्यसो त समाजको नेतृत्वमा पुगेका व्यक्ति पनि धुम्रपान, मध्यपानको लतबाट मुक्त छैनन् । अर्काेतिर खानपानको शैली परिवर्तन भएको छ । कामकाजी मानिस प्रायः घरबाहिर खाना बाध्य छन् ।

अरू रोगको तुलनामा जोखिमपूर्ण मानिएको क्यान्सर शुरुको चरणमै पहिचान भए यसको उपचार सम्भव छ।

बाहिरको खाना स्वस्थवद्र्धक छैन । व्यस्तताका कारण समयमा खाना नखाने प्राय : लाई बाध्यता छ । यी कारणले शरीरको आन्तरिक सन्तुलन बिग्रन गई क्यान्सर निम्तिने नेपाल क्यान्सर रिलिफ समाज, ट्युमर बोर्डको संयोजक डा. प्रदीप वैद्य बताउँछन् । फलफूल, तरकारीमा विषादीको अत्यधिक प्रयोगले पनि क्यान्सरलाई बढावा दिएको छ ।

स्वास्थ्य संस्था कम
अरु रोगको तुलनामा जोखिमपुर्ण मानिएको जोखिम क्यान्सर शुरुको चरणमै पहिचान भए यसको उपचार सम्भव छ । दुई दशक अघिसम्म क्यान्सरको उपचार गर्न भारतलगायत अन्य देशमै पुग्नुपथ्र्यो । नेपाल अबुर्द रोग निवारण संस्थाले ०३९ सालमा पहिलोपल्ट नेपालमा उपचार प्रणाली  भित्र्या यायो । क्यान्सर निवारणमा विभिन्न प्रतिकात्मक तथा उपचारात्मक कार्यक्रम गर्दै आएको संस्थाले ०५१ सालमा भक्तपुर क्यान्सर हस्पिटलको स्थापना गर्‍यो । सोही वर्ष बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर स्थापना भएर धेरैलाई स्वास्थ्य सेवा दिँदै आएको छ ।

2_1

केही वर्ष अगाडि खुलेका नेपाल क्यान्सर हस्पिटल र नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले देशमै क्यान्सरको उपचारलाई थप सहज बनाइदिएको छ । ३२ शैड्ढयाबाट शुरु गरिएको भक्तपुर क्यान्सर अस्पताल अहिले एक सय १० शैड्ढयामा विस्तार गरिएको छ । हस्पिटलले लहानमा आउटरिच सेन्टर शुरु गरेको छ । क्यान्सर उपचारका लागि देशकै ठूलो मानिएको भरतपुर अस्पतालमा अहिले एक सय ९४ शैड्ढया छन् । दुई वर्ष अगाडि स्थापित नेपाल क्यान्सर हस्पिटलमा ३० शैड्ढयाको सेवा छ ।

त्यस्तै नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरमा २५ शैड्ढया छन् । यी अस्पतालमा क्यान्सर पहिचान गर्ने ल्याब, शल्यक्रिया, केमोथेरापी (औषधि दिने), रेडिएसन (विद्युतमा सेकाउने) सेवा उपलब्ध छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले क्यान्सरको छुट्टै विभाग नै खडा गरेर उपचार प्रदान गर्दै आएको छ । अर्बुद रोग निवारण संस्थाका अनुसार बर्सेनि ५० हजारका दरले नयाँ बिरामी थपिने क्रममा छन् । यी बिरामीलाई उपचार गर्ने स्वास्थ्य संस्था पर्याप्त छैनन् ।

हरेक क्षेत्रमा पायक पर्ने गरी अस्पताल हुनुपर्ने अबुर्द रोग निवारण संस्थाका अध्यक्ष श्रेष्ठ बताउँछन् । विश्वमा उपलब्ध क्यान्सर उपचारपद्धति र प्रविधिको ९५ प्रतिशत नेपालमा उपलब्ध भइसकेको डा. न्यौपाने बताउँछन् । यद्यपि, अहिले पनि भारत, अमेरिकालगायत मुलुकमा उपचार लिन जाने क्रम रोकिएको छैन । पैसा भएका उच्च वर्गका तथा केही मध्यम वर्गका मानिस अन्यत्र जाने गरेका छन् । संस्थाका अनुसार भारतको नयाँ दिल्लीमा भर्ना हुने कुल क्यान्सरका बिरामीमध्ये पाँच प्रतिशत नेपाली हुने बताइएको छ ।

