राजनीतिका नयाँ मोड
केही दिनअघि एकाबिहानै रेडियोबाट अलि अपत्यारिलो खबर सुनियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधान संशोधन पारित गरेर मात्र चुनावमा जानू भन्ने भारतबाट ठूलो दबाब आएको छ । त्यो त कुनै नौलो कुरा भएन र स्वाभाविकै थियो । तर खबरले यो पनि भन्यो- उनले सो दबाबलाई ठाडै अस्वीकार गर्दै चुनावमा जाने निधो गरे र चुनावको मिति तोक्न आफ्ना सत्ता साझेदार प्रधानमन्त्रीलाई भने । यो भने अलि पचाउन गाह्रो कुरा पर्यो ।
किनभने वर्तमान सरकार भारतको जुन परिपञ्चमा बन्यो र देउवाले सहयोग गरे, त्यो खबरको प्रतिकुल थियो । के देउवाले साँच्चिकै भारत सरकारले पठाएको निर्देशनलाई लत्याइदिएका हुन् ? यो कुरा पत्याउन अरू गाह्रो किन थियो भने उनले दुई-तीन महिनापछि आफैं प्रधानमन्त्री बन्ने माओवादी नेताहरूसित सहमति गरेका छन् । के उनले भारतको सहमति र स्वीकृतिबिना या प्रतिकुल हुँदा पनि नेपालको प्रधानमन्त्री हुन पाइन्छ भनी विश्वास लिएका हुन् ? उनको यो प्रतिक्रियाले यही जनाउँछ ।
साँच्चै उनी यो विश्वासमा हिँडेका हुन् भने यो हृदय परिवर्तनलाई सराहना गर्नुपर्छ र उनलाई सघाउनुपर्छ । तर अहिले पनि कताकता यो खबरमाथि पूरा विश्वास भने हुन सकेको छैन । देउवा र उनीजस्ता अरू नेताहरूले आफ्नो छवि कति बिगारिसके भने उनीहरू भारतको खटनपटनमा नै चल्छन् भन्ने आम विश्वास भइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी भारतको परिपञ्चमा सत्ताच्युत गरियो, त्यसबाट यो विश्वास अरू बलियो भएको छ । अहिलेको सत्ता समीकरणबाट त उनी बाहिरिए तर उनको राजनीतिक कद अरू बढेको छ । यसैकारण अब हुने भनिएको चुनावमा ओली र उनको दल एमाले अत्यधिक बहुमतबाट विजयी हुने भएको छ । यो तथ्य थाहा पाईपाईकन पनि कांग्रेस र माओवादी संयुक्त सरकारले चुनाव गराउला भनेर पत्यार पनि लागेको छैन । यी दुई दलहरूका नेताहरूले जति ठूलो स्वरमा कराए पनि चुनाव गराउने विषयमा गम्भीर छन् भनेर पत्याउन सकिन्न ।
जानाजानी कुर्सी खाली गर्ने र आफ्ना प्रतिद्वन्द्वीलाई त्यहाँ बसाउने काम हाम्रा नेताहरूबाट होला भनेर विश्वास गर्न सकिन्न । तर ओलीको पदचापमा हिँडे भने नेपाली जनताले रुचाउने रहेछन् भनेर पाठ सिके भने अर्कै कुरा हो । कतै चुनावको नजिक भएर नेपाली जनताको मन जित्नको लागि देउवाले भारतको अवहेलना गरेको अथवा अवहेलना गरेको देखाएको त होइन ? भारतले नेपालीहरूको मन बुझेर कतै देउवालाई यो कदम उठाउन लगाएको त होइन ?
यसो हो भने पनि राम्रै हो । हुन त भारतले नेपाली जनताको मन बुझ्ने र त्यसलाई जित्ने प्रयत्न कहिल्यै गरेको छैन । कथंकदाचित यसपालि गरेको हो भने यसलाई सकारात्मक नै लिनुपर्छ । तर यो कुरा पत्याउन पनि गाह्रै छ ।
शेरबहादुर देउवाको हृदय परिवर्तन भएको अर्को कारण हुन सक्छ, विमलेन्द्र निधि । विगत प्रचण्ड सरकारको ६ महिनामा विमलेन्द्र निधि भारतको धेरै नजिक गएका छन् । देउवाको ठाउँमा निधिलाई प्रधानमन्त्री बनाउने भारतको मनसाय भएको खबर पनि सार्वजनिक भएको हो । हुन पनि त्यही पृष्ठभूमिमा निधिले थाहा पाउने गरी अत्यधिक मात्रामा भारतीय पक्षलाई हात लिएको देखिएको पनि छ । राजनीतिमा लागेर प्रधानमन्त्री हुन खोज्नु कुनै अस्वाभाविक होइन । उनले आफूलाई उछिन्न खोजेकाले देउवाले भारतको निर्देशन पन्छाएको हुन सक्छ । जे कारणले भए पनि उनी विदेशीको इसारामा चल्ने नेता होइनन् भन्ने सावित गर्न सके उनलाई पनि ओलीलाई जस्तै मानिसहरूले रुचाउनेछन् ।
नेपाली जनताको मानसिकताले नयाँनयाँ मोड लिइरहेको छ । उनीहरू निराश मात्र छैनन्, आक्रोसित पनि छन् । शान्तिप्रिय जनता अशान्तितिर धकेलिँदै छन् ।
हामी चाहन्छौं- नेपाली नेताहरू विदेशीको दलाल बन्न छोडून् र नेपाल र नेपालीको स्वाभिमान र हितमा काम गरून् । ओलीले आफ्नो राजनीतिक जीवनमा जति गल्ती गरेको भए पनि भारतबाट नेपाललाई अप्ठेरो परेको बखत नेपालीहरूसित उभिदिएकाले उनको प्रशंसा भएको छ । देउवाले पनि विदेशीको निर्देशनलाई एकातिर पन्छाएर नेपाल र नेपालीको हितमा केही गरेर देखाए भने उनी पनि जनप्रिय नै हुन्थे ।त्यो बाटोमा लागेको संकेत आएको त हो तर साँच्चै हो कि होइन ?
