दृष्टिविहीन क्रिकेटले देखाएको दृश्य
भारतको बैंगलोरस्थित ‘चिन्नस्वामी अन्तर्राष्ट्रिय स्टेडियम’मा एकपटक नेपाल गुञ्जियो । दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकपको समापन समारोहमा अन्तर्राष्ट्रिय दृष्टिविहीन क्रिकेट लिमिटेडका अध्यक्ष महान्तेस जिकेले विशेष प्रसंगमा नेपालको नाम लिएका थिए ।
२८ जनवरीदेखि १२ फेब्रुअरीसम्म भारतका विभिन्न १२ सहरमा सञ्चालन भएको दोस्रो टीट्वेन्टी विश्वकपको दौरान नेपालका पदम बडैलाले दोहोरो शतक प्रहार गरे, जुन प्रतियोगिताकै एकमात्र दोहोरो शतक थियो । त्यसैले भारतीय दृष्टिविहीन क्रिकेट संघ (क्याबी)का समेत अध्यक्ष रहेका महान्तेसले नेपालसँग जोडेर बडैलाको नाम घोषणा गर्दा भारतकै चर्चित चिन्नस्वामी स्टेडियममा उपस्थित २० हजारभन्दा बढी दर्शक र १० विभिन्न देशका टोलीले सम्मानका साथ ताली बजाए ।
राम्रो सुविधा र क्रिकेट संस्कृति भएका भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड, अस्टे«लिया, न्युजिल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बंगलादेश सहभागी भएको प्रतियोगितामा नेपाल आठौं बनेर घर फर्किए पनि बडैलाले बनाएको दोहोरो शतकले सबैको मनमा नेपाल कुँदिदियो । उनले न्युजिल्यान्डविरुद्धको खेलमा ९० बलसम्म अविजित हुँदै दुई सय ११ रन बनाएका थिए । प्रभाव यस्तो प¥यो, भोलिपल्ट बैंगलोरको अलुरस्थित क्रिकेट मैदानमा स्थानीय युवा बिहानै नेपाली खेलाडी भेट्न आइपुगेका थिए । त्यसपछि नै हो, मैदान र मैदानबाहिर बडैला र नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई बधाई आउन थालेको ।
त्यसअघि आन्ध्रप्रदेशको विजयवाडास्थित मुलापाडु क्रिकेट स्टेडियममा नेपाली लोकदोहोरी घन्किएको थियो । नेपाली लोकगीत (‘हाम्रो गाउँमा भट्टीको पसल छ/पसल गर्ने साउनी झन् असल छ/मासु मीठो भालेको, माछा तारेको/लेऊ लेऊ साइँली दुई बोतल घरमै पारेको)मा नेपाली र भारतीय दृष्टिविहीन क्रिकेटरहरू नाचेको दृश्य सुखद थियो । यस्तो दृश्य प्रायः दुर्लभ हुन्छ ।
वेस्ट इन्डिजका भवानी प्रसादले पदम बडैलालाई सोधे, ‘यति धेरै रन प्रहार गर्ने ब्याट कहाँ किनेको ? कुन ब्याटले खेल्छौ ? ’ बडैलाले नेपाली खेलाडीसँग व्यक्तिगत ब्याट नभएको र सिंगो टोलीसँग जम्मा तीनवटा ब्याट रहेको जवाफ दिँदा सुन्नेहरूले पनि अचम्म माने ।
गीत बज्न सुरु भएपछि नेपालीमात्रै हैन, भारतीय खेलाडीहरू पनि छमछमी नाचे । उनीहरूले गीतको भाव सायदै बुझे होलान् तर ताल मिलेकै थियो । त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । नेपाल एक सय ५२ रनको भारी अन्तरले पराजित भएको दिनकै त्यो दृश्य वास्तवमै नेपालले भारतीय खेलाडीबाट पाएको उपहारसमान थियो ।सफलता/असफलता खेलको नियम नै हो । दोस्रो टीट्वेन्टी विश्व कपले दिएको सम्मान र स्नेहले भने नेपाली दृष्टिविहीन क्रिकेट टोलीलाई गौरव महसुस गराउनेछ ।
