गान्धीका असल अनुयायी

'यसरी बाँच कि तिमीलाई भोलि नै मर्नु छ। यसरी सिक कि, तिमी सधैं बाँच्नेछौ।' -महात्मा गान्धी
रामहरि जोशीको जीवन-व्यवहार माथिको भनाइसँग ठ्याक्कै मिल्छ। त्यसो त उनी महात्मा गान्धीकै अनुयायी हुन्। गत मंसिरदेखि उमेरले ९३ लागे जोशी। तर, उनको आत्मविश्वास र हिम्मत भने बैंसमा भन्दा कत्ति कम छैन। आँखाका ज्योति घटे, कानका श्रवण शक्ति पनि क्षीण भयो। तर पनि शरीरले हिम्मत हारेको छैन।
'चस्मा लगाएर पढ्न त सक्छु तर कानचाहिँ चौपट नै छ', आफ्नो आसन फेरेर दाहिने कान मपट्टि फर्काएर बसे, 'दाहिने कान अल्लि ठीक छ, यसले अलि सुन्छ।' दृष्टि चुस्त बनाउन दुइटा चस्माको सहारा लिएका छन्। एउटा कालो र अर्को फिका। 'घाममा चाहिँ कालो चस्मा नभई हेर्नै सक्दिनँ', जोशी अप्ठेरो सुनाउँछन्। बाहिर हिँड्न अलि कमी भएपछि पुस्तकसँगको प्रेम बढेको छ।
सायद हिजोआजको सबैभन्दा प्रिय संगी नै पुस्तक हो उनको। 'तपाईं जाने ? म एकछिन यहीँ बसेर पढ्छु। मलाई घाम प्यारो छ', मलाई घरबाट बिदा गरेपछि पनि उनी पुस्तक पढ्नमै व्यस्त भए, घरकै कौसीमा।
ललितपुर नखिपोटस्थित कान्तिपुर कोलोनीमा बस्छन्- जोशी। बुढेसकालका सहयोगी भएका छन्- भतिजा विष्णु। जानैपर्ने कार्यक्रम भए बाहिर निस्कन्छन् नत्र घरमै बस्छन्। किताब पढ्छन्। पहिलेपहिले त बिहान चाँडै उठ्थे, अहिलेचाहिँ अलि ढिला हुन्छ। 'सात-साढे सात बजेसम्म उठाइसक्छौं', भतिजा विष्णु भन्छन्, 'राति ८-९ बजेसम्म बिछ्याउनामा गइसक्नुहुन्छ। निद्रा राम्रै पर्छ।'
बिहानको खाजामा दूध, कर्नफ्लेक्स, अन्डा खान्छन् जोशी। 'दूध चियाचाहिँ नभई हुँदैन', जोशीले भने, 'भातचाहिँ यत्ति (थोरै) खान्छु (हातले अड्कलेर देखाए)।' मसला-पिरो नभएको दाल, भात तरकारी (सादा खाना) थोरै खान्छन्। सकेसम्म मासुचाहिँ 'एभ्वाइड' गर्छन्। खादीवाला गान्धीका अनुयायी रामहरि सुतीको कुर्ता-सुरुवाल र ज्वारीकोटकै पहिरन लगाउन सजिलो मान्छन्।
महात्मा गान्धीका आदर्श हुन्- अहिंसा र शान्ति। खद्दरको धोती र चप्पलको पहिरनमा जीवन गुजारे, गान्धीले। उनैका अनुयायी जोशी पनि 'सादा जीवनशैली'मा विश्वास गर्छन्। भेट भएलगत्तै जोशी भन्थे, 'स्टोरी मेरो होइन, पुरानाको लेख्नुस् न ! गणेशमानजी, किशुनजी, गिरिजाबाबुको लेख्नुभए हुन्छ। मेरोबारे त थाहै छ नि तपाईंलाई। मलाई राजनीतिका नयाँ कुरा सोध्नुस् न बरु !'
