वायुसेवा निगमले ७ महिनामै कमायो १३ करोड
काठमाडौंः नेपाल वायुसेवा निगमले चालु आर्थिक वर्षको सात महिनामै १३ करोड रुपैयाँ नाफा कमाएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सवै खर्च कटाएर सात महिनामा निगमले १३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको जानकारी दिए।
अपरेशन रेभिन्यूबापत ५ अर्ब ४ करोड २० लाख ८६ हजार २ सय २८ रुपैयाँ संकलन भएको नेपाल वायु सेवा निगमले जनाएको छ। चालु आर्थिक वर्षको सात महिनामा ग्राउन्ड ह्यान्डलिङ १ अर्ब ७६ करोड ३५ लाख २६ हजार ६ सय २६ रुपैयाँ संकलन भएको मन्त्री शाहीले बताए।
आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री शाहीले निगमले अन्तर्राष्ट्रिय यात्रुमार्फत ३ अर्ब ८ करोड ७ लाख ३५ हजार र आन्तरिक यात्रुबाट ११ करोड ५८ लाख १८ हजार रुपैयाँ संकलन गरेको जानकारी दिए। वायु सेवा निगमले कार्गोबाट ३ करोड २६ लाख ९३ हजार रुपैयाँ संकलन भएको जनाएको छ। निगमले उडानका लागि १ अर्ब ७० करोड र विमामा १७ करोड रुपैयाँ खर्च भएको जनाएको छ।
निगमले अपरशेन खर्च बापत ४ अर्ब ४३ लाख १२ लाख ९९ हजार ९ सय ८४ रुपैयाँ खर्च गरेको मन्त्री शाहीले बताए। यसअघि निगमले आर्थिक ०७०/७१ मा दुई करोड, ०७१/७२ मा डेढ करोड र ०७२/७३ मा ४ करोड रुपैयाँ कमाएको थियो।