विराटनगरको सेरोफेरो
पूर्वीनेपालको कोसी अञ्चल मोरङ जिल्ला विराटनगरको नेपालको राजनीतिक, आर्थिक र सामाजिक विकासमा महत्ववपूर्ण योगदान रहेको छ । साविक मधेस गोश्वारा ऐनमा मोरङ गोश्वारा रहेकोमा पछि मोरङ विराटनगर गोश्वारा भएको त्यस बेला बडाहाकिम र पछि अञ्चलाधीशले चढ्ने एक नम्बरको सरकारी गाडीमा मो-बि-गो र को-अ-अक्षर प्रयोग गरिएकोमा हालसम्म पनि कोसी अञ्चलमा सञ्चालन हुने सबै सवारी साधनमा यही नै प्रयोग यथावत् राखिएको छ ।
१९७२ सालसम्म मोरङको सदरमुकाम रंगेलीमा रहेकोमा पछि साबिकको गोग्राहा बजारलाई विराटनगर नामाकरण गरेर विराटनगरमा सारियो । गत वर्ष विराटनगरले शतवार्षिकी हर्सोल्लासका साथ मनायो भने रंगेलीले सदरमुकाम सारेकोमा शोक दिवस र रंगेली कालीमन्दिर र पञ्चेश्वरनाथ महादेवको मन्दिरको भव्य पुनर्निर्माण पनि एकैसाथ गरियो ।
रंगेलीबाट विराटनगर सदरमुकाम सार्नमा १९६८ सालमा जोगबनीमा रेल वे स्टेसनको स्थापना र हुलाक आकाशवाणीको सुविधा नै प्रमुख कारण रहेको थियो । राजा महेन्द्रले नेपालभर नेपाली रुपैयाँ र हुलाकको प्रचलन अगाडि विराटनगरमा भारतीय रुपैयाँ र चिठीपत्र पठाउँदा मोरङ विराटनगर जिल्ला पूर्णिया हुलाक जोगबनी (भारतको बिहार राज्यको पूर्णिया जिल्ला) भनेर लेख्ने चलन थियो । धरान विराटनगर सडकलाई मलाया रोड भन्ने चलन थियो ।
बेलायत सरकारले ब्रिटिस गोर्खा सैनिक भर्नाको लागि धरानमा घोपा सैनिक क्याम्प खडा गरेको थियो । त्यो बेलाको मलाया हालको मलेसियामा गोर्खा सैनिकको लागि लडाइँमा लैजाने भएकाले सडकको नाम नै पछिसम्म मलाया रोड रहेको थियो । घोपा क्याम्प धरानमा बीपीकेआईएस मेडिकल कलेज अस्पताल खुलेपछि सडकको नाम परिवर्तन हुन गयो । काठमाडौंबाट विराटनगर हवाईजहाजबाट सोझै जाने र स्थल मार्ग रेल, मोटरबाट जानुपरेमा अमलेखगन्जसम्म पैदल, रक्सौलसम्म नेपाली रेलबाट र त्यहाँबाट बिहारको दरभंगा, समस्तीपुर, बरौनी हुँदै दुई दिन लगाएर जोगबनी पुगिन्थ्यो । पछि कोसी ब्यारेज बनेपछि निर्मली हुँदै रक्सौल मोटरबाट एक दिनमै जान-आउन सम्भव भयो । पूर्व-पश्चिम महेन्द्र राजमार्गको पूर्वी खण्डको निर्माणपश्चात् ०३०÷३१ मा राजधानी एक्सप्रेसले १२ घन्टामा विराटनगर काठमाडौं आउनजान सजिलो हुन गयो । यसरी विराटनगरबाट काठमाडौं आउँदा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुन गयो ।
मोरङ जिल्लाका आदिवासी कसलाई मान्ने भन्नेमा अन्य क्षेत्रमा जस्तै विवाद हुन सक्ने देखिएकाले पुरातत्व विभागले सय वर्ष पुराना कलाकृतिलाई पुरातात्विक महत्ववका मानेजस्तै मोरङमा एक सय वर्षअगाडिदेखि बसोबास गरेकालाई आदिवासी मानिएको छ । औलो नियन्त्रण र औद्योगिक तथा कृषि विकाससँगै नेपालको पहाडी क्षेत्र र उत्तरी भारतबाट मोरङमा एकैसाथ बसोबास सुरु भएको अनुमान छ ।
दोस्रो विश्वयुद्धमा भएको औद्योगिक वस्तुको अभाव र जोगबनी रेलवेको स्थापनाले मोरङको विराटनगर रानीमा जुटमिल कटनमिल र चिनी मिल जुद्वशमशेरले १९९० सालको दसकमा स्थापना गरेका थिए । जुटका सामग्रीहरू लडाइँका सामान र खाद्यान्न ओसारपसार गर्न बोराको काममा प्रयोग भएको र कलकत्ता बन्दरगाहको सहज पहुँचले औद्योगिक गतिविधिको केन्द्र हुन पुग्यो ।