अनि स्वास्थ्य कस्तो छ ? भन्छन्, 'रोग खासै केही छैन, कान कम सुन्छु, खोकी लाग्यो भने मुखबाट यो (भिक्स देखाउँदै) तान्छु। पुराना कुरा सप्पै सम्झना आउँछ, अहिलेका कुराचाहिँ अलि बिर्सन थालेको छु।'शताब्दीको शिखरतिर उकालो लागेका जोशी भन्छन्, 'अस्ति मंसिरमा पनि सर्लाही गएर आएँ। हिँड्न अलि सक्दिनँ, रिँगटा लागेजस्तो हुन्छ। चार वर्षजति भयो अलि कमजोर भएको।'
कांग्रेसभन्दा जेठा
रामहरि जोशी कांग्रेस पार्टीभन्दा जेठा जीवित थोरै नेतामध्ये एक हुन्। कलकत्तामा कांग्रेस पार्टी गठन गर्दा उनी त्यहीँ बीएस्सी पढ्दै थिए। 'त्यस बेला डीके शाही कलकत्तामै बैंकमा जागिर खान्थे, हामी उनैको घरमा जमघट गथ्र्यौं', सात दशक पुराना दिन सम्झिन्छन्, 'गणेशमानजीसँग पनि पहिलोपटक त्यहीँ भेट भएको।
जनकपुरका रुद्रप्रसाद गिरी पनि उता गइरहन्थे। उनका भाइ पनि त्यहीँ पढ्थे। मलाई सकेजति विद्यार्थी ल्याउनुस्, पार्टीको घोषणामा भन्नुभएको थियो। १५-२० जना लिएर गएको थिएँ।' १९४७ जनवरी २५ का दिन नेपाली राष्ट्रिय कांग्रेसको उद्घाटन भयो— कलकत्तास्थित खाल्सा हाइस्कुलमा।
...
रामहरिको पुख्र्यौली थलो पाटनको बखुम्बहाल हो। संस्कृतिविद् सत्यमोहन जोशीकै बन्धुखलक हुन् उनी। हजुरबा सत्यमान जोशी सरकारी जागिरको सिलसिलामा बखुम्बहालबाट मलंगवा गएका थिए। 'वीरशमशेर शासनको अन्तिमतिर बाजे जानुभएको होला, त्यस्तै डेढ सय वर्ष भो, हामी सर्लाही गएको', उनले भने, 'हजुरबाले त्यहीँ मौजा किन्नुभो। ४० बिघा जग्गा थियो हाम्रो। पिता तीर्थलाल पनि मलंगवामै जन्मनुभएको हो।'
रामहरि जोशीको बाल्यकाल मलंगवामै बित्यो। त्यस बेला सिंगै मधेस औलोको घर थियो। सर्लाहीको सदरमुकाम मलंगवा पनि देहातको एउटा गाउँ थियो। त्यहाँ न स्वास्थ्य सुविधा थियो न विद्यालय। सडक, बिजुली-बत्ती केही थिएन। काठमाडौंदेखि मलंगवासम्म जान भारतको बाटो प्रयोग गर्नुपथ्र्यो— काठमाडौंबाट भीमफेदी हुँदै अमलेखगन्जसम्म पैदल, त्यहाँबाट रेलबाट रक्सौल, अर्को रेलबाट सीतामढी भएर मलंगवा जानुपर्थ्यो। स्थानीय यातायातको साधन थियो—बयलगाडा (गोरुगाडा)। बयलगाडा चढेरै टाढाटाढासम्म पुगेको याद रामहरि जोशीलाई अझै आउँछ। 'मलंगवाबाट नवलपुर जानुपर्यो भने पनि अहिलेजस्तो कहाँ गाडी हुनु, उही बयलगाडा त हो', उनी मुसुक्क हाँस्छन्।
पिता तीर्थलालले भारत घुमेका थिए। महात्मा गान्धीको 'भारत छोडो' आन्दोलन देखेका थिए, शिक्षाको महत्व बुझेका थिए, त्यसैले रामहरिलाई पढाउन भारतबाट शिक्षक झिकाएका थिए पिताले। पहिले घरमै पढेका रामहरि ६ कक्षामा मात्रै स्कुल भर्ना भए— जिल्ला स्कुल सीतामढीमा। सीतामढी मलंगवाबाट करिब ३० किलोमिटरको दूरीमा छ। त्यहीँबाट म्याट्रिक (एसएलसी) पास गरे-सन् १९४२ मा। उनी कक्षामा सधैं पहिला-दोस्रा हुन्थे। बनारस हिन्दु विश्वविद्यालयबाट आईएस्सी गरे— सन् १९४३-४५ मा। अनि कलकत्ता गए— बीएस्सी पढ्न।
