प्रधानसेनापति म्याराथनमा पुलिसका भूमिराजलाई उपाधि
काठमाडौं : प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका भूमिराज राई र त्रिभुवन आर्मी क्लबकी विश्वरूपा बुढाले जितेका छन् ।
महाशिवरात्रि एवम् सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोगितामा भूमिराजले फूल र विश्वरूपाले हाफ म्याराथनको उपाधि जितेका हुन् ।
४२.१९५ किलोमिटर दूरीको फुल म्याराथनमा निर्धारित दुरी दुई घण्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै भूमिराजले नगद एक लाख रुपैयाँसहित यामाहा मोटरसाइकल जित्न सफल भए ।
भूमिराजले आर्मी क्लबका कृष्ण बस्नेतलाई दुई सेकेन्डले मात्रपछि पार्दै उपाधि हात पारेका हुन् । दोस्रो स्थानमा रहेका बस्नेतले दुई घन्टा २४ मिनेट १५ सेकेन्डमा दौड पूरा गरे ।
उक्त स्पर्धामा आर्मी क्लबकै राजन खत्रीले दुई घन्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रो हुने धावकले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यसैगरी २१ किलोमिटर दूरीको हाफ म्याराथनमा पुरुषतर्फ आर्मी क्लबका कल्याण बानियाँ पहिलो भए भने आर्मी क्लबकै रामजी बस्नेत दोस्रो र राजकुमार विष्ट तेस्रो भए ।
पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार हात पारे । सोही विधाको महिलातर्फ पहिलो भएकी आर्मी क्लबकी विश्वरूपा बुढाले २५ हजार रुपैयाँसहित स्कुटर पुरस्कार पाइन् । दोस्रो स्थान हासिल गरेकी आर्मी क्लबकी सानुमाया कार्कीले १५ हजार र तेस्रो भएकी एपीएफ क्लबकी पुष्पा भण्डारीले १० हजार रुपैयाँ पुरस्कार पाए ।
विद्यालयका छात्रछात्रा सहभागी पाँच किलोमिटर दूरीको दौडमा छात्रतर्फ सैनिक आवासीय महाविद्यालयका सुरेश थापा पहिलो । उक्त स्पर्धामा सोही विद्यालयका सागर श्रेष्ठ दोस्रो र सम्झना एकेडेमीका कृष्ण आले तेस्रो भए । सोही विधाको छात्रातर्फ सैनिक आवासीय महाविद्यालयकी संगीता खड्का पहिलो भइन् । सुदेशा स्कुलकी काजल विष्ट दोस्रो र बिजेश्वरी ज्ञान मन्दिरकी सुजाता दर्लामी तेस्रो भए ।
यसैगरी १० किलोमिटर दूरीको दौडमा पुरुषतर्फ आर्मी क्लबका रोहण श्रेष्ठ पहिलो, सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रो भए । सोही विधाको महिलातर्फ भने श्रुति कुँवर पहिलो, रेखा अधिकारी दोस्रो र लक्ष्मी लामा तेस्रो भए । प्रतियोगिताका विजयी खेलाडी प्रधानसेनापति राजेन्द्र क्षत्री, यामाहा कम्पनीका सुनिल अग्रवाललगायतले पुरस्कार वितरण गरे ।