जुट जसलाई सनपाट वा पाटा भन्ने गरिन्थ्योको मोरङ, झापामा व्यापक खेती र व्यापार सुरुआत भयो । खेतीको लागि स्थानीय र पहाडबाट आएकाले र व्यापारको लागि राजस्थानी मारवाडीहरूको वर्चस्व हुन गयो । पूर्वी पहाडबाट झरेका रिजाल, थापा, कार्की, अर्याल, आचार्य, खनाल, थपलिया, घिमिरे, कोइराला र पश्चिम नेपाल खास गरेर लमजुङको चितीबाट पन्त, तिवारी, पाण्डे, जोशी, बिष्ट, लोहनी र न्यौपानेहरू प्रमुख रहेका छन् । व्यापारको लागि मारवाडी समुदायका गोल्छा, अग्रवाल, बोहरा, डांगा, दुगड, काबरा आदि छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा बंगाली, झा, ठाकुर रहेका छन् । राजवंशी, चौधरी, मण्डल, थारू, सतार, मुसहर, र्बातर, झाँगड, खवासलगायत त्यो समयमा रहेका छन् । मुस्लिम समुदायका आलम, करिम, मियाँ रहेका छन् । मोरङको विकास र समृद्धिमा सबैको महत्ववपूर्ण योगदान रहेको छ ।
तराई-मधेसका जातजाति, समुदाय र धर्मको एकअर्काप्रति आदर, सम्मान र समन्वयको नमुना मोरङ जिल्लामा रहेको छ । मोरङका ग्रामीण क्षेत्रमा समेत छुवाछूत र इनारको पानी अलगअलग र बोक्सी, छुवाछूतको चलन रहेको छैन । प्रस्तावित २ नम्बर प्रदेशका केही जिल्लामा रहेको जातिगत छुवाछूत र भेदभाव मोरङ जिल्लामा देखिएको छैन ।
त्यसैले प्रस्तावित २ नम्बर प्रदेशका सम्पन्नहरूको विराटनगरमा बसोबास बढेको छ । शक्तिको स्रोत एकै ठाउँमा केन्द्रित भएमा निरंकुशताको शासन भएजस्तै कुनै सहर गाउँमा एकै समुदायको मात्र बसोबास भएमा त्यहाँ परिवर्तनको लहर ढिलो मात्र पुग्छ । मोरङमा नेपालको पहाडी क्षेत्र र उत्तरी भारतबाट बसाइँ सरेर आएका र साविकमा बसोबास गरिरहेका रैथानेहरूको मिश्रित बसोबास भएकाले राजनीतिमा शक्ति पृथकीकरण भएजस्तै एकअर्को समुदाय र वर्गको भावनाको कदर गर्दै एकअर्काको शान्तिपूर्ण सहअस्तित्व स्विकारेर बसेका छन् ।
मोरङमा पहाडबाट सोझै पुख्र्यौली बस्तीबाट आएका र बीचमा केही समय अर्को ठाउँमा बसेर आएका दुईथरी रहेका छन् । लमजुङको कोइराला फाँटबाट सिन्धुलीको दुम्जा हुँदै विराटनगर आएका कोइरालाहरू, चितीबाट काठमाडौं हुँदै गुरुज्यूको जिमिदारी र तेजारथ हेर्न विराटनगर आएका पाण्डेहरू, धनकुटाबाट सोझै विराटनगर झरेका थापा रिजाल रहेका छन् । लमजुङकै चितीबाट सात दिन लगाएर पैदलै तत्कालीन चितवनको ठोरी सिमानाका हुँदै भारतको रक्सौलबाट रेल चढेर दुई दिनमा फारबिसगन्ज र त्यहाँबाट गाडा, घोडा वा पैदलै एक दिन गरी १० दिन लगाएर सोझै मोरङको रंगेलीमा सरकारी जागिर खान आएका तिवारी, बिष्ट, पन्त, जोशी, कँडेल, कडरिया, मि श्र आदि रहेका छन् । पश्चिम नेपालबाट आएकाको बसोबास लोहन्द्रा नदी पूर्व रंगेलीको नजिक रहेको छ भने पूर्वी पहाडबाट आएकाको बसोबास लोहन्द्रा नदी पश्चिम र विराटनगरमा रहेको छ । विराटनगर सदरमुकाममा बसेकाको राजनीतिक र शैक्षिक क्षेत्रमा अग्रसरता रहन गयो भने अन्य क्षेत्रमा बसेकाको कृषि पेसामा वर्चस्व रहन गएको छ । हाल विराटनगर उपमहानगरपालिकाको वडा नम्बर १०÷११ हाटखोला क्षेत्रमा लमजुङ, गोरखा र तनहुँबाट आएकाको बाक्लो बस्ती भएकाले स्थानीय र संसद्को निर्वाचनमा उनीहरूको प्रभावकारी भूमिका रहेको छ ।