पिताको जाहेरीमा पक्राउ
कलकत्ता हिन्दु-मुस्लिम दंगाले अस्तव्यस्त थियो। यसले पनि बीएस्सीको परीक्षा प्रभावित भयो। सन् १९४७ को जुलाईमा बीएस्सीको परीक्षा दिए। अनि मलंगवा हिँडे। कलकत्तामा खारिएर आएका क्रान्तिकारी रामहरिले राणाविरुद्ध योजना बनाए— केही त गर्नैपर्यो। किसानले सरकारलाई मालपोत बुझाउनुपथ्र्यो। महँगो दरको मालपोत तिर्न नसकेर कैयौंले जग्गा नै गुमाउँथे।
सरकारले सर्लाहीमा त मालपोतबाहेक थप जिन्सी कर पनि लगायो, जसलाई 'बिघटी' भनिन्थ्यो। प्रतिबिघा अढाई पसेरी (पाँच किलोको एक पसेरी) का दरले धान बुझाउनुपथ्र्यो। राणा सरकारले किसानमाथि गरेको त्यो शोषणविरुद्ध रामहरिले पर्चा छापे र लिएर मलंगवा हिँडे। सीतामढी रेल्वे स्टेसनमा सरोज कोइराला, महेन्द्रनारायण निधिसँग पनि भेट भयो।
मलंगवा पुगेपछि अर्का एकजना साथीलाई पनि लिएर मलंगवा बजारमा बिहानै पर्चा छरे— राणा शासनविरुद्ध। 'बिघट्टी' विरुद्धको उक्त पर्चाको निष्कर्ष थियो, 'अन्यायको भरमा टिकेको राणा सरकार अब टिक्दैन, ढल्छ।' पर्चाको अन्त्यमा श्रीमद्भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भनेको संस्कृत श्लोक लेखिएको थियो, 'हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्।' (यसको अर्थ हुन्छ— हे अर्जुन लड, यो लडाइँमा तिम्रो मृत्यु भयो भने स्वर्ग पाउँछौ र जित्यौ भने राज्य भोग्नेछौ।)
छोराको कर्मबाट पिता तीर्थलाल आक्रोशित भए। सायद उनी राणा सरकारसँग डराए पनि। पर्चा बोकेर छोराविरुद्ध उजुरी गर्न आफैं अमिनी लप्टनकहाँ पुगे। त्यस क्षेत्रका बडाहाकिम तिलकशमशेर थापा थिए। उनी मलंगवा बस्दैनथे, जलेश्वर बस्थे। उनको कार्यालय नै जलेश्वरमा थियो। त्यस बेला कानुन थिएन।
बडाहाकिमको आदेश नै कानुन थियो। लप्टनले तीर्थलाललाई छोराविरुद्ध उजुरी नहाल्न सुझाव दिए। 'बडाहाकिमलाई सीमापारिबाट कसैले आएर छरिदियो भनौंला, उजुरी नहालौं भन्नुभो लप्टनले तर पिताजी मान्नुभएन', रामहरि सम्झन्छन्, 'त्यसपछि हामी पक्राउ पर्यौं। ६ महिना जेल बसेर छुटेँ।'
बीएस्सीको रिजल्ट पनि रामहरिले जेलमै सुनेका थिए।
रामहरि क्रान्तिकारी हुनुले उनका पिताको सपना चकनाचुर भएको थियो। त्यसैले उनी छोराप्रति बढी नै क्रोधित भएका थिए। 'सायद उहाँ छोरो इन्जिनियर बनोस् भन्ने चाहनुहुन्थ्यो, त्यसैले विज्ञान पढाउनुभएको होला', रामहरि भन्छन्। बाबुले नै उजुरी हालेर छोरा पक्राएको घटनाले त्यस बेला राणा दरबारमा समेत चर्चा पाएको थियो। पद्मशमशेरको दरबारमा काम गर्ने भीमभक्तमान सिंहले रामहरिलाई भेट्दा 'बाबुले नै जेल हालेको रामहरिजी तपाईं? ल बधाई' भन्दै बधाई दिएका थिए। जोशीले भने, 'पछि त पिताजीलाई यस घटनाप्रति ग्लानि भयो।'
