मेधावी सुदृष्टि
पूर्वको झापा दमकमा हुने विभिन्न सांगीतिक कार्यक्रममा सेलिबे्रटीकै रूपमा छनोट हुन्छिन् सुदृष्टि राई । काठमाडौंबाट गएका कलाकारभन्दा उनको प्रस्तुतिमा कुनै कमजोरी देखिँदैन । काठमाडौंको प्रिज्म स्टुडियोमा पूर्वका चर्चित गायक साजन राईसँग यही साता ‘तिमी धनकुटाको ठिटो' दोहोरी गीत रेकर्ड गराएकी छिन्, सुदृष्टिले । यो उनको पहिलो गीत भने होइन । उनले डेढ दर्जन गीत रेकर्ड गरिसकेकी छिन् । मीठो स्वर अनि संगीतको लयलाई बुझन् सक्ने भएका कारण उनलाई गीत रेकर्ड गर्न धेरै समय लाग्दैन ।
उनी अहिले झापाको दमकस्थित सिद्धिङ्वा अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्छिन् । सुदृष्टि अध्ययनमा पनि उत्तिकै अब्बल छिन् । उनले नौ वर्ष हुँदा नै पहिलो गीत वरिष्ठ गीतकार श्रीपुरुष ढकालको शब्द र बीबी अनुरागीको संगीतमा
‘मेरो गाउँ मेरो भाषा,
मेरै भेष राम्रो
कतै जाने रहर छैन
आफ्नै देश राम्रो....' बोलको राष्ट्रिय गीत गाइसकेकी छिन् । आमा दीप्ता धमला र बुबा सुजन राईकी एक्ली छोरी उनको सानैदेखि गायन र नृत्यमा रुचि थियो । उनले तुलसी घिमिरे, महेश खड्का, भारती गजमेरजस्ता कलाकारहरूसँग काम गरिसकेकी छिन् । आफ्नो छोरीको प्रतिभाका बारेमा बताउँदै आमा दीप्ता धमलाले भनिन्, ‘छोरी पहिला नाच्न रुचाउँथिन्, अहिले उत्तिकै मीठो गाउँछिन् ।' उनी संगीतसँगै पढाइमा पनि अब्बल रहेकी उनकी आमाले बताइन्।
प्याप्सन झापाले आयोजना गरेको विभिन्न गायन तथा नृत्य प्रतियोगितामा पनि उनी प्रायः प्रथम हुन्छिन् । उनले सन् २०१० मा लिटन क्विनको ताजसमेत पहिरिएकी छिन् । यस्तै, २०६९ सालमा नइ देरुनीखपु (नइ) सांगीतिक कार्यक्रममा उनी सम्मानित भएकी थिइन् ।
सुदृष्टि मिलनसार, मिजासिलो र मीठो बोलीकै कारण स्कुलमा पनि सबैको प्रिय साथी भएकी सुदृष्टिले भनिन्, ‘सुदृष्टि भनेको राम्रो हेराइ, सुन्दर आँखाको भाषा हो । यही भाषाजस्तै बन्ने मेरो कोसिस छ ।' गीत गाउने अफर उनलाई धेरै आएको छ । तर पढ्नु पनि पर्ने भएकाले उनले समय दिन भ्याएकी छैनन् ।
उनी गीतमात्रै गाउँदिनन् शास्त्रीय नृत्य गर्न पनि सिपालु छिन् । यसैले उनलाई मेधावी सुदृष्टि भन्ने गरिएको छ पूर्वमा । काठमाडौं अर्थात् ठूलो सहरमा गाउने सपना बोकेकी उनले भनिन्, ‘मेरो एउटै लक्ष्य छ, मेरो गीतले नेपालकी छोरी भनेर विश्वमा चिनाउनु छ ।' अबको विश्व भाषा भनेको अंग्रेजी भएकाले यसमा पोख्त हुने पनि उनको चाहना छ ।
उमेरले भर्खर एक दशक पार गरेकी सुदृष्टिको दृष्टिकोण धेरै फराकिलो छ । जहाँ उनले विश्वको संगीत बुझ्ने प्रयत्न गरिरहेकी छिन् । उनले नयाँ वर्षसँगै सुदृष्टि एल्बम बजारमा ल्याउने तयारी गरिरहेकी छिन् । यसको लागि उनी हालै सातवटा गीत रेकर्ड गरेर झापा फर्किएकी छिन् ।