भारतको राजस्थानबाट बिहार हुँदै आएका मारवाडी व्यापारीहरू, बंगालबाट आएका डाक्टर र औषधिपसलेहरू र तत्कालीन बिहार हाल झारखण्ड दुम्का जिल्लाबाट आएका सतारहरूको योगदान पनि उल्लेखनीय रहेको छ । नेपालको औद्योगिक विकासमा महत्ववपूर्ण योगदान पुर्याएका गोल्छा घरानाका रामलाल गोल्छा बिहारको फारबिसगन्जबाट लदिया घोडामा जुट बोकाएर कारोबार गरेको चर्चा गरिन्छ । विराटनगरमा जुट मिल स्थापना भएपछि जुटको कारोबार गर्न १९९० सालको दसकमा विराटनगर आएका थिए । साथै बोहरा, डांगा, दुगडलगायतका अन्य मारवाडी पनि धान, तोरी, लत्ताकपडालगायत थोक र किरानापसल गर्नको लागि विराटनगर आए । यसले विराटनगरको व्यापार र औद्योगिक विकासमा महत्ववपूर्ण योगदान रहेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा बंगाली डाक्टर बनर्जी र लेडी डाक्टर शान्ति बनर्जी र नर्सहरू तथा अन्यले मेडिकल स्टोर खोलेर पुर्याएको योगदान स्मरणीय छ ।
शिक्षा क्षेत्रमा कृष्णप्रसाद कोइरालाले स्थापना गरेका आदर्श विद्यालयपछि बालिकाका लागि स्थापना गरिएको आदर्श बालिका विद्यालय अग्रणी स्थानमा छ । भारतको बिहारबाट आएका श्याम झा, कृपाराम शास्त्री, गजेन्द्र र रतीराम ठाकुर तथा पूर्वीपहाडबाट आएका नेपाली पढाउने बस्ती गुरु र संगीत सिकाउने अधिकारी गुरु बहुवालाई उल्लेख गर्न सकिन्छ । विद्यालयमा पढ्ने विद्यार्थीमा पहाडी मूलका, तराई मधेसी र भारतीय मूलकाको प्रतिनिधित्व रहेको थियो । हिन्दु, जैन, मुस्लिम सबै धर्म मान्नेहरू रहेका थिए । सबै धर्म र संस्कृतिको आदर र सम्मान रहेको थियो । पछि महेन्द्र विद्यालय जहाँ मोती ढकाल, विष्णु बरालजस्ता आदर्श शिक्षक थिए भने जनता हाईस्कुल, सरस्वती माध्यमिक विद्यालय र प्रौढहरूलाई तीन वर्षमै एसएलसी कोर्स सञ्चालन गर्ने राष्ट्रिय विद्यालय रहेको थियो । आदर्श पुस्तकालय र देवकोटा पुस्तकालयले शिक्षाको ज्योति निभ्न नदिन महत्ववपूर्ण योगदान पुर्याएका छन् ।
नेपालको राजनीतिमा प्रमुख स्थान ओगटेको मोरङ विराटनगर कृष्णप्रसाद कोइरालाका तीन भाइ छोरा मात्रिकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद तथा मनमोहन अधिकारी, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा र कीर्तिनिधि बिष्ट गरी सातजनाको स्थायी बसोबास वा खेती कामतले विराटनगरसँग सम्बन्ध रहेको थियो । मोरङ विराटनगरको भौतिक विकासमा राजनीतिज्ञको योगदान सुदूर पश्चिमाञ्चलको जस्तो रहन सकेन । गाउँ, जिल्लामा योजना पार्नेमा प्रशासनमा बसेकाको महत्ववपूर्ण स्थान रहेको छ ।