स्वर्गवासी पिताबारे उत्ति बोल्न चाहँदैनन् जोशी। आजीवन अविवाहित रहनुको कारण पनि 'व्यक्तिगत' भन्दै पन्छिन खोजे। बुवासँग बोलचाल थिएन, उनी घरमै परदेशीजस्ता थिए। पिताचाहिँ अलि परम्परावादी थिए। हिन्दु धर्म परम्पराअनुसार छोराछोरीको बिहा-व्रतबन्ध गरी कर्म चलाइदिनु कर्तव्य सम्झन्थे पिताजी।
छोरासँग बोलचाल त थिएन। तर, एक दिन पिताजीले लमीमार्फत विवाहको प्रस्ताव ल्याए। दसगजानजिकै लमीले बोलाए, रामहरिलाई। लमीसँगै पिताजी पनि रहेछन्। 'अब बिहे नगरी बस्न भएन। हामीले भनेको मान्छेसँग नगर्ने हो भने तपाईं जसलाई भन्नुहुन्छ उसैसँग बिहे गराइदिन्छौं', लमीले भने। रामहरिले लमीमार्फत पिताजीलाई यस्तो जवाफ सुनाए, 'जुन घरमा बाउसँग बोलचाल छैन, त्यो घरमा बुहारी भएर आउने दुलहीको के हविगत होला? म अर्काकी छोरीलाई त्यो दुःख भोगाउन चाहन्नँ।' छोराको 'डाइलग' सुनेर पिताजी चूप रहे। आखिर जोशीले विवाहबिनै जीवन गुजारे।
कट्टर गान्धीवादी
महात्मा गान्धीको हत्या (३० जनवरी १९४८) हुँदा जोशी मलंगवामै थिए। हिन्दु-मुस्लिम द्वन्द्वको परिणामस्वरूप भारत-पाकिस्तान अलग-अलग स्वतन्त्र राष्ट्रका रूपमा बेलायती उपनिवेशबाट मुक्त भइसकेका थिए। गान्धीको सत्य र अहिंसा मार्ग नै जोशीको राजनीतिक मार्गदर्शन थियो। भारतमा गान्धीको नेतृत्वमा सहिष्णुताको नारा बनाइएको थियो, 'रघुपति राघव राजाराम, अल्लाह ईश्वर तेरा नाम।'
जोशी गान्धीका कति कट्टर भक्त हुन् भन्ने उनको यो अनुभवबाट पनि थाहा हुन्छ। गान्धीको हत्याविरुद्ध मलंगवामा पनि जुलुस निस्कियो। जुलुसमा उनको पिताजीकै पालाका वैद्य (झा) पनि सरिक थिए। झा यस्ता कट्टर मुस्लिमविरोधी रहेछन्, 'रघुपति राघव राजाराम' चाहिँ भन्थे तर 'अल्लाह-ईश्वर तेरा नाम'चाहिँ भन्दा रहेनछन्। जोशीले भने, 'गान्धीजी गएको यसैको लागि हो बुझिस् भन्दै मैले उसलाई जुलुसमै बेस्सरी हप्काएको थिएँ।' उनी अहिले पनि आफूलाई गान्धीवादी भन्न मन पराउँछन्।
९३ वर्षका रामहरि जोशीको आत्मविश्वास र हिम्मत बैंसमा भन्दा कम छैन। जोशी समृद्ध नेपाल र खुसी नेपाली देख्न चाहन्छन्।
२००७ साल कात्तिकमा राजा त्रिभुवन नयाँ दिल्ली गएपछि कांग्रेसले वीरगन्जमा सशस्त्र क्रान्ति सुरु गर्यो। वीरगन्जका कमान्डर थिए— थीरबम मल्ल, जो उक्त क्रान्तिमै सहिद भए। क्रान्ति तयारीका बेला जोशी पनि गणेशमान सिंह, थीरबम मल्लसँगै कलकत्तामा सँगै बस्थे।
