बार्सिलोना विजयी

बार्सिलोना विजयी

बार्सिलोनाः लियोनल मेसीले खेलको ९०औं मिनेटमा विवादास्पद पेनाल्टी अवसरमा गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा लेगानेसविरुद्ध २-१ गोलले विजयी भएको छ । मेसीको निर्णायक गोलसँगै बार्सिलोना साताको दोस्रो लज्जास्पद नतिजाबाट पनि जोगिएको छ ।

यसै साता युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टरफाइनल पहिलो लेगको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग ४-० गोलअन्तरले पराजित भएको बार्सिलोना आइतबार रेलिगेसन क्षेत्र नजिकको लेगानेसविरुद्ध पनि बराबरीको अवस्थामा पुगेको थियो । यद्यपि डी बक्स क्षेत्रमा नेमारलाई फल प्रहार भएपछि प्राप्त पेनाल्टी अवसरले बार्सिलोनालाई जोगायो । प्रशिक्षक लुइस इन्रिकले टोलीको प्रदर्शनप्रति चिन्ता व्यक्त गरे ।

प्रशिक्षक इन्रिकले यो प्रदर्शनले बार्सिलोनालाई च्याम्पियन्स लिग र घरेलु स्पेनिस ला लिगाको उपाधि मुस्किल रहेको संकेत गरे । ‘हामी अहिले जुन अवस्थामा छौं, त्यो अवस्थाबाट च्याम्पियन्स लिगमा अघि बढ्न सहज छैन भन्ने अनुमान लगाएका छौं’, प्रशिक्षक इन्रिकले भने, ‘हाम्रा लागि सबै चिज मुस्किल छन् । सुरुवातमै गोल गरेर पनि सहज जित हात पार्न नसक्नुले पनि समस्या देखाएको छ । अन्त्यमा हामीलाई जितका लागि पेनाल्टीकै सहायता लिनुपर्रयो ।’

बल लिएर अघि बढिरहेका नेमारलाई पेनाल्टी क्षेत्र भित्र लेगानेसका मार्टिन मान्तोभानीले लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी अवसर दिएका थिए । जसलाई सदुपयोग गरेका मेसीले आफूलाई स्पेनिस ला लिगाको सर्वाधिक गोलकर्तासमेत बनाएका छन् । मेसीको १९ गोल पुगेको छ ।

त्यसअघि बार्सिलोनाका लागि सुरुवाती गोल पनि मेसीले नै गरेका थिए । खेल सुरु भएको चौथो मिनेटमै लुइस स्वारेजको क्रसमा गोल गर्दै मेसीले बार्सिलोनालाई १-० ले अघि बढाएका थिए । तर, लेगानेसले खेललाई ७१औं मिनेटमा १-१ गोलको बराबरीमा फर्कायो । उनाई लोपेजले डी बक्सलाईबाट प्रहार गर्दै टोलीलाई बराबरीको अवस्थामा फर्काएका थिए ।

म्याड्रिडको टोली लेगानेसले बार्सिलोनाविरुद्ध निक्कै नै उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलमा बार्सिलोनाका गोलरक्षक मार्क एन्डर स्टिजेनले लेगानेसको चारभन्दा बढी सशक्त प्रहारलाई मुस्किलले बचाएका थिए । ‘हामीले बार्सिलोनाविरुद्ध जितकै योजना बनाएर खेलेका थियौं । हामीले कम्तीमा कुनै अंक लिने योजना बनाएका थियौं’, खेलपछि लेगानेसका प्रशिक्षक एजिइर गारितानोले भने, ‘हामीले अंक लिन त सकेनौं । तर, हामीले वास्तवमै कडा प्रतिस्पर्धा गर्रयौं ।’

जितसँगै बार्सिलोना शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी एक अंकमा छोट्याउँदै स्पेनिस ला लिगा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तर, रियलले बार्सिलोनाको तुलनामा अझै दुई खेल खेल्न बाँकी छ । २३ खेलबाट १८ अंक बनाएको लेगानेस अंकतालिकाको १७औं स्थानमा रहेको छ । लेगानेसले बार्सिलोनाको स्टेडियम क्याम्प नाउँमा प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो । यसै सिजन लेगानेसको मैदानमा भएको प्रतिस्पर्धामा बार्सिलोना ५-१ गोलअन्तरले विजयी बनेको थियो ।

स्पेनिस ला लिगाअन्तर्गत आइतबारको अर्को खेलमा छैटौं स्थानको भिल्लारियलले आफूभन्दा एक स्थानमाथिको रियल सोसिडाडलाई १-० गोलअन्तरले पराजित गरेको छ । सामुइल क्यास्टिलेजोले खेलको अतिरिक्त समयको पनि अन्तिम मिनेटमा गोल गरेपछि भिल्लारियलले सोसिडाडको मैदानमा जित हात पारेको हो ।

यसै साता युरोपा लिगको अन्तिम ३२ अन्तर्गत पहिलो लेगको खेलमा इटालियन क्लब रोमासँग ४-० गोलले पराजित भएको भिल्लारियलले स्पेनिस लिगमा भने जित आत्मसात् गर्रयो । जितसहित भिल्लारियल (३९) ले सोसिडाडसँगको दुरी दुई अंकमा छोट्याएको छ ।

यस्तै अन्य खेलमा सेल्टा भिगोले लिग अंकतालिकाको पुछारमा रहेको ओसासुन्नालाई ३-० तथा भ्यालेन्सियाले एथलेटिक बिलबाओलाई २-० गोलअन्तरले पराजित गरेको छ । पराजयका बाबजुद बिलबाओ २३ खेलबाट ३५ अंकसहित अंकतालिकाको आठौं स्थानमा छ । जितपछि सेल्टा २२ खेलबाट ३३ अंकसहित नवौं स्थानमा पुगेको छ भने भ्यालेन्सिया २३ अंकसहित १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.