चटपटेबाटै घरजम
गुल्मीः रेसुंगा नगरपालिका–४ बाघमारेका गोविन्द महत कुनै बेला बेरोजगार थिए । रोजगारी खोज्नकै लागि लिएको ऋणले थलिएका थिए । अहिले उनी आफैंले थालेको चटपटेको व्यवसायबाट प्रगतिपथमा छन् । चटपटे बेचेर आएको आम्दानीले आत्मनिर्भरमात्र भएका छैनन् घरघडेरी पनि जोडिसकेका छन् । ‘नारायणगढमा १० लाख र तम्घासमा पाँच लाखको खडेरी किनेको छु', महत भन्छन्, ‘अहिले अस्थायी घर छ । अब पक्की बनाउने तयारी गरेको छु ।'
तम्घास बजारमा महतले चटपटे बेच्न थालेको चार वर्ष भयो । बिहान उज्यालो हुँदानहुँदै घरबाट निस्किसक्छन् । बाँघमारे, जिपपार्क, उदिनढुंगा, मिलनचोक, नयाँबजार, पुतलीबजारजस्ता मानिसको जमघट बढी हुने ठाउँमा पुगेर चटपटे बनाएर बेच्छन् । यही पेसाले उनले घरखर्च धानेका छन् । यसैको भरमा जिल्लाकै सामुदायिक विद्यालयमा दुई छोरालाई अंग्रेजी माध्यममा पढाइरहेका छन् । ‘एउटा छोराले चारमा र अर्कोले केजीमा पढ्दै छन्', उनी भन्छन्, ‘विद्यालयमा मासिक चार सय शुल्क बुझाउनुपर्छ ।' त्यतिमात्र होइन, यही पेसाकै भरमा उनले विदेश जाँदा लागेको ऋणसमेत तिरिसकेका छन् ।
रोजगारीकै सिलसिलामा उनी मलेसिया पुगेका थिए । निमोनियाले समातेपछि ६ महिनामै फर्कन बाध्य भए । फर्कन त फर्किए टाउकोमा ऋणको भारी बोकेर । अर्कोतिर बेरोजगारीको समस्या उस्तै थियो । ‘न कमाउने कुनै पेसा थियो, न लगानी गर्ने क्षमता नै' विगत सम्झिन्छन् उनी । त्यही सकसपूर्ण समयले सडकमा ल्यादियो उनलाई ।
तम्घास बजारमा गोविन्दले चटपटे बेच्न थालेको चार वर्ष भयो । बिहान उज्यालो हुँदानहुँदै घरबाट निस्किसक्छन् उनी ।
सडकको फाइदा थियो-कम लगानीमै काम हुन्थ्यो । जम्मा दुई हजार ६ सय रुपैयाँ लगानीमा सुरु गरेका थिए रे यो व्यवसाय । केही समयमै यसले फाइदा दिन थालेपछि यो व्यवसायमै स्थायित्व भेटे उनले । ‘थोरै लगानी गरेर, धेरै फाइदा लिन सकिँदो रहेछ', महतको अनभुव छ, ‘लगानी डुब्ला भन्ने चिन्ता पनि नहुने ।' अहिले उनी लहलहैमा विदेश जानुभन्दा यही ससाना काम गरेरै आत्मनिर्भर हुन सक्ने बताउँछन् ।
पुख्र्यौली घर गुल्मीको बडागाउँबाट खासै केही नलिई तम्घास झरेका थिए महत । चटपटे व्यवसायले नै उनलाई दुई वर्षमा डेराबाट आफैंले बनाएको घरको बास बनाइदियो । अहिले त उनलाई श्रीमतीको पनि साथ छ । ‘चटपटे बनाउने सामान उनैले जुटाउँछिन्', महत भन्छन्, ‘बजारभरि डुलाउने काम मैले गर्छु ।' रातको ८ नबझी घर फर्किंदैनन् । कमाइ पनि राम्रो छ । उनी भन्छन्, ‘बजारमा म जानेबित्तिकै ग्राहक झुम्मिहाल्छन् ।' धेरैजसो ग्राहक नियमित जस्तै बनेको उनले बताए ।
साँझपख त उनको घुम्ती चटपटे पसलमा भीडभाड नै हुन्छ । ‘महत दाइले बनाएको चटपटे धेरै मीठो हुन्छ', पसलमै भेटिएकी तम्घास बजारकी कमला जीसीले भनिन्, ‘बिहान बेलुका साथीसँगै चटपटे खान घरबाट निस्कन्छु ।' नियमित रूपमा उनकै पसलमा जाने गरेको उनले बताइन् । ग्राहकको मागअनुसार पाँचदेखि ३० रुपैयाँको चटपटे बनाएर बेच्ने गरेको महतले बताए । दैनिक झन्डै तीन हजार रुपैयाँको चटपटे बिक्री हुने गरेको महतले बताए ।
यो पेसामा लाग्न र टिकिराख्न महतले कम्ता संघर्ष गरेका छैनन् । सुरुसुरुमा उनको गिल्ला गर्नेहरू प्रशस्त हुन्थे । ‘पहिलेपहिले यस्तो काम पनि के गरेको होला भनेर धेरैले खिसी गर्थे', महतले सुनाए, ‘अहिले उनैले कस्तो राम्रो व्यापार भनेर प्रशंसा गर्छन् ।' नेपाली समाजमा रहेको कामलाई ठूलो र सानो भनेर छुट्ट्याउने चिन्तनले नै हामीलाई असफल बनाइरहेको उनको धारणा छ । महत भन्छन्, ‘परिश्रम गर्न लाज मान्नु हुँदैन, कामलाई सानोतिनो सम्झनेहरू सफल बन्न सक्दैनन् ।'
परिश्रम गर्न लाज मान्नु हुँदैन, कामलाई सानोतिनो सम्झनेहरु सफल बन्न सक्दैनन् । गोविन्द महत चटपटे व्यवसायी
अहिले महतसँग केही सपना र सन्तुष्टि छ । ‘विदेशबाट फर्केर सबैभन्दा खुसी यो व्यवसायबाट पाएको सन्तुष्टि नै हो', उनी भन्छन्, ‘शरीरले साथ दिँदासम्म काम छोड्दिन ।' दुई छोरालाई राम्रैसँग पढाउने सपना बोकेको बताउँदै उनले परिवारको साथले नै आफूलाई थप हौसला मिलेको बताउँछन् । ‘घरपरिवारसँग बसेर व्यवसाय गर्न पाइएको छ', उनी भन्छन्, ‘जीवनमा नपढेर त्यति पछुतो छैन । खुसीसँगै बाँचिएकै छ ।'
सानो भनिएको पेसाले नै सन्तुष्टि दिएपछि उनी अचेल रोजगारका लागि विदेश नै जानुपर्ने सोचलाई गलत ठान्छन् । ससानो व्यवसायमै पनि रमाउन सिके त्यसैले सन्तुष्टि दिने उनको धारणा छ । ‘सँगैका धेरै दौंतरीहरू लहलहैमा विदेशमा गएर दुःख पाएको सुनेको छु', उनी भन्छन्, ‘कहिलेकाहीँ साथीहरूसँग फोनमा कुरा हुन्छ । कमाइ नै छैन् भनेर सुनाउँछन् । घर आएर सँगै मिलेर व्यवसाय गरौं भन्ने गर्छु ।' गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेका अनुसार, तम्घास बजारमा झन्डै दुई दर्जन जति चटपटे व्यवसायीहरू छन् ।