गोली लागेर घाइते मल्लको वीरगन्ज कब्जा भएकै रात रक्सौलस्थित डंकन अस्पतालमा निधन भएको थियो। वीरगन्जको 'एक्सन' सुरु हुनेबित्तिकै रामहरिचाहिँ मुक्तिसेना लिएर सर्लाहीको सीमापारि भारतीय बजार सोनवर्सा पुगे। त्यहाँ दुईवटा बन्दुक लिएर राणा सरकारको फौजलाई नियन्त्रणमा लिएको सम्झँदा अहिले पनि उनको अनुहार चम्किलो हुन्छ।
शिक्षकमै रमाए
२००४ सालको श्रीपञ्चमीको दिन जोशीकै अग्रसरतामा मलंगवामा विद्यालय खोलियो— पब्लिक हाइस्कुल। उनले २०१० सालदेखि त्यही विद्यालयको 'हेड सर' भएर काम गर्न थाले। ०१६ सालको संसदीय चुनाव लड्न पनि अस्वीकार गरे। राजनीतिमा बढी छलकपट भएको देखेपछि आफूले त्यति बेलै सक्रिय राजनीति छाड्न चाहेको उनले बताए।
'मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेला बीपीमाथि कुटपिट भयो। आफ्नै दाजु प्रधानमन्त्री हुँदा भएको यो घटनाले मलाई सबैभन्दा निराश बनायो', जोशीले भने, 'त्यसपछि मैले राजनीति गर्दिनँ भन्ने निर्णय गरेँ। भू-दान अभियानमा लागेँ।' कांग्रेसका त्यस बेलाका नेताहरू त्रिभुवर सिंह, दिगम्बर झा सम्झाउन आए तर उनले यत्ति भने, 'म कांग्रेसको सदस्यसम्म रहुँला, सक्रिय हुन्नँ।' पछि राजविराज पुगेका गणेशमान सिंह स्वयं रामहरिलाई भेट्न मलंगवा पुगे। त्यसपछि पुनः कांग्रेससँग जोडिए।
०१६ सालको संसदीय चुनाव लड्न उनले अस्वीकार गरे। त्यो भेगबाट कांग्रेस पराजित भयो। 'पहिले सूर्यनाथ यादव आए, चुनाव लड्ने प्रस्ताव लिएर। म राजनीति खराब हो भन्दै लडिनँ, गान्धीवादी भएर', उनले भने। पूर्वी सर्लाहीबाट चुनाव लडेका कांग्रेसका भोजराज घिमिरेले चुनाव हारे, स्वतन्त्र लडेका अर्कै यादवले जिते। पश्चिम सर्लाहीबाट चुनाव लड्ने प्रजापरिषद्का उम्मेदवारलाई सजिलो भयो। 'कहिल्यै कांग्रेस नभएका स्वतन्त्रलाई कांग्रेसीले भित्रभित्रै सघाएर जिताए तर कांग्रेस उम्मेदवार घिमिरेले हारे', उनले भने, 'कांग्रेसको पतन यही कारण भएको हो। अहिले पनि त्यस्तै छ।'
०१७ साल काण्डपछि धेरै कांग्रेसजन पञ्चायत पसे तर रामहरि कहिल्यै पञ्चायतमा लागेनन्। सधैं आफैंले खोलेको स्कुलमा लागिरहे, हेडसर भएर। ०२९ सालमा बीपीले रामहरिलाई पत्र लेखेछन्— भेट्न बनारस आऊ भनेर। भेट्न गए। फर्केलगत्तै उनी पक्राउ परे।
'किसुनजी, शेरबहादुर, रामचन्द्र सबैसँग सेन्ट्रल जेलमै भेट भयो, मलाई त घर गएजस्तो भो जेल त', उनी सम्झन्छन्। रामहरि जेलमै छँदाको कुरा ! ०३० साल पुस १ गते मलंगवामा असईको हत्या भयो। भिखारी मन्सुर, सरोज खनाल, धीरेन्द्र श्रेष्ठलगायत पक्राउ परे। उनीहरूलाई प्रहरीले यातना दियो।
