न एम्बुलेन्स र डाक्टर न त आैषधि

न एम्बुलेन्स र डाक्टर न त आैषधि

महोत्तरीः बिजलपुरा ९ का सुखलाल महतोकी आमा पेट दुखेर बिरामी परिन् । गाउँका स्वास्थ्यकर्मीलाई उनले राति नै बोलाएर देखाए । स्वास्थ्यकर्मीले अवस्था जटिल भएको भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिए ।

सुखलालले सहुलियतमा एम्बुलेन्स पाउने बर्दिबास सरकारी अस्पतालमा फोन गरे । अस्पतालले आफूसँग भएका दुवै एम्बुलेन्स बिग्रिएर थन्किएको जवाफ दियो । उनकी आमाको अवस्था थप जटिल बन्दै गयो । आमालाई अस्पताल पुर्‍याउन उनले एम्बुलेन्स भेटेनन् । पछि मोटरसाइकलमा राखेर सुखलालले आमालाई अस्पताल पुर्‍याए ।

महोत्तरीको बिजलपुरा १ का ६० वर्षीय लटुवा सदाको चिसोले घुँडा दुख्यो । घुँडा दुखेर उनी सुत्नै सकेनन् । सबेरै खाना खाएर उपचारका लागि गाउँबाट १५ किलोमिटर टाढाको बर्दिबासमा रहेको सरकारी अस्पताल पुगे । हाडजोर्नी विशेषज्ञ डा.राघबेन्द्र झालाई भेट्न अस्पतालमा कुरेर बसे ।

बिहान ९ बजे अस्पताल पुगेका उनी दिउँसो १२ बजेसम्म डाक्टर आउने आसमा पर्खिरहे । तर डाक्टर आउनुको साटो उनलाई अस्पतालका एकजना सहयोगीले डा. झा सोमबार र बिहीबार मात्र आउने जानकारी दिए । डा. नआउने खबरले उनी निराश भए । उनीसँग बसभाडाका लागि २५ रुपैयाँबाहेक खल्तीमा एक पैसा थिएन । भोक, तिर्खा र घुँडाको दुखाइले उनी अस्पताल परिषरमा छटपटिए । जेनतेन उनी साँझ ५ बजे गाउँको बस चढेर दुःख बोकेरै घर फर्के ।

बर्दिबास नगरपालिका २ की २५ वर्षीया पवनदेवीलाई राति खाएको खाना अपच भएर पेट दुख्यो । उनी नजिककैको सरकारी अस्पताल पुगिन् । उनलाई डाक्टरले लेखेको औषधि अस्पतालमा निःशुल्क पाइने औषधि हो तर उनले त्यहाँ औषधि पाइनन् । त्यो औषधि बजारको पसलबाट किनेर उनी घर फर्किन् ।

बर्दिबास नगरपालिकाका ३७ हजार स्थानीयलाई स्वास्थ्य सेवा दिन सरकारले सञ्चालन गरेको बर्दिबास सरकारी अस्पताल भने औषधिको चरम अभाव, बिरामी बोक्ने एम्बुलेन्सको मर्मत सम्भार खर्च र चिकित्सको कामचोर प्रवृत्तिले आफैं बिरामी बनेको छ ।

अस्पतालका डा. राघबेन्द्र झा हप्तामा दुई दिन मात्र आउँछन् । उनले हप्तामा दुई दिन आएर बाँकी दिनको हाजिर गरेर तलब थाप्ने गरेका छन् । डाक्टर झा अस्पताल नआका दिन जनकपुरमा निजी क्लिनिक चलाउँछन् । हप्तामा दुई दिन आए पनि १२ बजेयता उनलाई बिरामीले भेट्न पाउँदैनन् । २ नबज्दै अस्पताल छोडेर हिँड्छन् ।

बर्दिवास अस्पतालका चिकित्सकले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । कहिले अस्पताल परिषरमा रक्सीका बोतल भेटिन्छन् त कहिले अस्पतालको लेटर प्याड नोटबुक बन्छ । कहिले महिनौं दिनको हाजर एकै दिन गरिन्छ ।

अस्पातलमा बिमारीको लाम हुन्छ, चिकित्सक भने निजी क्लिनिकमा भेटिन्छन् । यस्ता कयौं समस्याले गर्दा बर्दिवास सरकारी अस्पताल आफैं बिरामी बनेको छ । डा. झाले अस्पतालमा चिकित्सक बस्ने कोठा नभएकाले सेवा दिन सबै दिन नआएको बताए । अस्पतालका अरू डाक्टर बर्दिबासमा कोठा भाडामा लिएर बसेका छन् ।