झापा जिल्लाको गौरीगन्ज गाविसका योजना आयोगका सदस्य र कम्प्युटर अपरेटर रहेकोमा योजना आयोगका सदस्यले भनेको योजना नपरेको तर कम्प्युटर अपरेटरले भनेको योजना परेको गुनासो सदस्य स्वयंले गर्नुभएको थियो । त्यस्तै मोरङको कर्सिया बिर्ता विद्युत् प्रसारण लाइन, हुडहुडिया दौलथपुर सडक, केसलिया नदी पैनी मर्मत, बिर्ता माध्यमिक विद्यालयमा खानेपानी र भवन मर्मत सुधारको लागि तत्कालीन मन्त्री बद्रीमण्डल र आमोदप्रसाद उपाध्यायलाई भनेर थाकेका जनता योजना आयोगका सचिवले योजना पारेर कार्यान्वयन गरेको स्थानीय जनताले सम्झिरहेका छन् । विराटनगरको चक्रपथ योजना २० वर्षसम्म पनि अधुरै रहेको छ । हाल आएर सडक, ढल निकास जस्ता योजनाले विकास गति समातेको छ ।
नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाले मात्र शान्ति, स्थायित्व र विकास ल्याउँछ भन्नेमा मोरङ, विराटनगरबासीको अटुट आस्था र विश्वास रहेको छ । राजा महेन्द्रले नेपाल राष्ट्रिय एकता र जागरणको लागि पुर्याएको योगदान मोरङेहरूले भुलेका छैनन् । मोरङ कलेजको नाम महेन्द्र मोरङ कलेज र बजार अड्डा चोकको नाम महेन्द्रचोक राखिएको थियो । हाल आएर राजसंस्थाको नाममा राखिएका नाम हटाउने अभियान भए पनि सर्वसाधारण र रिक्सावालाले महेन्द्रचोक नै भन्ने गरेका छन् ।
नेपालमा राजसंस्था राष्ट्रिय एकताको लागि कति महत्ववपूर्ण रहेको छ भन्ने कोइराला परिवारबाट प्रधानमन्त्री भएकाले देखाएका छन् । राजा महेन्द्रले पहिलो निर्वाचित सरकार २०१७ सालमा विघटन गरेर बीपीलाई जेल हाले पनि बीपीले राजासँग मेरो घाँटी जोडिएको भन्नु, २०३७ सालको जनमत संग्रहमा सुधारिएको निर्दलीय पञ्चायतको पक्षमा भएको विजयलाई आत्मसात गर्नु रहेको छ । त्यस्तै गिरिजाप्रसादले २०५८ को राजदरबार काण्डपछि राजा ज्ञानेन्द्रलाई माधव नेपालसहित दाम राखेर ढोग्नु र २०६३ को अन्तरिम संविधान जारी भएपछि पनि बेबी किङ भनेर दोहोर्याइरहनुले पनि देखाएकै छ । माओवादीका अध्यक्ष प्रचण्डले देखाएको राष्ट्रपतिको ललीपपमा लोभिएर गणतन्त्रतर्फ लागेका गिरिजाप्रसादलाई जीवनको अन्तिम समयसम्म पनि राजसंस्थाविरुद्व लागेकोमा पछुताउ लागिरहेको विश्वास गरिन्छ ।
जसरी विश्वनाथ उपाध्यायलाई एमालेका अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीको २०५२ सालमा भएको संसद् विघटनको सिफारिस बदर गरी संसद् पुनस्र्थापना गरेकोमा आजीवन पछुताउ लागिरहेको मानिएको छ । नेपालमा ९९ वटा राम्रो काम गरेकोमा एउटै मात्र नराम्रो कामले सबै राम्रो कामलाई बिर्साउने चलन रहेको छ । विराटनगर र कोइरालानिवास एकअर्काको परिपूरक रहेकोमा राजसंस्था र हिन्दु धर्म कायम राख्नुपर्छ भन्ने बीपीका सच्चा उत्तराधिकारी डा. शेखर कोइरालाबाहेक अन्यले आफ्नो अंश भागमा परेको कोइराला निवासको जग्गा बेचिसकेको पाइयो । कोइराला निवासको मधेसमा त्यो बेला बनाइने टिपिकल सखुवा अर्थात् सालको रुखका खम्बाबाट बनाइएको जस्ताको छानाको टुम घर अहिले सुनसान ठिङ्ङ उभिइरहेको छ । त्यसलाई नेपालको राजनीति संग्रहालय बनाउने सद्बुद्धि प्राप्त होस्, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा विराटनगरको अग्रसरता कायम रहिरहोस्, शुभकामना !