विषाक्त बीउका हाँगाहरू

 विषाक्त बीउका हाँगाहरू

राजनीति कता गइरहेको छ ? नेपालमा सरोकार भएका विदेशी कूटनीतिज्ञदेखि प्राज्ञ र सामान्य चासो राख्ने नेपालीले सोध्ने गरेको प्रश्न हो यो । राजनीतिका सञ्चालकहरू या दलका नेताहरू यदि नेपाली जनताबाट र उनीहरूका लागि कार्यरत या प्रतिबद्ध रहेको भए यो प्रश्नको उत्तर कठिन हुने थिएन । तर, उनीहरू जताबाट निर्देशित छन्, त्यहाँ नेपाल र नेपालीको हितको प्रधानता हुँदैन । नेपालको राजनीतिमा नेपाली जनताको लगाम नभएपछि कता जाँदैछ, ठीकसँग कसरी विश्लेषण गर्ने र सही निष्कर्षमा पुग्ने ? विगतमा नेपाली राजनीतिको नियन्त्रण कक्ष बाहिरिएपछि मुलुकमा भित्रिएका विकृति सुधार नगरी राजनीति नेपाली जनताको हातमा र हितमा आउन सक्तैन ।

सोमबार राजविराजमा एमालेको मेची–महाकाली अभियान पुग्यो, आमसभा भयो र केपी ओलीलगायतका नेताहरू उक्त स्थानबाट हिँडेपछि एमाले समर्थक र विरोधीबीचको झडपमा प्रहरी हस्तक्षेप हुँदा चारजना नेपाली मारिए । किन र कुन परिस्थितिमा गोली चल्यो अनि किन घुँडाभन्दा माथि प्रहरीले गोली हान्यो, यी प्रश्न सरकार र प्रतिपक्षी दलहरूको आन्तरिक विवादमा उठ्न थालेका छन् ।

एमनेस्टी इन्टरनेसनल र ह्युमन राइटस् वाचले ‘प्रतिरक्षा' मा मात्र गोली चलाउनुपर्ने भन्दै त्यो गोलीकाण्डमा अस्वीकार्य आकारमा बल प्रयोग भएको ठहर गरेको छ । गृहमन्त्री विमलेन्द्र निधिले ‘घुँडामुनि' मात्र किन गोली नहानेको भनी प्रश्न गरेका छन् भने प्रधानमन्त्रीले कुनै पनि हालतमा गोली नचलाउनु भन्ने निर्देशन प्रहरीका प्रमुख र सिराहाका सीडीओलाई पहिल्यै दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत दाबी गरेका छन् ।

राज्यको वैधानिक आधिकारिकता प्रयोग गर्ने क्रममा विभिन्न तह (स्केल) को हिंसा प्रयोग गर्ने छुट सम्बन्धित अधिकारीमा हुन्छ । प्रतिरक्षा, सरकारी सम्पत्ति र जनधनको क्षति रोक्न भीड र आततायीलाई तितरवितर पार्नेदेखि ‘सुट एट साइट' र ‘सुट टु किल' (देख्नेबित्तिकै गोली हान्नेदेखि मार्नेलाई गोली हान्ने) अधिकार कानुन र राजकीय अभ्यासमार्फत सुरक्षा अधिकारीहरूलाई दिइएको हुन्छ । तर ती अधिकारको प्रयोग कानुनको परिधिमा रही जवाफदेही ढंगले गरिएको बारे सम्बन्धित अधिकारी र निकायले पुष्टि गर्नुपर्ने हुन्छ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, भारतदेखि नेपालसम्म राज्यको त्यो कार्यशैलीको फरक व्याख्या र विवरण हुन सक्दैन ।