बर्दिबास अस्पतालमा रहका दुवै एम्बुलेन्स मर्मत सम्भारको अभावमा अस्पताल परिषरमा थनकेर बसेका छन् । भरत सरकारले उपहार स्वरूप दिएको ज १ झ ३६० नम्बरको एम्बुलेन्स साउनमा बिरामी लिन जाने क्रममा किसाननगरको रातु खोलाले बगाउँदा बिग्रेर बसेको अस्पतालका जनस्वास्थ्य निरीक्षक मीनबहादुर सेनले बताए । पाकिस्तान सरकारले अस्पताललाई दिएको ना १ झ ९४८ नम्बरको अर्को एम्बुलेन्स पनि बिग्रेर बसेको छ । पाटपुर्जा नपाएर एम्बुलेन्स थन्केको हो ।

महिनौ दिनदेखि बिग्रेर बसेको एम्बुलेन्स बनाउन पाँच लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । तर अस्पतालमा मर्मत सम्भार शीर्षकमा १७ हजार रुपैयाँ बजेट मात्र आउने गर्छ । बजेटकै अभावमा एम्बुलेन्स नबन्दा बिरामीले समयमा एम्बुलेन्स सेवा पाएका छैनन् ।

बर्दिबास अस्पातलमा गरिब तथा विपन्नले निःशुल्क पाउने औषधि पनि पाइँदैन । अस्पतालमा निःशुल्क पाइने ७५ प्रकारका औषधिको नामसहित होडिङ बोर्ड टाँगिएको छ तर अस्पतालमा भने अहिले २५ प्रकारका औषधि बिरामीले मुश्किलले पाउँछन् । बर्दिबास नगरपालिकाका ३७ हजार स्थानीयलाई वर्षभरि औषधि वितरण गर्न अस्पतालमा वार्षिक १० लाखको बजेट आउँछ ।

आर्थिक वर्ष २०७३-०७४ का लागि अस्पतालले साउनयता ७ लाखको औषधि खरिद गरेको छ । त्यो औषधिमध्ये ७५ प्रतिशत औषधि सकिइसकेको छ । अस्पतालले अब औषधि खरिदका नाममा ३ लाख बजेट मात्र पाउने छ । त्यो बजेट पनि अहिले नआएको औषधि स्टोरका खरिदार राजेश देवकोटाले बताए । उनले भने, ‘ अस्पतालमा भएको औषधि बिरामीलाई दिएकै छौं । बजेटको अभावमा औषधि किन्न सकिएको छैन । अस्पतालमा आएको बजेटले वर्र्षभरि औषधि खरिद गर्न पुग्दैन ।'

विगत एक वर्षदेखि जिल्लाको सीमावर्ती बथनाहा ७ मरुवाहीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा बन्द भएपछि स्थानीय समस्यामा परेका छन् । उनीहरू प्रसूति गृहबाट पाउने सेवाबाट वञ्चित भएका छन् । अनमीको अभावमा सेवा बन्द भएको हो । प्रसूति सेवा बन्द भएपछि महँगो मूल्य तिर्दै मासिक १५ देखि २० जनाको प्रसूति भारतमा गराउनु परेको स्थानीय बताउँछन् ।

‘गाउँमा प्रसूति सेवा नपाएर स्थानीयहरू चिन्तित छन् । भारतको सुरसन्ड र सीतामढीमा एउटा सुत्केरी गराएबापत २५ देखि ३० हजार भारतीय रुपैयाँ खर्चिनु पर्छ,' स्थानीय राघो ठाकुरले भने, ‘गाउँको स्वास्थ्य संस्थामा औषधि अभाव पनि उस्तै छ । यो समस्याको समाधान सरकारले तत्काल गर्नुपर्छ ।'

बथनाहामा २६ वर्षदेखि सञ्चालित उपस्वास्थ्य चौकीलाई सरकारले ४ वर्षअघि स्वास्थ्य चौकीमा स्तरोन्नति गरी प्रसूति गृहबाट सेवा दिएको थियो तर केही समयपछि अनमीको स्थान रिक्त भएपछि गर्भवतीलाई सुत्केरी गराउन बाहिर लैजानु पर्ने अवस्था आएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब राजेशकुमार यादवले बताए । ‘अनमी पठाउन बारम्बार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा ताकेता गर्दा पनि बेवास्ता गरिरहेको छ', उनले भने ।

