जोय रुट इङ्ल्यान्डका नयाँ टेस्ट कप्तान
लन्डन: इङ्ल्यान्ड टेस्ट क्रिकेट टोलीको नयाँ कप्तानमा जोय रुट चयन भएका छन् । विगत चार वर्षदेखि टोलीको कप्तानी सम्हाल्दै आएका एलिस्टर कुकले गत हप्ता राजीनामा दिएपछि रुटलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
इङ्ल्यान्ड क्रिकेट बोर्डले सोमबार रुटलाई नयाँ कप्तानीको जिम्मेवारी दिएको हो । २६ वर्षीय रुटलाई नयाँ कप्तान पाए पनि इङ्ल्यान्डले आगामी जुलाईसम्म कुनै पनि टेस्ट खेल्ने छैन । रुटको कप्तानीमा इङ्यान्डले आगामी जुलाईमा आफ्नै घरेलु मैदानमा दक्षिण अफ्रिकासँग टेस्ट खेल्नेछ ।
दायाँहाते ब्याट्सम्यान रुट इङ्ल्यान्डको ८०औं टेस्ट कप्तान हुन् । यसअघि उनी इङ्ल्यान्डका उपकप्तान थिए । सन् २०१२ मा भारतविरुद्ध टोलीबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका रुटले कप्तान बन्नुअघि गत डिसेम्बरमा भारतविरुद्ध नै टेस्ट शृंखला खेलेका थिए । ५४ टेस्ट खेलेका रुटले अहिलेसम्म चार हजार पाँच सय ९४ रन बनाएका छन् । यस्तै ८० एकदिवसीयमा रुटले तीन हजार एक सय ४९ रन बनाएका छन् ।
सन् २०१५ देखि उपकप्तानका रूपमा कुकलाई सहयोग गर्दै आएका रुटले कप्तानी सम्हाल्ने भएपछि बेन स्टोकलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टेस्ट टोलीको कप्तानी सम्हालेपछि रुटले आफ्ना लागि यो सम्मान भएको बताएका छन् । ‘इङ्ल्यान्डको टेस्ट कप्तानी पाउनु एकदमै ठूलो सम्मान हो’, सन् २०१२ डिसेम्बरमा इङ्ल्यान्ड टोलीबाट डेब्यु गरेका रुटले भने ‘मैले आफूलाई विशेष, उत्साहित पाइरहेको छु ।’