क्रसर उद्योगको स्थलगत अनुगमन
घोराहीः दाङमा सञ्चालन भएका क्रसर उद्योगको अनुगमन सुरु गरिएको छ । क्रसर उद्योगको मापदण्डका विषयमा जनगुनासो बढ्न थालेपछि जिल्लाको उच्चस्तरीय सरकारी टोलिले क्रसर उद्योगको स्थलगत अनुगमन थालेको हो ।
राष्ट्रिपति चुरे संरक्षण इकाई तथा जिल्ला समन्वय समितिले जिल्लाका क्रसर उद्योगको अनुगमन सुरु गरेको हो । क्रसर उद्योगको अवस्था बुझ्न स्थलगत अनुगमन गर्न सुरु गरिएको स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले बताए । उनले पहिलो चरणमा उद्योगको दर्ता प्रक्रियालाई विशेष रूपमा हेरिएको जानकारी दिए । ‘सीडीओ सापको नेतृत्वमा अनुगमन सुरु गरेका छौं', जिसीले भने, ‘शुक्रबार जिल्लाका आधाजति क्रसरको अनुगमन भएको छ ।' अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देललगायतको टोली खटिएको छ ।
प्रमुख जिल्ला अधिकारी काफ्लेले घोराही हुँदै तुलसीपुर र देउखुरी क्षेत्रका विभिन्न खोलामा सञ्चालनमा रहेका क्रसर उद्योग, क्रसर उद्योग सञ्चालकले गरेको घाटगद्दी आसपासका खोलामा गरिएको उत्खनन् सम्बन्धमा स्थलगत अनुगमन गरिएको बताए । उनले मापदण्ड विपरित सञ्चालन गरिएका क्रसर उद्योगलाई कानुनको दायरामा ल्याउन स्थलनगत अनुगमन गरिएको बताए ।
काफ्लेले प्रक्रिया मिचेर सञ्चालन गरिएका क्रसर उद्योगलाई कारवाही गरिने बताए । स्थानीय विकास अधिकारी जिसीका अनुसार कतिपय क्रसर उद्योग सडकदेखि पाँच सय मिटरको दुरीभित्रै सञ्चालनमा ल्याइएको अवस्थामा फेला परेकाले त्यस्ता क्रसर उद्योगबारे छिट्टै कानुनी प्रक्रिया थालिने बताए । उनले सबै क्रसरको अनुगमन गरेर यथार्थ अवस्था सार्वजनिक गरिने बताए ।