सुखद अनुभवका बीच प्रतियोगिताका केही खेलमा नेपालले ठूलो अन्तरको पराजय बेहोर्यो। त्यसैले नेपाल १० टोली सम्मिलित प्रतियोगितामा आठौं स्थानमा पुग्यो । तर, नेपाली दृष्टिविहीन टोलीले तयारीका क्रममा पाएको सहयोग र सुविधाको दृष्टिबाट उपलब्धि साँच्चिकै सोचेभन्दा राम्रो मान्नुपर्छ । उपाधि जितेको भारतले प्रतियोगिताका लागि सुविधासम्पन्न वातावरणमा झन्डै ६ महिना तयारी गरेको थियो । इङ्ल्यान्ड, अस्टे«लिया, पाकिस्तान लगायतका टोली विभिन्न घरेलु प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै विश्वकपका लागि भारत आइपुगेका थिए ।
नेपाल खर्च अभावमा कुनै पनि राष्ट्रिय प्रतियोगिता नखेली मात्र १८ दिनको बन्द प्रशिक्षणमा बसेर भारत पुगेको थियो । ती १८ दिन पनि मैदान अभावका कारण नेपाली टोलीले अन्तिम केही समय टँुडिखेलको धुलोमा ब्याटिङ गरेर बितायो । त्यसको असर प्रतियोगितामा नेपाली टोलीको फिल्डिङमा देखियो ।
मैदान नभएपछि बन्द प्रशिक्षणमा टोलीले कहिल्यै पनि फिल्डिङको अभ्यास गर्न पाएन । त्यसैले बी वान क्याटेगोरी (पूरै आँखा नदेख्ने)का खेलाडीले सुतेर गर्नुपर्ने फिल्डिङमा नेपाली खेलाडी आक्कलझुक्कल त्यसो गर्थे । बाउन्ड्रीको फिल्डिङमा बस्ने बी थ्री (२० मिटरसम्म देख्नसक्ने) क्याटेगोरीका खेलाडीले समेत डाइभ हान्न जानेनन् । नेपालबाहेक अन्य देशका खेलाडी ‘मेन स्ट्रिम’ क्रिकेटका खेलाडीले जस्तै डाइभ हान्थे ।
इङ्ल्यान्ड, अस्ट्रेलियालगायत देशका प्रत्येक खेलाडीसँग व्यक्तिगत ‘किट्स’ थिए । उनीहरू प्रत्येकसँग आफ्नो एकभन्दा बढी ब्याट थिए । नेपाली टोलीसँग मात्र तीनवटा ब्याट थिए । न्युजिल्यान्डविरुद्ध दोहोरो शतक प्रहार गरेपछि म्यान अफ दी म्याचको अवार्ड दिने क्रममा कार्यक्रम सञ्चालन गरिरहेका वेस्ट इन्डिजका भवानी प्रसादले पदम बडैलालाई सोधे, ‘यति धेरै रन प्रहार गर्ने ब्याट कहाँ किनेको ? कुन ब्याटले खेल्छौ ? ’ बडैलाले नेपाली खेलाडीसँग व्यक्तिगत ब्याट नभएको र सिंगो टोलीसँग जम्मा तीनवटा ब्याट रहेको जवाफ दिँदा सुन्नेहरूले पनि अचम्म माने । त्यसपछि भवानीले नेपाली दृष्टिविहीन क्रिकेटबारे जिज्ञासा राखेका थिए ।
त्यस बेला बडैलाको जवाफ सुनेका भारतीय कर कार्यालयमा कार्यरत पंकज गुप्ताले नेपाली टोलीलाई तीनवटा ब्याट सहयोगस्वरूप दिएका थिए । अन्य टोलीहरू आवश्यकताअनुसार प्याड र हेल्मेट फेर्थे तर नेपाली टोलीसँग एउटा पनि हेल्मेट र प्याड थिएन । इङ्ल्यान्डविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दा बंगलादेशले विकेटकिपरले लगाउने प्याड उपहार दिएको थियो । तर, सुरुआतको १० ओभरपछि नेपाली विकेटकिपर लोकबहादुर थापाले प्याड फुकालेर फालिदिए । पहिलोपटक प्याड लगाएर खेलेका उनलाई निकै असहज महसुस भयो । बानी नभएकाले प्याडले उनको स्वाभाविक खेल नै बिगारिदियो ।
