जाजरकोटका ७८ प्रतिशत बालबालिका पुड्का

जाजरकोट : जाजरकोटका तीनचौथाइ अर्थात् ७८ प्रतिशत बालबालिकामा पुड्कोपना (कम उचाइ)को समस्या देखिएको छ । राष्ट्रिय रूपमा पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकामा यस्तो समस्या छ । तर जाजरकोटमा भने राष्ट्रिय तथ्यांकको तुलनामा दोब्बर बालबालिकामा पुड्कोपनाको समस्या देखिएको हो । जुम्लापछि जाजरकोट देशकै कम उचाइ भएका बालबालिका हुने दोस्रो जिल्लामा पर्छ ।
युनिसेफ र यूएनको सहयोगमा सरकारले सञ्चालनमा ल्याउन थालेको बहुक्षेत्रीय पोषण योजनाको जिल्लास्तरीय अभिमुखीकरण गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको छ । ख्याउटेपना राष्ट्रिय तथ्यांक ११ प्रतिशत भए पनि जाजरकोटको १४ प्रतिशत रहेको पोषणविज्ञ धनञ्जय पौडेलले जानकारी दिए। कम तौल भएका बालबालिकाको संख्या राष्ट्रिय रूपमा २५ प्रतिशत भए पनि जाजरकोटमा त्यो संख्या ४१ प्रतिशत छ ।
‘यस्तो अवस्था सुधार्न सकेनांै भने भावी पुस्ता कस्तो होला ?’, पोषणविद् पौडेलले भने, ‘त्यसैले सरकारले यसै वर्षदेखि जाजरकोटलगायत २८ जिल्लामा बहुक्षेत्रीय पोषण योजना अघि सारेको हो ।’ शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, कृषि, पशु, स्थानीय विकास र खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत पोषण सुधारका कार्यक्रम सञ्चालन हुने भएका छन् ।
जिल्लास्थित ती मन्त्रालयअन्तर्गतका कार्यालयले हरेक प्रकारका कुपोषणको समस्या समाधान गर्न पोषण शिक्षामा जोड दिँदै सुनौला हजार दिन अर्थात् दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला लक्षित कार्यक्रम सञ्चालन हुनेछन् । आर्थिक असमानता, चेतनाको अभाव, अशिक्षा, कम उमेरमा गरिने विवाह र कम उमेरमै गर्भवती हुने कारणले पनि कुपोषण समस्या बढ्दै गएको बाल स्वास्थ्य महाशाखाका कार्यक्रम अधिकृत शेरसिह दहितले बताए । तसर्थ सरकारले २०६९ सालमा बहुक्षेत्रीय पोषण योजना पारित गरी देशभर लागु गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