राजविराजमा ती व्यक्तिहरू किन मारिए र त्यो तहको शक्ति प्रयोग जायज थियो कि थिएन, त्यो उपयुक्त छानबिनमार्फत या सरकारले आफ्नै निकायमार्फत अनुसन्धान गरी नेपाली जनतालाई जवाफ दिनुपर्छ, संसद्मार्फत । सरकारले त्यहाँका सीडीओ तथा सशस्त्र र जनपदका एसपीलाई स्थानान्तरण गरी नयाँ अधिकृतलाई ती जिम्मेवारी दिइएको छ तर राजनीतिक दल र प्रशासकहरूबीचको दलीय सम्बद्धताबारे छानबिन गर्न र दलीय आवरणमा संस्थागत स्वरुप लिएका प्रशासनिक निकायहरू ‘ट्रेड युनियन' बारे छानबिन गर्न र तिनीहरूलाई नियन्त्रित गर्न ठोस कदम चालिएन भने कुनै पनि दण्डनीय अपराधमा दलीय निकटताका कारण कर्मचारीहरूलाई बचाउन राजनीतिक दल तथा नेतृत्व अगाडि आउँछ नै । ०६३ को आन्दोलनको समाप्तिसँगै प्रशासनिक संयन्त्रमा एउटा अराजकताको हदसम्मको छाडापन र अवज्ञा शैली देखा पर्‍यो । ‘प्रतिगामी' बिल्ला भिराएर या नारा चर्काएर आफ्ना हाकिमहरूविरुद्ध नारा लगाउने कर्मचारीहरूले मुख्य जिम्मेवारी पाउन थाले ।

प्रशासन संयन्त्रमा अपेक्षित दलीय तटस्थता समाप्त भयो, पछि उपल्लो अधिकृत तहसम्मलाई दलीय ‘ट्रेड युनियन' मा जान कानुनी छुट दिइयो । त्यति मात्र हैन, सहसचिव र सचिवको ट्रान्सफर र बढुवा वरिष्ठता र ‘मेरिट' बाट निर्धारित नभई सम्बन्धित मन्त्रीहरूका खल्तीबाट निस्कने सूचीका आधारमा हुन थाले । सम्भवतः जनपद, सशस्त्र र नेपाली सेनामा दलीय राजनीति त्यो रुपमा प्रवेश गरेको छैन । तर दलको छातामा रहेका निजामती प्रशासकसँगै सुरक्षा निकायका ‘सेवा निवृत्त' हरूले दलहरूमा ठाउँ पाउँदा त्यसको पृष्ठभूमि सेवाकालबाटै नबन्ला भन्न सकिन्न । न्यायाधीशहरू त दल र एनजीओकै ‘कोटा' बाट आउन थालेपछि निजामती प्रशासनिक सेवामा दलको प्रयासलाई कसले ‘अवैध' भन्ला र ? तर फेरि पनि प्रश्न उठ्छ, उठ्नैपर्छः राजविराजबाट फिर्ता बोलाइएका सीडीओसँगै सशस्त्र र जनपदका एसपीहरूको दलीय आबद्धता पनि छानबिनको विषय हुनुपर्छ।

राजविराज गोलीकाण्ड निर्धारित स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएपछि घटेको छ । निर्वाचन बहिष्कारको घोषणा गर्ने संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका कोही नेता त्यहाँ उपस्थित थिएनन् । जनताबाट टाढिएका र समानुपातिकमा आफ्नै पत्नी र नजिकका नातेदारलाई मात्र संसद्मा घुसाएर सामान्य कार्यकर्ताको विश्वाससमेत गुमाएका यी नेताहरूको आह्वानमा मधेसी जनता त्यहाँ एमालेसँग भिड्न गएका थिए भन्ने आधार देखिँदैन । मर्नेहरूमा कांग्रेसका कार्यकर्ता र कुनै दलसँग आबद्ध नभएकाहरू पनि देखिएका छन् । महन्थ ठाकुरले आह्वान गरेजसरी आफू मरेर ५० लाख रुपैयाँ परिवारलाई दिलाउन उनीहरू गएको पनि कुनै आधार देखिएको छैन । राजनीतिक नेतृत्व तहका यस्ता अभिव्यक्तिहरूलाई जवाफदेहिताको घेरामा नल्याउने हो भने जनतालाई उक्साउने प्रपञ्च भइ नै रहनेछ । उता ओलीले एमालेको नेतृत्व तहलाई एकै चिहान बनाउने ‘षड्यन्त्र' रहेको दाबी गरेका छन् । के प्रशासन या गुप्तचर संस्थाहरूसँग त्यस्तो कुनै सूचना थियो ?

