संकटा सेमिफाइनलमा
धरानः विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब काठमाडौं धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा आइतबार भएको पहिलो क्वार्टरफाइनल खेलमा एपीएफलाई संकटालाई १-० गोलले हरायो । सेमिफाइनलमा संकटाले रूपन्देही फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको सुरुआतमै एपीएफविरुद्ध आक्रामक बुनेको संकटाले ४०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । संकटाका लागि राज पौडेलले गोल गरे । उनले सजिन थापाको पासमा गोल गरेका थिए । संकटाले थप तीनवटा उत्कृष्ट गोलको अवसर खेर फालेको थियो । १७औं मिनेटमा संकटाका सुशील केसीले प्रहार गरेको बललाई एपीएफका मिलन राईले उत्कृष्ट बचाउ गरे । ३६औं मिनेटमा संकटाका अफ्रिकी खेलाडी लाओल ओलाखान र ६२औं मिनेटमा सजिन थापा पोस्ट नजिक चुकेका थिए ।
एपीएफले पनि चारवटा सुनौला अवसर गुमाएको थियो । ४२औं, ७०औं र ८९औं मिनेटमा एपीएफका टोप विष्टको सशक्त प्रारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले विफल पारेका थिए । ५५औं मिनेटमा एपीएफका रूपक लामाको अर्को प्रहार पनि हार संकटाका विनयले विफल तुल्याए । एपीएफका रमेश दंगाल म्यान अफ दी म्याच चुनिए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
खेलपछि संकटाका सल्यान खड्गीले आफ्ना खेलाडी पाएको अवसरलाई सदुपयोग गर्दा सफलता हात पारेको बताए । एपीएफले राम्रो खेले पनि गोल हाम्रो पक्षमा भयो, खड्गीले भने । एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि चारवटा गोल अवसर गुमाउँदा हार खेप्नु परेको बताए । मंगलबार नेपाल पुलिस क्लब र युनाइटेड सिक्किम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।