भक्तपुरका फास्ट फुड फोहर र अव्यवस्थित
भक्तपुर : भक्तपुर नगर क्षेत्रमा सञ्चालित फास्ट फुड एवं रेस्टुरेन्टहरु फोहर पाइएका छन्। ती फास्टफुडका भान्छाकोठा र खाद्य वस्तु तयार गर्ने ठाउँसमेत फोहर र अव्यवस्थित भेटिएका हुन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आइतबार भक्तपुर नगर क्षेत्रमा सञ्चालित फास्टफुड तथा रेस्टुरेन्टहरुको अनुगमनका क्रममा यस्तो देखिएको हो।
‘अधिकांश फास्टफुड र रेस्टुरेन्ट र त्यहाँका भान्छाहरु फोहर पाइए’, जिल्ला प्रशासन कार्यालयकी अधिकृत लुमा श्रेष्ठले भनिन्, ‘भान्छा लानुअघि खाद्य वस्तु तयार गर्ने ठाउँ पनि फोहर र अव्यवस्थित भेटिए।’
उनका अनुसार अधिकांश फास्टफुड र रेस्टुराँहरुले स्थानीय निकाय र सम्बन्धित कार्यालयबाट आफ्नो फर्म नवीकरण गरेका छैनन्। अनुगमन टोलीमा सहभागी उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष पूर्णकृष्ण श्रेष्ठले अधिकांश फास्टफुडको भान्छा फोहर भएको बताए।
टोलीले गर्मी याम बढेसँगै फोहर भान्छाबाट तयार हुने परिकार स्वस्थकर नहुनेतर्फ फास्टफुड सञ्चालकहरुको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए।
भक्तपुर नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, महानगरीय प्रहरी परिसर, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिसँगै सञ्चारकर्मीहरुसहितको अनुगमन टोलीले आइतबार भक्तपुर नपा ४ कमलविनायकस्थित भीआईपी मम एण्ड फास्टफुट, सिटी गार्डेन रेस्टुरेन्ट, भक्तपुर नपा ३ दत्तात्रयस्थित रवि फास्टफुडलगायत पाँचवटा पसलमा अनुगमन गरिएको थियो।
टोलीले भान्छा कोठा र खाद्य वस्तु तयार गर्ने ठाउँ सफा र व्यवस्थित बनाउन निर्देशन दिइएको टोलीकी संयोजक अधिकृत श्रेष्ठले जानकारी दिइन्। त्यस्तै फर्म दर्ता प्रमाणपत्र र प्यान दर्ता प्रमाणपत्रसमेत सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिइएको उनले बताइन्।
उनले जिल्ला प्रशासन कार्यालय तालिका नै बनाएर जिल्लाभर बजार अनुगमन गरिने जानकारी दिइन्। ‘फरक दिनमा फरक बजारको नियमित अनुगमन गर्छा, उनले भनिन्।