मन्त्रीलाई प्रमुख निर्वाचन आयुक्तको प्रश्न : संविधान सर्वोपरी कि मन्दिर उद्घाटन ?
काठमाडौं : स्थानीय निकायको निर्वाचन आचारसंहिता लागु भएकै दिन मन्त्री र निर्वाचन आयुक्तबीच छलफल भएको छ।
बुधबार आयोगमा सबै मन्त्रीलाई बोलाएर प्रमुख निर्वाचन आयुक्त यादवले उदघाटन, शिल्यान्यास, निर्वाचनका लागि उम्मेदवारको प्रचार-प्रसारलगायतका कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका छन्।
निर्वाचन आयोगमा भएको छलफलमा मन्त्रीहरुले पूर्वनिर्धाति कार्यक्रममा जान पाउँनुपर्ने माग अघिसारेपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने त्यसको प्रतिवाद गरेका छन्। मन्त्रीका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख आयुक्त यादवले भने, ‘तपाईंहरुका लागि संविधान सर्वोपरी हो कि मन्दिर उद्घाटन महत्वपूर्ण ?’
निर्वाचन प्रमुख आयुक्त यादवले छलफलमा स्वास्थ्यमन्त्री गगन थापाले आफू उपस्थित नभए कतिपय स्वास्थ्यसंस्था नै बन्द हुने बताएपछि त्यस्ता कार्यक्रममा मन्त्रालयका सचिवमार्फत् पत्र पठाएर काम गर्न सुझाव दिए।
शिक्षाराज्यमन्त्री धनमाया विकको एक महिनाअघि तय भएको स्कुल उद्घाटनमा जान पाउने कि नपाउने ? भन्ने जिज्ञासा राखेकी छिन्। उनको जिज्ञासाको जवाफमा प्रमुख आयुक्त यादवले ‘जानै नपाउने’ जवाफ दिएका छन्। निर्वाचन आयोगमा भएको छलफलमा नेपाल सरकारका अधिकांश मन्त्रीको उपस्थिति थियो।