सहुलियतको चामल महँगोमा बिक्री
गमगढी: खाद्य संस्थानले सर्वसाधारणका लागि सहुलियत दरमा उपलब्ध गराएको चामल ठेकेदारले महँगोमा बिक्री गरेको पाइएको छ। खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई महँगोमा खाद्यान्न बिक्री गरेको हो छ।
खत्याड भेगको सेरी, श्रीकोट, खमाले, गम्था, कोटडाँडा, सुकाढिक र ह्याँग्लु गाविसका स्थानीयवासीलाई संस्थानले बिक्री गर्दै आएको मूल्यभन्दा प्रतिप्याकमा २० रुपैयाँ बढी लिइएको छ।
सुर्खेतदेखि श्रीकोटसम्म खाद्यान्न ढुवानीको जिम्मा पाएको माँ दुर्गा जनरल अडर एन्ड सप्लायर्स सुर्खेतका प्रतिनिधि सर्जन बुढाले नौ सय ८० रुपैयाँ पर्ने उसिना मोटा चामलको प्रतिप्याकमा २० रुपैया थपेर एक हजारमा बेच्ने गरेको स्थानीयवासीले जानकारी दिएका छन्।
अहिलेसम्म ठेकेदारले एक हजार एक सय ८० प्याक चामल एक हजारका दरले बिक्री गरेको र आफले पनि त्यहि मुल्यमा दुई प्याक चामल किनेको श्रीकोट गाविसका—१ का डिल बहादुर बाँनियाले जानकारी दिए।
ठेकेदार पक्षका प्रतिनिधिले संस्थानको मूल्यभन्दा बढीमा खाद्यान्न बेचेको पाइएमा कानुन बमोजिम कारबाही हुने नेपाल खाद्य संस्थान मुगु शाखाका शाखा प्रमुख गंगप्रसाद साहले जानकारी दिए।
संस्थानले चालू आर्थिक वर्षका लागि खत्याड भेगका सात गाविसका स्थानीय सर्वसाधारणले श्रीकोट डिपोबाट पाउने गरी १५ सय क्विन्टल कोटा निर्धारण गरेको भए पनि अहिले थप दुई हजार क्विन्टल थपेर ३५ सय क्विन्टल खाद्यान्न वितरण गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
