नेपाली टोलीमा चार नयाँ अनुहार

काठमाडौः माल्दिभ्सको मालेमा आगामी बुधबारदेखि सुरु हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । च्याम्पियनसिप चैत ९ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । नेपाली टोलीमा यसपटक चार नयाँ अनुहारले स्थान पाएका छन् । नयाँ अनुहारमा त्रिभुवन आर्मी क्लबका तीन र एपीएफ क्लबका एक खेलाडी रहेको टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।
आर्मीका दिल सुनार, हरि अधिकारी र दुर्गा महतो तथा एपीएफका राजकुमार निरौलाले पहिलोपटक राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने छन् । दिल ओपन स्पाइकर हुन् भने हरि क्विक स्पाइकर । यसैगरी राजकुमार साइड स्पाइकर र दुर्गा सेटर हुन् । सेटर इम रानामगरको कप्तानीमा रहेको नेपाली टोलीमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र कुलबहादुर थापा ओपन स्पाइकर छन् ।
यसैगरी क्विक स्पाइकरमा महेन्द्र श्रेष्ठ र भैरव बम, साइड स्पाइकरमा नरेन्द्र गिरी र लिबेरोमा ईश्वर थापामगर रहेका छन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा वीरेन्द्र चौधरी रहेका छन् भने सहायक प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय खेलाडी जगदीश भट्टले सम्हाल्नेछन् । नेपाली टोलीको व्यवस्थापकमा नेपाल भलिबल संघका सचिव डीबी नेपाली रहेका छन् । नेपाली टोलीसँगै अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्राबन्दना राई पनि माल्दिभ्स जानेछिन्।
च्याम्पियनसिपमा नेपालसहित आयोजक माल्दिभ्स, कीर्गिस्तान र तुर्कमेनिस्तानले सहभागिता जनाउनेछन् । भुटान, बंगलादेश, अफगानिस्तान र काजकिस्तानले विभिन्न कारण देखाउँदै यसपटक सहभागी नहुने भएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । च्याम्पियनसिपमा नेपालले पहिलो खेल चैत ९ गते तुर्कमेनिस्तानसँग खेल्नेछ । नेपाली टोलीले १० गते माल्दिभ्स र १४ गते कीर्गिस्तानको सामना गर्नेछ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको तयारीका लागि नेपालले २७ दिन अघिदेखि तयारी गर्दै आएको छ । प्रशिक्षणमा रहेका खेलाडीले लगनखेलस्थित सेनाको कभर्डहलमा अभ्यास गरिरहेका छन् । गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट २२ खेलाडी छनोट गरी प्रशिक्षण दिँदै आएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले १४ दिनको प्रशिक्षणपछि सेन्ट्रल जोनका लागि १२ खेलाडी छनोट गरिएको बताए।
गत वर्ष सात टोली सहभागी च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो । त्यतिबेला चौथो भएको नेपाली टोली तुर्कमेनिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाली टोली अफगानिस्तानसँग पराजित भएको थियो । सेमिफाइनलमा स्थान बनाउनुअघि नेपालले कीर्गिस्तान र बंगलादेशलाई पराजित गरेको थियो भने माल्दिभ्ससँग हार बेहोरेको थियो ।
च्याम्पियनसिपमा यसअघि दुई पटक सहभागिता जनाएको नेपाल लगातार सेमिफाइनलमा स्थान बनाउन सफल भएकाले यसपटक ऐतिहासिक पदक जित्ने सम्भावना रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । ‘च्याम्पियनसिपमा सहभागी चारवटै टोलीको अवस्थामा खासै भिन्नता छैन । यसअघिको सहभागितामा पनि हामी पदक नजिक पुगेकाले यसपटक पदक जित्ने सम्भावना उच्च छ', महासचिव चन्दले भने ।
च्याम्पियनसिपका लागि विगत एक महिनादेखि तयारी गरेकाले उत्कृष्ट नतिजा ल्याउने विश्वास प्रमुख प्रशिक्षक वीरेन्द्र चौधरीले व्यक्त गरे । सेन्ट्रल जोनमा शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा समूह ‘ए' मा रहेका पाँच टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एभीसीले एसियालाई दुई समूहमा विभाजन गरेको छ । सेन्ट्रल जोनमा १३ राष्ट्र सहभागी छन्, जसमा भारत, पाकिस्तान, श्रीलंका, इरान र कजाकिस्तान समूह ‘ए' मा छन् ।
ऐतिहासिक अवसरः महासचिव चन्द
नेपालले अहिलेसम्म एभीसीको आधिकारिक प्रतियोगितामा सहभागिता जनाएको थिएन । त्यसकारण नेपालले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय पदक पनि ल्याएको छैन । भलिबल संघमा अहिलेको नेतृत्व आएपछि पहिलो पटक एभीसीको आधिकारिक प्रतियोगितामा सहभागिता जनाएको हो । एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुईवटै सहभागितामा हामीले सेमिफाइनलसम्मको यात्रा तय गरेका थियौं ।
बंगलादेशमा भएको सेन्ट्रल जोनको पहिलो संस्करणमा सात टोली सहभागी थिए भने माल्दिभ्समा गत डिसेम्बरमा भएको दोस्रो संस्करणमा पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए । यी दुवै सहभागितामा नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यस पटक नेपालले फेरि अर्को अवसर पाएको छ । विगतका कमी कमजोरीलाई सुधार गर्ने हो भने यसपटक नेपालले ऐतिहासिक पदक जित्न सक्छ ।
राउन्ड रोविन लिगका आधारमा खेल हुने भएकाले दुई खेल जितेको खण्डमा नेपालले नयाँ इतिहास बनाउने प्रबल सम्भावना छ । सेन्ट्रल जोनमा सहभागी चारवटै टोलीको स्तर लगभग उस्तै छ । यसपटक नेपाली टोली सन्तुलित छ । टोलीमा युवा र अनुभवी खेलाडीको समि श्रण छ । यो वर्ष धेरै प्रतियोगिता भएकाले पनि खेलाडीहरू फर्ममा छन् ।
प्रतिक्रिया दिनुहोस !
