फुटबल टोली नगदसहित सम्मानित
काठमाडौं: गत कात्तिकमा मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली फुटबल टोली सोमबार नगद पुरस्कारसहित सम्मानित भएका छन् । टोलीलाई नेपाल सरकारले यसअघि घोषणा गरेको जनही तीनतीन लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरे ।
सरकारले २३ खेलाडी र मुख्य प्रशिक्षकलाई जनही तीन लाख, सहायक प्रशिक्षकलाई दुई लाख तथा गोलरक्षक प्रशिक्षक र फिजियोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो । मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । फाइनलमा नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । नेपालले एएफसीले सञ्चालन गरेको प्रतियोगिताको उपाधि जितेको यो नै पहिलो पटक हो । उपाधि जितेपछि सरकारले खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको थियो ।
नेपालले अनिल गुरुङको कप्तानीमा एएफसी सोलिडारिटी कप जितेको थियो । टोलीमा उपकप्तान विराज महर्जन, नवयुग श्रेष्ठ, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा र कमल श्रेष्ठ रहेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, विकेश कुथू, सुमन लामा, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल रहेका थिए ।
टोलीको प्रशिक्षकमा जापानका ग्यातुको कोजी, सहायक प्रशिक्षकमा राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकमा उज्ज्वल मानन्धर थिए । टोलीको फिजियोमा सुरज भुसाल थिए । सम्मान कार्यक्रममा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपालको रंगशाला निर्माण र अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा खेलाडीको सहभागिताका लागि आर्थिक सहयोग गर्न सरकारसँग माग गरेका थिए ।