स्वयंसेवक प्रशिक्षकको पीडा: १२ वर्षदेखि आश्वासनमात्र
फुङ्लिङ (ताप्लेजुङ): नयाँ खेल प्रतिभाको खोजीमा दिनरात नभनी हिमाली जिल्ला ताप्लेजुङका थुप्रै दुर्गम गाउँमा भौंतारिएका छन् डम्बर लिम्बू । सम्बन्धित निकायको बेवास्ताका कारण सधैं खेल पूर्वाधार र दक्ष प्रशिक्षकको अभाव झेल्दै आएको ताप्लेजुङमा डम्बर एक्लैले लामो समयदेखि तीनवटा खेलका स्थानीय खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।
खेलाडीका रूपमा जिल्ला र क्षेत्रीय हुँदै राष्ट्रिय प्रतियोगितासम्म खेलेका ३६ वर्षीय डम्बर २०६१ सालदेखि ताप्लेजुङमा भलिबल, एथलेटिक्स र तेक्वान्दो खेलाडी उत्पादन गर्ने महत्वपूर्ण कडी बनेका छन् । सक्रिय खेलजीवनमा उनी अाफैं पनि यी तीनवटै खेलका प्रतिभाशाली खेलाडी थिए । सरकारी स्तरबाट सम्बन्धित खेलका दक्ष प्रशिक्षकहरू विरलै पुग्ने ताप्लेजुङमा स्वयंसेवक प्रशिक्षकका रूपमा काम थालेको १२ वर्ष पुगिसक्दा पनि डम्बरले राज्यबाट कुनै सुविधा पाएका छैनन्, खोक्रो आश्वासनबाहेक ।
एक दशकमा मुलुकको सर्वोच्च खेल निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा थुप्रै सदस्यसचिव फेरिएका छन् । हरेक सदस्यसचिवले डम्बरको कामको प्रशंसा गरेका छन् अनि राखेपमा नियुक्तिको आश्वासन पनि दिएका छन् । तर डम्बरका लागि ती आश्वासन अहिलेसम्म मीठो सपनामात्र बन्दै आएका छन् ।
राज्यले वास्ता नगरे पनि आफूले सिकाएका खेलाडीले विभिन्न प्रतियोगिता खेलेको देख्दा आत्मसन्तुष्टि मिल्ने डम्बर बताउँछन् ।
‘राष्ट्रिय खेलकुद परिषद्बाट धेरैपटक आश्वासन पाएँ तर मेरोबारेमा कसैले सोचेन’, ताप्लेजुङकै लिङ्तेप गाउँ विकास समितिमा जन्मिएका डम्बरले दुखेसो पोखे । राज्यबाट कुनै सुविधा नपाए पनि खेलाडी उत्पादन गर्ने अभियानमा भने उनी अहोरात्र खटिनै रहेका छन् । ‘कुनै समय म आफैं पनि राष्ट्रिय स्तरको खेलाडी थिएँ । त्यहाँसम्म पुग्न मैले ठूलै संघर्ष गर्नुपरेको थियो । भविष्यमा आफ्नो गाउँठाउँका खेलाडी पनि अगाडि आउन सकून् भनेर म प्रशिक्षण कार्यमा लागिरहेको छु तर राज्यले जहिले पनि आश्वासन मात्र दिँदा दुःख लाग्छ’, उनी भन्छन् ।
खेलकुदप्रतिको निरन्तरको लगावलाई देखेर जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले पनि पटकपटक उनलाई प्रशिक्षकमा नियुक्तिका लागि राखेपसँग सिफारिस गर्दै आएको छ तर त्यो सिफारिसले पनि मूर्त रूप लिनसकेको छैन । ‘खेलप्रति उनको (डम्बर) लगाव गजबको छ । दिनरात नभनी प्रशिक्षणकार्यमा खटिइरहेका हुन्छन् । पारि श्रमिकसहित राखेपको स्वयंसेवक प्रशिक्षकमा पार्न निकै प्रयास गर्दा पनि हामीले आश्वासनभन्दा बढी उनलाई केही दिन सकेका छैनौं’, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल भन्छन् ।
डम्बरले खेलाडीका रूपमा भलिबलका दुईवटा क्षेत्रीय प्रतियोगिता खेलेका थिए । उनले तेक्वान्दोको सिनियर क्षेत्रीय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । यसैगरी २०६५ साल चैत २४ देखि ३० गतेसम्म काठमाडौंमै भएको पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले एथलेटिक्स खेलाडीका रूपमा भाग लिएका थिए । पाँचौं राष्ट्रिय खेलकुदमा उनले डिस्कस थ्रो र सटपुट स्पर्धामा सहभागिता जनाएका थिए ।
यसैगरी डम्बरले विभिन्न खेलको प्रशिक्षणसम्बन्धी तालिम पनि लिएका छन् । राखेपबाट सञ्चालित विभिन्न नौवटा खेलको विद्यालय खेलशिक्षक तालिम सफलतापूर्वक पूरा गरेका उनले तेक्वान्दो प्रशिक्षणको तीनमहिने तालिम पनि लिएका छन् । उनले काठमाडौंमा भएको तालिम पूरा गरेर भलिबलको प्रथम श्रेणीको प्रशिक्षण प्रमाणपत्र पनि पाएका छन् ।