स्थानीय समाजसेवी पंकजकुमार झा भन्छन्, ‘पैसा र पहँच भएकालाई खासै समस्या छैन तर बिहान कमाएर राति खाने निमुखा आम जनसमुदायले भने पीडा भोग्नु परेको छ ।' दसगजाभन्दा १ मिटरको दूरीमा रहेको स्वास्थ्य संस्थामा वर्षभरि नै औषधि अभावका रहने ६५ वर्षीय रेवी महतोले बताए । उनले भने,‘स्वास्थ्य चौकीमा पनि अनमी छैनन् । गाउँबाट जिल्ला अस्पताल टाढा छ । भनेको समयमा एम्बुलेन्स पनि पाइँदैन । ज्यान बचाउन मानिसहरू रुपैयाँको मुख नहेरी भारतको सुरसन्ड गएर स्वास्थ्य उपचार गराउन बाध्य छन् ।'

सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि महोत्तरीका गाविस, नगरपालिका तथा सदरमुकामा सञ्चालित दुईवटा जिल्ला अस्पताल, ६६ स्वास्थ्य चौकी र ५ प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था भने बेग्लै छ । सदरमुकामभन्दा कयौं किलोमिटर टाढाको दूरदराज गाउँका स्वास्थ्य संस्थाहरूमा न औषधि पाइन्छ, न एम्बुलेन्स उपलब्ध छ न त सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । स्वास्थ्य सेवाजस्तो सम्वेदनशील विषयमा पनि सरकार र सरकारी निकाय खेलाँची गरिरहेको स्थानीय बताउँछन् । सरोकारवलाले स्वास्थ्य संस्थामा नियमित अनुगमन नगर्दा स्वास्थ्य संस्थाहरू नाम मात्रैका बनेका छन् ।

सर्वसाधारणले रुघाखोकी, ज्वरोजस्ता सामान्य समस्या लिएर निजी डाक्टरका क्लिनिकमा नगई सुखै पाउँदैनन् । डाक्टर र औषधि हुँदा दिनहुँ बिरामीको भीड लाग्ने महोत्तरीका स्वास्थ्य संस्था अचेल सुनसान देखिन्छन् ।

भरतपुरस्थित स्वास्थ्य चौकीमा भेटिएका स्थानीय युवा रामकुमार विश्वकर्मा सामान्य औषधि नपाएको भन्दै निराश देखिन्थे । ‘बिनसित्ती आएजस्तो भो,' उनले भने, ‘लुतोको औषधि माग्दा पनि छैन भन्छन् ।'

सदरमुकामदेखि करिब ५० किमिको दूरीमा रहेको भरतपुर स्वास्थ्य चौकीको प्रवेशद्वारमै निःशुल्क वितरण गरिने २८ प्रकारका औषधिको सूची छ तर सिनियर अहेब धर्मदेही चौधरीले सिटामोलसमेत उपलब्ध नभएको बताए । यहाँ असार १५ मा जिल्ला स्वास्थ्य कार्यालयले सूचीअनुसार २८ प्रकारका औषधि पठाएको थियो । त्यसपछि मंसिर १५ गते १३ प्रकारका मात्र औषधि पाठाइदियो ।

‘त्यो १३ प्रकार पनि मागको तुलनामा २५ प्रतिशत मात्र उपलब्ध भयो', चौधरीले भने, ‘अहिले हामीसँग न सिटामोल छ, न आइरन चक्की, लुतोको सामान्य औषधि पनि सकियो ।'

सर्वसाधारणले रुघाखोकी, ज्वरोजस्ता सामान्य समस्या लिएर निजी डाक्टरका क्लिनिकमा नगई सुखै पाउँदैनन् । डाक्टर र औषधि हुँदा दिनहुँ बिरामीको भीड लाग्ने महोत्तरीका स्वास्थ्य संस्था अचेल सुनसान देखिन्छन् ।

दैनिक सरदर ४० जना बिरामी आउने भरतपुर स्वास्थ्य चौकीमा औषधि अभावसँगै बिरामीको संख्या पनि घटेको छ । औषधि छउन्जेल बिरामी जाँच्न र औषधि वितरण गर्न भ्याईनभ्याई हुने स्वास्थ्य चौकीका ४ कर्मचारी बिरामी संख्या पातलिएपछि घाम तापेर दिन कटाउँछन् । संस्थाको सम्पर्कमा रहेका ४० जना गर्भवती आइरन चक्कीबाट समेत वञ्चित रहेको चौधरीले जनाए ।

