नियत र सोच बदलौं

 नियत र सोच बदलौं

एउटा अंग्रेजी भनाइ छ, ‘संसार परिवर्तन गर्न हामीले पहिला आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ ।' परिवर्तनको मूल संवाहक भनेकै हाम्रो सोच हो । हामीले गर्ने हरेक क्रियाकलाप हाम्रो सोच र नियतले निर्दिष्ट हुन्छन् । हामी खालि नेपालमा विकास भएन भन्छौं, नेतालाई गाली गर्छौं, देशमा व्याप्त भ्रष्टाचार, गरिबीको बारेमा बिलौना गर्छौं । के देश आफैं बन्छ ? देश त हामी सबै एकजुट भएर बनाउने होइन र ?

परिवर्तनको सुरुआत हामी आफैंबाट गरौं । हाम्रा पार्टीका भन्दा पनि राम्रा पार्टीका मान्छे छानौं । हाम्रा मान्छेभन्दा पनि राम्रो मान्छे छानौं । गलत र भ्रष्टाचारी नेतालाई बहिष्कार गरौं । राम्रा नेता र शासनका पक्षमा उभिऔं । बेलाबेलामा उनीहरूलाई सचेत गराऔं, घच्घचाऔं, अनि परिवर्तनको सुरुआत कसरी हुँदैन ? तर हैन हामीमध्ये त्यसरी सोच्ने विरलै छौं ।

आफ्नो घरअगाडिको गोरेटो बाटो बिग्रेको छ भने पनि हामी सरकारकै मुख ताकेर बस्छौं, जबकि त्यो मर्मत गर्न थोरै लगानीमा पनि सम्भव हुन्छ । अनि सरकारलाई गाली गर्छौं, नेतालाई गाली गर्छौं । हामीलाई थाहा हुन्छ, यो नेता खराब छ भनेर, तर पनि हामी त्यही नेतालाई चुनावमा जिताउँछौं । के त्यो हाम्रो गल्ती होइन ? देश विकास भएन, अब यो सधैं यस्तै हो, भन्दै हामी विदेशतिर जान्छौं ।

त्यहाँ निम्नस्तरको काम गर्न पनि पछि पर्दैनौं, त्यही काम यहाँ गर्न हामीलाई लाज लाग्छ । त्यही काम यहाँ गरे, यहाँ पनि राम्रो आम्दानी गर्न सक्छौं । त्यो सबै हाम्रो सोचको उपज हो । यहाँ आफूले खाएको भाँडा माझ्न पनि हामीलाई लाज लाग्छ, तर विदेशमा अरूको भाँडा माझ्न पनि हामी पछि पर्दैनौं ।

हामी समस्यामा बढी केन्द्रित भयौं । यो भएन, त्यो भएन भन्दै बिलौना गर्दै हाम्रो समय बित्यो । कसरी राम्रो गर्नेभन्दा पनि यो काम नराम्रो भयो भन्दै आलोचना गर्दै समय व्यतित भयो हाम्रो । समाधान नै खोजेनौं । राम्रो काम गर्नेको खुट्टा तान्ने प्रवृत्ति भयो । खालि देश विकास भएन, नेता नै खत्तम भए भन्नेमै हामी केन्द्रित भयौं । यसलाई कसरी विकास गर्ने भन्नेतिर सोच्दै सोचेनौं ।

देशलाई यही हालतमा छोडेर विदेश पलायन भएर देश बन्छ ? यसलाई त सबै मिली बनाउनुपर्छ । विकास र विनाश हाम्रै सोचमा भर पर्छ । आफ्नो क्षमताले देशमै केही गरे देश विकासमा मद्दत पुग्थ्यो । तर हामी सबैले आफ्नै लागि मात्र सोच्यौं र नेता आफू कसरी सम्पन्न हुने भन्नेतिर मात्र लागे अनि जनताको हितको लागि सिन्कोसमेत भाँच्न सकेनन् ।

देश विकासमा मात्र होइन, समाजमा व्याप्त कुरीति, विसंगति मौलाउनुमा पनि हाम्रो सोचको ठूलो योगदान छ । समाज सोचेअनुरूप परिवर्तन हुन नसक्नुको पछाडि हाम्रो सोच नै प्रमुख बाधक छ । हाम्रो समाजमा छोरीलाई पढाउन पैसा हुँदैन, तर उसको बिहेको लागि खर्च गर्न जति पनि पैसा खर्च गर्ने प्रशस्त भेटिन्छन् । त्यस्तै हाम्रो समाज अहिले ब्रान्डेड भएको छ, हरेक वस्तु ब्रान्डेड चाहिन्छ । हामी एसी भएको कोठामा राखेको जुत्ता लगाउँछौं र तरकारी भने बाहिर खुला हावामा राखेको किन्न पनि हिच्किचाउँदैनौं ।

