प्रधानमन्त्री कप एपीएफलाई
इटहरीः इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । प्रतिष्पर्धी सुदुर पश्चिमाञ्चललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
बुधबार भएको फाइनल खेलमा पहिला ब्याटिङ थालेको सुदुर पश्चिमाञ्चलले सबै ओभर खेल्दै ७ विकेट गुमाएर ५७ रन जोड्यो । सुदुरपश्चिमाञ्चलकी सन्जना खड्काले १६ रन लिन सफल भइन् । सुदुर पश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि ऋतु कनोजियाले ३ विकेट र सुनिता रानाले १ विकेट लिइन् ।
जवाफि ब्याटिङ्गमा आएको एपीएफले १४.१ ओभरमा २ विकेट गुमाउँदै विजय लक्ष्य भेटायो । एपीएफकी सीता रानामगरले १६ र सरीता मगरले २२ रन बटुले । सुदुर पश्चिमाञ्चलकी रेखा रावलले १ विकेट लिइन् । खेलको प्लेयर अफ द म्याच एपीएफकी ऋतु कनोजिया घोषित भइन् ।
ऋतु कनोजियाले प्रतियोगिताको बेस्ट बलरको उपाधिसमेत पाएकी छिन् । यस्तै बेस्ट व्याट्सउमनको उपाधि भने उपविजेता सुदुर पश्चिमाञ्चलकी रेखा रावलले हात पारिन् । कनोजिया र रावलले जनही पाँच हजार रुपैया पुरस्कार पाए । प्लेयर अफ द सिरिज एपीएफकी सीता रानामगर भइन् । उनले १० हजार नगद प्राप्त गरिन् ।
विजेता तथा उपविजेताहरुलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचीव केशवकुमार विष्टले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य सचीव विष्टले प्रतियोगिताहरुले खेलाडीको विकासमा मद्धत गर्ने बताए ।
कार्यक्रमको स्थानिय व्यवस्थापन इटहरी क्रिकेट एकेडेमीले गरेको थियो । एकेडेमीकै आयोजनामा आउँदो चैतको दोस्रो साता १९ वर्ष मुनीका खेलाडिहरुको इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको क्लबका सीपी पौडेलले जानकारी दिए ।