दृष्टिविहीन क्रिकेटमा नेपाल पछि सहभागी हुन आइपुगेको बंगलादेशको टोलीसँग पनि मार्चपासदेखि मैदानबाहिर र भित्र लगाउने फरकफरक ड्रेस थिए । नेपाली टोलीसँग मैदानमा प्रयोग गर्ने दुई फरक जर्सीमात्रै थिए । अस्टे«लियाविरुद्धको पहिलो खेलमै कप्तान कीर्तन श्रेष्ठ दुवालको ट्राउजर च्यातिएपछि नेपाली टोलीले त्यसपछिका खेलमा एउटामात्रै जर्सी प्रयोग गर्यो । दक्षिण अफ्रिकाविरुद्ध भएको आफ्नो तेस्रो खेलमा कीर्तनको अर्काे ट्राउजर पनि च्यातिएपछि प्रतियोगिताभर नेपाली टोलीले च्यातिएकै जर्सी लगाएर खेल्यो । बी वान क्याटेगोरीका खेलाडीले प्रयोग गर्ने चस्मासमेत पर्याप्त नहुँदा नेपाली टोलीले अन्य टोलीसँग सहयोग मागेरै चलायो ।
यति धेरै अभाव र अवसरको कमीका बीच नेपाली दृष्टिविहीन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता भने देखाएको छ । अब पालो नेपाली खेलसम्बद्ध सरकारी निकायको हो । के यी निकायको आँखा अब खुल्ला ?सरकारको उपेक्षाका बीच दोस्रो दृष्टिविहीन विश्वकपमा नेपालले दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्तो टोलीलाई पराजित गर्न सफल भयो । वेस्ट इन्डिज र बंगलादेशलाई कडा चुनौती दिन सफल भयो ।
दृष्टिविहीन क्रिकेट वास्तवमै नेपालले राम्रो गर्नसक्ने खेल हो । अहिलेकै अवस्थामा पनि नेपाल भारत, पाकिस्तान र श्रीलंकाबाहेकका टोलीलाई बलियो चुनौती दिनसक्ने टोली हो । नियमित प्रतियोगिता र व्यवस्थित प्रशिक्षण हुने हो भने नेपाली टोलीले दृष्टिविहीन विश्वकपकै उपाधि जित्नसक्ने नेपाल दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे बताउँछन् । ‘अहिले विभिन्न कारणले दृष्टि गुमाएकाहरूलाई क्रिकेट खेल्न आऊ भनेर बोलाउनु परेको छ । जब कि उनीहरूलाई राम्रो खेल्ने भन्दा पनि क्रिकेटको आधारभूत नियम नै सिकाउनुपर्छ’, अन्तर्राष्ट्रिय दृष्टिविहीन क्रिकेट लिमिटेडका उपाध्यक्षसमेत रहेका घिमिरे भन्छन्, ‘तर, त्यसरी सिकेर थोरै समयको तयारीका बीच पनि हामीले यसपटक न्युजिल्यान्ड र दक्षिण अफ्रिकाजस्तो टोलीलाई पराजित गर्न सफल भयौं । सुविधा दिएर व्यवस्थित प्रशिक्षण गराउने हो भने नेपाली टोलीसँग विश्वकप नै जित्नसक्ने क्षमता छ ।’
त्यसका लागि नेपाल दृष्टिविहीन क्रिकेट टोलीले आफूसँग भएका कमजोरीहरू सुधार्न आवश्यक छ । राष्ट्रिय टोलीभित्र सशस्त्र द्वन्द्वका बेलामा दृष्टि गुमाएका र बाहिरका खेलाडीको आआफ्नै समूह छ, जसको नकारात्मक असर मैदानमा पनि पर्ने गरेको छ । कम्तीमा खेलाडीबीचको त्यो व्यवहारलाई हटाउन जरुरी छ । अर्काे वर्ष पाकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना गर्न लागेको एकदिवसीय विश्वकप खेल्ने तयारीमा रहेको नेपालले कम्तीमा त्यसअघि खेलाडीका लागि मानसिक परामर्शका साथै उनीहरूको मनोबल उच्च राख्ने व्यवहार गर्नु आवश्यक छ ।