उक्त हत्याकाण्डको आरोप जेलमा भएका रामहरिमाथि लगाउने प्रयास भयो। रामहरिका भाइ ध्रुव भर्खरै बेलायतबाट आएका थिए। उनले प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालसँग भेट गरे। 'रामहरि शान्तिप्रिय हुन्, यस्तो घटनामा उनी संलग्न हुँदैनन्', रिजालले भने। नगेन्द्रपछि फेरि तुलसी गिरी शक्तिमा आए। २०३२ साल साउनमा मात्रै जोशी छुटे।
२०३३ सालमा मेलमिलापको नारासहित बीपी कोइराला नेपाल फर्के, प्रहरीले फेरि उनको घर घेर्न थाल्यो। 'बीपी झापा जानुभयो, त्यहाँबाट सीधै मलंगवा आउनुभो। मेरो घरको कम्पाउन्ड ठूलो थियो। प्रशासनले त्यस बेला मास तितरबितर पार्न मरेको साँप फालेर आतंकित पार्ने प्रयास गरेको थियो', रामहरिले सम्झे।
पञ्चायतकालभरि उनी पटकपटक पक्राउ परिरहन्थे, छुट्थे। फेरि त्यही स्कुल गइहाल्थे। २०३७ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा सबैभन्दा बढी मत सिराहा र दोस्रोमा सर्लाहीबाट आयो। 'मैले २०४८ सालमा संसद्को चुनाव लड्नुअघिसम्म ३७ वर्ष त्यही पब्लिक स्कुलमा हेड मास्टर भएर बिताएँ', उनले भने।
गिरिजा खराबबाट घेरिए, किशुनजी गफाडीबाट
२०४६ सालको आन्दोलनमा होमिएका रामहरिले २०४८ सालमा चुनाव लडे— सीमाक्षेत्रबाट। राजपुत र भूमिहारको दबदबा भएको क्षेत्रबाट उनले जिते पनि। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन र शिक्षामन्त्री पनि भए। गिरिजाप्रसादले राजदूत नबनाएपछि उनका भतिजा नीरञ्जन कोइरालालाई आफूले सल्लाहकार बनाएको उनी स्मरण गर्छन्।
कांग्रेसमा छत्तीसे र चौहत्तरे समूह बनेपछि सरकार ढल्यो। रामहरिले गिरिजाप्रसादलाई नै साथ दिए। 'गिरिजाबाबुले मलाई सान्दाजुको साथी सम्झेर व्यवहार गर्नुहुन्थ्यो, एकदमै मान्नुहुन्थ्यो', जोशीले भने, 'म पर्यटन र शिक्षामन्त्री हुँदा मलाई नै संयुक्त राष्ट्रसंघ र सार्क सम्मेलनमा पठाउनुभो।
रामहरिले ०५१ सालको मध्यावधि चुनाव लडे र जिते पनि। मन्त्री हुँदा आफूले नवलपुर-मलंगवा बाटो पिच गराउन भूमिका खेलेकोमा उनी खुसी छन्।
२०५७ सालमा पोखरामा भएको कांग्रेसको दसौं महाधिवेशनमा गिरिजाप्रसादविरुद्ध सभापतिमा उठेका हुन् जोशी। 'म कहिल्यै जीपीविरोधी होइन, उहाँविरुद्ध सभापति पदमा चुनाव लड्दा पनि म उहाँलाई उत्तिकै सम्मान गर्थें', उनले भने, 'गिरिजाबाबुको क्रियाकलाप देखेर म चुनाव उठेको हुँ। रामहरिले पनि विरोध गर्यो भनेर जीपी सचेत भए हुन्थ्यो भन्ने मेरो उद्देश्य थियो।'
सन्त नेता किशुनजीभन्दा गिरिजाबाबुलाई बढी सम्मान गर्छन् रामहरि। भन्छन्—गिरिजाबाबु 'म्यान अफ एक्सन' हो। तर, शक्तिमा गएपछि गिरिजाबाबु जोशी, आचार्य, सिंह (मधेसी) लगायत पाँच-सातजना 'खराब'हरूबाट घेरिएर बस्नुहुन्थ्यो। त्यसैले सत्तामा जाँदा पनि गिरिजाबाबुले राम्रो गर्न नसकेका हुन्। 'म गिरिजाबाबुलाई भेट्न समय माग्थेँ, उहाँ सीधै आउनुस् भन्नुहुन्थ्यो', जोशीले भने, 'म पस्नेबित्तिकै त्यो समूह त्यहाँबाट उठेर हिँड्थ्यो।'