के वर्तमान सरकार र अधुरो संविधान कार्यान्वयनको नाममा हुन लागेको चुनाव हिंसारहित र स्वीकार्य होला ? अनि निर्वाचनभन्दा दुई महिना पहिला नै हिंसाको यो सिलसिला सुरु हुँदा के यो संविधान अस्तित्वमा छ र रहनेछ भनी मान्ने ?

प्रधानमन्त्री र गृहमन्त्रीको ‘गोली नचलाउने' र ‘घुँडामुनि गोली हान्ने' आदेश सुरक्षा निकायको कार्य क्षेत्रमा हस्तक्षेपका रुपमा लिइनेछ । उनीहरूले सुरक्षा निकायलाई ‘जिम्मेवारी बहन', जवाफदेही र कानुनसम्मत हुनुपर्छ मात्र भन्न पाउँछन्, तर नेताहरूलाई दातृ निकायले निर्देशित गरे झैं सुरक्षा र प्रशासनिक निकायलाई नेताहरूले सञ्चालित गर्न थाले भने अराजकता संस्थागत हुन जान्छ । राजनीति, प्रशासन र सुरक्षा निकायको मिलेमतोका कारण दण्डहीनताको संस्कृति झांगिन्छ । स्थानीय निकायको निर्वाचनको लागि नेपालका प्रमुख दलहरू कति गम्भीर छन्, छैनन्, त्यो एउटा पक्ष हो, तर अन्तर्राष्ट्रिय जगत् त्यसबारे धु्रवीकृत देखिन्छ ।

छिमेकी भारत र चीनले सबैलाई साथ लिएर अगाडि बढ्न आग्रह गरेका छन् । सबैमा ‘मधेसी मोर्चा' मात्र हैन, संवैधानिक राजतन्त्र र धर्म परिवर्तनको अधिकारलाई नै धर्म निरपेक्षता हो भनी मान्नेविरुद्ध संगठित हुँदै गएका हिन्दु राष्ट्रका पक्षधर पनि पर्छन् भन्ने वर्तमान ठूला दलहरूले बुझ्नुपर्छ । अर्थात् समग्रमा विगत १० वर्षको निषेधमा आधारित र परचालित राजनीतिलाई अन्त्य गरिएन भने निर्वाचन हुन सक्दैन । अर्कोतिर शक्तिशाली दातृ निकायहरूमाथि बलियो पकड भएका र अमेरिका र युरोपेली संघ निर्वाचनको पक्षमा उभिएका छन्, विनासर्त ।

नेपाली नेताहरू के गर्लान् ? एमाले एनजीओहरूको प्रभावमा छ भन्ने मान्यता सर्वत्र छ । यसैबीच स्थानीय निकायहरूको संख्या र पुनर्संरचना आयोगले दिएको अपुरो प्रतिवेदनलाई लिएर उठेका संवैधानिकताको प्रश्नलाई बढीभन्दा बढी राजनीतिक बन्दै गएको सर्वोच्च अदालतले मुद्दा परेमा कसरी हेर्ला ? त्यसबारे पनि अड्कलबाजी हुन थालेको छ । सर्वोच्च अदालतभित्रै ‘दाता' को कार्यालय खोल्न दिन नहिच्किचाएको सर्वोच्च ‘पश्चिमी दाता' हरूको चाहनाविपरीत जान सक्ला र ? यो सर्वोच्चको ‘विचाराधीन विषय' लाई प्रभावित गर्ने कुनै विज्ञ अड्कलबाजी नभएर उसको छवि र हालैका गतिविधिका आधारमा जनमानसमा सर्वोच्चप्रति देखा परेको अविश्वासको प्रतिविम्ब मात्र हो ।