मुम्बई जानेको संख्या भने १० प्रतिशतबाट अहिले दुई प्रतिशतमा झरेको छ । नेपाल सरकारले विदेश गएर उपचार गराउन चाहनेका लागि तीन पटकसम्मलाई नेपाल एयरलाइन्सको हवाई टिकट निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले मासिक ७० देखि ८० जनासम्मलाई यसका लागि सिफारिस गर्दै आएको छ ।

खर्चिलो उपचार
ललितपुरको दुर्गम गाउँ देवीचौर ५ की साँहिली स्याङ्तान (६६) को परिवारसँग सामान्यतः बिरामी हुँदा अस्पतालसम्म आउने पैसा हुँदैनथ्यो । जेनतेन जीविकोपार्जन गर्नसम्म समस्या हुने उनको परिवारमा बिरामी हुँदा धामीझाँक्री लगाए ठीक हुन्छ भन्ने विश्वास उत्तिकै थियो । तर, एक वर्षअघि साँहिलीको स्तनमा अचानक देखिएको गाँठागुठी क्यान्सर पनि हुन सक्ने एक आफन्तले सुझाएपछि छोराले उनलाई जचाउन शिक्षण अस्पताल लगे । नभन्दै उनलाई स्तन क्यान्सर भएको रहेछ ।

शुरुमै थाहा भए पनि उनको उपचारमा सात लाख रुपैयाँ भन्दा बढी खर्च लागिसकेको छ । अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनी अब केही वर्ष आयु लम्बिएकोमा ढुक्क छिन् । तर, छोराले ऋण कसरी तिर्छ, उनलाई चिन्ता छ । ऋण लागे पनि बेलैमा थाहा पाएकाले अलिक समय बाँच्न पाउने भएँ, उनी भन्छिन् ।

मृगौला क्यान्सरबाट पीडित नवलपरासी कसियाका नकुल प्रधानले ऋण गरेको पाँच लाख रुपैयाँ सकिसकेका छन् । भक्तपुर क्यान्सर अस्पतालमै १२ ओटा किमो लगाइसक्दा पनि निको हुने सम्भावना न्यून हुँदै गएपछि उनी अहिले प्यालिएटिभ केयरका लागि ‘हसपीस नेपाल’मा आराम गरिरहेका छन् । रोगले च्यापेको केही ढिला गरी मात्र अस्पताल पुग्दा पैसा खर्च गरे पनि उनको स्वास्थ्य ठीक हुने सम्भावना न्यून हुँदै गएको छ । आँशु झार्दै उनकी पत्नी गोमा भन्छिन्, ‘पैसा पनि सबै सकियो, निको पनि हुन्न । यस्तो कसैलाई नहोस् ।’

  Saritaghimire-cancerस्वास्थ्य जीवनका लागि शारीरिक तन्दुरुस्ती अनिवार्य शर्त हो। स्वस्थ जीवन बाँच्ने उत्प्रेरणा जगाउन क्यान्सरविरुद्घका दिवसका दिन हामीले साइकल  र्‍याली गरेका हौँ। डा. सरिता घिमिरे ,नेपाल क्यान्सर केयर फाउन्डेसन

धनकुटा देब्रेबासका गोविन्द अधिकारी (७४) को पनि उस्तै हालत छ । मलद्वारको आन्द्रामा भएको क्यान्सर (रेक्टम क्यान्सर)को उपचार गराउँदा गराउँदै उनको पाँच लाखभन्दा बढी सकिइसकेको छ । रोग पहिचानका लागि ढिला मात्र अस्पताल आइपुगेकै कारण उनी अहिले क्यान्सरबाट मुक्त हुने अवस्था बनेको छैन । मलिन आवाजमा भन्छन्, ‘खै, खर्च मात्र गराए कि जस्तो छ । खासै ठीक भएको छैन ।’