देश आफैं बन्दैन । हामी सबै मिलेर बनाउने हो । त्यसको लागि पहिला हाम्रो नियत र सोचमा परिवर्तन आउनु जरुरी छ ।

त्यस्तै सुन्धाराको सडक किनारामा खुला ठाउँमा राखेको सस्तो कपडा किन्दैनौं, तर त्यही सामान अलि महँगो दरमा महलमा ब्रान्डेड भन्यो भने हामी जति पनि पैसा हाल्छौं । मेरा एकजना मित्र थिए, उनलाई हरेक वस्तु ब्रान्डेड चाहिने, जहिले पनि लुगा, जुत्ता शेर्पा मलजस्ता महँगा महलबाट किन्ने र खान पनि केएफसी नै जानुपर्ने । हामीले कहिलेकाहीं सुन्धाराको खुला ठाउँमा सामान किन्यौं र साना रेस्टुराँमा खान खान गयौं भने होच्याउनुपर्ने । तर उनलाई के थाहा त्यस्तो सस्तो र स्वादिष्ट ठाउँमा खानुको मज्जा नै छुट्टै हुन्छ भनेर । यो सब हाम्रो सोचको कारणले भएको हो । त्यसैले हाम्रो सोचमा परिवर्तन आउनु जरुरी छ ।

सामाजिक सञ्जालमा एउटा पोस्ट लेखिएको थियो, ‘हामी विभिन्न धर्मको नाममा लड्छौं, गीता, कुरानको नाममा लड्छौं तर यहाँ अधिकांशले ती किताब पढेका हुँदैनौं र ती किताबमा के लेखिएको छ थाहा पनि हुँदैन ।' वास्तवमा अहिले धर्मको नाममा विभिन्न आतंककारी समूहले आतंक मच्चाइरहेका छन्, तर ती अधिकांशलाई त्यो धर्मको अन्तर्वस्तु र मूल मर्मबारे जानकारी नै हुँदैन । त्यस्तै हाम्रो समाजमा बाहिर खुलारूपमा पिसाब फेर्दा केही हुँदैन, तर दुइटा जोडीसँग हात समाउँदा वा चुम्बन गर्दा कुरा काट्ने धेरै हुन्छन् ।

त्यस्तै हाम्रो समाज बढी देखावटीपनमा विश्वास गर्ने र मानिसमा दम्भ बढेको छ । हेपाह प्रवृत्ति बढेको छ र आफूभन्दा तल्लो स्तरको काम गर्ने व्यक्तिलाई हेपेर बोल्ने मानिसको पनि कमी छैन । खाली सिसी उठाउन हिँडेको व्यक्तिलाई ‘ए खाली सिसी' भन्ने, माइक्रोमा पैसा उठाउनेलाई ‘ए खले' भन्ने मानिस धेरै भेटिन्छन् । यहाँ कामको इज्जत छैन, त्यसैले त मानिस बिदेसिएका छन्, सानै काम भए पनि त्यहाँ त हेपिनु पर्दैन । बरु भाँडा माझ्ने काम किन नहोस्, त्यहाँ अपहेलित त हुनु पर्दैन । यहाँ प्रोत्साहन दिनेभन्दा पनि खुट्टा तान्ने र कुरा काट्ने धेरै हुन्छन् ।

नेताहरू बत्ती बलेको गाडीमा चड्न पाए मै हुँ भन्ठान्छन् र अरूलाई मान्छे गन्दैनन् । त्यस्तै कालो सिसा लगाएर पिच्चपिच्च झ्यालबाट थुक्ने र अरूलाई देखाउने मानिसको कमी छैन । उनीहरूलाई गाडी चढेमा ठूलो भएँ भन्ठान्छन् । मेरो कार्यालयमा एकजना ब्रिटिस नागरिक छन्, उनको आफ्नै महँगो कार छ तर उनी प्रायः कार्यालय आउँदा हिँडेर वा साइकल प्रयोग गर्छन् ।

उनी भन्छन्, ‘यसरी खुला हावा खाएर अफिस आउनुको मज्जै बेग्लै छ ।' मैले हालै एउटा भिडियो हेरेको थिएँ, जसमा अमेरिकाका राष्ट्रपति हुँदा बाराक ओबामाले एउटा सैनिकको सलुटको उत्तर दिन बिर्सेकाले प्लेनमा चढिसकेको मान्छे पनि फर्केर आएर सोलुट गरे । सायद त्यस्तो यहाँ नेपाली नेतामा बिरलै देख्न पाइन्छ । यहाँ पानी पर्दा छाता ओडाउने मान्छे राख्छन् ।

यहाँ राजनीतिले मानिसलाई विभाजित गरेको छ । पहिले हाम्रो सोचमा परिवर्तन ल्याऊ । देश आफैं बन्दैन । हामी सबै मिलेर बनाउने हो । त्यसको लागि पहिला हाम्रो नियत र सोचमा परिवर्तन आउनु जरुरी छ । सोच बदलौं, परिवर्तन र विकास असम्भव छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.