‘औषधि अभाव त छँदै छ, बिरामीले सल्लाह लिनुपर्दा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै भेटिँदैनन् । संस्था खुले पनि उनीहरू बस्दैनन् । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने ओपीडी सेवा दिनभर दिने भनिएको छ तर डाक्टर, सिनियर अहेब, अहेब, स्टाफ नर्स, नर्स, अनमी पूरा समय बस्दैनन् ।

बैरगिया लक्ष्मीनिया, बिजलपुरा, पशुपतिनगर, सुन्दरपुर, किसाननगर, फुलकाहा, बसबिट्टी, सम्सी, बनौटा, परौल, हरिहरपुर हरिणमरी, हत्तीसर्वा, रघुनाथपुर, बथनाहा, बगडा, सिंग्याहीलगायत स्वास्थ्य चौकीमा मध्यान्नपछि स्वास्थ्यकर्मी भेटिँदैनन् ।
‘स्वास्थ्य चौकी खुल्लै हुन्छ तर कोही भेटिँदैनन्', बैरगिया लक्ष्मीनियाकी समाजिक परिचालक आर्फी खातुनले भनिन्, ‘दिउँसो २ बजे नै डाक्टर अस्पतालबाट हिँडेपछि सेवा पाउन सकिँदैन ।'

स्वास्थ्यकर्मीहरू दिउँसो २ बजेसम्म मात्रै सेवा दिएर बाँकी समय आफ्नै निजी क्लिनिक र अरूकोमा काम गर्न पुग्ने गरेको रामगोपालपुरकी आरती यादवले बताइन् ।

‘डाक्टर भेटिँदैन र औषधि पनि पाइँदैन भने स्वास्थ्य संस्थामा किन जानु ? ' स्थानीय प्रश्न गर्छन् । ‘अस्पतालमा यो सेवा छ, त्यो सेवा छ भनेर सरकारले रेडियो, टीभीमा प्रचारबाजी मात्र गर्छ । सेवा भने केही छैन’, गौशालाका नागरिक समाजका अगुवा दिनेश महतो भन्छन्, ‘सरकार कामभन्दा गफ गर्छ ।'

जलेश्वर अस्पतालमा सिटामोल, एमोक्सिसिलिन, एन्टासिड, एम्लोडिपिन, कोट्रिमोक्साजोल र मेट्रोन ज्वरो, एन्टिबायोटिक, ग्यास, उच्च रक्तचाप र झाडापखालालगायतका अत्यावश्यक औषधिको अभाव छ । सदरमुकाममै रहेको जिल्ला अस्पताल र जिल्लाकै विभिन्न गाविस र नगरपालिकामा रहेका स्वास्थ्य चौकीमा समेत औषधि अभाव भएपछि सर्वसाधारण महँगो मूल्य तिरेर निजी पसलबाट औषधि किन्न बाध्य छन् ।

‘औषधि अभाव जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उस्तै छ’, जिल्ला स्वास्थ्य प्रमुख डा. मनीष पाण्डेले भने, ‘मागअनुसार औषधि दिन सकिएको छैन । बजेटै अभाव छ ।'
औषधि अभावबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.पाण्डेको आफ्नै तर्क छ । उनी भन्छन्, ‘वर्षको ४८ लाख रुपैयाँ मात्र जिल्लाभरिको स्वास्थ्य संस्थाको औषधि खरिद गर्न बजेट आउँछ । महोत्तरीको कुल जनसंख्या ६ लाखभन्दामाथि छ । हिसाब गर्दा एकजना बिरामीको भागमा ८ रुपैयाँसमेत पर्दैन । अनि कसरी औषधि पुग्छ त ? '

हाल औषधि खरिदका लागि टेन्डर लागि सकेकाले केही दिनभित्रै जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा औषधि पुगिसक्ने डा. पाण्डेको दाबी छ । जिल्लामा १२ डाक्टरको दरबन्दी रहेकामा ८ जना कार्यरत र ४ रिक्त छ । हेल्थ असिस्टेन्ट ८१ जना दरबन्दी रहेकोमा सबै कार्यरत रहेका छन् भने स्त्रीरोग विशेषज्ञको दरबन्दी नै छैन । अहेबको १ सय ८० दरबन्दी रहेकामा सबै कार्यरत छन् । स्टाफ नर्स ९ दरबन्दी रहेकोमा २ कार्यरत र ७ रिक्त छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.