प्रधानमन्त्री पुष्पकमल दाहाल त भारतको लागि भारतद्वारा बनाइएका नेपाली प्रधानमन्त्री हुन् । उनको भारत भ्रमणमा भएको पच्चीसबुँदे संयुक्त विज्ञप्तिले सो कुरा साबित गरिसकेको छ । चारबुँदे संविधान संशोधन यही क्रमको एक अंग मात्र हो । सो संशोधन कुनै पनि हालतमा फिर्ता नलिने अठोट यसको अर्को प्रमाण हो । एकातिर संशोधन मधेसी नेताहरूका नाममा ल्याउने तर उनीहरूले नै यसलाई परिमार्जन नगरीकन नमान्ने अर्कोतिर भारत सरकारले यसको खुला समर्थन गर्ने र यसलाई पारित गराउन दबाब दिएपछि यसबारे अरू टिप्पणी गर्नुपर्ने देखिन्न ।
बरु यसबाट के प्रस्टिन्छ भने भारतको निर्देशनलाई मधेसी नेताहरूले भन्दा नेपाल सरकारका नेपाली नेताहरूले शिरोपर गर्दा रहेछन् । यही संशोधन विधेयककै बारेमा पनि यथास्थितिमा पारित गराउन मधेसी नेताहरूमाथि भारतीय दबाब परेको थियो । तर उनीहरूले जबसम्म यसमा परिमार्जन हुन्न तबसम्म यसलाई मान्दैनौं भन्ने अडान लिएका छन् र त्यसैमा अडेका छन् । भारतको जति दबाब परे पनि उनीहरूले आफ्नो अस्तित्व र माग छोडेका छैनन् । त्यो हिसाबले उनीहरूभन्दा नेपाल सरकार धेरै तल झुकेको देखिन्छ । हुन त प्रधानमन्त्री प्रचण्डको आफ्नै मजबुरीहरू छन् ।
कस्तो मजबुरी छ भन्ने नारायणमान बिजुच्छेले प्रस्ट गरेका छन् । उनले भनेका छन्- भारतको निर्देशन मान्दा प्रचण्डले नेपालको हित गुमाउनेछन्, नमान्दा उनले आफ्नै ज्यान गुमाउनेछन् । निर्वाचन गराउन नसके पद त्याग्ने मनसाय प्रधानमन्त्रीले हालै प्रकट गरेका छन् । तर उनी वर्तमान अवस्थामा पद त्याग्न पनि स्वतन्त्र छैनन् किनभने भारत उनीमाथि जति दबाब दिन सक्छ उति दबाब अरूलाई दिन सक्दैन । यसको कारण पनि सर्वविदितै छ । उनीमाथि मानव अधिकार हनन गरेको ४० वटा मुद्दा यथावत् छन् । यो कमजोरीको कारण प्रधानमन्त्री भएर पनि लाचार छन् । त्यसकारण उनीबाट नेपाल र नेपालीको हित होला भनेर आशा गर्नु निरर्थक हुन्छ ।
नेताहरूको थ्यानाम्याना कुरा गर्दै गर्दा नेपाली जनताको मानसिकताले अर्कै मोड लिइरहेको छ । उनीहरू निराश मात्र छैनन्, आक्रोसित पनि छन् । शान्तिप्रिय जनता अशान्तितिर धकेलिँदै छन् । यो क्रम अर्घाखाँचीको घटनाले देखाइदिएको छ । आफ्नै जिल्लाकै माओवादी नेताहरूले चार नम्बर प्रदेशलाई टुक्र्याएको समर्थन गर्दा त्यहाँका जनताले ढुंगामुढा गरे । सुरक्षाकर्मीहरूको मद्दतबाट बचेर नेताहरू हेलिकोप्टरको सहाराले भागे । घटनाक्रमले यो त सुरुआत मात्र भएको देखियो । केही दिनपछि यस्तै घटना नुवाकोट जिल्लामा भयो । जिल्लाकै नेता डा. महतले त्यस्तै जनताको आक्रोश बेहोर्नुपर्यो ।
नगरपालिका र गाउँपालिकाको सिमांकन हेरफेर भएकोमा जनता असन्तोष भएका छन् । त्यही असन्तोषले सार्वजनिक अशान्ति हुन थालेको छ । त्यसै सिलसिलामा नेता बलबहादुर केसीले पनि जनताको आक्रोश सामना गर्नुपरेको खबर आयो । यसबाट नेतृत्व र जनताको बीचमा ठूलो खाडल भएको देखिन्छ । यस्तो बेलामा चुनाव कसरी होला ? त्यसमा कति क्षति होला ? नेपाली जनताको मानसिकतामा ठूलो मोड आइरहेको प्रस्ट छ । त्यसको कदर गर्दै दल र नेताहरूले आफूलाई बदलिने हो भने उनीहरूमध्ये कोही पनि उछिटिन सक्छन् ।