उपचार सम्भव छ
क्यान्सर निकै घात रोग भए पनि बेलैमा रोगको पहिचान भए उपचार सम्भव छ । यसको पछिल्लो उदाहरण हुन् हलिउड अभिनेत्री एन्जेलिना जोली र बलिउड अभिनेत्री मनिषा कोइराला । जोलीमा स्तन र पाठेघर दुवै क्यान्सरको खतरा देखिएको थियो । शुरुवाती चरणमै थाहा पाएकी उनले क्यान्सरबाट बच्न शल्यक्रियाबाट दुवै स्तन फालेकी थिइन् । पाठेघरमा क्यान्सर देखिएपछि मनिषा कोइरालाले नेपाल, भारत हुँदै अमेरिकासम्म पुगेर उपचार गरिन् । हाल उनी क्यान्सरबाट मुक्त भएकी छन् ।

पूर्वसभासद शान्ता चौधरी, हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठ, वागेश्वरी उच्च माविका शिक्षिका शोभा बिजुक्छे, कलाकार मनिषा कोइरालाले उपचार र उच्च मनोबलका कारण क्यान्सरलाई जितेका छन् । समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ भन्ने जनचेतना र अस्पतालसम्मको पहुँचको अभावमा धेरै मानिस क्यान्सरका कारण मृत्युको मुखमा पुग्ने गरेका छन् । यसबाट आम मानिसलाई सचेत गराउने दायित्व सरकारको हो ।

विपन्नलाई निःशुल्क
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा गरिबीको रेखामुनि रहेका क्यान्सरका बिरामीलाई निःशुल्क उपचार पाउने व्यवस्था गरेको छ । तर, दायरामा परे/नपरेको पहिचान नै राम्ररी हुन नसकेको कारण बिरामीले यस्तो सुविधा अहिलेसम्म पाएको देखिँदैन । बजेटमा मुटु, मृर्गौला, क्यान्सरलगायत जीवनलाई उच्च जोखिममा पार्ने आठ वटा रोगको निःशुल्क उपचार गर्न १० अर्ब रुपैयाँ छुट्याएको छ ।

क्यान्सरको औषधि महँगो पर्ने हुँदा सहज र सुलभ किसिमले उपलब्ध गराउने व्यवस्था गर्न पनि पहल हुँदैछ । यी विषय कार्यान्वयनको अभ्यास थालिएको स्वास्थ्य मन्त्री गगन थापालाई उद्धृत गर्दै उनका स्वकीय सचिव प्रताप पौडेल बताउँछन् ।अहिलेसम्म सरकारले विपन्नलाई क्यान्सर उपचारमा एक लाख रुपैयाँ सहयोग गर्ने गरेको छ ।

क्यान्सरलगायत कडा रोगको उपचारमा विपन्नलाई दिइने उक्त रकम बढाएर अब चाँडै नै अधिकतम पाँच लाख रुपैयाँ पुर्‍याइँदै छ । यसका लागि कार्यविधि तयार गरी संशोधनका लागि अर्थ मन्त्रालय पठाइएको उनि बताउँछन् । सरकारले सन् २०१० मा क्यान्सरसम्बन्धी राष्ट्रिय निर्देशिका बनाएको छ । स्वास्थ्य मन्त्रालयको २०७०/०७१ के प्रतिवेदन अनुसार क्यान्सरपीडित महिलामध्ये २१ प्रतिशत ३५ देखि ६४ वर्ष उमेर समूहका छन् । भौतिक पूर्वाधार विकास गर्नेबारे पनि सरकार प्रयासरत देखिन्छ ।

3

यसै आवमा वीर अस्पतालका लागि कोबाल्ट मेसिन खरिद गर्न १५ करोड रुपैयाँ स्वास्थ्य मन्त्रालयले निकासा गरेको छ । त्यस्तै, सेवा, सुविधा ठीक ढंगले नपाएको जनगुनासो र तथ्यहरूको आधारमा छानबिन गरी सचेत गराउने कार्यको थालनी पनि मन्त्रालयले गरेको छ । यसै क्रममा भरतपुर क्यान्सर अस्पताल पछिल्ला समयमा राम्रोसँग सञ्चालन हुन नसकिरहेको भन्ने गुनासोको सन्दर्भमा छानबिन टोली मन्त्रालयले पठाएको छ ।

