आकर्षण थप्दै होमस्टे
धनकुटाः चौबिसे क्षेत्रको पर्यटकीयस्थल डाँडाबजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन गरिएको छ । डाँडाबजारस्थित आदर्श वस्तीमा रहेका ३० घरमा होमस्टे सञ्चालन गरिएको हो । बजार नजिकै रहेको ध्वजेडाँडाबाट सूर्योदयको दृश्य हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि डाँडाबजार पर्यटन विकास समितिको सक्रियतामा होमस्टे सञ्चालन गरिएको समितिका सदस्य धु्रव घिमिरेले जानकारी दिए ।
बजारदेखि करिब ४५ मिनेट पैदल यात्रापछि ध्वजेडाँडा पुगिन्छ । डाँडाबाट पूर्वका १६ जिल्ला र मकालु, कुम्भकर्ण र कञ्चनजंघा हिमाल देख्न सकिन्छ । ‘सुविधा सम्पन्न होटेल नहुँदा सूर्योदय हेर्न आउने आगन्तुकलाई खान र बस्न समस्या हुन थाल्यो’, उनले भने, ‘सुविधा सम्पन्न होटेल सञ्चालन गर्न धेरै लगानीको आवश्यकता पर्छ । त्यही भएर स्थानीय वासिन्दाको घरमा होमस्टे सञ्चालन गरिएको हो ।’ केही वर्ष अघिसम्म दैनिक २० जनासम्म डाँडाबजार आउँथे । तर अहिले होमस्टे सञ्चालन भएसँगै सिजनमा दैनिक एक सयको हाराहारीमा पर्यटक बास बस्ने गरी आउन थालेको सदस्य घिमिरेले बताए । उनका अनुसार सूर्योदय हेर्ने उपयुक्त समय कात्तिक र मंसिर हो । अहिले अन्य महिनामा पनि घुम्न आउने पर्यटकको संख्या बढेको छ ।
स्थानीय वासिन्दाको घरमा सञ्चालित होमस्टेमा आउने आगन्तुकलाई खान र बस्न प्रतिव्यक्ति तीन सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै आगन्तुकको मागबमोजिम हुर्रा, ढोल, संगीनी नाच देखाउने गरिएको छ । लिम्बु, याँखा, मगर, राई, क्षेत्री, बाहुनको घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा बस्न आउनेले सुरुमा डाँडाबजार पर्यटन विकास समितिको सचिवालयमा सम्पर्क राख्नु पर्छ । आगन्तुकको संख्याका आधारमा समितिले कुन घरमा वास बस्न पठाउने निर्धारण गर्दै आएको छ । हरेक घरमा पालैपालो आगन्तुकलाई राख्ने व्यवस्था गरेका छौं । आगन्तुकको रुचि अनुसार खानाको परिकार उपलब्ध गरिने उनले बताए । पछिल्लो समय होमस्टेमा बस्न आउने आगन्तुकको संख्या बढेसँगै होमस्टे सञ्चालन भएका घरधनीले एट्याच रुम बनाउन थालेका छन् ।
समुद्री सतहबाट दुई हजार ४७ मिटर उचाइमा ध्वजेडाँडा पर्छ । त्यस्तै सोही गाविसको लाप्चेटारमा एसियामै सबैभन्दा ठूलो र पाँच सय वर्ष पुरानो भनेर दाबी गरिएको अजंगको बरको रुख छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको यो रूखको अवलोकन गर्न भीड लाग्ने गर्छ ।
ध्वजेडाँडामा भ्यू टावर
सूर्योदयको दृश्यावलोकनसहित पूर्वका १६ वटै जिल्ला देख्न सकिने गरी ध्वजेडाँडामा भ्यु टावर निर्माण गरिएको छ । आर्थिक वर्ष २०७१/७२ देखि निर्माण कार्य सुरु गरिएको भ्यु टावर गत असारमा सम्पन्न भएको थियो । टावर निर्माणका लागि पर्यटक विकास समिति काँकडभिट्टाको १० लाख रुपैयाँ र दुई लाख बराबरको जन श्रमदान गरिएको थियो । यसअघि पर्यटन विकास समिति काँकडभिट्टाले बाटो सुधार तथा सिढी निर्माण गर्न १० लाख रुपैयाँ सहयोग गरेको सदस्य घिमिरेले बताए ।