नेपालगन्ज गोल्ड कपःनेपाल पुलिस सेमिफाइनलमा
नेपालगन्जः नेपाल पुलिस क्लब दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले नेपालगन्ज- ११ लाई २-१ को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल पुलिसका हरि कठायतले खेलको ३४औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको लगत्तै पुलिसकै भरत शाहले गोल गरेर खेलमा २-० अग्रता बनाए । पहिलो हाफसम्म नेपाल पुलिस हाबी रहे पनि दोस्रो हाफमा नेपालगन्ज- ११ ले आक्रमक खेल खेल्यो । निकै आक्रमक खेल खेलेको नेपालगन्ज- ११ का रेजिङ सुब्बाले दोस्रो हाफको ६७औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए ।
दोस्रो हाफको ७५औं मिनेटमा पुलिसका भरत शाहले हानेको बल गोल पोस्टमा लागेर फर्किएको थियो । थपिएको तीन मिनेटमा नेपालगन्ज- ११ ले पाएको फ्रिकिक र कर्नरलाई पुलिसका गोलकिपर शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरेपछि नेपालगन्ज- ११ प्रतियोगिताबाट बाहिरिन पुग्यो । अन्तिम समयमा दुई पटक गोल गर्ने अवसरलाई नेपालगन्ज- ११ ले सदुपयोग गर्न सकेन । राम्रो खेल प्रदर्शन गरे पनि आयोजक नेपालगन्ज- ११ प्रतियोगिताबाट बाहिरिनु पर्यो ।
खेल जितेपछि नेपाल पुलिसका प्रशिक्षक कुमार कटुवालले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । उनले विपक्षी टिमको खेल राम्रो भए पनि आफ्नो टोलीका खेलाडीको मेहनतले जित हासिल गरेको बताए । पुलिसका कप्तान भोला सिलवालले दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेको बताए ।
नेपालगन्ज- ११ का प्रशिक्षक विष्णु गुरुङले खेल आफ्नो टोलीले राम्रो खेले पनि प्राविधिक रूपमा पुलिसले जितेको बताए । ‘खेल हाम्रो टोलीको धेरै राम्रो थियो, तर प्राविधिक रूपमा पुलिसले जितेको छ’ प्रशिक्षक गुरुङले भने । नेपालगन्जका कप्तान महेश चन्दले खेल हारे पनि आफ्नो टोलीले राम्रो प्रदर्शन गरेको बताए ।
शुक्रबारको खेलको म्यान अफ दी म्याच नेपालगन्ज- ११ का रेजिङ सुब्बा घोषित भए । नेपाल पुलिसबाट पाँचजना राष्ट्रिय खेलाडीले खेलेका थिए भने नेपालगन्ज- ११ ले एकजना अफ्रिकी मूलका खेलाडीलाई मैदान उतारेको थियो । शनिबार सीएमजी संकटा क्लब र एपीएफबीच खेल हुने जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजनसहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा संकटा, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, दिल्ली युनाइटेड, एपीएफ क्लब, नेपालगन्ज ११, सुदूरपश्चिम ११ र रूपन्देही ११ को सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।