सरकारले बजेट उपलब्ध गराएर पनि मेसिन खरिद हुन नसकिरहेको, अन्य व्यवस्थापनमा देखिएका कमजोरी, लापरबाही, अनियमितताबारे स्पष्टीकरणसहित साप्ताहिक रूपमा मन्त्रीले प्रतिवेदन माग गरेको स्वकीय सचिव पौडेलले बताए । भन्छन्, ‘हाम्रो संरचना, नीति, कार्यक्षमता र कार्यशैलीमा कहाँ खोट छ ? पत्ता लगाएर सबै बिरामीलाई सहज उपचारसेवा उपलब्ध गराउने सरकारको प्रयास हो ।

तर, जीवनशैलीमा परिवर्तन ल्याउने गरी जनचेतना अभिवृद्धि गर्नुलाई प्राथमिकतामा राखिएको छ ।’ सन् १९९२ देखि सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने बनाइएको छ । सन् २०११ मा सुर्ती उत्पादन तथा नियन्त्रण एवम् नियमन ऐन आयो । त्यसले सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ ।

सन् १९९२ मा चुरोटको प्रतिखिल्लीको मूल्यबाट एक पैसाका दरले स्वास्थ्य कर कोषमा जम्मा हुने व्यवस्था गरियो । कोषमा जम्मा भएकामध्ये वार्षिक ४० करोड रुपैयाँ क्यान्सरको उपचारार्थ विभिन्न अस्पताललाई सरकारले वितरण गर्दै आएको छ । उक्त रकम बिरामीको उपचार, मेसिनरी खरिद, जनचेतना अभिवृद्धिलगायतमा अस्पतालहरूले खर्च गर्दै आएको क्यासर विशेषज्ञ तथा स्वास्थ्य कर कोषका सदस्य प्रा. विष्णु पौडेल बताउँछन् ।

जनशक्ति अभाव
रोगीको तुलनामा नेपालमा क्यान्सरका विशेषज्ञ तथा स्वास्थ्यकर्मीको संख्या निकै कम छ । त्यसैले कान्ति बाल, नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर हस्पिटल)ले क्यान्सर विशेषज्ञ उत्पादन गर्छ । एकेडेमीबाट हरेक वर्ष रेडिएसन अंकोलोजी (एमडी) दुईजना र डक्टरेट इन मेडिसिन (डीएम) पनि दुईजना उत्पादन गरिन्छ । नेपाल अर्बुद रोग निवारण संस्था क्यान्सर विरुद्ध पाइला चाल्ने नेपालकै पहिलो संस्था हो ।

यसले क्यान्सरविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले ४० जिल्लामा शाखा विस्तार गरेको छ । अधिकतम फोक्सोको क्यान्सर देखिएपछि संस्थाकै पहलमा ‘टोबाको क्वीक लाइन सर्भिस’ शुरु गरिएको छ । यसअन्तर्गत चुरोटको लत छुटाउन टेलिफोनबाटै परामर्श प्रदान गरिने संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ बताउँछन् । त्यस्तै क्यान्सर हेल्प लाइन सेवा पनि शुरु गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा क्यान्सर रोग लागेका मध्ये सात प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । त्यो दर बढेर सन् २०३० सम्ममा १२ प्रतिशत पुग्ने अनुमान छ । पुरुषमा मुख र फोक्सोको क्यान्सर र महिलामा स्तन र पाठेघरको संख्या बढी छ । मुखको क्यान्सर हुने पुरुषको उमेर ३५ देखि ४४ वर्ष बढी रहेका छन् ।

सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार कुल जनसंख्याको १८ दशमलव पाँच प्रतिशतले धुम्रपान गर्छन् । त्यसमध्ये १५ दशमलव ८ प्रतिशत चेन स्मोकर भएको देखाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल महिलाको संख्यामा १५ प्रतिशत धुम्रपान गर्छन् । त्यस्तै, कुल जनसंख्या ७४ प्रतिशत वायु प्रदूषणबाट प्रभावित छन् । तीमध्ये १५ दशमलव एक प्रतिशत क्यान्सरको जोखिममा रहेको देखाएको छ । डब्लुएचओको २०१२ को प्रतिवेदन अनुसार एक लाख ८६ हजारको क्यान्सरका कारण मृत्यु भइसकेको छ ।

