बैंक पुनःस्थापना नहुँदा समस्या

   बैंक पुनःस्थापना नहुँदा समस्या

 बैतडीः द्वन्द्वकालमा विस्थापित भएका ग्रामीण क्षेत्रका बैंक पुनस्र्थापना नहुँदा स्थानीयलाई समस्या भएको छ । जिल्लाको पुरचौडी हाटमा कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड, गोकुलेश्वरमा कृषि विकास बैंक र मेलौलीमा रहेको कृषि विकास बैंक पुनस्र्थापना भएका छैनन् । द्वन्दको समयमा विस्थापित भएका बैंक पुनस्र्थापना नहुँदा समस्या भएको मेलौलीका केशवसिंह भाटले बताए । उनले भने, ‘बैंकिङ कारोबारका लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । यसले गर्दा यो क्षेत्रका १० गाविसका नागरिक निकै मारमा परेका छौं ।'

मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनी भन्छन्, ‘हाम्रो यो क्षेत्रमा सडक पुग्यो, बजार पनि विस्तार भएको छ तर हामीले आर्थिक कारोबारका लागि अझै पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।' मेलौलीमा कृषि विकास बैंकको शाखा पुनस्र्थापना भए सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई समेत सुविधा हुने मेलौलीका मुकेश दयालले बताए । उनले भने, ‘हाम्रो यो क्षेत्रमा प्राथमिक स्वास्थ्यकेन्द्र छ, १० गाविसको केन्द्र पनि यही हो, आयुर्वेद औषधालय छ, बैंकको उपस्थिति भयो भने हामीलाई आर्थिक कारोबारमा सहज हुनेथियो ।'

जिल्लाको उत्तरपूर्वी पुरचौडी हाटमा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । नागरिकतालगायत सिफारिसका काम सोही क्षेत्रबाट हुने गरेका छन् । तर, बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य नभएको स्थानीय धनबीर धामीले बताए । उनले भने, ‘२०५८ सालमा द्वन्द्वका कारण पुरचौडीको हाटस्थित नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक विस्थापित भएका हुन् । शान्ति स्थापना भएको १० वर्ष बितिसक्दासमेत बैंक पुनस्र्थापना नहुँदा हामीलाई साह्रै गाह्रो भएको छ ।'

जिल्लाका ग्रामीण क्षेत्रका बैंक पुनःस्थापना नहुँदा जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भीड लाग्ने गरेको छ ।

उता गोकुलेश्वरमा पनि द्वन्द्वकालमा विस्थापित भएको कृषि विकास बैंकको शाखा पुनस्र्थापना नहुँदा त्यो क्षेत्रका स्थानीय वासिन्दालाई आर्थिक कारोबार गर्न समस्या भएको स्थानीय गंगासागर जोशीले बताए । उनले भने, ‘गोकुलेश्वरमा रहेको बैंकले बैतडीमा मात्रै नभएर दार्चुलाको गोकुलेश्वर क्षेत्रका नागरिकले समेत सेवा पाएका थिए । तर, बैंक पुनस्र्थापना नहुँदा समस्या भएको छ ।' मेलौलीका केशवसिंह भाटलाई बैंकमार्फत पैसा पठाउनुपर्ने भयो भने सधैं चिन्ता लाग्छ । उनी भन्छन् ‘विकासका केही पूर्वाधारमा हामी दुर्गम क्षेत्रका नागरिकको पहुँच बढेको छ । तर, बैंकमार्फत आर्थिक कारोबार गर्न नपाउँदा हामीलाई सकस हुने गरेको छ ।'

डिलेश्वरी मावि हाटका शिक्षक हर्कबहादुर नेगीलाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउँदा दिक्क लागेको छ । उनले भने, ‘सडकको समस्या थियो सडक पनि पुग्यो, इलाका प्रशासन कार्यालय पनि स्थापना भयो तर बैंक पुनस्र्थापना नहुँदा हामीले पहिला उपभोग गरिरहेको सेवा उपभोग गर्न पाएका छैनौं ।'
जिल्लाका ग्रामीण क्षेत्रका बैंक पुनस्र्थापना नहुँदा जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भीड लागेको हुन्छ । एक घन्टाको कामका लागि ४ दिनसम्म सदरमुकाम बस्नु परेको शंकरपुरका रामदत्त अवस्थीले बताए । उनले भने, ‘एकदिनमै काम सकिन्थ्यो तर बैंकमा भीड हुँदा ४ दिनसम्म सदरमुकाम नै बस्नुपरेको छ ।'





प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.