झापाको कलबलगुडी अधिवेशनपछि किशुनजी पार्टी सभापति चुनिए। तर, किशुनजीले गणेशमानजीको चित्तसमेत बुझाउन पहल नगरेको जोशीको मूल्यांकन छ। 'किशुनजीलाई गणेशमानको चित्त बुझाउने इच्छा नै थिएन। उहाँका वरिपरि गफाडीहरू धेरै थिए, तिनले काम गर्दैनथे', जोशी भन्छन्।गिरिजाप्रसादले ०४८ सालमा सरकार बनाएको ६ महिनापछि नै ६ मन्त्रीलाई हटाएर राम्रो काम नगरेको जोशीको मूल्यांकन छ।
'माफी देऊ मधेसी जनता'
पहिलो मधेस आन्दोलनमा मलंगवास्थित जोशीको घरमा आक्रमण भयो। घरभित्र जोशीका भतिजा विष्णु एक्लै थिए। विष्णुले प्रहरीलाई खबर गर्न भ्याए र उनी बाँचे। कहिल्यै कुनै गल्ती नगरे पनि मधेसीसँग राज्यले गरेको विभेदका लागि जोशी माफी माग्छन्। गत मंसिरमा गृहजिल्ला पुगेका रामहरिले मधेसी जनतासँग माफी मागे।
'जयस्थिति मल्लले मिथिलाकी चेली बिहे गरेका थिए, नेवार राजाका पालासम्म मधेसीलाई काठमाडौंले बराबर ठान्थ्यो। त्यस बेला मैथिली सेना थियो', जोशीले भने, 'शाह वंशका पालामा विभेद बढ्यो। राणाजीले त नेपाललाई नै काठमाडौं र बाहिर भनेरै छुट्ट्याए। २०१४÷१५ सालबाट मात्र राहदानी हटेको हो। के अमेरिका, बेलायतजस्तै हो र काठमाडौं? किन मधेसी काठमाडौं आउँदा भिसा लगाउनुपर्ने ? '
मधेसमा जनस्तरमा 'पहाडी-मधेसी'बीचको सद्भाव जोगाउनुपर्ने जोशीको मत छ। भन्छन्, 'मैले मंसिरमा सर्लाहीको कार्यक्रममा सहभागी हुँदा भनेँ— जसले मधेसीलाई विभेद गरेको भए पनि म तपाईंहरूसँग माफी माग्छु।' अहिलेका पार्टीले मधेसीको दुरवस्था बनाएको होइन तर, नेपालकै शासकबाट मधेसीमाथि विभेद भएको उनको बुझाइ छ। 'त्यसैले मधेसी जनतासँग गएर अहिलेका नेताले माफी माग्नुपर्छ', उनी भन्छन्।
...
उमेरले शरीर कमजोर बनाएको छ। तर, देशप्रतिको उनको चिन्ता कत्ति पनि घटेको छैन। कांग्रेसले देशको नेतृत्व गर्न नसकेकोमा उनलाई चिन्ता छ। लोकतन्त्रप्रतिको समर्थन कत्ति पनि डगेको छैन। अध्ययन र चिन्तन पनि उमेर छँदाजत्तिकै छ। अहिंसा र शान्तिप्रतिको विश्वास पनि उत्तिकै।
उनी समृद्ध नेपाल र सुसी नेपाली देख्न चाहन्छन्— पावरवाला कालो चस्माबाट चियाएर। खादीवाला गान्धीका चेला जोशी वृद्धावस्थामा पनि त्यही सिद्धान्तमा विश्वास गर्छन्, जुन नारा गान्धीले भारतीय स्वतन्त्रताका बेला अपनाएका थिए।
अहिले नेपालमा जातीय, क्षेत्रीय, भाषिक, लैंगिक असहिष्णुता बढेको छ। हिन्दु-मुस्लिम सद्भावका लागि गान्धीजीको नारा थियो, 'रघुपति राघव राजा राम, अल्लाह ईश्वर तेरा नाम।'मधेस र सिंगै देशमा त्यस्तै सद्भावना दूतको खाँचो छ।
प्रतिक्रिया दिनुहोस !