प्यालिएटिभ केयर
क्यान्सरको पहिचान गर्न अस्पताल नै ढिला पुग्दा यही रोगकै कारण मृत्युको मुखमा पुग्ने धेरै छन् । आफू मृत्यु नजिक पुगेको यथार्थ स्वीकार्न कसैलाई पनि सहज हुँदैन । यस रोगले जीवनको अन्तिम घडीमा असह्य मानसिक तथा शारीरिक पीडा दिन्छ । त्यस्तो पीडा सहन बिरामीलाई गाह्रो पर्छ । पीडा कम गर्न पेनकिलर मर्फिन खाँदा पनि नहुने अवस्थामा बिरामीको अवस्था निकै नाजुक हुन्छ ।

यस्तो बिरामीलाई जीवनको अन्तिम दिनमा घरमै राखेर सेवा गर्न निकै कठीन हुन्छ । त्यसकारण यस्ता बिरामीलाई ‘प्यालिएटिभ केयर’ (नर्सिङ सेवा र सुविधा) दिने संस्था हसपीस नेपाल ०५७ मा स्थापना गरियो । क्यान्सर निवारणकै क्षेत्रमा कार्यरत चारजना चिकित्सकको पहलमा यस संस्थाले निःशुल्क सेवा प्रदान गर्दै आएको छ । गत वर्षदेखि भने सेन्टरलाई अलिकति भए पनि आत्मनिर्भर बनाउन र विपन्नलाई निरन्तर निःशुल्क सेवा दिन न्यूनतम बेड शुल्क भने लिन थालेको सञ्चालक डा. प्रदीप वैद्य बताउँछन् ।

हाल नेपालमा एक दर्जन यस्ता सेन्टर छन् । यस्ता सेन्टरमा बिरामीलाई जतिसक्दो दुःखाइ कम हुने, उसका चाहनालाई सुनिदिने, मानसिक सान्त्वना प्रदान गर्ने तथा नर्सिङ सुविधा दिइने प्यालिएटिभ केयर विशेषज्ञ डा. राजेश गोंगल बताउँछन् । बाहिर जिल्लामा पनि यस्तो सुविधा विस्तार गर्न हालै जिल्लाका १८ जना चिकित्सकलाई तालिम प्रदान गरिएको छ ।

 क्यान्सरविरुद्धको जागरण

ride-for-life-mnemonic
अन्नपूर्ण मिडिया नेटवर्क र नेपाल क्यान्सर केयर फाउन्डेसनको संयुक्त प्रयासमा हरेक वर्ष क्यान्सरविरुद्धको जागरणमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । त्यसै क्रममा यस वर्ष २२ माघमा साइकल र्‍याली आयोजना गर्न लागिएको हो । नेपाल क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष डा. सरिता घिमिरेका अनुसार, तीन वर्ष अघिदेखि क्यान्सरविरुद्धको जागरणमा साइकल र्‍याली गरिएको हो ।

‘स्वास्थ्य जीवनका लागि शारीरिक तन्दुरुस्ती अनिवार्य शर्त हो ।’ उनी भन्छिन्, ‘स्वस्थ जीवन बाँच्ने उत्प्रेरणा जगाउन क्यान्सरविरुद्धका दिवसका दिन हामीले साइकल र्‍याली गर्दै आएका हौँ ।’ गत वर्षझैँ यस वर्ष पनि र्‍यालीमा हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । यस वर्षको नारा ‘आइ क्यान, वी क्यान’ रहेको छ ।

यसै सन्दर्भमा अन्नपूर्ण पोष्टले पनि २२ माघमा क्यान्सर रोगका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम छ । साइकल र्‍यालीपछि सहभागी भाग्यमानी तीन जनालाई पुरस्कृतसमेत गरिने छ । सहभागीमध्ये गोलाप्रथाबाट छानिने तीन जनालाई माउन्टेन बाइक, काठमाडाै‌–पोखरा तथा काठमाडाै‌–भैरहवाको आतेजाते टिकट तथा १० जनालाई अन्नपूर्ण टुडे म्यागेजिन ६ महिना निःशुल्क उपलब्ध गराइनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.