२०६८ साल फागुन १४ देखि २१ गतेसम्म सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आयोजना भएको छैटौं राष्ट्रिय खेलकुदमा उनले पूर्वाञ्चलबाट महिला भलिबल टोलीको प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए । ‘मैले राज्यका तर्फबाट औपचारिक रूपमा पाएको सबैभन्दा ठूलो जिम्मेवारी यही हो’, उनी भन्छन् ।
राज्यले वास्ता नगरे पनि आफूले सिकाएका खेलाडीले विभिन्न प्रतियोगिता खेलेको देख्दा आत्मसन्तुष्टि मिल्ने उनी बताउँछन् । ‘मैले खेलकुदको कखरा सिकाएका खेलाडी अहिले तेक्वान्दो र भलिबलको जुनियर राष्ट्रिय प्रतियोगितासम्म खेलिरहेका छन् । उनीहरूले राम्रो प्रदर्शन गर्दा निकै खुसी लाग्छ । उनीहरूको प्रदर्शनलाई नै मैले आफ्नो गुरुदक्षिणाका रूपमा लिने गरेको छु’, डम्बर भन्छन् ।
ताप्लेजुङबाट निखारिएर आएकी अहिलेकी चर्चित एथलेटिक्स खेलाडी चन्द्रकला लाम्गादेको सीप तिखार्न पनि डम्बरको महत्वपूर्ण योगदान रहेछ । चाँगे गाविसकी चन्द्रकलाले विद्यालय स्तरीय राष्ट्रपति रनिङकपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको अगाडि बढ्ने ढोका खुलेको डम्बर बताउँछन् । ‘विद्यालयस्तरीय राष्ट्रपति कपमा चन्द्रकलाले निकै राम्रो प्रदर्शन गरेपछि हामीले उनलाई जिल्लामा प्रशिक्षणको व्यवस्था ग¥यौं । त्यसपछि क्षेत्रीय प्रतियोगितामा पनि गतिलो प्रदर्शन गर्दै उनी राष्ट्रिय स्तरसम्म पुगेकी हुन् । उनी क्षमतावान् खेलाडी हुन्, राज्यले उनीबाट गतिलो प्रतिफल पाउन सक्छ’, चन्द्रकलाको खेलप्रति डम्बरमा गहिरो विश्वास छ ।
हाल नेपाल पुलिस क्लबमा आबद्ध चन्द्रकला सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने औंलामा गन्न सकिने खेलाडीमध्येकी एक हुन् । उनले सातौं राष्ट्रिय खेलकुदको महिला ज्याभलिन थ्रो र सटपुट स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसैगरी उनले सन् २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२ औं दक्षिणएसियाली खेलकुद (साग) मा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष टीपी सुब्बा पनि डम्बरको कामप्रति आफूहरूले न्याय गर्न नसकेको धारणा व्यक्त गर्छन् । ‘जिल्लाको खेलकुद विकासमा डम्बरले ठूलै गुन लगाएका छन् । राज्यबाट कुनै सुविधा नपाए पनि उनले जिल्लामा कहिल्यै प्रशिक्षकको अभाव खट्किन दिएनन्’, सुब्बा भन्छन्, ‘तर हामीले भने उनका लागि केही गर्न सकेनौं, दुःख लाग्छ ।’ ताप्लेजुङमा हाल राखेपअन्तर्गतका एकजनामात्र प्रशिक्षक छन् । तेक्वान्दो प्रशिक्षक जितेन्द्र मेचे केही समयअघि मात्र झापा जिल्ला खेलकुद विकास समितिबाट सरुवा भएर ताप्लेजुङ पुगेका हुन् ।
पछिल्लो समय राखेपले स्वयंसेवक प्रशिक्षकका लागि न्यूनतम शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह तोकेपछि डम्बरको आशा क्रमशः ओइलाउँदै गएको छ । गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले त्यसपछि विभिन्न कारणले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकेनन् । तैपनि खेलकुद प्राविधिक विषय भएकाले आफ्नो अनुभव र विभिन्न खेलको तालिमका आधारमा स्वयंसेवक प्रशिक्षकको जिम्मेवारी पाउने झिनो आशा भने उनले अझै पालेकै छन् ।
‘खेलकुदमै लागेर जीवन बिताइयो । अहिले आएर सोच्दा निराशा छाउँछ । खेलकुद चटक्कै छाडिदिउँजस्तो पनि लाग्छ तर मन मान्दैन । फेरि खेलतिरै तानिन्छ’, डम्बर भन्छन् ।