हराएको अन्डा
आखिरी अन्डा पनि हराएपछि कुखुरी छटपटाउन थाली । उसले धेरै अन्डा पारेकी थिई । तर कुनै कौवाले खायो, कुुुुनै बिरालोेले । बल्लतल्ल एउटा बाँकी थियो । चारा खोज्न जाँदा त्यो पनि हरायो । झाङमा खोजी । रूखमुनि खोजी । पोखरी र खोलामा हेरी । अहँ तर कतै भेटिएन ।
उसले सबतिर खोजी । वनको परसम्म गएर खोजी । तैपनि फेला परेन । ऊ आत्तिई ।‘कसैले पो चोर्यो कि ? ’ ऊ मनमनै फतफताउँदै हराएको अन्डा खोज्न वनतिर दौडी । जाँदाजाँदै उसले एउटा खरायो भेटी । खरायो वनबाट घर जाँदै थियो र गाँजर लिएर आउँदै थियो । ‘मेरो अन्डा हरायो । तिमीले देखेका छौ ? ’ उसले खरायोलाई सोधी ।
‘अहँ मैले त देखिनँ । म हतारमा छु । पर हात्ती छ । उसैसँग सोध’, खरायो गाँजर टोक्दै त्यहाँबाट बुर्कुसी मार्यो ।कुखुरा अगाडि बढी । उसले पर एउटा हात्ती देखी । हात्ती जंगलमा डुल्दै थियो । ऊ खानेकुरा खोज्दै थियो ।‘मेरो अन्डा हराएको छ, कतै तिमीले देख्यौ ? ’ उसले हात्तीलाई सोधी ।‘अहँ मैले देखिनँ । पर काग छ, त्यसैलाई सोध’, हात्तीले भन्यो र रूखको हाँगा भाँच्दै खान थाल्यो । कुखुरा अगाडि बढी । पर एउटा काग भेटी । काग रूखमा बसिरहेको थियो ।
उसले कागलाई परैबाट सोधी, ‘मेरो अन्डा हरायो । तिमीले देख्यौ त ? ’
‘अहँ । मैले त देखिनँ । पर मेरो साथी हाँस छ । उसैलाई सोध ।’ कागले भन्यो र चारो खोज्न गयो ।
कुखुरा फेरि अगाडि बढी ।
पर पुगेपछि उसले एउटा हाँस भेटी । हाँस पोखरीमा पौडिरहेको थियो ।
‘मेरो अन्डा हरायो । तिमीले देख्यौ कि ? ’ कुखुराले हाँसलाई सोधी ।
‘अहँ । मैले त देखिनँ त । पर वनभाले छ । त्यसैलाई सोध न’, हाँसले जवाफ दियो र पानीमा डुबुल्की मार्दै माछा खोज्न थाल्यो ।
त्यसपछि कुखुरा पर गई । त्यहाँ उसले एउटा भाले देखी । भालेले घाँटीमा एउटा झोला भिरेको थियो । नजिक आइपुगेपछि मात्र थाहा भो त्यो त आफ्नै भाले पो रहेछ । त्यसलाई देख्नेबित्तिकै कुखुराले सोधी, ‘गुँडमा छाडेको अन्डा हरायो । चारा खोजेर फर्किंदा त अन्डै थिएन । कतै तिमीले पो देख्या छौ कि ? ’
‘ए ! त्यो त मैले यो झोलामा राखेर हिँडेको छु’, भालेले भन्यो ।
‘किन नि ? म त हरायो भनेर कति आत्तिएँ । कति खोजिसकेँ’, सन्तोषको सास फेर्दै कुखुराले भन्यो ।
‘अन्डा किन झोलामा राखेको नि ? ’ कुखुरीले फेरि सोधी ।
‘तिमी जानेबित्तिकै एउटा सर्प आयो । धन्न म त्यहीँ भएर त्यसले अन्डा खान पाएन । त्यसलाई भगाएपछि मैले अन्डा झोलामा राखेर हिँडेँ’, उसले भन्यो र अन्डा निकाल्न झोलाभित्र हात घुसार्यो ।
तर भाले आत्तियो ।
‘झोलाभित्र त अन्डा छैन नि । यी फुटेको बोक्रा मात्रै छ’, भालेले भन्यो ।
‘फेरि कहाँ हरायो त ? झोलाभित्रको चल्ला कसरी हरायो ? ’ कुखुरीले मुख निन्याउरो पार्दै भनी ।
‘मैले त झोलाभित्रै राखेको थिएँ । कता हरायो त ? ’ भालेले गम्भीर भई भन्यो ।
‘जाऔं खोज्न’, कुखुरीले भनी ।
‘चीँ चीँ । म यहाँ छु’, त्यसै बेला नजिकैको घाँसे झाङबाट आवाज आयो ।
‘होइन, यो आवाज कहाँबाट आयो ? कुखुराले वरपर हेर्दै भन्यो’, भालेले पनि कान ठाडो पार्दै झाङतिर हेर्न थाल्यो ।
‘म यहीँ छु’, भर्खरै फुटाएर अन्डाबाट निस्केको चल्ला चीँ चीँ गर्दै बोल्यो । चल्ला देखेर भाले र कुखुरी दंग परे ।