हत्या आरोपमा एउटै गाउँका १२ पक्राउ

स्याङ्जा : हत्या अभियोगमा स्याङ्जाको आरुचौर गाविस ४ का एकै गाउँका १२ जना युवा पक्राउ परेका छन् । जाडो छल्न र हिमाली जडीबुटीलगायत सामग्री बिक्री गर्न आरुचौर आएका करिब ५० वर्षका पुरुषको हत्या गरेको अभियोगमा सोही गाउँका युवा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा १७ वर्षीय सरोज विक, १९ वर्षीय पीताम्बर विक, २० वर्षीय दुर्गे विक, २० वर्षीय सञ्जय (तिलबहादुर) विक, २१ वर्षीय सुरज विक, २१ वर्षीय विशाल विक, २३ वर्षीय विजय विक, २७ वर्षीय कृष्णबहादुर विक, २८ वर्षीय उमाकान्त विक, ३९ वर्षीय राजु (हर्कबहादुर) विक, ४१ वर्षीय शेर (नरबहादुर) विक र ४८ वर्षीय शोभाखर विक रहेको प्रहरीले जनाएको छ ।
हिमाली प्रदेश मुस्ताङ÷मनाङतर्फ घर भएका ती पुरुष गत पुस २७ गते आरुचौरमा देखिएका थिए । तर अर्को दिनदेखि उनलाई गाउँमा नदेखेपछि गाउँलेले नै उनको खोजी गर्दा उक्त रहस्योद्घाटन भएको प्रहरीले जनाएको छ । गाउँलेले जिम्बु, सिलाजित किन्न उनको खोजी गर्दा नभेटेपछि शंका लागी प्रहरीलाई खबर गरेका थिए। विगतका वर्षमा पनि उनी जाडोको समयमा जिम्बु, सिलाजित, न्यानो कपडालगायत सामग्री बेच्न सोही गाउँमा पुग्थे । त्यहाँ लामो समय बसेर फर्कने गरेको बताइएको छ ।
घटनाको दिन पनि ती व्यापारी पुरुष आरुचौर गाविस ४ का शोभाखर विकको घरमा बास बसेका थिए ।
घटनाको दिन पनि ती व्यापारी पुरुष शोभाखर विकको घरमा बास बसेको प्रहरीले जनाएको छ । शोभाखरका भाइ शेरबहादुर विकसँग सोही रात झगडामा हानाहान हुँदा ती पुरुषको मृत्यु भएपछि सबै मिलेर सो लासलाई बारीको कुनामा खाडल खनी पुरेका थिए । तीमध्ये चारजनाले १० दिनपछि पुनः उक्त लासलाई खाडलबाट उधिनेर चार घन्टा दूरीको अर्जुनचौपारी गाविसस्थित भट्टे सामुदायिक वनको कोप्चेरोमा लगेर खाडल खनी पुरेर फर्किएको र अघिल्लोपटक पुरेको खाल्डोमा चार÷पाँच महिनाको भैंसीको पाडी पुरेर छाडेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले जानकारी दिए ।
सामान्य झगडामा एक व्यक्तिको मृत्यु भएपछि सबै गाउँले नै हत्या आरोपमा मुछिने डरले लास लुकाउन पहिला घरनजिकै र त्यसपछि अन्य सहभागी गाउँलेलाई पनि थाहा नदिई सोही घरका व्यक्ति मिलेर अन्यत्र सारेको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका अभियुक्तले बयान दिएका छन् । लास सार्ने काममा भने शेरबहादुर विक, सुरज विक, सरोज विक र शोभाखर विक संलग्न थिए ।
लाससँगै उनले लगाएका कपडा, ज्याकेट, झोला, सिलाजितलगायत जडीबुटी, दुईवटा औंठी र चार हजार रुपैयाँ फेला परेको छ । चक्कु प्रहारबाट ती व्यापारीको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पोस्टमार्टमपछि उनको शव जिल्ला अस्पतालमा राखिए पनि सनाखत हुन सकेको छैन । शवबारे मनाङ र मुस्ताङमा समेत खबर पठाइसकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