निर्वाचन सम्पन्न होस् भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना त्यसको लगत्तै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले उनको पक्षमा सत्ता छोड्छन् भन्ने आशाबाट निर्देशित होला निकै हदसम्म । तर एमालेकै एउटा शक्तिशाली पंक्ति र पश्चिमा दाताहरूमा सत्ता परिवर्तन हुँदा सुवास नेम्बाङ उपयुक्त पात्र हुने मान्यता राख्छन् । ओली यसबारे अनभिज्ञ छैनन् । यो प्रकरण धर्म निरपेक्षताको घोषणासँग पनि जोडिन पुग्छ, ब्युँतिएको प्रतिनिधिसभाको पहिलो बैठकद्वारा । त्यस्तै परिस्थितिले अर्को रुप लिएमा ‘आगामी प्रान्तीय र संघीय निर्वाचन' सम्पन्न गर्न पश्चिमा दाताहरूले पत्याएको सर्वोच्चकै निवर्तमान कुनै प्रधानन्यायाधीशको नाम पनि हल्का छलफलमा आउन थालेको छ । अर्थात् निर्वाचनको अड्कलबाजी भइरहँदा प्रधानमन्त्रीको ‘नाम' को छलफल बाह्य शक्ति केन्द्रमै हुन थालेको छ ।

अर्थात् अब यता आएर भारतको हैसियत निर्णायक रहने छैन पहिला जसरी । किनकि उसले उक्साएका सत्तापक्ष र बाहिरको नेतृत्व समूह अहिले अलोकप्रिय र असफल पनि बन्न पुगेको छ । मधेसी मोर्चाले खासगरी राजविराज घटनापछि पनि बराबर समर्थन फिर्ता लिन्छु भन्नु र फिर्ता लिन नसक्नुले उसको द्विविधाग्रस्त स्थिति देखाउँछ । चाहे कथित राष्ट्रिय दलहरू हुन् या मोर्चालगायतका क्षेत्रीय पक्ष, जनतासँग उनीहरू टाढिएको, राज्यको स्वतन्त्र र सार्वभौम हैसियतप्रति उनीहरूको प्रतिबद्धतामा शंका बढ्नु र राजनीतिमा बाह्य शक्तिको प्रभाव बढ्नुले राजनीतिलाई नेपालीहरूकै नियन्त्रणमा ल्याउनु नै आजको सबभन्दा विदेशी उक्साहट र प्रक्रियाविहीन तरिकाले राजसंस्थाको अन्त्य नभएको भए या त्यो निर्णयमा नेपाली जनताको मात्र संलग्नता रहेको भए राजविराज काण्डपछि नेताहरूले त्यति असुरक्षित महसुस गर्नुपर्ने थिएन आफूलाई ।

अब उनीहरूको सुरक्षाको लागि र संयम अपनाउन जनतालाई प्रभावकारी ‘अपिल' गर्ने कसले ? अर्थात् राजविराज प्रकरणले पहाड, हिमाल र मधेसका आम जनताको सुरक्षालाई र त्यस अर्थमा मुलुकको एकीकृत स्वरूपलाई आम चिन्ताको केन्द्रमा ल्याएको छ । के वर्तमान सरकार र अधुरो संविधान कार्यान्वयनको नाममा हुन लागेको चुनाव हिंसारहित र स्वीकार्य होला ? अनि निर्वाचनभन्दा दुई महिना पहिला नै हिंसाको यो सिलसिला सुरु हुँदा के यो संविधान अस्तित्वमा छ र रहनेछ भनी मान्ने ? यी प्रश्नहरूको उत्तरको खोजी र निजामती प्रशासनलाई राजनीतिबाट अलग गर्ने प्रयास भएमा ०६३ यताका विकृति सम्बोधनको प्रक्रिया सुरु हुनेछ र नेताहरू राजनीतिमा जनताको निर्णय सुन्न बाध्य हुनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.